ओलिगार्कीको जंगे कानुन

सस्ता, असान्दर्भिक र दलालमैत्री कुरा गरेर बेरोजगार युवायुवतीमा जनसार्वभौमिकता केवल मिथक बन्दै गएको वैश्विक दूषित राजनीतिक वातावरणको उपयुक्त समाधान दिने राजनीतिक कृत्रिम बुद्धिमत्ता अझै फेला पर्न सकेको छैन ।

भाद्र १०, २०८२

शुभशंकर कँडेल

Junge Law of Oligarchy

What you should know

सार्वभौम संसद्ले पारित गरेको विधेयकमा छेडखानी भइरहँदा सभामुखले कुनै जिम्मेवारी लिनु पर्दैन ? राष्ट्रपतिले फिर्ता पठाइदिएको संवैधानिक परिषद् विधेयक पुनः बलजफ्ती गरेर कर्मकाण्डमै धकेल्दा किन संसद् मौन छ ? झन्डै आठ वर्षदेखि विवादित गिरीबन्धुलक्षित भूमि विधेयकप्रतिका कार्यकारी प्रमुखको मरिहत्ते के हो ?

भुटानी शरणार्थी काण्ड, सुन तस्करी हुँदै भिजिट भिसा काण्डको मञ्चनसम्म आइपुग्दा किन देउवा–ओलीकृत दलहरू बोल्न सक्दैनन् ? मदन भण्डारी पत्नीको सदस्यताको अन्तिम संस्कार हुँदा पनि किन एमालेका कुनैको चाइँचुइँ छैन ? खुलेआम मन्त्रीहरूले सरकार प्रमुखको हवला दिएर घूस बार्गेनिङ गर्छन्, तर सत्तारूढ पार्टीमा किन कुनै फरक पर्दैन ? सुरक्षा एजेन्सीहरूमा स्वेच्छाचारी शासकीय नियुक्ति र कुनै न कुनै रूपमा जनताको मुख थुन्ने विधेयकहरूले किन सहजै संसद्मा प्रवेश पाउँछन् ? तर पनि लोकतन्त्रको दुहाइ दिने देउवा नेतृत्वको दल र समानताको 

बद्ख्वाइँ गर्ने वाम दलहरूमा कुनै हलचल देखिँदैन । राज्यका विभिन्न निकायबाट एउटै व्यापारिक घरानालाई पोसेर बिचौलियाको राज संस्थागत बनिरहेको छ । लाग्छ, देश मुर्दाशान्तिको चिरनिद्रामा छ । तर यस्तो पनि होइन । आमरूपमा चिया पसलदेखि सबैखाले सार्वजनिक डिस्कोर्समा सरकार, नेता, दल र शासकीय शक्तिका सबैप्रति यतिविघ्न चरम घृणा र आक्रोश सायदै देखिएको थियो । यसो हुनुको एउटै कारण हो– ‘ओलिगार्कीको जंगे कानुनी’ दुष्चक्रको नयाँ अवतारका रूपमा अस्वाभाविक रूपले संसदीय व्यवस्थाको घाँटीमै अँठ्याइएका कारण नै चर्को निराशा र बेसरोकारले महामारीको रूप लिँदै छ । केवल दलपतिहरूको फर्मान नै ती दलको प्राण टिक्न पुगेको छ । 

समकालीन संसदीय लोकतन्त्रहरूमा संक्रामक महामारीका रूपमा प्राचीन एथेनियन ‘ओलिगार्क’ आधुनिक ‘रुसी ओलिगार्कहरू’ मा देखिँदा शब्दकोशले यसलाई ग्रिक शब्द ‘ओलिगार्केस’ बाट उत्पत्ति भएको मान्दै ‘ओलिग’ (थोरै) र ‘आर्केस’ (शासक) का रूपमा उपयोगी व्याख्या गरेको थियो । ओलिगार्क भनेको ‘ओलिगार्कीको सदस्य वा समर्थक’ हो र ‘ओलिगार्की’ भनेको एक सानो समूहले विशेष गरी भ्रष्ट र स्वार्थी उद्देश्यका लागि नियन्त्रण गर्ने सरकार हो । आधुनिक ओलिगार्कीबारेका सबैभन्दा प्रसिद्ध सिद्धान्तकार रोबर्ट मिसेल्स (१८७६–१९३६) हुन् । उनले आफ्नो १९११ को शास्त्रीय कृति आधुनिक लोकतन्त्रमा पार्टी प्रणालीको समाजशास्त्रमा ‘ओलिगार्कीको फलामे कानुन’ भन्ने रोचक चक्रको अवधारणा अघि सारेका छन् ।

लोकतन्त्रका अभिजात सिद्धान्तकारहरू, मेकियावेलियनहरू, अल्पसंख्यक प्रभुत्वका सिद्धान्तकारहरू वा समाजशास्त्रीय निराशावादीहरूसम्मका रूपमा पुकारिने ओलिगार्कीको जंगे कानुनका व्याख्याताहरूले मौजुदा नेपाली शासकलाई घाँटीमा घण्टी झुन्ड्याइदिए जस्तो प्रतीत हुनु पक्कै पनि काकताली हुनुपर्छ । दुनियाँकै विरलाकोटीको धनिक अभिजाततन्त्र स्थापना गर्ने उपक्रमका रूपमा संसद्का मुख्य दुई ठूला दलले प्रतिपक्षीय प्रणालीको हत्या गरेर संसदीय लोकतन्त्रको घाँटी अँठ्याइरहेका छन् । यस्तो निसासिँदो तुवाँलोबाट चौतर्फी उकुसमुकुस र चर्को छट्पटीले जतिसुकै सीमा नाघे पनि मेकियावेलियन अनुयायीहरूलाई फरक पर्ने कुरै भएन ।

हालै निकम्मा बनाइएको संसद्को एउटा दललाई लोग्ने–स्वास्नीको झगडाको तमासा हुँदै उपनिर्वाचनका लागि अयोग्य घोषित गर्ने, अर्को एउटा दललाई क्षतविक्षतले नपुगेर त्यसका मुखिया उपेन्द्र यादवमाथि हत्या–अभियोगको छानबिनसम्मको तारतम्य, कथित सहकारी र पतञ्जलिको कुशल नौटंकी मञ्चनपछि विकास गरिएको ओलिगार्कीको जंगे कानुनी चक्रको विकासक्रम मान्न सकिन्छ । अब त्यो उपक्रम लडाकुका फाइल हुँदै ‘महारानी’ सम्म पुग्यो भने पनि कांग्रेसीजनहरूले आश्चर्य नमाने हुन्छ ।

‘ओलिगार्कीको जंगे कानुन’ आधुनिक लोकतन्त्रको अभिजात शासन वा कुलीन–शासनका लागि एक धूवाँको पर्दा हो । मुखौटो लोकतन्त्र भन्दै दुत्कारिने भाष्यलाई निरंकुश शासकहरूले लोकतान्त्रिक संस्थाहरूलाई जानाजानी र व्यवस्थित रूपमा कमजोर पार्ने प्रपञ्चका लागि बनाइएको शासकीय घेरा हो । ओलिगार्कीकरणको प्रक्रियालाई कुनै पनि आधुनिक लोकतन्त्रले टार्न सक्दैन । अर्थात् आधुनिक समाजहरूमा, लोकतन्त्र ओलिगार्कीतन्त्र बन्न अभिशप्त छ । अभिजात शासन शैली पहिले राजनीतिक घेरामा मात्र सीमित रहेकामा अब समकालीन संसदीय लोकतन्त्रहरूमा बिचौलियाहरूको घेरामा फैलिएको धनिक अभिजाततन्त्रले नियन्त्रण गर्ने प्लुटोक्रेसीमा परिणत भएको छ ।

त्यसको मलिलो नर्सरीका रूपमा हाम्रो संसदीय लोकतन्त्रलाई सीमित बिचौलियाहरूले मुख्य प्रतिद्वन्द्वी दुई दलका मुखियाहरूलाई हलगोरु बनाएर खेती चलाइरहेका छन् । यसले अमेरिकी राजनीतिशास्त्रीहरूले काकिस्टोक्रेसी नाम दिएका छन् । यही कारण नेपाली दलका सदस्य र समर्थकहरू जिउँदो शवमा परिणत भइरहेका छन् । 

राजनीतिक दलहरू कसरी झिनामसिना, स्वार्थी र तुलनात्मक रूपमा स्थिर नेताहरूको समूहद्वारा प्रभावकारी रूपमा प्रभुत्वमा आए भन्ने कुरा इतिहासमा कुख्यात रूपले दर्ज छ । परिणामतः पार्टी जीवनको ओलिगार्कीकरणबाट समग्र लोकतान्त्रिक प्रणालीको ओलिगार्कीकरणमा तार्किक छलाङ हुन पुग्छ भन्ने तथ्यलाई हाम्रा मुख्य दलहरूको जीवन प्रणालीले नै स्पष्ट गरिरहेको छ । 

सामान्य नागरिकले प्रभाव प्राप्त गर्ने एकमात्र तरिका समान विचार भएका व्यक्तिहरूसँग संगठन बनाउनु हो ! यो प्रक्रिया अनेकन् विद्वान्का विश्लेषण र अनुसन्धानले अन्ततः व्यर्थ सावित भएको नकारात्मक तस्बिर देखाइरहेको छ । किनभने यस्ता संगठनहरू आफैं अभिजात वर्गको काखमा लुट्पुटिन बाध्य हुन्छन् । हामी प्रतिनिधित्वमूलक लोकतन्त्रको यन्त्रलाई अनिच्छापूर्वक मात्र स्वीकार गर्न सक्छौं, यसलाई आधुनिक समाजहरूमा प्रत्येक व्यक्तिलाई शासनको कार्यमा व्यक्तिगत रूपमा समावेश गर्न असम्भवका कारणले प्राविधिक आवश्यकताको रूपमा हेरिँदै आइएको छ ।

ठूला र जटिल आधुनिक समाजहरूले विशेष प्राविधिक विशेषज्ञ व्यक्तिहरू (राजनीतिज्ञहरू र नोकरशाहहरू) लाई पूर्णकालिक रूपमा राजनीतिक, प्रशासनिक कार्यहरूमा समर्पित गराइने तन्त्र बनाइएको छ । यस्तोखाले प्रतिनिधित्वले औसत नागरिक र निर्णय प्रक्रियाबीच सिर्जना गर्ने दूरी मानक रूपमा अवाञ्छनीय भए पनि व्यवहारमा अपरिहार्य बनिरहेको छ ।

जनता र सरकारबीचको खाडलले लोकतन्त्रको वाचालाई मौलिक रूपमा नै विश्वासघात गर्छ । विकल्प भनेको ‘ओलिगार्कीको फलामे (जंगे) कानुन’ को दुःखद् वास्तविकतालाई खुला रूपमा स्वीकार गर्नु बन्न पुग्छ । तर यससँग सम्झौता गर्न अस्वीकार गर्नु भनेको ‘साँचो लोकतन्त्र’ का लागि ‘हाम्रो खोज जारी राख्नु’ हो ।

बीसौं शताब्दीको मध्यतिरबाट एकीकृत अभिजात वर्गमा शक्तिको केन्द्रीकरणलाई लोकतन्त्रका लागि खतरा मानिन थालेको हो । यो दृष्टिकोणलाई अभिजात लोकतन्त्रको संस्करणहरूको विपरीत लोकतान्त्रिक सहभागितामा जोड दिएर थप विस्तार गर्ने प्रयास पनि सँगसँगै सुरु भयो । संरचनात्मक दृष्टिकोणबाट, राजनीतिक निकायहरू, नोकरशाही, उद्यमहरू वा स्वैच्छिक संगठनहरू बिनालोकतन्त्रको कल्पना गर्न सकिँदैन । अनिवार्य रूपमा, यी संगठनहरूको शीर्ष स्थानहरूमा शक्तिकेन्द्रित हुन्छ र यी शक्तिको प्रयोग गर्ने पदाधिकारीहरूले सम्भावित रूपमा अभिजात समूहहरू गठन गर्छन् ।

अभिजात वर्गहरूले प्रायः लोकतन्त्रको विनाशलाई मञ्चन गर्छन् । जर्मनीको वाइमार गणतन्त्रमा सबैभन्दा घातक रूपमा मञ्चन भएको थियो । हालैका दिनमा टर्की र हंगेरीलगायत अन्य देशमा अभिजात वर्गबाट हुने आक्रमणमा लोकतन्त्रको लचकताको परीक्षा लिइएको तथ्यलाई ‘हाउ डेमोक्रेसिज डाइ (लेविट्स्की र जिब्लाट, २०१८)’ मा सुन्दर तरिकाले वर्णन गरिएको छ । यसको पुनरावृत्ति नेपालमा मञ्चन भइरहेको घटना संसद्को बहसमा समेत प्रवेश गरिसकेबाट स्पष्ट हुन्छ । लोकतन्त्रले बाहिरबाट लादिएका मात्र नभएर भित्रबाट स्वतः उत्पन्न हुने अवरोधको पनि सामना गरिरहेको छ । यी अवरोधलाई सायद एक निश्चित हदसम्म मात्र पार गर्न वा हटाउन सकिन्छ । पूर्ण उन्मूलन केवल युटोपिया प्रतीत हुन्छ । 

वास्तवमा, मार्क्सवादीहरूले उन्नाइसौं शताब्दीको मध्यदेखि राज्यलाई ‘बुर्जुवा वर्गको कार्यकारी हात’ भन्न थालेका थिए । उनीहरूले प्रयोगमा ल्याएका प्रायजसो शब्दहरू ‘शासक वर्ग’ ‘अभिजातहरूको परिक्रमा’ र रोबर्ट मिसेल्सको ‘ओलिगार्कीको जंगे कानुन’ आज पनि हाम्रो राजनीतिलाई राम्ररी चिनाउने शब्दावलीहरू बनिरहेका छन् । कार्ल मार्क्सको शासक वर्गको अवधारणा राजनीतिशास्त्री जी मोस्का (१९६०) को शब्दमा अभिजाततन्त्रीय शासक वर्गमा रूपान्तरित भएको छ । 

मिसेल्सले चेतावनी दिएजस्तै सबैभन्दा संक्षिप्त अभिव्यक्तिमा, राजनीतिक दलहरूको आधारभूत समाजशास्त्रीय नियमलाई यसरी अर्थ्याउन सकिन्छः ‘यो संगठन हो जसले निर्वाचितलाई मतदाताहरूमाथि, म्यान्डेटरीहरूलाई म्यान्डेटरहरूमाथि, प्रतिनिधिहरूलाई डेलिगेटरहरूमाथि प्रभुत्व जमाउने अधिकार दिन्छ । अर्थात् ‘जसले पार्टी भन्छ– उसले पक्कै पनि ओलिगार्कीबाट शासित हुन तयार छु भनेको हुनुपर्छ ।’

मिसेल्सले ओलिगार्कीको फलामे कानुनका लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्वका रूपमा संगठनको मनोदशालाई ठहर्‍याएका छन् । निर्जीव पार्टी प्रणाली क्रियाशील सामूहिकताका लागि गतिहीन र निष्क्रिय हुने हुँदा मार्गदर्शनका लागि नेताको आवश्यकता हुन्छ । यसरी लोकतन्त्रलाई अल्पतन्त्रतर्फ लगिन्छ, तब अनिवार्य रूपमा एक अल्पतन्त्रीय केन्द्र बन्न पुग्छ । यसखाले ओलिगार्कीवादी कानुनी चक्रले मुट्ठीभर गुटहरू र उपगुटहरू गठन गरेपछि अन्य समाजशास्त्रीय कानुन जस्तै, यसलाई पनि राम्रो र नराम्रोभन्दा बाहिर पुर्‍याइनु यसको अन्तिम परिणति हो । पश्चिमी संसारका लगभग हरेक राजनीतिक दलको इतिहासमाथि कृतिहरू लेखिएका छन् ।

तर जब हामी पार्टीको प्रकृतिको विश्लेषणलाई विचार गर्दा एस.एम. लिप्सेटले ठीकसँग ठम्याएका देख्छौःं ‘मिसेल्स र मेकियावेलियनहरूले ‘नेता र अनुयायीहरू बीचको कुनै पनि अलगावलाई स्वतः लोकतन्त्रको नकार’ को रूपमा परिभाषित गरेर राजनीतिमा लोकतन्त्रको विशाल असम्भाव्यतालाई प्रमाणित गर्छन् ।’ ओलिगार्की, दलका प्रमुख व्यक्तित्वहरूले आफ्नो जीवनको क्रममा भोग्ने मनोवैज्ञानिक परिवर्तनहरूबाट उत्पन्न हुन्छ भन्ने डी. बिथम (१९७७) ले निकालेको सार समकालीन नेपाली शासकहरू विशेषगरी प्रधानमन्त्री केपी ओलीका लागि लक्षित गरेजस्तो प्रतीत हुन्छ । 

दार्शनिक जिन–ज्याक रुसोले भनेका थिएः ‘जब जनताले आफूलाई प्रतिनिधिहरू दिन्छ, जनता तब स्वतन्त्र हुँदैन ! त्यसको अब अस्तित्व नै रहँदैन ।’ रुसोको थेसिसलाई अनुभवजन्य राजनीतिक विज्ञानको विधिद्वारा पुष्टि गर्ने कुरा नै ‘ओलिगार्कीको जंगे कानुन हो ।

यदि सधैं सानो संख्याले शासन गर्छ भने, त्यहाँ अवश्य नै ओलिगार्कीको फलामे कानुनले काम गरेको छ, तब लोकतन्त्रको अर्थ के हुन सक्छ ? तसर्थ जनसार्वभौमिकता केवल मिथक बन्दै गएको वैश्विक दूषित राजनीतिक वातावरणको उपयुक्त समाधान दिने राजनीतिक कृत्रिम बुद्धिमत्ता (पीएआई) अझै फेला पर्न सकेको छैन । रोबर्ट मिसेल्सले रूपकमार्फत सुझाएको संकेत अवश्य नै मर्मस्पर्शी प्रतीत हुन्छ । इसपको कथाको पहिलो सन्दर्भमा एक बुढो किसान आफ्नो मृत्युशय्या पुग्दा आफ्ना छोराहरूलाई खेतमा खजना गाडिएको रहस्य बताइदिन्छ । बुढोको मृत्युपछि छोराहरूले खजाना खोज्न आफ्नो खेतका सबै कुनाकाप्चासमेत खन्छन् । तर उनीहरूले खजना भेट्टाउँदैनन् । तर उनीहरूको अथक् परिश्रमपूर्ण खनजोतले माटोलाई सुधार गर्दा उनीहरूका लागि राम्रो फसल उत्पादन भएर तुलनात्मक कल्याण सुनिश्चित गर्छ ।

कथाको खजाना लोकतन्त्रको प्रतीक हुन सक्छ । लोकतन्त्र एक यस्तो खजाना हो, जुन कसैले पनि जानाजानी उत्खनन गरेर कहिल्यै पाउने छैन । तर हाम्रो खोजलाई निरन्तरता दिँदै, पत्ता लगाउन नसकिने खोजमा अथक् परिश्रम गर्दै, हामीले लोकतान्त्रिक अर्थमा उर्वर परिणामहरू दिने काम गर्नेछौं । (मिसेल्स, १९६२) । 

गतिशीलता लोकतन्त्रको सिद्धान्त हो । यो यस्तो सिद्धान्त, जसले अभिजात शासनलाई निरन्तर चुनौती दिने आन्दोलनलाई लोकतन्त्रको साँचो स्थानका रूपमा पहिचान गर्छः यो अभिजात शासनलाई चुनौती दिने आन्दोलनमा नै लोकतन्त्रको वास्तविक ज्यान पाइन्छ । त्यसैले लोकतन्त्रको साँचो स्थान त्यहाँ होइन, जहाँ सामान्य रूपमा सोचिन्छः यो न त संस्थाहरूमा न त सिद्धान्तहरूमा पाइन्छ, तर यो आन्दोलनमा नै अवस्थित छ । यो विस्थापनले लोकतन्त्रलाई अन्त्यको बिन्दु होइन, तर निरन्तर आन्दोलनको रूपमा लिन बाध्य बनाउँछ । त्यसैले लोकतन्त्र संघर्षको सहउत्पादन होइन, तर संघर्ष नै होः लोकतान्त्रिक लाभहरू सहउत्पादनहरू हुन् । कुनै पनि उच्च विकसित सामाजिक व्यवस्थाबिना ‘राजनीतिक वर्ग,’ अर्थात्, राजनीतिक रूपमा प्रभुत्वशाली वर्ग अल्पसंख्यकको वर्ग बन्न सम्भव छैन ।

कहिलेकाहीं नयाँ अभिजात पुरानोसँग मिसिन्छ ! कहिलेकाहीं, अधिक क्रान्तिकारी समयमा, यो पूर्ण रूपमा उल्टिन्छ भन्ने मान्यतालाई पनि नेपाली बिचौलिया अभिजाततन्त्रले पछिल्लो निर्वाचनदेखि यताको साढे दुई वर्षमा गरेको प्रयोगले निकै रोचक दृश्य देखाइरहेको छ । धेरै अवस्थामा एक समूहका अभिजातहरू अर्को समूहबाट सहजै प्रतिस्थापन हुँदैन, तर पुरानो तत्त्वहरूले नयाँलाई निरन्तर आकर्षित, अवशोषित र आत्मसात् गर्ने अविच्छिन्न प्रक्रियाको परिणाम हुन्छ । अभिजातहरूको पुनर्मिलन, अर्थात्, दुई तत्त्वहरूको मिश्रण पनि असम्भव हुँदैन । स्थायी मिश्रणको सिद्धान्तमा, पूर्ण आदानप्रदानको कारोबारी नयाँ सिद्धान्त बन्दछ । जुन पछिल्लो साढे दुई वर्षमा एउटै बिचौलिया अभिजाततन्त्रले कहिले प्रचण्ड, कहिले प्रचण्डसँग देउवा, कहिले उनैलाई ओलीको टेको लगाएको र त्यतिले पनि नपुगेर ओली–देउवाको जुगलबन्दी गराइदिएको यही कारणले हो । 

इतिहास वर्ग संघर्षहरूको निरन्तर शृंखलाको रेकर्ड भन्ने सिद्धान्त र वर्ग संघर्षहरू सधैं नयाँ ओलिगार्कीहरूको सिर्जनामा समाप्त हुने नियतिमा नेपालमा मञ्चन भइरहेको दुःखद् अवस्था पटक पटक दोहिरिएको छ । नयाँ भनाउँदाहरू पुरानोसँग मिसिन्छन् भन्ने सिद्धान्तबीच कुनै आवश्यक विरोधाभास छैन । राजनीतिक वर्गको अस्तित्व मार्क्सवादको आवश्यक सामग्रीसँग टक्राउँदैन, जसलाई आर्थिक सिद्धान्तका रूपमा होइन, तर इतिहासको दर्शनका रूपमा लिइन्छ । जब कि नेपालमा मार्क्सवादी दर्शन राम–सीताका जन्मस्थानको उत्खननदेखि महाकालेश्वरमा पुगेर हवनमा परिणत भइरहेको छ ।

मार्क्सका प्रसिद्ध प्रतिद्वन्द्वी मिखाइल बाकुनिनले एक पटक भनेका थिए, ‘कहिल्यै मजदुरको सरकार हुँदैन, केवल पूर्व–मजदुरहरूको सरकार हुन्छ ।’ यसलाई नेपालको सन्दर्भमा भन्दा कहिल्यै वामपन्थीहरूको सरकार बनेको छैन, केवल पूर्ववामपन्थीहरूको (वर्तमान धनिक अभिजातहरू) सरकार बनेको छ । वामपन्थी वा गैरवामपन्थी पार्टी अब साधन होइन, आफैंमा साध्य बनेका छन् । राजनीतिक पार्टीको उद्देश्य भनेको राज्यलाई नियन्त्रण गर्नु हो ! त्यसैले, यो नीतिविरुद्ध कसैले मतदान गर्न सक्दैन, जसले यसलाई हानि पुर्‍याउँछ । संगठनले शक्तिलाई जन्म दिन्छ । 

त्यस्तो शक्ति सधैं रुढिवादी हुन्छ भन्ने मिसेल्सकै भनाइमा के थप्नु उपयुक्त होला भने नेतृत्वले जनतालाई आफ्नो पक्षमा राख्न डेमागोगीको सहारा लिन्छ । यस्तै कारणले म्याक्स वेबर भविष्यको छनोटका लागि ‘नेतृत्व लोकतन्त्र’ र ‘नेताविहीन लोकतन्त्र’ बीचको छनोटमा ‘जनमत लोकतन्त्र’ को वकालत गर्न पुगेका छन् । वेबर भन्छन्– एक लोकप्रिय रूपमा निर्वाचित करिष्माई नेताका लागि आधुनिकताको फलामे पिँजडाबाट बाहिर निस्कन पर्याप्त कार्यकारी शक्ति जरुरी हुन्छ ।’ यही दुर्भाग्यमा ओली–देउवाले आनन्द लिइरहेका छन् । 

अरस्तुको पहिलो सैद्धान्तीकरणदेखि ओलिगार्कीको अर्थ धनाढ्य–नवधनाढ्य (बिचौलिया) को शासन बन्न पुगेको छ, न कि केवल थोरैको शासन । यथार्थवाद (तथ्यहरूको जागरुकता) र आदर्शवाद (तथ्यहरूमाथि मूल्य दबाब) को यो संयोजन ठीक यही हो, जुन जियोभन्नी सार्टोरीले आफ्नो लोकतान्त्रिक सिद्धान्तको पुनरावलोकन पुस्तकमा देखाएका छन् । अप्राप्यताको खोज सधैं समयको बर्बादी मनिँदैन । तसर्थ समावेशी र सहभागितामूलक लोकतन्त्रका लागि लागिरहनुको कुनै विकल्प पनि छैन । अभिजातवादका लोकतान्त्रिक सिद्धान्तकारहरूले समकालीन दुनियाँ विशेषगरी नेपालजस्ता विकासोन्मुख पछौटे समाजमा समाजवाद उन्मुखताको आवरणमा शासन गरिरहेको लोकतन्त्रको असली चरित्रलाई उदाङ्गो बनाइरहेको प्रतीत हुन्छ । जोसेफ सुम्पिटरको परिभाषाअनुसार अब फेरि अभिजात वर्गहरूले नागरिक समर्थनका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्छन्, त्यसमै नागरिकहरू पक्ष लिन तयार हुन्छन् । 

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully