कमरेडहरू ! देश महिलाको पनि हो 

आशा गरौं, देश महिलाको पनि हो र देश चलाउने, नीति बनाउने ठाउँमा पुग्नका लागि उनीहरू पनि बराबरका हकदार छन् भन्ने कुरा यो पटक एमालेले गम्भीरतापूर्वक मनन गर्नेछ 

भाद्र २०, २०८२

सावित्री गौतम

Comrades! The country also belongs to women

What you should know

नेकपा एमालेले यही भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्दै छ । एमालेको विधान महाधिवेशनले आफ्नो पार्टीका महिलाको हकमा के व्यवस्था गर्ला भन्ने जिज्ञासाबीच मलाई २०७५  जेठ २१ गते कान्तिपुरमै प्रकाशित भएको आफ्नै लेख ‘प्रधानमन्त्रीज्यू देश हाम्रो पनि हो’ को सम्झना भइरहेको छ ।

महिलाहरू कहाँ छन् ? देश महिलाको पनि हो, महिलालाई पनि मान्छे गनौं, महिलाको पनि यो समाज र इतिहास निर्माणमा बराबरको योगदान छ (सके बढी होला), मलगायत अन्य धेरै महिलाले यस्ता कुरा वर्षौंदेखि लेख्दालेख्दा अब लेख्न बाँकी पनि केही छैन । अब हामीले लेख्ने उही पुराना कुराको रिसाइकलबाहेक केही हुँदैन ।

बारम्बार म र अरू धेरै महिलाले लेखिरहने, बोलिरहने यस्ता कुराले एउटै कुरा नमीठोसँग अनुभूत मात्र गराइरहन्छ, समाजको गति प्रत्येक सेकेन्ड परिवर्तन भइरहन्छ भनेर समाजशास्त्रीहरूले गर्ने व्याख्या नेपाली समाजको हकमा भने कहिल्यै लागू नहुने रैछ क्या हो ? हामी त वर्षौंसम्म उहीं छौं । सीमान्तमा बसेर कराइरहेका छौं, हामीमाथि अन्याय भो, हाम्रो स्थानको सुनिश्चितता भएन, सँगसँगै निर्माण गरेको समाज र राज्य व्यवस्थामा तिमीहरूको स्थान उपल्लो र हाम्रो तल्लो किन ? आदि ।

यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओली छन् । उनी नै नेकपा एमालेका अध्यक्ष पनि हुन् । ‘यति बेला’ भन्नुको कारण के भने ‘त्यति बेला’ अर्थात् २०७५ मा पनि ओली नै प्रधानमन्त्री रहेछन् र उनी नै पार्टी अध्यक्ष पनि थिए । त्यति बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताको हावा ताजाताजा नै थियो । तर पार्टीको केन्द्रीय कमिटीमा महिलाको अनिवार्य संवैधानिक प्रावधानअन्तर्गतको ३३ प्रतिशत सुनिश्चितता तत्कालीन ‘नेकपा’ ले गर्न सकेन ।

जबकि राजनीतिक दल दर्तासम्बन्धी ऐन २०७४ दफा १५ (४) अनुसार ‘दलको सबै तहका समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य हुनुपर्ने’ भनेर स्पष्ट लेखिएको थियो । र, एकीकरणपछि नयाँ बनेको ‘नेकपा’ ले दल दर्ता गर्दा नै केन्द्रीय कमिटीमा एकतिहाइ महिला पुर्‍याएर जानुपर्ने थियो । केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चितता त गरिएन नै, समाचारमा आएअनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले महिला नेताहरूलाई ‘एनजीओको बहकाउमा लागेर ट्याउँट्याउँ नगर्न’ निर्देशन नै दिए । र, उनले दिएको यो ‘निर्देशन’ तत्कालीन नेकपाका अर्का शीर्षस्थ ‘क्रान्तिकारी’ नेता प्रचण्डले चुपचाप अनुमोदन गरे ।

कम्युनिस्ट पार्टीहरूमा एकअर्कालाई ‘कमरेड’ भनेर सम्बोधन गरिन्छ । कमरेड अर्थात् सहयोद्धा । आफूसँगै योद्धा बनेर हिँडेको मान्छे, लडेको मान्छे । तर नेपालका कम्युनिस्ट पार्टीका ‘वरिष्ठ’ पुरुष नेताले आफ्ना महिला कमरेडलाई कत्तिको कमरेड देख्छन् ? कमरेड देख्नेहरूको मुखबाट यस्ता शब्द कसरी निस्कन्छन् ? बोली र व्यवहारमा यतिसाह्रो अपमानजनक हुन उनीहरू कसरी सक्छन् ? आजसम्मै पनि पार्टीको निर्माणमा, व्यवस्था परिवर्तनमा आफ्ना बीसौं समस्या, व्यथा र अप्ठ्यारालाई पन्छाएर आफूसँगै हिँडेका महिला कमरेडलाई संरचनागत लाभको उपल्लो सिँढीमा बसेर पुरुष ‘कमरेड’ हरूले थिचोमिचो गरेको दृश्य हेर्नुपर्ने कति दिगमिग लाग्दो देखिन्छ ।

एमालेकै नेतृ बिन्दा पाण्डेले आफ्नो लेख ‘क्रोनिकल्स अफ सोसलिस्ट फेमिनिस्ट मुभमेन्ट इन नेपाल’ मा मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मा ‘महिलाहरूको सम्बन्धमा’ भन्ने छुट्टै बुँदा नै राखेर समाजवादी महिलावादी दृष्टिकोणलाई व्याख्या गरेको कुरा उल्लेख गरेकी छन् । पाण्डेकै अनुसार हामीले आफ्नो देशको  इतिहासमा बनाएको भनेको सबैभन्दा ‘प्रगतिशील’ संविधान २०७२ सालको संविधानमा जनताको बहुदलीय जनवादभित्रकै धेरै कुरा प्रतिबिम्बित भएका छन् ।

यही जगमा टेकेर हुन सक्छ, नेकपा एमालेका नेताहरू सार्वजनिक कार्यक्रमहरूमा बारम्बार अहिलेको संविधानमा समानुपातिक समावेशीको विषय समावेश गर्न, नीतिगत तहमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गर्न, उच्च तहमा महिलाहरूलाई पुर्‍याउनका लागि पहिलो महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मुख्यसचिव आदि बनाउन आफ्नो मुख्य भूमिका रहेको जस लिरहन्छन् । तर, अझै एमालेकै दस्ताबेजहरूमा भेटिन्छ, पार्टी र जनसंगठनहरूमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशतभन्दा बढेको छैन ।

पार्टीको केन्द्रीय सचिवालयदेखि तल्ला कमिटीसम्म महिला पदाधिकारीको अनुपात ५–१ मात्र छ । ०७५ सालमा पार्टीका महिलालाई ‘ट्याउँट्याउँ’ नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको पनि सात वर्ष बितिसकेको छ । आशा गरौं, देश महिलाको पनि हो र देश चलाउने, नीति बनाउने ठाउँमा पुग्नका लागि उनीहरू पनि बराबरका हकदार छन् भन्ने कुरा यो पटक नेकपा एमालेले गम्भीरतापूर्वक मनन गर्नेछ । र, महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्न विधानमा व्यवस्था गरिनेछ ।

सावित्री

Link copied successfully