छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने सम्भावना कमै हुन्छ । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ ।
What you should know
महिनावारी (छाउ) बार्नका लागि घरबाहिर बसेकी एक महिला र उनीसँगै रहेकी एक बालिकाले ज्यान गुमाउनुपरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा घरछेउमा टाँगेको त्रिपालमा माथिबाट खसेको ढुंगाले लाग्दा शुक्रबार ३९ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ज्यान गएको हो ।
मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारी घाइते भएकी छन् । छाउ बार्ने क्रममा मूल घरभन्दा अलग बस्दा फरकफरक कारणले मृत्यु हुने खनाल पहिलो त होइनन् नै, अन्तिम होलिन् भन्ने पनि आधार छैन । किनकि, छाउ बार्ने प्रचलनविरुद्ध फैलाइने जनचेतना प्रभावकारी हुन सकेको छैन । अन्धविश्वासबाट ग्रसित घरपरिवारले पनि आफ्नै वरपर घटिरहेका दुःखद् घटनाबाट पाठ सिक्न सकेका छैनन् । अन्धविश्वासले सिर्जना गरेको मृत्यु समाजको चेतनामाथिकै प्रश्न हो । यस्ता आत्मघाती अन्धविश्वासबाट सकेसम्म चाँडो बाहिर निस्किन सक्दा मात्रै महिला, घरपरिवार र समग्र समाजको हित हुन सक्छ ।
नेपालको पश्चिमी क्षेत्र, खासगरी सुदूरपश्चिम प्रदेशका केही भागमा महिनावारीका बेलामा किशोरी तथा महिलाहरू घरभन्दा टाढा/बाहिर अव्यवस्थित ढंगले बनाइएका, साँघुरो र असुरक्षित गोठमा दिनरात बिताउन बाध्य छन् । त्रास वा हिंसा खेप्न बाध्य छन् । खासगरी जंगली जनावरले आक्रमण गर्ने, सर्पले डस्ने, पहिरो खस्ने, ढुंगा खस्ने, जाडो हुने, धूवाँले निसासिने जस्ता कारणले मृत्यु हुने गरेको छ । बेलाबेला बलात्कृत भएको घटना पनि सार्वजनिक हुन्छ । निम खनाल र कविता भण्डारी पछिल्लो सन्दर्भ मात्रै हो । गत जेठ २७ गते मात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाईलाई छाउगोठमै सर्पले डस्दा मृत्यु भएको थियो ।
चार वर्षअघि अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । २ असार २०८१ मा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक १५ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । २०८१ माघ १३ राति कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई छाउगोठमा सुतिरहेकै बेलामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । २०६३ सालयता मात्रै छाउगोठमा शुक्रबारसम्म भएका घटनामा अछाममा २० जना महिला तथा किशोरी, डोटीमा २ र बाजुरामा ३, कञ्चनपुरमा १ गरी सुदूरपश्चिममा २६ जनाको मृत्यु भएको देखिन्छ ।
निश्चित उमेर समूहका महिलामा महिनावारी नियमित प्रक्रिया हो । तर, महिनावारीको समयमा गरिने विभेद धेरैतिर विद्यमान छ । नेपालको पश्चिमी क्षेत्रका केही स्थानमा भने किशोरी तथा महिलाले महिनावारी भएका बेला ४ देखि ६ दिनसम्म अलग्गै गोठमा बस्ने चलन छ । त्यसरी नबसे देउता रिसाउँछन्, हानि पुर्याउँछन् भन्ने अन्धविश्वास व्याप्त छ । व्यक्ति स्वयंको अन्धविश्वास र सामाजिक मान्यताका कारण यो विभेद र घरभन्दा अलग्गै बस्नुपर्ने बाध्यता चलिआएको छ । मृत्युका घटना सार्वजनिक भएसँगै छाउगोठ भत्काउने अभियानसमेत चल्ने गरेको छ । तर त्यसले पनि दिमागमा गढेर बसेको छाउगोठ भने भत्काउन सकेको छैन ।
जस्तो कि, शुक्रबार ज्यान गुमाएकी निम र घाइते रत्नकला छाउ बार्न चार दिनसम्म बारीमा त्रिपाल हालेर बसिरहेका थिए । वर्षा नरोकिएपछि बिहीबार पाँचौं दिन उनीहरू घरछेउ सरेका थिए । तर घरभित्र बसेनन् । मनमा गढेको छाउगोठ नभत्किएकै कारण उनीहरूले त्रिपालमै भए पनि घरबाहिर बसे । परिणामतः ज्यान गुमाए, घाइते भए ।
अन्धविश्वासको कठोर जगमा खडा भएको महिनावारी विभेद र मूलतः छाउगोठमा बस्ने प्रचलनले निम्त्याएको मृत्यु तथा अन्य दुर्घटनाको अन्त्यका लागि बाध्यात्मक र चेतनामूलक कार्यक्रम गरिन आवश्यक छ । मुख्यतः छाउगोठ भत्काउने कार्यक्रमलाई नै तीव्रता दिनुपर्छ । स्थानीय तह, वडा तथा अन्य सरोकारवाला संघसंस्थाले यसका लागि अग्रसरता लिनुपर्छ । त्यस्तै, कानुनी कारबाहीलाई पनि प्राथमिकता दिनुपर्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (३) मा महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भनिएको छ ।
उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । यद्यपि, छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने सम्भावना कमै हुन्छ । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ । दोषीलाई कारबाही गर्ने कामलाई तीव्रता दिइयो भने यो प्रथा कम हुँदै जान सक्छ ।
छाउगोठ भत्काइँदा पनि महिनावारी भएका महिलालाई गाई, भैंसीको गोठ वा बाख्राको खोरदेखि ओडारमा समेत बस्न बाध्य बनाइन्छ । शुक्रबार मृत्यु भएकी निम र रत्नकला झरीबीच त्रिपालमै बसेका थिए । चौपायाको गोठ, ओडार वा त्रिपालमै बसेर भए पनि महिनावारी बार्नुपर्छ भन्ने मानसिकता जबसम्म बाँकी रहन्छ, छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने प्रस्ट छ ।
त्यसैले बाध्यात्मक उपाय सँगसँगै चेतनामूलक कामलाई पनि अघि बढाउनुपर्छ । यसका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट अभियानकै रूपमा चेतनामूलक कार्यक्रम अगाडि बढाउन सकिन्छ । मूलतः महिनावारी नियमित प्रक्रिया हो, यो शारीरिक विषय भएकाले देउता रिसाउने वा नरिसाउने भन्ने सवाल नै नरहेकोबारे पाठ्यपुस्तकदेखि अन्य माध्यमबाट जोड दिनुपर्छ । त्यस्तै, छाउगोठमा बस्न बाध्य बनाइँदा भोग्नुपर्ने सजायबारे जानकारी फैलाउन सकिन्छ । पश्चिमी क्षेत्रका सेलिब्रिटीहरू, जो महिनावारी विभेदका विरुद्ध छन्, उनीहरूलाई प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियोहरू प्रस्तुत गर्न लगाउन सकिन्छ ।
समाजले जसका धारणालाई बढी विश्वास गर्छ, उनैलाई प्रयोग गरेर अन्धविश्वास घटाउँदै लैजानुपर्छ । मुख्यतः कुनै पनि किसिमका अभियान ह्वात्त चल्ने र सेलाउने गर्दा प्रभावकारी हुन सक्दैनन् । नतिजा पनि निस्किँदैन । सामूहिक र निरन्तरता दिनुपर्छ ।
