हाल स्थानीय सरकारले आफ्नै स्रोतबाट शिक्षामा न्यूनतम खर्च गरेको देखिन्छ, जसका कारण गुणस्तरीय शिक्षाको लक्ष्यमा पुग्न गाह्रो छ।
What you should know
दुई वर्षअघि सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक, २०८० दर्ता गरेको थियो । त्यसलगत्तै प्रतिनिधिसभाले उक्त विधेयकमाथि छलफल गरी आवश्यक परिमार्जनसहितको प्रतिवेदन पेस गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई सिफारिस गर्यो । समितिमा भएको गहन छलफल र बहसलाई हेर्दा विद्यालय शिक्षा अब सकारात्मक दिशामा अगाडि बढ्छ होला भने अपेक्षा गरियो । तर दुर्भाग्य ! विधेयकमा केही सामान्य सुधारबाहेक शिक्षा क्षेत्रले भोग्दै आएका मूल समस्याको समाधान भने प्रस्तुत भएको देखिएन ।
झन्डै ५४ वर्षअघि बनेको शिक्षा ऐनले शिक्षामा लगभग पाँचौं पुस्तासम्मलाई धानेको र यसले शिक्षामा नयाँ पुस्ताको आकांक्षा र भविष्यलाई सम्बोधन गर्न कति क्षमता बोकेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यसबीचमा देशको राजनीतिक संरचनामा पनि ठूलो रूपान्तरण भइसकेको छ ।
२०७२ मा नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा प्रवेश गरिसकेको एक दशक हुन् लागेको छ । यस राजनीतिक संरचनासँगै शासन प्रणाली, अधिकार वितरण र स्थानीय तहको भूमिकामा आमूल परिवर्तन भएको छ । यस हिसाबले संविधानको मर्म र शिक्षा सिकाइमा भइरहेको विश्वव्यापी परिवर्तनको प्रभावलाई आत्मसात् गर्दै शिक्षालाई नयाँ दृष्टिकोण र नयाँ दिशाबाट अघि बढाउनु जरुरी छ ।
यसै सन्दर्भमा विद्यालय शिक्षा विधेयक, २०८० ले नेपालको शिक्षालाई कस्तो बाटोमा अगाडि बढाउने हो भन्ने चासो आज सबैका सामु खडा भएको छ । यद्यपि, शिक्षक महासंघ र निजी विद्यालय सञ्चालनकर्तामा शिक्षा विधेयकमा कोलाहलको शृंखला अत्यधिक देखियो । यसको मुख्य कारण शिक्षा सुधारभन्दा उनीहरूको स्वार्थ प्रमुख रहेको छ ।
शिक्षक, विद्यालय शिक्षाको मेरुदण्ड हुन् । त्यसैले शिक्षकको उत्पादन, निर्माण र यसको छनोट प्रक्रियाले शिक्षाको गुणस्तर र सिकाइको सम्भावनालाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ । भारतका प्रसिद्ध शिक्षाविद् डा. सर्वपल्ली राधाकृष्णनका अनुसार शिक्षक देशका आत्मा हुन्, त्यसैले शिक्षक उत्पादन, निर्माण र छनोटमा गुणस्तर, पारदर्शिता र व्यावसायिकता सुनिश्चित नगरी शैक्षिक रूपान्तरण सम्भव हुँदैन ।
शिक्षक उत्पादन भन्नाले विश्वविद्यालय वा महाविद्यालयले शिक्षक आपूर्ति गर्ने प्रक्रियालाई जनाउँछ । यसले शिक्षण पेसामा आवश्यक योग्यता, दक्षता र पेसागत आचरण विकास गर्न मद्दत गर्दछ । विगतमा नेपालका विश्वविद्यालयका शिक्षाशास्त्र संकायले मात्र शिक्षक उत्पादन गर्ने जिम्मेवारी बोकेका थिए । तर प्रस्तावित विधेयकले अन्य संकायका न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिलाई पनि शिक्षक बन्ने बाटो खोलिदिएको छ ।
शिक्षक निर्माण दीर्घकालीन प्रक्रिया हो । यसमा शिक्षकलाई आवश्यक शिक्षा, तालिम, सीप, दक्षता, पेसागत चेतना र आचरणको विकास गरिन्छ । पुनर्ताजगी तालिम, अनुसन्धान, अन्वेषण र नवप्रवर्तन शिक्षक निर्माणका महत्त्वपूर्ण पक्ष हुन् । विगतमा नेपालमा स्रोत व्यक्ति र स्रोत केन्द्रमार्फत शिक्षक निर्माणलाई अगाडि बढाइएको थियो तर सरकारी कार्यान्वयन कमजोर भएकाले उक्त व्यवस्था हटाइएको हो । तर प्रस्तावित विधेयकमा शिक्षक निर्माणसम्बन्धी प्रावधान स्पष्ट रूपमा नदेखिनु ठूलो कमजोरी हो । यसमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पनि ध्यान गएको देखिएन ।
शिक्षक छनोट भन्नाले तोकिएको निकायले योग्य उम्मेदवारलाई शिक्षक पदमा नियुक्त गर्ने प्रक्रियालाई जनाउँछ । नेपालको सन्दर्भमा यसको जिम्मेवारी शिक्षक सेवा आयोगलाई दिइएको छ । हाल प्रस्तावित विधेयकमा दरबन्दीका आधारमा ६० प्रतिशत सीमित (आन्तरिक) प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने प्रावधान राखिएको छ । तर शिक्षक महासंघले यसमा असन्तुष्टि व्यक्त गरेको छ । गुणस्तरीय सिकाइका लागि भने शतप्रतिशत शिक्षक छनोट खुला प्रतिस्पर्धाबाट हुनुपर्ने धारणा धेरै शिक्षाविद्ले अघि सारेका छन् । बरु कार्यरत शिक्षकले लिखित परीक्षामा उत्तीर्ण भइसकेपछि सेवाको अनुभवलाई अंकमा परिणत गरेर छनोट प्रक्रिया अझ पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ र यसले पढाइरहेको शिक्षकप्रति न्याय नै ठहर्छ ।
जब राज्यले सबैलाई विद्यालय शिक्षा प्रदान गर्ने दायित्व बोक्यो, तब समुदायले शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारीबाट आफूलाई मुक्त गर्यो । यद्यपि, यसका लागि राज्य सक्षम छ कि छैन भन्ने पक्षमा पर्याप्त ध्यान दिइएन । एकातिर राज्य यसका लागि सक्षम हुने चाहना पनि राखेन भने अर्कोतिर बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्ने नाममा शिक्षा लगानीकर्ताका लागि विद्यालय शिक्षा क्षेत्र उर्वर भूमिमा परिणत भयो र नेपालको शिक्षा क्षेत्रमा नव–उदारवादी सोच हाबी हुन थाल्यो ।
यसले सामाजिक तथा वर्गीय विभेदलाई अझ गहिरो बनायो र सरकारको लाचारी प्रस्ट देखियो । तर, जब नयाँ संविधानले निजी लगानीलाई सेवामूलक बनाई नियमन गर्ने निर्देशित सिद्धान्तलाई अंगीकार गर्यो, तब प्रस्तावित विधेयकले विद्यालय शिक्षालाई क्रमशः सेवामूलक तथा गैरनाफामूलक बनाउन बाध्य भयो ।
असामान्य नाफा कमाउन अभ्यस्त ठूला निजी विद्यालयलाई यो अपाच्य भयो र उनका छाता संगठनहरू प्याब्सन र एन–प्याब्सनले राजनीतिक दल तथा तिनका नेताहरूलाई धम्क्याउँदै विधेयकविरुद्ध कोलाहल मचाउन थाले । यद्यपि साना निजी विद्यालयहरू सामान्य नाफामा चलाइरहेको यथार्थ पनि छ । यसैबीच सञ्चारमाध्यममा सरकारमै रहेका राजनीतिक दलका प्रमुख नेताहरूले समेत यसलाई उल्ट्याउने प्रतिबद्धता जनाएका छन् । यदि त्यस्तो भयो भने सरकार जनताप्रति जिम्मेवार र जवाफदेही नभएको सन्देश जानेछ । त्यसैले सम्पूर्ण संसद् नै यस विषयमा संवेदनशील हुनु आवश्यक छ ।
विद्यालय शिक्षा प्रायः देशमा गैरनाफामूलक नै रहने गरेको छ किनकि यसलाई सार्वजनिक वस्तु र मानवअधिकारका रूपमा बुझ्ने चलन विश्वभर छ । सामाजिक न्यायका प्रणेता तथा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जाँन रल्सका अनुसार समाजले यस्ता संरचना रोज्नुपर्छ जसले कमजोर वर्गलाई अधिकतम लाभ पुर्याओस् । यस दृष्टिले शिक्षामा गैरनाफामूलक पद्धति अपनाउँदा कमजोर वर्गका लागि समान अवसर सुनिश्चित हुन्छ, जसले सामाजिक समानता र न्याय दुवैलाई मजबुत बनाउँछ । यस कार्यका लागि राज्य बलियो हुनु आवश्यक छ । होइन भने विधेयकमा जस्तोसुकै प्रावधान ल्याए पनि कार्यान्वयन गर्न गाह्रो हुनेछ ।
देश संघीय शासनको अभ्यासमा प्रवेश गरेको करिब एक दशक हुन लागेको छ । यद्यपि, संविधानको मर्मअनुसार अपवादबाहेक स्थानीय सरकारले शिक्षामा आफ्नो भूमिकालाई सशक्त रूपमा प्रस्तुत गर्न सकेका छैनन् । हाल स्थानीय सरकारले आफ्नै स्रोतबाट शिक्षामा न्यूनतम मात्र खर्च गरेको देखिन्छ, जसका कारण गुणस्तरीय शिक्षाको लक्ष्यमा पुग्न गाह्रो भएको छ ।
यस सन्दर्भमा प्रस्तावित विधेयकमा सबैभन्दा पहिला स्थानीय सरकारले आफ्ना विद्यालयका लागि कम्तीमा संघले आन्तरिक स्रोतबाट छुट्याएको रकम बराबर बजेट छुट्याउनुपर्ने प्रावधान राखिनुपर्थ्यो । तर त्यो व्यवस्था देखिएन । संघीय प्रतिनिधिका रूपमा जिल्लामा रहेको जिल्ला शिक्षा कार्यालयको सम्झना दिलाउने गरी शिक्षा विकास तथा समन्वय इकाइ स्थापना गर्ने व्यवस्था गरिएको छ । यद्यपि, यस इकाइको उद्देश्य स्थानीय सरकारसँग समन्वय गर्ने भनिए पनि उत्कृष्ट शिक्षकलाई पुरस्कारको सिफारिस गर्ने व्यवस्था राखिँदा शिक्षकको जवाफदेही स्थानीय तहमा रहने कि संघीय कार्यालयमा भन्ने विषयमा अनावश्यक भ्रम सिर्जना भएको छ ।
स्थानीय सरकार स्वयंभित्र पनि थुप्रै समस्या छन् । संविधानको अनुसूचीको मर्मअनुसार शिक्षामा भूमिका निर्वाह गर्न धेरै स्थानीय सरकार असफल भएको तथ्य स्पष्ट छ । स्वतन्त्र उम्मेदवारबाहेक अधिकांश स्थानमा राजनीतिक दलका उम्मेदवारले स्थानीय तहमा नेतृत्व गरिरहेका छन् । उनीहरूमा हुने दलीय लगावका कारण शिक्षा क्षेत्र प्रभावित भएको छ । यस्तो अवस्थामा स्थानीय तहप्रति शिक्षकले गरेका गुनासा स्वाभाविक लाग्छन् ।
यस समस्याको दीर्घकालीन समाधान भनेको स्थानीय सरकारको गठन प्रक्रियालाई पुनर्विचार गर्नु हो । अन्यत्र देशहरूमा जस्तै यदि स्थानीय सरकार गैरदलीय प्रतिस्पर्धाबाट गठन हुने व्यवस्था गरियो भने स्थानीय सरकार निष्पक्ष, पारदर्शी र सबैको साझा संस्थाका रूपमा स्थापित हुन सक्छ । यस्तो अवस्थामा शिक्षा क्षेत्रमा दलीय प्रभाव न्यून हुने र शिक्षालाई गुणस्तरीय तथा सर्वसुलभ बनाउन सहज हुने अनुमान गर्न सकिन्छ ।
विद्यालय शिक्षाको गुणस्तर कायम राख्ने सन्दर्भमा प्रस्तावित विधेयकले संघीय तहमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय पाठ्यक्रम परिषद् र शैक्षिक गुणस्तर परीक्षण प्राधिकरणजस्ता संरचनाको प्रावधान गरेको छ । साथै विद्यालय तहमा गुणस्तर कायम गर्ने जिम्मेवारी प्रधानाध्यापकलाई दिएको छ ।
तर, प्रधानाध्यापक र शिक्षकलाई आवश्यक योजना बनाउन र क्षमता विकासमा सहयोग गर्ने संरचना स्थानीय तहमा देखिँदैन । जिल्लास्तरमा शिक्षा विकास तथा समन्वय इकाइ रहेको भए पनि त्यसको भूमिका समन्वयमूलक मात्रै रहने भएकाले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहमा छुट्टै प्रशिक्षण संरचना निर्माण आवश्यक थियो । यद्यपि, शिक्षकको तालिम, नवप्रवर्तन र क्षमता अभिवृद्धिजस्ता कामको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । यसकारण प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय अनिवार्य हुन्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विद्यालयस्तरमै शिक्षकलाई सहयोग गर्ने प्रणाली र पुनर्ताजगी तालिम तत्काल आवश्यक छ । त्यसका लागि स्थानीय तहमा स्रोत केन्द्रजस्ता संरचना स्थापना गर्नुपर्ने देखिन्छ ।
यसबाहेक, विधेयकले प्रारम्भिक बाल विकासलाई आधारभूत तहमा समायोजन गर्दै यसको अवधि सबै प्रकारका विद्यालयका लागि दुई वर्ष हुने व्यवस्था गरेको छ, जुन स्वागतयोग्य कदम हो । यद्यपि प्रारम्भिक बाल विकासका अभियन्ताहरूले यसलाई विद्यालय संरचनाभन्दा बाहिर राख्नुपर्ने तर्क गर्ने गरेका छन् । तर यसको संरचनात्मक व्यवस्थापन र एकरूपताका दृष्टिले यसलाई विद्यालय तहभित्र समावेश गर्नु उचित थियो । यस व्यवस्थाबाट निजी विद्यालयहरूको व्यापारिक हितमा केही ह्रास आउने भएकाले उनीहरू असन्तुष्ट देखिएका छन् ।
समग्रमा भन्नुपर्दा यो विधेयकले संविधानको मर्म र संघीय संरचनालाई पूर्ण रूपमा आत्मसात् गर्न सकेको छैन । शिक्षक उत्पादन, निर्माण र छनोट स्पष्ट, पारदर्शी र गुणस्तरीय हुनुपर्छ । बिनातालिम शिक्षक भर्ना गर्ने प्रावधान जोखिमपूर्ण हुन सक्छ । त्यसैले यसका लागि शिक्षकलाई न्यूनतम ‘इन्टर्न तालिम’ अनिवार्य हुनुपर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । शिक्षक छनोटमा खुला प्रतिस्पर्धालाई नै प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ । संविधानको मर्मअनुसार निजी विद्यालयलाई सेवामूलक र गैरनाफामूलक बनाउनुपर्ने जरुरी भएको छ ।
स्थानीय सरकारले शिक्षा क्षेत्रमा पर्याप्त स्रोत लगानी नगर्नु प्रमुख समस्या रहेको छ । त्यस्तै संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव भयो भने यो विधेयकको कार्यान्वयन पक्ष फितलो हुने निश्चित छ ।
संघीय तहमा नयाँ संरचना जस्तै– मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम परिषद्, गुणस्तर परीक्षण प्राधिकरणको प्रस्ताव गरिएको तर स्थानीय तहमा शिक्षक क्षमता विकास र तालिम दिने संरचना नहुँदा ठूलो समस्या निम्तिने खतरा छ । प्रारम्भिक बाल विकासलाई आधारभूत तहमा समायोजन गरिएकाले यस्तो शिक्षामा एकरूपता आउने सम्भावना भने रहेको छ ।
शिक्षा क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न संसद् र राज्य संवेदनशील भई जवाफदेही हुनु आवश्यक छ । यो विधेयकले उपर्युक्त सुझावलाई मनन नगरी यही स्वरूपमा अगाडि बढायो भने अन्तहीन कोलाहलको सुरुवात हुने पनि निश्चित छ ।
