बीजमन्त्रको खोजी

प्रकृतिसँग मानव जीवनको धागो जोडिएको छ र त्यो धागोको मुख्य धारा नै कृषि हो । त्यही कृषि नेपालमा संकटग्रस्त छ ।

भाद्र १५, २०८२

युग पाठक

Search for Bijamantra

What you should know

अचेलभरि सल्लाह पनि छरितो भएको छ । सल्लाहदाता भन्छन्– ३० सेकेन्डको टिकटक वा १ मिनेटको रिल, त्यत्ति हो है ! त्योभन्दा रत्तिभर बढी कसैले हेर्दैन । यस्तै बेला टिकटके हुलले माडेको तोरीबारी झलझली याद आउँछ । तोरीबारीको माटो खिप्न टिकटके पहिला आउँछ कि किसान ? एउटा बारीमा कति समय गुजारेपछि त्यो पहेँलपुर तोरीबारी हुन्छ ? तीस सेकेन्डमा बाँझो फुटाइन्छ ?

एक मिनेटमा तोरी छरिन्छ ? गोडमेल र हेरचाह, घामको पहार र शीतको सिँचाइ, किसान र प्रकृतिले कति प्रहर लगानी गरेपछि तोरीबारी गुल्जार हुन्छ ? 

माछापुच्छ्रे हिमालमा कालापत्थर हाँसेको र मच्छर कैलाश यात्रामा निस्किएको युगमा धर्तीको तोरीबारी मुर्झाउनु र रिलको तोरीबारी लहलहाउनु सर्वथा स्वाभाविक छ । किसानको काँध टेको हालेर किसानकै चीरहरणको इतिहास रचिएको देश हो यो । इतिहासको यस्तो प्रतिकूल प्रवाहमा समेत ‘राष्ट्रिय कृषिगणना २०७८’ ले भने देशका ६२ प्रतिशत परिवार कृषक रहेको तथ्यांक निकालेको रहेछ । कृषिप्रधान देशको घोषित नाराले पर्दा हालेर अघोषित ‘राष्ट्रिय कृषि उन्मूलन कार्यक्रम’ दशकौं चलिसक्दासमेत कृषि परिवारको जनसंख्या एक करोड ९४ लाख ४७ हजार ९५५ (अहिलेसम्ममा अझ बढेको हुन सक्छ) हुनु सुखद् आश्चर्य नै मान्नुपर्छ । यो तथ्यले रैथाने ज्ञान, जीवन दर्शन र कृषिको जरा निमिट्यान्न भइसकेको छैन भन्ने प्रमाण दिन्छ ।

एक त्यान्द्रो पराल

प्राध्यापन र कविताको मेलो बीचैमा छाडेर एक दिन कवि माधव ढुंगेल खेतको मटमञ्चमा पुगे । त्यतिखेर त्यो खबरलाई आफन्त र इष्टमित्रले दुर्घटना जस्तो ग्रहण गरेका थिए । अनुभूतिको यो दुर्घटना विचारले निम्त्याएको हो । कृषिलाई पिछडा र अविकसित समाजको एक लक्षण करार गरेर नै आधुनिकताको विचार स्थापित भएको थियो । त्यसैले आधुनिकतातिर हिँड्नुको पहिलो सर्त नै कृषिबाट उम्किनु हो भन्ने आम बुझाइ बन्यो । विश्वविद्यालय धाएर वर्षौंको ज्ञान–सिंगौरीपश्चात् पारिवारिक कृषि परम्पराबाट उम्किसक्यो, अब फेरि फर्केर माटो कोतर्न जाने ? छोराछोरीलाई स्कुलमा बाउ ‘फारमर’ भन्नुको लाज, बाआमालाई पढालेखा छोरा किसानी गर्छ भन्नुको सकस !

समाजमा बीजमन्त्र जगाउने शक्ति कतै छ भने तिनै कर्मठ किसानहरूमा छ, जो ऐतिहासिक चीरहरणसँग लड्दै निरन्तर खेतबारीको गीत गाइरहेछन् ।कवि ढुंगेलले यो सकस मटमञ्चमा पसिना बगाएरै पार लगाए । ‘हिजोआज कविता कत्तिको लेख्नुहुन्छ ?’ भन्ने प्रश्न भुइँमा खस्न नपाई जवाफ दिन्छन्, ‘फलमा कविता, फूलमा कविता । मुनामा कविता, लहरामा कविता । प्रकृतिले कविता लेखिरहन्छ, म टिपिरहन्छु ।’ परालको एउटा त्यान्द्रोबाट क्रान्ति रच्ने धुनमा लागेका एक विद्रोही हुन् उनी । मटमञ्चको विश्वविद्यालयमा पनि ज्ञानको सिंगौरी चल्छ, किनभने अबको कृषि केवल कृषि होइन, विचारको संघर्ष पनि हो । कृषिको शक्ति र मर्यादा स्थापित गर्न विचारको मोर्चामा पनि खरो उत्रिनैपर्छ । त्यसैले जापानी कृषक तथा दार्शनिक मासानोबु फुकुओकाको पुस्तक ‘द वान स्ट्र रिभोलुसन’ ले सैद्धान्तीकरण गरेको प्राकृतिक खेती प्रणाली होस् वा दक्षिण कोरियाका योङसाङ चोले विकास गरेको ‘जडाम खेती प्रणाली’, रासायनिक र विषादीयुक्त तथाकथित आधुनिक खेती प्रणालीको सत्ताधारी ज्ञानसँग सि‌ंगौरी खेल्न दुनियाँको कुनाकुनाका मटमञ्चमा एकसेएक क्रान्तिकारी कृषिविचार खडा भइसकेका छन् ।

माटोमा जीवन छ र परालको त्यान्द्रोमा पनि प्राण छ । छायाचित्रमा रमाउँदा रमाउँदै बिरामी भएपछि मान्छे उपचार खोज्न फर्किने भनेकै प्रकृतिमा हो । प्रकृतिसँग मानव जीवनको धागो जोडिएको छ र त्यो धागोको मुख्य धारा नै कृषि हो । त्यही कृषि नेपालमा संकटग्रस्त छ । फगत यसकारण होइन कि युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् । यसकारण मात्रै पनि होइन कि कृषिउपजको बजार व्यवस्थापनमा बिचौलियाको रजगज छ । अथवा यसकारण पनि होइन कि कृषिको कथित आधुनिकीकरण हुन सकेको छैन । यो त सबै कथित आधुनिकताका ठेकेदारले कृषिमाथि नाफाको नङ्ग्रा गाड्न रचेको प्रपञ्चकारी वैचारिकी मात्रै हो ।

गुह्य कुरा यो हो कि राज्यको विचार नै कृषि उन्मूलनकारी छ । विकास नामको एउटा धुन्धुकारी चिन्तन छ, जसले राजनीतिलाई फगत विदेशी साहु र ठेकेदारका खेलोमेलो चलाइदिने व्यवस्थापकमा पतन गराइसकेको छ । त्यसैले जुनकुनै पार्टीको सरकारलाई ६२ प्रतिशत परिवार अहिले पनि सामेल रहेको कृषिको महत्त्वबोध हुँदैन । तर अनावश्यक हो भनेर व्यापक बहस हुँदाहुँदै पनि विदेशी ऋण लिएर कथित अन्तर्राष्ट्रिय विमानस्थलहरू (पोखरा/भैरहवा) बनाउँछ र उडान राखिदेऊ भनेर विदेशीसँगै हात जोड्न जान्छ । तैपनि अपमानबोध हुँदैन र फेरि अर्को ठूलो निजगढ विमानस्थलको थेत्तरो सपना देख्छ । जनताको शक्तिलाई रैथाने ज्ञान र उत्पादनको शक्तिमा होइन, फगत भोटको गिन्तीमा नापेको छ । काशी हिँडेको राजनीति, कुती हिँडेका जनता ।

बीउभित्र रुख

राजनीतिलाई जनमुखी विचारतिर सोझ्याउन प्रयत्न गर्ने हेतुले हामी केही मानिसहरू गत आमनिर्वाचनमा होमियौं । हामीमध्ये एक थिए– ‘खानाका लागि खेतीपाती’ अभियानकर्मी एवम् कृषिविज्ञ कृष्णप्रसाद पौडेल । कृषि प्रणालीमा व्यापक परिवर्तनको कार्यभार सामाजिक अभियानबाट मात्र पूरा नहुने हुनाले राजनीतिको विषय बनाउने कोसिस पौडेलको थियो । राज्य लागेर ध्वस्त पारेको कृषिलाई राज्यकै शक्ति नलगाई हरिलोभरिलो पार्न सकिँदैन । राज्यको वैचारिक शक्ति राजनीतिमै हुन्छ, त्यसैले हस्तक्षेप राजनीतिबाटै हुनुपर्छ ।

पत्रकारिता र साहित्यमा नाम कमाएका नारायण वाग्ले पनि त्यही छेका बाँझो पल्टिएको पुर्ख्यौली खेत बिराउन तनहुँ फर्के । खेती उनका लागि पनि खेती मात्र हुन सकेन, वैचारिक राजनीतिक मेलो बन्न पुग्यो । जसरी फुकुओका दार्शनिक तथा कृषि एक्टिभिस्टका रूपमा जीवनपर्यन्त सक्रिय रहे र योङसाङ चो अझै सक्रिय छन् । आम किसान सके आफू पनि खेतीबाट फुत्किने, नसके सन्ततिलाई उम्काउने विचारबाट प्रेरित भएको बेला कृषि एक्टिभिस्टहरूको भूमिका अहम् हुन्छ । यसर्थ वाग्ले पनि अस्ट्रियन दार्शनिक रुडोल्फ स्टाइनरले प्रतिपादन गरेको बायोडाइनामिक कृषि अभियानका एक्टिभिस्ट हुन् भन्न सकिन्छ ।

केही वर्षदेखि जोदाहा राजनीतिक अर्थशास्त्री हरि रोका पनि खोटाङको पुर्ख्यौली थलोमा खेतीपातीको रौनक फर्काउन प्रयासरत छन् । राजनीतिदेखि अरू थुप्रै क्षेत्रका चर्चित पात्रहरू जीवन खोज्न खेतीपातीमा पसेका छन् । कास्की, हेम्जाकी मीना गुरुङ हुन् वा चितवनको माडीमा सक्रिय रश्मि पण्डित, सप्तरीका सुदर्शन चौधरी हुन् कि दोलखामा सक्रिय राजकुमार श्रेष्ठ, कृषिविचारमार्फत आन्दोलनको झिल्को बाल्नेहरू देशभरि क्रियाशील देखिन्छन् । आधुनिकीकरण र औद्योगीकरणले जल, जमिन, जंगल र फसलमा मात्र होइन, बीउबिजन र बालीको पेटेन्ट समेतमा कर्पोरेट एकाधिकार र नियन्त्रण स्थापित गरिदिएको समयमा कृषिको प्राण जराजीर्ण छ । यस्तो भयावह चुनौतीलाई कृषि एक्टिभिस्टहरूको छिन्नभिन्न प्रयासले सामना गर्न सक्दैन । त्यसैले देशको ६२ प्रतिशत किसान परिवारसम्म कृषिका प्रकृतिसम्मत दर्शन र अभ्यासहरूलाई कसरी लैजाने, अबको कृषि आन्दोलनले त्यो रणनीति तय गर्नुपर्ने देखिन्छ ।

अर्थात् कृषिको उन्नयन र प्राणप्रतिष्ठा गर्ने आन्दोलनको बीउ तयार भइसकेको छ । सानो बीउमा विशाल वृक्ष लुकेको हुन्छ भन्ने भनाइ नै छ । प्रकृतिसम्मत र जीवनदायी कृषिलाई राजनीतिको जाज्वल्यमान एजेन्डा बनाउन अबको एक्टिभिज्म केन्द्रित हुनुपर्छ । विचारच्युत राजनीतिलाई विचारको बिजुली चम्काएर अघि बढाउने नयाँ आधारभूमि पनि रैथाने र नवोदित कृषिदर्शनहरूले दिन सक्छन् ।

बीजमन्त्र

कृषि भनेको केवल सादा खेतीपातीको एकरेखीय कथा होइन । कृषिका हाँगाबिँगा र जराजुरी, यसका बस्तुभाउ र सुनाखरी, यसका शिरदेखि पैतलासम्म उम्रने जडीबुटी ! अनि यसको वरिपरि फस्टाउने अनेकन उद्यमहरूको बृहत्तर जीवनचक्र हुन्छ । त्यति मात्र होइन, कृषिको पर्यावरणीय चक्रसँगै रचेबसेको रैथाने जीवनदर्शन, गीतसंगीत, पहिचान र सहजीवनको परिकल्पना पनि हुन्छ । त्यहाँ परिवर्तनको शाश्वत् नियम दिनहुँ अनुभूत हुन्छ । तसर्थ कृषिको नाभीबाट निसृत हुने राजनीतिले निरन्तर परिवर्तन र परिस्कारको प्राकृतिक सक्रियता जगाउनुले सामर्थ्य राख्छ ।

विख्यात भारतीय दार्शनिक, कृषि अभियन्ता तथा पर्या–नारीवादी चिन्तक वन्दना शिवाले रैथाने कृषि, जैविक विविधता र किसानको अधिकारको पक्षमा भारत र विश्वभरि चलाएको सम्झौताहीन संघर्षबाट सिक्नुपर्ने कुरा धेरै छ । उनले देहरादूनस्थित आफ्नै आमाको गाईगोठबाट झिल्काएको विचारको झिल्कोले अमेरिकी कर्पोरेट शक्तिसँग टक्कर लिने क्षमता कसरी विकास गर्‍यो ? त्यो शक्तिको स्रोत के हो ? त्यो शक्तिको स्रोत हो– देहरादून र भारतका किसान । जहिलेसम्म मान्छेको नसामा ‘एआई’ ले होइन, प्रकृतिले रगत भर्छ, त्यस बेलासम्म किसानको शक्ति अपरिमित रहन्छ । सवाल यो छ कि वर्तमान सन्दर्भमा किसान र कृषिभूमिको स्वत्व ब्युँझाउने बीजमन्त्र के हुन सक्छ ? त्यस्तो बीजमन्त्र जगाउने उपाय के हुन सक्छ ?

एकतिहाइ उर्वर कृषिभूमि बाँझो पल्टिएको छ भने बुझ्नुपर्‍यो– लोकतन्त्रमा एकतिहाइ दक्खल परिसक्यो र राष्ट्रिय स्वाधीनतामा पनि एकतिहाइ कुएँत्रो लागिसक्यो । वन्दना शिवाकै शब्दमा प्रकृतिको अर्थतन्त्रमा मुद्रा भनेको पैसा होइन, जीवन हो । जीवन त्यहीं हुन्छ, जहाँ प्राण जन्माउने र हुर्काउने बीजतत्त्व हुन्छ । राजनीतिलाई विचारसम्पन्न र संस्कृतिलाई जीवनमैत्री तुल्याउने, समाजलाई लोकतान्त्रिक र राज्यलाई जनमुखी बनाउने बीजमन्त्र पनि त्यतै कतै छ । समाजमा बीजमन्त्र जगाउने शक्ति कतै छ भने तिनै कर्मठ किसानहरूमा छ, जो ऐतिहासिक चीरहरणसँग लड्दै निरन्तर खेतबारीको गीत गाइरहेछन् ।

अन्त्यमा,

शास्त्रीय अर्थमा बीजमन्त्र आध्यात्मिक शक्ति भएको विशिष्ट ध्वनियन्त्र हो । यो आलेखमा सन्दर्भित बीजमन्त्र भने विचारको त्यस्तो सारतत्त्व हो, जसले बुलन्द आह्वानको क्षमता राख्छ । वैचारिक संकटले ग्रस्त, पर्यावरणीय संकटले त्रस्त, विश्वव्यापी अर्थतन्त्रको विग्रहले अस्तव्यस्त र जनअधिकारमा अंकुश कस्न विश्वका शक्तिशालीहरू उन्मादग्रस्त भएको परिस्थिति छ । हाम्रो आफ्नै समाज छिन्नभिन्न हुने क्रममा छ । हिंसात्मक अपराधको ग्राफ उकालो लागेको छ । औसत परिवार आर्थिक मन्दीमा भित्रभित्रै निस्सासिएको छ । हाम्रो राजनीति र राज्य भने तमाम संकटहरूबारे अनविज्ञ जस्तो, बेपरवाह जस्तो देखिन्छ ।

कुनै संकट दैनन्दिन हुन्छन्, कुनै ऐतिहासिक । दैनन्दिन समस्यामै गाँज हालेर बसेको हाम्रो राज्य र समाजलाई कुनै दाताले उद्धार गरिदेला त ? दातामा दरिएकाहरू स्वयम् घरभित्रै संकटले घेरिएका छन्, त्यसैले संसारका ठूलो स्रोतसाधनमा कब्जा जमाइराख्ने तर दाताको मुखुन्डो थन्क्याउने क्रममा छन् । यथार्थतः ऐतिहासिक संकटको सामना गर्ने ज्ञान र सामर्थ्य आफैं विकास नगरी सुख्खै छैन । त्यसका निम्ति पहिलो सर्त हो, संकटको आकलन गरेर त्यसमाथि वस्तुसंगत विमर्शमा जुट्नु । यही विधिबाट मात्रै समाधानको बीजमन्त्र प्रतिपादन गर्न सकिन्छ ।

कृषिविचारको कुरा यहाँ किन निर्णायक छ भने नेपालका बहुसंख्यक जनता अझै पनि कृषिमा जरा गाडेर बसेका छन् । दोस्रो कुरा, यहाँका अधिकांश अर्गानिक व्यवसायहरू कृषिबाटै निसृत छन् । तेस्रो कुरा, खतरनाक हुँदै गएको पर्यावरण संकटले विश्व अर्थतन्त्रलाई प्रकृतिको जरातिर फर्काउने निश्चित छ । चौथो कुरा, स्वस्थ खाना र प्रकृतिसम्मत जीवन निकट भविष्यमा महत्त्वाकांक्षा हुनेवाला छ । पाँचौं कुरा, प्रकृतिसम्मत खानेकुरा उत्पादनमा आत्मनिर्भर हुन नसक्ने कुनै पनि मुलुक चौतर्फी संकट (मूलतः स्वास्थ्य र खाद्यसंकट) मा फसेर स्वाधीनता गुमाउने स्थितिमा पुग्नेछ । त्यसैले आधुनिकताको ज्ञानले हेला गर्न सिकाएको कृषिभित्र नै नेपालको भविष्य जोगाउने बीजमन्त्र अन्तर्निहित छ ।

लोकतन्त्रलाई समृद्ध बनाउने अभियान होस् वा असमानता/विभेद/अन्यायका विरुद्ध लड्ने कुनै पनि राजनीतिक आन्दोलन, आखिरीमा कृषिविचारमा जोडिनैपर्छ । विलासी गाडीको सुविधा हेरेर बाटो, खर्बौं ऋणको भाका हेरेर एयरपोर्ट, अनि अत्याधुनिक प्रविधि वा व्यापारको मुख हेरेर टावर, विकासको यही फेसन–शो गर्दागर्दै राज्य र राजनीति सुकुलगुन्डोमा रूपान्तरित भएको छ । कृषिजीवनको सह जगाउने बीजमन्त्रको आह्वानमा जनताकै शक्तिले मात्र यो संकटको हिमनदी तर्न सकिन्छ । 

[email protected]

युग

Link copied successfully