इजरायली आक्रमणले गाजामा मानवअधिकारको उल्लंघन गर्दै पत्रकारहरूलाई लक्षित गरेको छ, जसले विश्वव्यापी आलोचना निम्त्याएको छ।
What you should know
जतिसुकै घातक युद्धमा पनि पत्रकारको सुरक्षाप्रति युद्धरत पक्ष संवेदनशील र जवाफदेही हुने प्रचलनलाई इजरायलले तीव्र गतिमा तोडेको छ । इजरायलको निसानामा परेर प्यालेस्टाइनको गाजा क्षेत्रमा धमाधम पत्रकार मारिन थालेका छन् ।
प्यालेस्टाइनी भूमिमा बगिरहेको आलो रगत, भोक, रुवाइ, बिछोडलाई आफ्ना क्यामेरामार्फत विश्वसामु पुर्याइरहेका पत्रकारलाई इजरायलले आक्रमण गरिरहेको हो । आफूद्वारा जारी बर्बरताको जवाफदेही हुनुको सट्टा उसले खबर सम्प्रेषण गर्ने पत्रकार मार्ने विकल्प रोजेको हो ।
पत्रकार नै नभएपछि गाजाको नरसंहारको समाचार–कथा संसारले सुन्न र देख्न पाउने छैनन् भन्ने इजरायली विश्लेषण हुन सक्छ । भोकले छटपटिएका निःसहाय बालबालिका मार्न उद्यत इजरायललाई पत्रकार मार्न असहज नलाग्नु अनौठो पनि होइन । बालबालिकादेखि पत्रकारसम्म मारिँदासमेत शक्ति राष्ट्रले साधिरहेको मौनता भने अनौठो हो । नरसंहारको इजरायली गतिलाई निस्तेज नतुल्याउने हो भने इजरायली शासक सँगसँगै शक्ति राष्ट्रका शासक र विश्वभरका विवेकी नागरिकलाई भविष्यले दुत्कार्ने छ ।
७ अक्टोबर २०२३ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि भीषण आक्रमण गरेको थियो । क्षेप्यास्त्रका अतिरिक्त हमासका लडाकुहरू अनपेक्षित तरिकाले जमिन तथा समुद्री मार्गमार्फत इजरायल प्रवेश गर्न सफल भएका थिए । गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू छिचोल्दै इजरायल पुगेर हमास लडाकुले गरेका आक्रमणका कारण कम्तीमा १२ सयले ज्यान गुमाएका थिए । साथै, २ सय ५१ जनालाई बन्धक बनाएर लगिएको थियो । हमासको आक्रमणको प्रतिवादमा उत्रिनु इजरायलको स्वाभाविक कदम थियो । विश्वले इजरायलप्रति सहानुभूति राख्नु र उसका कदमलाई समर्थन जनाउनु पनि स्वाभाविक थियो । तर प्रतिवादका नाममा इजरायलले जवाफदेहिताबिनाको आक्रमण–शृंखला सुरु गर्यो ।
सुरुवातमा उसले हमासका कार्यकर्ता र आश्रयस्थललाई लक्षित गरिएको बताएको थियो । तर बिस्तारै आममानिसमाथि नै आक्रमण हुन थाल्यो । अस्पतालदेखि विद्यालयसम्म ध्वस्त पार्न थाल्यो । परिणामतः प्यालेस्टाइनमा दुई वर्षको अन्तरालमा करिब ६० हजार मानिस मारिएको तथ्यांक छन्, त्यसमध्ये १७ हजार जति त बालबालिका नै छन् ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार युद्धमा परेर कम्तीमा २ सय ४७ प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । गाजामा मारिएका पत्रकारहरूको संख्या अमेरिकी गृहयुद्ध, पहिलो र दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध र अफगानिस्तान युद्धमा मारिएका कुल पत्रकारभन्दा बढी रहेको अमेरिकाको ब्राउन युनिभर्सिटीको रिपोर्टले देखाएको छ ।
सोमबार मात्रै ‘एपी’ का ३३ वर्षीया मरियम डग्गा, ‘रोयटर्स’ का हुसाम अल–मसरी, ‘अलजजिरा’ का फोटो पत्रकार मोहम्मद सलामा, मोज अबु ताहा र अहमद अबु अजिज मारिएका थिए । उनीहरू खान युनिसको नासिर अस्पतालको चौथो तलामा बसेर रिपोर्टिङ गरिरहेका बेलामा इजरायलले सोही तलालाई निसानामा राखेर हवाई हमला गरेको थियो । दुई साताअघि पनि इजरायली सेनाले गाजा सहरको अल–शिफा अस्पताल नजिकै गरेको आक्रमणमा ‘अलजजिरा’ का चारसहित ६ जना पत्रकार मारिएका थिए ।
आक्रमणमा अनस अल–शरिफ, मोहम्मद कुरैके, इब्राहिम जहिर र मोआमेन अलिवा, मोहम्मद नौफल र मोहम्मद अल अलिद मारिएका थिए । इजरायलले पहिलो आक्रमण गर्ने र आक्रमणस्थलमा उद्धारकर्मी र पत्रकार पुगेपछि दोस्रो आक्रमण गर्ने ‘डबल–ट्याप’ शैली पनि अपनाएको छ ।
नासिर अस्पतालमा पनि त्यस्तै भएको थियो । उसको उद्देश्य उद्धारकर्मी र पत्रकारलाई पनि लक्षित गर्ने देखिन्छ । यसरी हमासको प्रतिवाद गर्ने प्राकृतिक उद्देश्यबाट सुरु भएको इजरायली आक्रमण आज पत्रकारसमेत मार्ने लज्जास्पद उद्देश्यमा विस्तारित भएको छ ।
आज इजरायललाई तत्काललाई हमाससँग त्रास छैन किनकि हमासले सम्भवतः नसोचेको प्रतिवाद र क्षति भोगेर शिथिल हुन पुगेको छ । इजरायललाई तत्काललाई प्यालेस्टाइनका निरीह नागरिकसँग पनि त्रास छैन किनकि तिनका लागि संसारको सबैभन्दा ठूलो खोजी नै खाना हुन पुगेको छ । बरु इजरायललाई यति बेला सबैभन्दा ठूलो त्रास बन्न पुगेका छन्– पत्रकार ।
किनकि, तिनले गाजाको दृश्य कैद गरेका छन्– खाना माग्न लाइनमा बसेका बालबालिकामाथि कसरी घातक आक्रमण भयो, बालबालिकाले कसरी आफ्ना आमाबाबु गुमाए, अस्पताल र विद्यालयमा कसरी मिसाइल खस्यो ? प्यालेस्टाइन, विशेषतः गाजामा मानव रगत नबगेको भूमि विरलै होलान्, तिनका एक–एक रेकर्ड पत्रकारसँग छ । इजरायल त्रसित बन्नुको कारण यही हो । उसलाई आफ्नो विवेकहीन आक्रमणप्रति पुनर्विचार गर्नुभन्दा पत्रकार मार्नु सजिलो लागेको छ । उसका निम्ति पत्रकारको सुरक्षा र रिपोर्टिङमा अवरोधहीनताको विषयसमेत अर्थहीन बनेको छ ।
प्रतिवादका नाममा गाजामा भइरहेको नरसंहारप्रति विश्वले समयमै प्रश्न नउठाउँदा इजरायली मनोमानी उत्कर्षमा पुगेको छ । पत्रकारलाई समेत छानी–छानी निसाना बनाउने उसको प्रवृत्तिले युद्ध उन्मादलाई पुष्टि गरेको छ । त्यसैले मानवअधिकार, प्रेस स्वतन्त्रता, विश्व शान्तिसुरक्षा, उपचार, शिक्षाजस्ता विषयमा सरोकार राख्ने विश्वभरका संस्थाहरू र विवेकशील नागरिकले आफ्नो आवाजलाई अझै ठूलो र प्रस्ट बनाउने बेला आएको छ ।
इजरायलप्रति औंलो ठड्याउने बेला आएको छ– कति आममानिस मरेपछि, कति बालबालिका मरेपछि, कति चिकित्सक मरेपछि, कति पत्रकार मरेपछि ‘हमासको आक्रमणको प्रतिवाद’ पूरा हुन्छ ? बाँकी विश्वलाई पनि सोध्नुपर्ने बेला आएको छ– गाजाले अझै क्षति बेहोरेपछि मौनता तोडिन्छ र ‘अब त इजरायलले सीमा नाघ्यो कि’ भन्ने लाग्छ ? स्पष्ट छ– गाजाका एक–एक नागरिकको मृत्युमा हमासको तत्कालीन आक्रमण, इजरायलको विवेकहीन हतियार प्रयोग र विश्वभरको मौनता बराबर जिम्मेवार छ । यी सबैले कुनै दिन जवाफदेही हुनैपर्छ । आफ्नो हिस्साको सजाय पनि बेहोर्नैपर्छ ।
