हृदयाघात हो कि होइन, अलमल गर्दा जान्छ ज्यान

एन्जियोप्लास्टी गरिसकेका व्यक्तिले हृदयरोग विशेषज्ञले दिएका कुनै पनि औषधि आफूखुसी रोक्न मिल्दैन । यसले खोलिसकेको रक्तनली पुनः बन्द हुन सक्छ ।

भाद्र १७, २०८२

डा. राजेन्द्र कोजु

Heart attack or not, confusion kills

What you should know

पहिलो पटक इन्डोनेसियाको पर्यटकीय सहर बाली पुगें । पुगेकै बेलुकी कार्यक्रम थियो । बस्ने पनि त्यहीँ व्यवस्था गरिएको थियो । समुद्री किनारको पर्यटकीय स्थल हेर्दै मनमोहक थियो । बेलुकी समुद्री तटमा खुब हिँडियो ।

दुईदिने एउटा कार्यक्रममा सहभागी हुन म बाली पुगेको थिएँ । ‘हृदयाघात हुँदा तुरुन्तै एन्जियोप्लास्टी’ का बारेमा आ–आफ्नो अनुभव, नयाँ उपलब्धि, समस्या समाधानका उपायबारे त्यहाँ छलफल थियो । कार्यक्रममा एसियाबाट जापान, सिंगापुरदेखि बंगलादेश र नेपालसम्मका प्रतिनिधि जम्मा भएका थियौं । कोरिया, थाइल्यान्ड, चीन र मलेसियाबाट पनि प्रतिनिधिहरू आएका थिए ।

एसियामा यस्तो कार्यक्रम हुनु पक्कै पनि खुसीको कुरा थियो । धेरैजसो चिकित्सा क्षेत्रको वस्तुस्थितिको तथ्यांक, उपलब्धि, चुनौती आदि पश्चिमा देशको मात्र पढ्ने र छलफल गर्ने गरिन्छ । तर, कहिलेकाहीँ उताका सबै कुरा हाम्रो पूर्वीय समाजमा ठ्याक्कै मिल्दैनन् । वंशाणु, हावापानी, रहनसहन, शारीरिक बनावट, खानपान धेरै कुराले शारीरिक समस्यामा पनि उल्लेखनीय असर पारेको हुन्छ । तसर्थ, हाम्रै पूर्वीय समाजको मात्र छलफल गर्नु अति आवश्यक छ । एक जना इन्डोनेसियाका वरिष्ठ मुटुरोग विशेषज्ञले बाली, जकार्ताभन्दा टाढाको अस्पतालमा एन्जियोप्लास्टी गर्दाको अनुभव सुनाए । जुन ज्यादै महत्त्वपूर्ण पनि लाग्यो ।

एक जना ६० वर्ष नाघेका पुरुष छातीको पीडा भएर प्राथमिक स्वास्थ्य केन्द्र पुगेका रहेछन् । जाँचपडतालपछि मुटुको समस्या भएको शंका गरेर माथिल्लो अस्पतालमा पठाइयो । अर्को अस्पतालमा हृदयाघातको पक्का गरेपछि केही आवश्यक उपचार गरेर हृदयाघातको विशेष उपचार हुन सक्ने अस्पताल भनी उनी कार्यरत अस्पतालमा पठाइएको रहेछ । उनलाई छातीको पीडा सुरु भएको १२ घण्टाभन्दा धेरै भइसकेको थियो । तैपनि, तुरुन्तै एन्जियोग्राम गरेर हेरे, मुटुलाई रक्तसञ्चार गर्ने एउटा धमनी पूरै बन्द थियो । एन्जियोप्लास्टी गरेर खोलिदिए । राम्रो भयो । यही छातीको पीडा पश्चिमा राष्ट्रमा भए केही घण्टामै उपचार सम्भव हुन सक्थ्यो । जापान, सिंगापुरमा पनि छिट्टै सम्भव छ । हाम्रोमा भने ज्यादै ढिलो हुन्छ ।

उनका कुरा सुन्दै गर्दा म सम्झिँदै थिएँ– हाम्रा अस्पतालमा आउने हृदयाघातका बिरामी पनि त समय लगाएरै आउँछन् । भौगोलिक बनावट, बाटोघाटोको असुविधा, प्राथमिक स्वास्थ्य केन्द्र एवं अस्पतालको सुविधाको स्तर आदि इत्यादि सबै कारणले ढिलो उपचार भइरहेको छ । त्यसमाथि अझै छातीको पीडा हृदयाघातले होला र भन्ने शंका–उपशंकामा अलमल र जनचेतनाको अभाव पनि छ । त्यसका साथसाथै हृदयरोगबारेको जागरणले पछिल्लो समय हाम्रा अस्पतालमा आइपुग्नेको संख्या पनि उल्लेखनीय रूपमा बढ्नुका साथै छिट्टै ल्याइपुर्‍याउन पनि थालिएको छ । उपचार निकै राम्रो हुँदै गएको छ । मैले पनि त्यहाँ आफ्नो अनुभव सुनाएँ, केही प्रश्नका साथ सुझाव पनि दिएँ । 

यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने हृदयाघात भएको अवस्थामा जति सक्दो छिट्टो उपचार सुरु गर्नुपर्छ । एन्जियोप्लास्टी त दुई घण्टाभित्र गर्न पाए अति उत्तम, ६ घण्टाभित्र गर्न पाए पनि उत्तम, १२ घण्टाभित्र गर्न पाए पनि फाइदाजनक नै हुन सक्छ । धेरैजसो हृदयाघातमा तुरुन्तै एन्जियोप्लास्टी गर्दा मृत्युबाट बचाउनुका साथै अरू थुप्रै जटिलताबाट पनि बचाउन सकिन्छ ।

हृदयाघातका बिरामीको हरेक आधा घण्टा ढिलो उपचारले एक वर्षको आयु घटाउँदै लाने तथ्यांकले देखाउँछन् । भन्नुको मतलब हृदयाघात भएको आधी घण्टा ढिलो उपचार गर्दाभन्दा आधी घण्टा छिटो उपचार गर्न पाउँदा एक वर्ष बढी बाँचेको पाइन्छ । हृदय चिकित्सामा भनाइ नै छ– मिनेट भनेकै मांसपेशी हो । यानि कि हृदयाघात भएका व्यक्तिको हरेक मिनेटमा मुटुको मांसपेशी मर्दै जाने प्रक्रिया निरन्तर हुन्छ । जति सक्दो छिटो उपचारले यो प्रक्रिया रोकेर मुटुको मांसपेशीलाई बचाउन सकिन्छ । त्यसैले समयमै हृदयाघात थाहा पाएर छिटो उपचार गर्न सक्यौं भने मांसपेशी, मुटु र मानवलाई नै बचाई राम्रो गर्न सकिन्छ । जति ढिलो भयो, त्यति नै जोखिम, जटिलता बढ्दै मृत्युको मुखसम्म पुग्न सकिन्छ ।

मैले ती प्रस्तुतकर्तालाई सोधें– तपाईंको बिरामीले अति आवश्यक रगत पातलो गर्नेलगायत औषधि नियमित सेवन गरेको कसरी पक्का गर्नु हुन्छ त ? ग्रामीण भेगको व्यक्तिमा हृदयाघात हुँदा उसले प्राथमिक स्वास्थ्य केन्द्रमै फलोअप गर्ने बताए । सो व्यक्ति नियमित उनैकोमा आउने–नआउने पक्का नभएको पनि उनले स्वीकार गरे । एकदम महत्त्वपूर्ण कुरा एन्जियोप्लास्टी गरिसकेका व्यक्तिले हृदयरोग विशेषज्ञले दिएको कुनै पनि औषधि आफूखुसी रोक्न मिल्दैन । यसले खोलिसकेको रक्तनली पुनः बन्द हुन सक्छ ।

एन्जियोप्लास्टी गर्दा राखिएको स्टेन्ट (जाली) फेरि बन्द नहोस् भनेर दुई थरीको रगत पातलो हुने औषधि दिइन्छ– एक वर्षका लागि । एक वर्षपछि एउटा घटाइन्छ, अर्को निरन्तर खाइरहनुपर्छ । कथंकदाचित रक्तस्राव हुने साइडइफेक्ट देखियो भने तुरुन्तै मुटुरोग विशेषज्ञलाई देखाइहाल्नुपर्छ । यसका साथै चिल्लो घट्ने, प्रेसर घट्नेलगायत अरू थुप्रै औषधि पनि निरन्तर खाइराख्नुपर्छ । यस्तै अरू विभिन्न प्रकारका उपचार पद्धति, नयाँ आविष्कार, हुन सक्ने जोखिम न्यूनीकरण आदि विषयमा इन्डोनेसियामा गहन छलफल भए । 

विकसित राष्ट्रहरूमा उपलब्ध उपकरण तथा पद्धति हाम्रो देशमा अझै आइपुगिसकेका छैनन् । हाम्रो आर्थिक अवस्थाले पनि ती ल्याउन सकेका छैनौं होला । हामीकहाँ स्वास्थ्य क्षेत्रमा खर्च गर्ने क्षमता पनि अझै न्यून नै छ । तथापि, सीप र ज्ञान भएका दक्ष चिकित्सकले आफ्नो लगनले कार्य गरिराखेकाले हामीकहाँ पनि मुटु स्वास्थ्यमा उल्लेखनीय स्तरीयता भने कायम भएको छ ।

डा.

Link copied successfully