चाडपर्व नजिकियो, यातायात व्यवस्थापनमा ध्यान देऊ

चाडपर्वका बेलामा सवारीको चाप पनि बढी हुने र सवारीसाधनभित्र यात्रुको संख्या पनि बढी हुने भएकाले जोखिम पनि बढी हुन्छ । धेरै मानिसले चाडपर्वको उत्साहपूर्ण माहोलमा सुरक्षालाई कमै प्राथमिकता दिने गरेका छन् । व्यक्तिगत सवारीसाधन हतारो गरेर कुदाउने गरेको पाइन्छ । यसले पनि जोखिम बढाउँछ ।

भाद्र २२, २०८२

सम्पादकीय

As the festival approaches, pay attention to traffic management

What you should know

बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व नजिकै आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ । त्यसैले रोजगारीका लागि विदेश पुगेका कैयौं नेपालीले यही अवसरमा आफ्नो बिदा मिलाउने गर्छन् र स्वदेश फर्किन्छन् ।

देशभित्र पनि अध्ययन, रोजगारी, व्यवसाय वा विभिन्न कारणले छरिएका प्रायजसो आफ्नै गाउँठाउँ पुग्छन् । सरकारी वा निजी कार्यालय यही बेला बन्द हुन्छन् । चाडपर्व नमान्नेहरूले पनि लामो बिदालाई उपयोग गर्नका लागि भ्रमणमा निस्किन्छन् । यो सबैको सार के हो भने, अबको एक–डेढ महिना मानिसको व्यापक रूपमा आवतजावत हुनेछ । त्यसका लागि सडक यात्रा नै प्रायः नेपालीको सहज र पहुँचको विकल्प हो । त्यसैले सडक सुरक्षा हाम्रा लागि उल्लेखनीय विषय हो ।

चाडपर्वका बेला देशैभरका सडकमा सवारी चाप अधिक हुन्छ । खासगरी काठमाडौंबाट बाहिरिने लाखौं मानिस र तिनले प्रयोग गर्ने सवारीसाधनका कारण सडकमार्गमा सवारी चाप बढी महसुस हुन्छ । तर सबैजसो सडकमार्ग सही अवस्थामा छैनन् । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गका केही अंश अघिल्लो वर्षको बाढीपहिरोमा परेर भत्किएका छन् । १२ किलोमिटर सडक पूरै बगाएको थियो । त्यसको पुनर्निर्माण भइसकेको छैन ।

एक वर्षयता अस्थायी सडकमा सवारी कुदिरहेका छन् । पश्चिमतर्फ जाने नागढुंगा–नारायणगढ सडक खण्डको अवस्था पनि अपेक्षाकृत गतिलो छैन । स्तरोन्नतिको काम जारी छ । सबै ठाउँमा कालोपत्र भइसक्ने स्थिति छैन । खाल्डाखुल्डी पुर्ने काम भने हुन सक्छ । देशका अन्य मुख्य तथा सहायक सडक पनि भासिएका, बगाएका वा भत्किएका समाचार आइरहेका छन् । जस्तो कि, भदौ पहिलो साता मात्रै २० मिटर सडक भासिएपछि रामेछापको मन्थली–खिम्ती सडक अवरुद्ध भएको थियो । सात वर्षयता विस्तार गर्न थालिएको नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा बनिसकेको छैन । यात्रुले घण्टौं जाम खेप्नुपरेको छ ।

हामीकहाँ प्रायः सडक पहाड काटेर नदी तथा खोला किनारमा बनाइएका छन् । जसले गर्दा पहिरो खस्ने, नदीले बाटो कटान गर्ने सम्भावना सधैं रहन्छ । उचित चौडाइ नभएका, घुमाउरो, उकालो–ओरालो भएका सडकलाई सुरक्षित मानिँदैन । त्यस्तै निर्माणका क्रममा गुणस्तर पूरा नगरिएका धेरै सडक भत्किने वा भासिने भइराख्छन् । खाल्डाखुल्डी हुनु त सामान्य नै मानिन्छ । ठूलो पानी पर्दा सडकमै पहिरो खस्ने समस्या पनि छ । यस्ता कारणले सडकमा यात्रा गर्नु प्रायः जोखिमपूर्ण हुने गरेको छ ।

बर्खायाम सकिएको एक–दुई महिनामै ठूला चाडपर्व भित्रिन्छन् तर त्यतिञ्जेल सडकमा बर्खाको चोटपटक बाँकी नै हुन्छ । अर्थात् सडक कमजोर अवस्थामा हुन्छन् । यस्तै पृष्ठभूमिका बीच आइपुग्ने चाडपर्वका बेलामा भने सवारीको चाप पनि बढी हुने र सवारीसाधनभित्र यात्रुको संख्या पनि बढी हुने भएकाले जोखिम पनि बढी हुन्छ । धेरै मानिसले चाडपर्वको उत्साहपूर्ण माहोलमा सुरक्षालाई कमै प्राथमिकता दिने गरेका छन् । व्यक्तिगत सवारीसाधन हतारो गरेर कुदाउने गरेको पाइन्छ । यसले पनि जोखिम बढाउँछ ।

हुन त सडकलाई सुरक्षित र गुणस्तरीय बनाउनका लागि निरन्तर पहल गरिराख्नुपर्छ । मर्मत सम्भार गरिराख्नुपर्छ । तैपनि चाडपर्वमा सवारीसाधनको चाप अधिक हुने भएकाले त्यसलाई लक्षित गरेर तत्काल मर्मत सम्भारका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्छ । कुनै सडक खण्डमा समस्या आउनेबित्तिकै जतिसक्दो चाँडो मर्मत सम्भार गर्ने संयन्त्र विकास गर्नुपर्छ ।

खाल्डाखुल्डी परेका ठाउँमा पुर्ने गर्नुपर्छ, सम्भव भएसम्म कालोपत्र नै गर्नुपर्छ । दुर्घटना हुन सक्ने सम्भावित ठाउँमा सवारी व्यवस्थापन मिलाउन र सूचना प्रणालीलाई चुस्त बनाउन अनिवार्य छ । सडक सुरक्षा एकपक्षीय विषय होइन । यात्रुले पनि आफ्नो हिस्साको सजगता अपनाउनुपर्छ । किनकि, अरू सबैका लागि दुर्घटना वा मानवीय क्षति एउटा अंक मात्रै हो, व्यक्ति स्वयं र उसको परिवारका लागि सर्वस्व हो ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully