तीजको समाजशास्त्र

अर्को पाटोबाट केलाउँदा महिलाले आफ्नो सौन्दर्यको उत्सव मनाउने स्वतन्त्रता पनि पाएका छन् भन्ने पनि हामीले बिर्सनु हुँदैन ।

भाद्र १०, २०८२

डिला संग्रौला

Teej's Sociology

What you should know

अहिले सामाजिक सञ्जाल र मिडियाहरूमा विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ खुबै चर्चामा छ । विष्णु माझी लामो समयदेखि पर्दापछाडि मात्रै छिन् भने उनको हरेक वर्षको तीज गीतले छुट्टै सन्देश दिएको पाइन्छ । गत वर्षको गीतमा माइत जान नपाएको पीडा प्रस्तुत गरेकी माझीले यस पटक भने आफूलाई नै समाजसँग तुलना गरेर ‘म त नराउरी’ गीतमार्फत समाजको यथार्थ चित्रण गरेकी छन् । 

अहिलेको परिवेशमा नराम्री भन्न नमिल्ला । फेरि हामी काठमाडौं वा सहरमा बसेर यो गीत हेर्दै र सुन्दै गर्दा हामीलाई अप्ठेरो लागे पनि दूरदराजको कथालाई राम्रोसँग बुनेकाले यसलाई हामीले समग्रतामा सन्देशमूलक गीतका रूपमा लिएका छौं ।

तीज नेपाली महिलाको महत्त्वपूर्ण चाडका रूपमा रहेको छ । तीजमा दर खानेकुराले अहिले व्यापकता पाएको छ । तिथिअनुसार भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिवको पूजा आराधना गरी हिन्दु महिला तीजको व्रत बस्छौं । परापूर्वकालमा भगवान् शिवलाई पति पाऊँ भन्दै हिमालय पुत्री पार्वतीले व्रत बसेको कथालाई तीज पर्वसँग जोडेर हेरिएको छ । 

अहिलेको जस्तो यातायात र सञ्चारको सुविधा नभएको समयमा चेलीबेटीहरू वर्ष दिनमा एक पटक मात्रै माइतीको घरआँगनमा पुग्न पाउँथे । सानै उमेरमा विवाह हुनाले पनि माइत जानु भनेको ठूलै उपलब्धि हुन्थ्यो । घरको पीडा हुन्थ्यो । पीडा पोख्ने, मनको भावना सेयर गर्ने, माइती जाने, मीठो मसिनो खाने रहर तीज पर्वसँग जोडिएको थियो । तर अहिले परिवेश बदलिएको छ । खुला आकाश छ । अहिलेको तीजचाहिँ महिला सशक्तीकरण, महिला अधिकार र महिला संघर्षसँगै जोडिएको छ ।

समग्रमा हेर्दा तीज एक चाड मात्र नभएर यसको सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव धेरै फराकिलो छ । समाजशास्त्रीय दृष्टिले हेर्दा यो पर्व केवल धार्मिक श्रद्धासँग मात्र सीमित छैन, यो नेपाली महिलाको सामूहिक पहिचान र सामूहिक अभिव्यक्तिको पर्याय पनि बन्न पुगेको छ । 

महिलाको ‘संकल्प’ र ‘धैर्यलाई सम्मान गर्ने सांस्कृतिक कथा यस पर्वको मुख्य आधार हो । नेपालमा यो पर्व शताब्दीयौंदेखि विशेष गरी पहाडी क्षेत्रमा प्रचलित रहँदै आएको छ, जसले स्थानीय संस्कृतिसँग मिश्रित भएर आफ्नो विशिष्ट पहिचान पनि स्थापित गरेको छ ।

तीज महिलाहरूको सामूहिक जमघटको महत्त्वपूर्ण अवसर पनि हो । विवाहिता महिला आफ्नो माइती फर्केर आमा, दिदीबहिनी र साथीहरूसँग भेटघाट गर्छन् । यो मेलमिलाप केवल आनन्दका लागि मात्र नभई, जीवनका सुखदुःख माइतीपक्षसँग बाँड्ने, पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ गर्ने अवसर पनि हो ।

ग्रामीण क्षेत्रमा तीजले महिलाको सामाजिक पुँजीलाई बलियो बनाउन सहयोग पुर्‍याउँदै आएको छ । सहरी क्षेत्रमा तीजको गीत–नृत्य कार्यक्रमले महिलालाई व्यस्त जीवनबाट केही समय छुट्याएर, साथीभाइसँग समय बिताउने अवसर दिए पनि पछिल्लो समय सहरमा तीज भड्किलो भएको आवाज पनि सुनिने गरेको छ । यसमा हामी महिला दिदीबहिनीले पनि ध्यान दिनुपर्ने बेला आएको छ । तीज स्वाभाविक रूपमै ‘महिलाकेन्द्रित चाड’ हो । यसमा महिलाहरू विशेष पहिरनमा सजिन्छन्– रातो साडी, हरियो चुरा, पोते र टीका । यो परम्पराले एकातिर विवाह र दाम्पत्य जीवनलाई उच्च मूल्य दिने पितृसत्तात्मक सोचलाई पुनः पुष्टि गरेको पाइन्छ । तर अर्को पाटोबाट केलाउँदा महिलाले आफ्नो सौन्दर्यको उत्सव मनाउने स्वतन्त्रता पनि पाएका छन् भन्ने पनि हामीले बिर्सनु हुँदैन । 

समाजशास्त्रीय अध्ययनअनुसार यो परम्परालाई ‘सांस्कृतिक पुनरुत्पादन’ भनिन्छ, जसमा एक पुस्ताबाट अर्को पुस्तामा मूल्य, मान्यता र लैंगिक भूमिका सर्दै जान्छन् । तर पछिल्ला वर्षमा धेरै महिला संघ–संगठनले तीजलाई महिला सशक्तीकरणको एक प्लेटफर्मका रूपमा पनि प्रयोग गर्न थालेका छन् ।

तीजको मुख्य आकर्षणमध्ये एउटा नाचगान हो । परम्परागत रूपमा तीजका गीतमा महिलाले आफ्नो जीवनका अनुभव, भोगेका कष्ट, माया–प्रेम र माइतीको सम्झना व्यक्त गर्थे । त्यतिबेला तीजका गीत नेपाली दिदीबहिनीको पीडाको आवाज बनेका थिए भने तिनले पितृसत्तात्मक संरचनाभित्र महिलाले भोग्नुपरेको जीवनको यथार्थ झल्काउँथे । तर अहिले आधुनिक समयमा भने यी गीतमा हास्यव्यंग्य, राजनीतिक सन्देश र महिला अधिकारका माग पनि समावेश हुन थालेका छन् । यसलाई सांस्कृतिक पर्वहरू समयसँगै बदलिन्छन् र सामाजिक चेतनाको माध्यम बन्न सक्छन् भन्ने रूपमा पनि बुझ्न जरुरी छ ।

आर्थिक हिसाबले कुरा गर्दा तीज, दसैं, तिहारजस्ता पर्वमा किनमेल बढ्छ, अर्थतन्त्र चलायमान हुन्छ । तीज केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई बजार अर्थतन्त्रसँग गहिरो रूपमा पनि गाँसिएको देखिन्छ ।

संसारका हरेक कुनामा अहिले नेपाली दिदीबहिनी पुगिसकेको अवस्थामा प्रवासमा बस्ने नेपाली महिलाले पनि यो चाडलाई अझ भव्य तरिकाले मनाइरहेका छन् । आफ्नो संस्कृति, भाषा र परम्परा जोगाइराख्ने अवसर दिएको छ भने विदेशमा तीजका कार्यक्रमले समुदायमा एकताको भावना जगाउनुका साथै नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने माध्यम पनि बन्दै गएका छन् । तीज केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र होइन, यो नेपाली समाजमा महिलाको पहिचान, सामूहिकता, लैंगिक भूमिका र सांस्कृतिक निरन्तरताको जीवन्त उदाहरण हो । यसको समाजशास्त्र बुझ्दा हामी केवल भूतकालको परम्परा मात्र होइन, वर्तमानको चेतना र भविष्यको सम्भावनालाई पनि देख्न सक्छौं । तीजलाई साँचो अर्थमा महिलाको स्वतन्त्रता र समानताको पर्व बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।

चर्चित गायिका विष्णु माझीले भनेजस्तै ‘म त नराउरी’ भनेर आफूलाई आफैंले हेय भावले हेर्न अब जरुरी छैन । नेपाली महिलाले आफ्ना दुःख र वेदना मात्रै हैन, हाम्रा व्यक्तिगत तथा सामूहिक उपलब्धिका कथा पनि तीजका गीतमार्फत सुनाउने बेला आइसकेको छ । अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गरिरहँदा हाम्रा चेलीबेटी कुनै पनि किसिमको भेदभाव र हिंसाबाट मुक्त भएर आफ्ना चाडबाड मनाउने अवसर पाउनुपर्छ । तीज नेपाली समाजको एकता र हार्दिकताको माध्यम बन्न सकोस्, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पुरुषसरह नेपाली नारी हरेक क्षेत्रमा काँधमा काँध मिलाउँदै अगाडि बढ्न सकून्, तीजको हार्दिक शुभकामना ।

डिला प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

Link copied successfully