पत्रकारसँग त्रसित इजरायल

इजरायली आक्रमणले गाजामा मानवअधिकारको उल्लंघन गर्दै पत्रकारहरूलाई लक्षित गरेको छ, जसले विश्वव्यापी आलोचना निम्त्याएको छ।

भाद्र १३, २०८२

सम्पादकीय

Israel in trouble with journalists

What you should know

जतिसुकै घातक युद्धमा पनि पत्रकारको सुरक्षाप्रति युद्धरत पक्ष संवेदनशील र जवाफदेही हुने प्रचलनलाई इजरायलले तीव्र गतिमा तोडेको छ । इजरायलको निसानामा परेर प्यालेस्टाइनको गाजा क्षेत्रमा धमाधम पत्रकार मारिन थालेका छन् ।

प्यालेस्टाइनी भूमिमा बगिरहेको आलो रगत, भोक, रुवाइ, बिछोडलाई आफ्ना क्यामेरामार्फत विश्वसामु पुर्‍याइरहेका पत्रकारलाई इजरायलले आक्रमण गरिरहेको हो । आफूद्वारा जारी बर्बरताको जवाफदेही हुनुको सट्टा उसले खबर सम्प्रेषण गर्ने पत्रकार मार्ने विकल्प रोजेको हो ।

पत्रकार नै नभएपछि गाजाको नरसंहारको समाचार–कथा संसारले सुन्न र देख्न पाउने छैनन् भन्ने इजरायली विश्लेषण हुन सक्छ । भोकले छटपटिएका निःसहाय बालबालिका मार्न उद्यत इजरायललाई पत्रकार मार्न असहज नलाग्नु अनौठो पनि होइन । बालबालिकादेखि पत्रकारसम्म मारिँदासमेत शक्ति राष्ट्रले साधिरहेको मौनता भने अनौठो हो । नरसंहारको इजरायली गतिलाई निस्तेज नतुल्याउने हो भने इजरायली शासक सँगसँगै शक्ति राष्ट्रका शासक र विश्वभरका विवेकी नागरिकलाई भविष्यले दुत्कार्ने छ ।

७ अक्टोबर २०२३ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि भीषण आक्रमण गरेको थियो । क्षेप्यास्त्रका अतिरिक्त हमासका लडाकुहरू अनपेक्षित तरिकाले जमिन तथा समुद्री मार्गमार्फत इजरायल प्रवेश गर्न सफल भएका थिए । गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू छिचोल्दै इजरायल पुगेर हमास लडाकुले गरेका आक्रमणका कारण कम्तीमा १२ सयले ज्यान गुमाएका थिए । साथै, २ सय ५१ जनालाई बन्धक बनाएर लगिएको थियो । हमासको आक्रमणको प्रतिवादमा उत्रिनु इजरायलको स्वाभाविक कदम थियो । विश्वले इजरायलप्रति सहानुभूति राख्नु र उसका कदमलाई समर्थन जनाउनु पनि स्वाभाविक थियो । तर प्रतिवादका नाममा इजरायलले जवाफदेहिताबिनाको आक्रमण–शृंखला सुरु गर्‍यो ।

सुरुवातमा उसले हमासका कार्यकर्ता र आश्रयस्थललाई लक्षित गरिएको बताएको थियो । तर बिस्तारै आममानिसमाथि नै आक्रमण हुन थाल्यो । अस्पतालदेखि विद्यालयसम्म ध्वस्त पार्न थाल्यो । परिणामतः प्यालेस्टाइनमा दुई वर्षको अन्तरालमा करिब ६० हजार मानिस मारिएको तथ्यांक छन्, त्यसमध्ये १७ हजार जति त बालबालिका नै छन् ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार युद्धमा परेर कम्तीमा २ सय ४७ प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । गाजामा मारिएका पत्रकारहरूको संख्या अमेरिकी गृहयुद्ध, पहिलो र दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध र अफगानिस्तान युद्धमा मारिएका कुल पत्रकारभन्दा बढी रहेको अमेरिकाको ब्राउन युनिभर्सिटीको रिपोर्टले देखाएको छ ।

सोमबार मात्रै ‘एपी’ का ३३ वर्षीया मरियम डग्गा, ‘रोयटर्स’ का हुसाम अल–मसरी, ‘अलजजिरा’ का फोटो पत्रकार मोहम्मद सलामा, मोज अबु ताहा र अहमद अबु अजिज मारिएका थिए । उनीहरू खान युनिसको नासिर अस्पतालको चौथो तलामा बसेर रिपोर्टिङ गरिरहेका बेलामा इजरायलले सोही तलालाई निसानामा राखेर हवाई हमला गरेको थियो । दुई साताअघि पनि इजरायली सेनाले गाजा सहरको अल–शिफा अस्पताल नजिकै गरेको आक्रमणमा ‘अलजजिरा’ का चारसहित ६ जना पत्रकार मारिएका थिए ।

आक्रमणमा अनस अल–शरिफ, मोहम्मद कुरैके, इब्राहिम जहिर र मोआमेन अलिवा, मोहम्मद नौफल र मोहम्मद अल अलिद मारिएका थिए । इजरायलले पहिलो आक्रमण गर्ने र आक्रमणस्थलमा उद्धारकर्मी र पत्रकार पुगेपछि दोस्रो आक्रमण गर्ने ‘डबल–ट्याप’ शैली पनि अपनाएको छ ।

नासिर अस्पतालमा पनि त्यस्तै भएको थियो । उसको उद्देश्य उद्धारकर्मी र पत्रकारलाई पनि लक्षित गर्ने देखिन्छ । यसरी हमासको प्रतिवाद गर्ने प्राकृतिक उद्देश्यबाट सुरु भएको इजरायली आक्रमण आज पत्रकारसमेत मार्ने लज्जास्पद उद्देश्यमा विस्तारित भएको छ ।

आज इजरायललाई तत्काललाई हमाससँग त्रास छैन किनकि हमासले सम्भवतः नसोचेको प्रतिवाद र क्षति भोगेर शिथिल हुन पुगेको छ । इजरायललाई तत्काललाई प्यालेस्टाइनका निरीह नागरिकसँग पनि त्रास छैन किनकि तिनका लागि संसारको सबैभन्दा ठूलो खोजी नै खाना हुन पुगेको छ । बरु इजरायललाई यति बेला सबैभन्दा ठूलो त्रास बन्न पुगेका छन्– पत्रकार ।

किनकि, तिनले गाजाको दृश्य कैद गरेका छन्– खाना माग्न लाइनमा बसेका बालबालिकामाथि कसरी घातक आक्रमण भयो, बालबालिकाले कसरी आफ्ना आमाबाबु गुमाए, अस्पताल र विद्यालयमा कसरी मिसाइल खस्यो ? प्यालेस्टाइन, विशेषतः गाजामा मानव रगत नबगेको भूमि विरलै होलान्, तिनका एक–एक रेकर्ड पत्रकारसँग छ । इजरायल त्रसित बन्नुको कारण यही हो । उसलाई आफ्नो विवेकहीन आक्रमणप्रति पुनर्विचार गर्नुभन्दा पत्रकार मार्नु सजिलो लागेको छ । उसका निम्ति पत्रकारको सुरक्षा र रिपोर्टिङमा अवरोधहीनताको विषयसमेत अर्थहीन बनेको छ ।

प्रतिवादका नाममा गाजामा भइरहेको नरसंहारप्रति विश्वले समयमै प्रश्न नउठाउँदा इजरायली मनोमानी उत्कर्षमा पुगेको छ । पत्रकारलाई समेत छानी–छानी निसाना बनाउने उसको प्रवृत्तिले युद्ध उन्मादलाई पुष्टि गरेको छ । त्यसैले मानवअधिकार, प्रेस स्वतन्त्रता, विश्व शान्तिसुरक्षा, उपचार, शिक्षाजस्ता विषयमा सरोकार राख्ने विश्वभरका संस्थाहरू र विवेकशील नागरिकले आफ्नो आवाजलाई अझै ठूलो र प्रस्ट बनाउने बेला आएको छ ।

इजरायलप्रति औंलो ठड्याउने बेला आएको छ– कति आममानिस मरेपछि, कति बालबालिका मरेपछि, कति चिकित्सक मरेपछि, कति पत्रकार मरेपछि ‘हमासको आक्रमणको प्रतिवाद’ पूरा हुन्छ ? बाँकी विश्वलाई पनि सोध्नुपर्ने बेला आएको छ– गाजाले अझै क्षति बेहोरेपछि मौनता तोडिन्छ र ‘अब त इजरायलले सीमा नाघ्यो कि’ भन्ने लाग्छ ? स्पष्ट छ– गाजाका एक–एक नागरिकको मृत्युमा हमासको तत्कालीन आक्रमण, इजरायलको विवेकहीन हतियार प्रयोग र विश्वभरको मौनता बराबर जिम्मेवार छ । यी सबैले कुनै दिन जवाफदेही हुनैपर्छ । आफ्नो हिस्साको सजाय पनि बेहोर्नैपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully