तीज : सांस्कृतिक पहिचानको पर्व

तीज पर्व केवल देवीको पूजा वा रीतिरिवाजको निरन्तरता मात्र होइन, यो त महिलाको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र सांस्कृतिक पहिचानको पनि पर्व हो ।

भाद्र ११, २०८२

टीका ढकाल .

Teej: Festival of cultural identity

What you should know

आजको तीज केवल पतिको प्राप्तिका निम्ति गरिने व्रत मात्रै रहेन, यो महिलाको आत्मबोध, आत्मबल र सामाजिक चेतनाको उत्सव पनि बनेको छ । तीजको माहोलले महिला सशक्तीकरणको बहुआयामिक परिप्रेक्ष्य ल्याएको छ ।

विगतमा तीजको महत्त्व केवल धार्मिक र परम्परागत सीमामा सीमित थियो भने आज यसको घेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षसम्म फैलिएको छ । महिलाहरू अब केवल व्रत र पूजा गर्ने पात्र मात्रै होइनन्, तीजको माध्यमबाट आफ्नो आवाज बुलन्द गर्ने, समाजको गलत सोचप्रति प्रश्न उठाउने अनि समानताको पक्षमा बोल्ने बनेका छन् । सामूहिक नाचगान, गीत लेखन, नारी विषयमा केन्द्रित कार्यक्रम र संवादको आयोजनाले तीजलाई नयाँ परिभाषा दिएको छ । 

महिलाले आफूलाई समाजको निर्णय प्रक्रियामा ल्याउन, आफ्नो अनुभव सुनाउन र आफ्नो उपस्थितिलाई मूल्य दिनका लागि तीज पर्व एउटा सशक्त माध्यम बन्न गएको छ । दबिएर रहेका स्वरलाई तीजका बेला महिलाले खुलेर गीतका माध्यमबाट बाहिर ल्याउँछन्, आफ्ना दुःख, पीडा, आशा र सपना साटासाट गर्छन् । यस्ता गीत केवल सांस्कृतिक मनोरञ्जनका लागि मात्र होइन, महिलाको जीवनका जीवित दस्तावेज पनि हुन् ।

तीज पर्वले महिलाको आर्थिक सशक्तीकरणमा पनि उल्लेखनीय योगदान दिन थालेको छ । महिलाले यस अवसरमा उत्पादन गरिएका सामान (जस्तैः तीजका सजावट, शृंगार सामग्री, मौलिक पहिरन, परिकारहरू) बजारमा ल्याउन थालेका छन् । घरेलु उद्यम र हस्तकला प्रवर्द्धनमा तीज महत्त्वपूर्ण अवसर बनेको छ । सहकारी संस्थाहरूले तीजको मेलामा महिला उद्यमीलाई स्टल उपलब्ध गराउने, उत्पादन प्रदर्शन गर्ने र बिक्रीको अवसर दिने गरेका छन् ।

यस्तो कार्यले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बन्न, व्यापारिक सोच विकास गर्न र आफ्ना सीप प्रदर्शन गर्न पनि प्रेरित गरिरहेको छ । तर यो धेरै न्यून छ । हामी अझै हाम्रो धार्मिक र पर्वसम्बन्धी उपभोगकर्ताको मनोविज्ञान राम्ररी बुझेर अघि बढिरहेका छैनौं । यसै अवसरमा भारत र चीनले नेपाली बजारलाई अत्यधिक आकर्षक बनाउने रणनीति अपनाएका छन् । यदि हामीले आफ्नै स्थानीय उत्पादनलाई सदुपयोग गरी धार्मिक र पर्वसँग जोड्न सक्यौं भने आर्थिक लाभ लिन सक्ने अवसर हुन्छ ।

तीज पर्वले हाम्रो मौलिक संस्कृतिको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएको छ । आज जति आधुनिकता बढेको छ, त्यति नै परम्परागत गीत, मौलिक नृत्य, लोकभाषा र परिकारहरू लोप हुने खतरा पनि बढेको छ । तीजका मौलिक भाका, झ्याम झ्याम नाच, ढोलक, मादलको ताल अनि माइती–ससुरालीको सम्बन्धमा गाइने गीतहरूले हाम्रो संस्कृति जोगाइरहेका छन् । स्थानीय सरकार, विद्यालय र सांस्कृतिक संस्थाहरूले यस्ता मौलिक तीज गीत प्रतियोगिता, परम्परागत पहिरन प्रदर्शनी र सामूहिक सांस्कृतिक कार्यक्रम आयोजना गरेर युवापुस्तालाई आफ्नो संस्कृति बुझ्न र आत्मसात् गर्न प्रेरित गर्नु आवश्यक छ ।

आजको तीजको सन्दर्भमा पुरुषहरूको भूमिका पनि बहसको विषय बन्न थालेको छ । महिला सशक्तीकरण केवल महिलाले मात्र गर्ने कार्य होइन यो समग्र समाजले बुझ्नुपर्ने विषय हो । पुरुषहरूले तीजको मर्म बुझ्न, महिलाको योगदानलाई स्वीकार गर्न र महिलाको स्वतन्त्रता र आत्मसम्मानलाई सम्मान गर्न जरुरी छ । कतिपय स्थानमा पुरुषले महिलाका लागि खाना पकाउने, उनीहरूका लागि कार्यक्रम व्यवस्थापन गर्ने वा तीज गीत लेख्न, गाउन, नाच्न सहयोग गर्ने क्रम सुरु भएको छ । यस्ता क्रियाकलापले पारिवारिक समन्वय बढाउँछ, आपसी सम्मानको भावना बलियो बनाउँछ र लैंगिक समानताको अभ्यासमा सकारात्मक सन्देश दिन्छ ।

मानसिक स्वास्थ्यको दृष्टिकोणबाट पनि तीज पर्व महत्त्वपूर्ण छ । वर्षभरि घर–व्यवहार, जागिर, समाज र पारिवारिक दबाबका बीच महिलाहरू आफूलाई लुटाउँछन्, समर्पित गर्छन् । तीज त्यो समय हो– जहाँ महिलाले आफूलाई सम्झन्छन्, आफूलाई प्रेम गर्छन् र आफूभित्रको शक्ति र अस्तित्वको पुनःस्मरण गर्छन् । सामूहिक नाचगान, गीत लेखन, मिलन र संवादका माध्यमबाट महिलाहरूको भावनात्मक थकान कम हुन्छ, सामूहिक सद्भाव पाउँछन् र मानसिक रूपमा बलियो महसुस गर्छन् ।

तीजका विशेष गीत, संगीत, नृत्य र परम्परागत प्रदर्शनको आयोजनाले स्थानीय समुदाय र पर्यटकको ध्यानाकर्षित गर्न सक्छ । यसले तीजको सांस्कृतिक महत्त्व मात्र होइन, तीजका परम्परागत र आधुनिक रूपहरूको संगमलाई पनि प्रस्तुत गर्ने अवसर दिन्छ ।

कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गरेर नेपाललाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउने अवसर पनि प्राप्त गर्न सकिन्छ । विदेशी पर्यटकलाई आकर्षित गर्न तीजको मौलिक संस्कृतिको हब बनाउन सकिन्छ ।

निष्कर्षका रूपमा भन्नुपर्दा तीज पर्व केवल देवीको पूजा वा रीतिरिवाजको निरन्तरता मात्र होइन, यो त महिलाको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र सांस्कृतिक पहिचानको पनि पर्व हो । यस पर्वले महिलालाई नाच्न, गाउन र रमाउन मात्र होइन, सोच्न, बोल्न र आफैंलाई बदल्न पनि सक्षम बनाएको छ । तीजले आस्थाको माध्यमबाट मानसिक सशक्तीकरण, संगठनको माध्यमबाट सामाजिक सशक्तीकरण र सीपका माध्यमबाट आर्थिक सशक्तीकरण गर्न भूमिका खेलिरहेको छ ।

टीका टीका कान्तिपुरमा महिला र समसामयिक बिषयमा लेख्छिन् ।

Link copied successfully