ढ्यांग्रो र मन्त्रोच्चारणको लयमा चेपाङको छोनाम पर्व

खोलाको शिर र जंगलको पुछारमा बस्ने चेपाङ जातिको पाखो र भिरालो जमिनमा उत्पादन भएका खाद्यान्न र फलफूल छोनाम अर्थात् न्वागीमा पितृलाई चढाएर खाने चलन छ।

भाद्र २०, २०८२

प्रताप विष्ट

Chonam Festival of Chepang in the rhythm of Dhangro and chanting

What you should know

सबै जातजातिको आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा हुने गर्छ । त्यो नै जातजातिको पहिचान पनि हो । त्यही नै मासिए अन्ततः जातै लोप हुने गर्छ । अन्वेषकहरूका अनुसार मकवानपुरको कुलेखानी इन्द्रसरोवर क्षेत्रमा बसोबास गर्ने ‘फ्रि’ भन्ने जाति अहिले लोप भइसकेको छ ।

नेपाल सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये चेपाङ समुदाय मुलुककै सीमान्तकृत समुदाय हो । प्रकृति पूजकका रूपमा पहिचान बनाउँदै आएका चेपाङ समुदायका अगुवाहरू एक दशकदेखि आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न पहल गरिरहेका छन् । तर उनीहरूको प्रयासले गुणात्मक रूपमा परिणाम ल्याउन सकेको छैन । उनीहरूको धर्म र संस्कृतिमाथि अतिक्रमण जारी छ । त्यही क्रममा उनीहरूको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको हो । 

२०४६ सालको परिवर्तनपश्चात् चेपाङ समुदायका सचेत युवाहरू संगठित भएर नेपाल चेपाङ संघको स्थापना गरेका थिए । संघको २०५४ सालमा चितवनमा भएको तेस्रो अधिवेशनले ‘हामी प्रजा होइनौं, चेपाङ हौं, अब सबैले चेपाङ लेख्ने’ भनेर निर्णय गरेको थियो । यसअघि मकवानपुरको मनहरी ज्यामिरेमा २०३४ सालमा सम्पन्न प्रथम बृहत् चेपाङ सम्मेलनकी प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय अध्यक्ष तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहले ‘आजदेखि तिमीहरू चेपाङ होइनौं, प्रजा भयौ’ भनेसँगै चेपाङ समुदाय प्रजामा दरिएको थियो ।

अहिले चेपाङ समुदायले आफ्नै थर लेखे पनि आफ्नो भाषा, संस्कृति र परम्पराबाट उनीहरू टाढिँदै छन् । भाषा भए पनि उनीहरूको लिपि भने छैन । आफ्नो पहिचानको संरक्षण गर्न चेपाङ संघले गाउँ/गाउँमा भाषासम्बन्धी कक्षा पनि सञ्चालन गर्दै आएको छ । त्यतिमात्र होइन, संस्कृति र पहिचान जोगाउने उद्देश्यले चेपाङ समुदायको एक मात्र महत्त्वपूर्ण धार्मिक पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाउँदै आएका छन् । प्रत्येक वर्षको भदौ २२ मा चेपाङ अगुवाहरू एकै स्थानमा जम्मा भएर सन्देशमूलक ढंगले न्वागी मनाउँछन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका—५ कालीखोलामा न्वागी मनाउने कार्यक्रम छ । 

आफ्नो धर्म, संस्कृति र रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले न्वागी पर्वलाई घर, टोल, गाउँ हुँदै जिल्ला–जिल्लामा मनाउन थालेको नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले बताए । अन्य धर्मको अतिक्रमणले गर्दा भाषा, धर्म र संस्कृति जोगाउनै मुस्किल परिरहेको पनि उनले बताए । प्रकृति पूजकका रूपमा चिनिने चेपाङ जनजातिको २२ नाले वंशावली रहेको छ । त्यसै भएर भदौ २२ गते न्वागी पर्व अर्थात् छोनाम मनाउन थालेको अध्यक्ष गोविन्दरामले बताए । संघले एक दशकदेखि सामूहिक रूपमा न्वागी मनाउँदै आएको छ । 

चेपाङ समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व न्वागीका दिन बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा दुई वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ । मकवानपुर, चितवन र धादिङ गरी तीन जिल्लामा प्रदेश सरकारले बिदा दिने गरेको हो । तीनै जिल्लामा चेपाङ समुदायको बाक्लो बसोबास छ । नेपाल चेपाङ संघको मागअनुसार बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत ९ मा प्रदेशको चेपाङ बाहुल्य तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ मा सार्वजनिक बिदा दिने निर्णय गरेर प्रदेश राजपत्रमा प्रकाशित गरिसकेको छ ।

चेपाङ समुदायले पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । उक्त न्वागी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ । 

वर्ष दिनमा कम्तीमा पनि नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको सीमान्तकृत चेपाङ समुदायले भदौ २२ मा मीठो मसिनो खाएर मुख फेर्ने गर्छन् । भीरपाखामा बस्ने यो जातिले पाखापखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले उनीहरूले उक्त दिन न्वागी पर्व धुमधामसँग मनाउने गर्छन् । चेपाङ समुदायले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने गर्छन् । छोनाम पर्व चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको धादिङ बेनीघाट रोराङ—९ स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले बताए ।

छोनाम पर्वमा चेपाङका पुरोहित पान्दे झाँक्रीहरूले रातभर ढ्यांग्रो ठोकेर मन्त्रोच्चारण गरेर नयाँ अन्न देवता र पितृलाई चढाउँदै आफूहरूले पनि खाने गर्छन् । छोनाम पर्वलाई चेपाङ जातिले दसैं/तिहारभन्दा पनि ठूलो पर्वका रूपमा मनाउने गर्छन् । चेपाङ भाषामा छोनाम र अरू भाषामा न्वागी भनिने यो पर्वमा गाउँटोल र बस्तीमा रातभर भेला भएर सामूहिक रूपमा मनाउने गरिन्छ ।

यो चेपाङ जातिको सबैभन्दा ठूलो पर्व भएको संविधानसभा सदस्यसमेत रहेका गोविन्द चेपाङले बताए । खोलाको शिर र जंगलको पुछारमा बस्ने चेपाङ जातिको पाखो र भिरालो जमिनमा उत्पादन भएका मकै, धान, पिँडालु, घिरौंला तथा विभिन्न अमिलो फलफूल छोनामका पितृलाई चढाएर खाने चलन छ । छोनामका दिन एकपाखे ढ्यांग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् ।

छोनामका दिन यसरी ढ्यांग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउने किंवदन्ती रहेको राक्सिराङ गापा–७ दामराङका ७१ वर्षीय पान्दे चन्द्रबहादुर चेपाङले बताए । उनका अनुसार यसरी विधि पुर्‍याएपछि मात्रै नयाँ अन्न र फलफूल खाने बाटो खुल्छ । विधि नपुर्‍याईकन आफूखुसी नयाँ अन्न खाएमा पितृ र देवताले दुःख दिने उनले सुनाए । 

चेपाङ समुदाय राप्ती नदी उत्तर, त्रिशूली पूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिका रैथाने बासिन्दा हुन् । मकवानपुरको पश्चिम, चितवनको उत्तर, धादिङको दक्षिणी भेगमा चेपाङ समुदायको बाक्लो बस्ती छ । चेपाङलाई भौगोलिक सिमानाले भन्दा पनि सामाजिक र सांस्कृतिक सिमानाले बाँधेको छ । 

विगतदेखि वर्तमानसम्मका शासकहरूले चेपाङलाई प्रशासनिक ढंगले विभाजित गर्दै आएका छन् । महाभारत पर्वत शृंखलाको उत्तरी र दक्षिणी भागको अति विकट क्षेत्रमा रहेका चेपाङ समुदायलाई एउटै गाउँपालिका, एउटै जिल्ला र एउटै प्रदेशमा नराखेर विभाजित गरिएको छ । ‘हामीलाई बलियो र संगठित हुन दिइएको छैन, जसले गर्दा आफ्नो समुदायको हितमा काम गर्ने जनप्रतिनिधिसमेत छनोट गर्ने अवसरबाट वञ्चित हुँदै आएका छौं,’ बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङले भने, ‘अर्कोतिर बाहिरबाट आएको धर्मले चेपाङ समुदायको पहिचानलाई नै संकटमा पारिरहेको छ ।’

चेपाङ आदिवासीहरूको आफ्नै ऐतिहासिक थातथलो छ । संसदीय निर्वाचनका लागि चेपाङको थातथलो आफैंमा एउटा निर्वाचन क्षेत्र हुन सक्छ तर यसलाई छिन्नभिन्न पार्न चितवन, धादिङ, मकवानपुर, गोरखा जिल्लामा छरिने गरेर कहिल्यै पनि चेपाङले निर्वाचित जनप्रतिनिधि पठाउन नसक्ने अवस्था सिर्जना गराइएको गुनासो चेपाङ अगुवाहरूको छ । राजधानीनिकट रहेका जिल्लाका अनकन्टार र डरलाग्दा अँध्यारा भूभागलाई आफ्नो बसोबासको थलो बनाउँदै आएका चेपाङहरूको जीवन अहिले पनि कहालीलाग्दो छ । कुनै पनि शासन र प्रणालीले उनीहरूको जीवनमा तात्त्विक भिन्नता ल्याउन सकेको छैन । 

धर्तीपुत्रका रूपमा चिनिने चेपाङहरू आफ्नै थलोमा जंगली युगकै अवस्थामा बाँचिरहेका छन् । अहिले मुलुकमा विद्यमान रहेको प्रणाली उनीहरूका वरिपरि पनि पुग्न सकेको छैन । जो जसले यो र यस्तै व्यवस्था एवं प्रणालीबाट अवसर पाए, तिनीहरू सारभूत रूपमा चेपाङ रहनै सकेनन् । उनीहरू चेपाङभित्रका क्षेत्री/बाहुनमा परिणत भए ।

२०७८ को जनगणनाअनुसार झापादेखि कञ्चनपुरसम्मका ३१ जिल्लामा चेपाङ समुदायको बसोबास छ । संख्याका हिसाबले ४२ हजार ७ सय ५८ पुरुष र ४१ हजार ६ सय ६ महिला गरी मुलुकमा ८४ हजार ३ सय ६४ चेपाङ समुदायको जनसंख्या रहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully