सरकारसँग १२ महिनाका बच्चालाई दिने जेईविरुद्धको खोप ५० लाख मौज्दात रहेको र यस वर्षका लागि पर्याप्त भएको बताइए पनि वयस्कलाई लगाउने खोप भने उपलब्ध छैन । स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार ५० लाख जनसंख्यालाई पुग्ने खोप खरिद गर्न करिब डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ, तर सरकारले बजेट विनियोजन गरेको छैन ।
What you should know
जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट गएको साता मात्रै ४ जनाको मृत्यु भएकाले गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । तीन महिनायता भने मृत्यु हुनेको संख्या १२ पुगेको र अहिले मुलुकभर ६३ जना जेईका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयसम्बद्ध संस्थाहरूले पुष्टि गरेका छन् । संक्रमण पनि तेह्रथुम, झापा, मोरङ, बारा, चितवन, नवलपरासी, अर्घाखाँची, प्यूठान र कैलालीलगायतका २४ जिल्लामा फैलिएकाले संवेदनशील पहल अपरिहार्य छ ।
लामखुट्टेको टोकाइबाट हुने डेंगी, जापानिज इन्सेफ्लाइटिस, औलो तथा हात्तीपाइलेबाट पीडित हुनेको संख्या बर्सेनि बढ्दो छ । निको भए पनि संक्रमण अवधिभर शारीरिक, मानसिक तनाव, स्वास्थ्यमा दीर्घकालीन प्रभाव, आर्थिक नोक्सानीजस्ता कारणले पनि यो रोग भयानक मानिन्छ । त्यसैले सबै तहका सरकार र समाजबाट हस्तक्षेप आवश्यक छ । संक्रमण अन्य ठाउँमा फैलिन नदिन चेतना र पूर्वतयारीका साथ काम हुनुपर्छ ।
क्युलेक्स जातका लामखुट्टेले जेई संक्रमित जनावर विशेष गरेर सुँगुर र हाँसलाई टोकेपछि मान्छेलाई टोकेमा भाइरस सर्न सक्छ । विज्ञहरूको भनाइमा, २५० जनालाई त्यस्तो लामखुट्टेले टोक्यो भने एक जनालाई मात्रै गम्भीर खालको समस्या देखिन सक्छ । तर गम्भीर संक्रमण देखिएका ३० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ ।
बाँचेकामध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता निम्त्याउँछ । जेई संक्रमणको कुनै निश्चित उपचार छैन, निको हुने क्रम बिरामीको प्रतिरोध क्षमतामा भर पर्छ । जेई संक्रमित लामखुट्टेले टोकेको ५ देखि १५ दिनभित्र बेस्सरी टाउको दुख्ने, तीव्र ज्वरो, बेहोस, बान्ता हुने, घाँटी कडा हुनेलगायतका लक्षण देखिन सक्छ । अर्कोतर्फ, संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्ने भएकाले परिवार र समुदायले नै सुरक्षाका उपाय अपनाउनुपर्छ । यद्यपि, मानिसबाट मानिसमा सर्दैन । त्यस्तै, संक्रमित जनावरलाई छोएर वा पशुजन्य उत्पादन खाएर पनि मानिसमा सर्दैन ।
लामखुट्टेबाट सर्न सक्ने सबै किसिमका संक्रमणबाट बच्ने पहिलो र सबैभन्दा मुख्य उपाय नै उसको टोकाइबाट बच्नु हो । हरेक पटक संक्रमण फैलिँदा र मानिसको मृत्यु हुँदा दिइने सुझाव पनि यही नै हो । यतिबेला डेंगीको संक्रमण फैलिने समय पनि हो । जेई पनि २४ जिल्लामा फैलिएकै छ । त्यसैले व्यक्तिगत रूपमा हरेकले लामखुट्टेको टोकाइबाट बच्ने उपाय खोज्नुपर्छ । साँझ–बिहान सकेसम्म घरबाहिर ननिस्किने, घरमै बस्दा पनि सकेसम्म पूरा बाहुला भएको कपडा लगाउने, चिकित्सकको सिफारिसअनुसार सुरक्षित मलम लगाउने, झुल लगाएर सुत्ने जस्ता काम गर्न सकिन्छ । तर लामखुट्टेको टोकाइबाट बच्नु सजिलो काम भने होइन ।
त्यसैले व्यक्तिगत तथा सामुदायिक अभियान थाल्नुपर्छ । जस्तो कि, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ । केही दिनसम्म भण्डारण हुने पानी राखिएको भाँडोको बिर्को लगाउनुपर्छ । लामखुट्टेको लार्भा खोज र नष्ट गर भन्ने अभियान चलाउनुपर्छ । लामखुट्टे नष्ट गर्न औषधि छर्किनुपर्छ । यस्तो उपाय अपनाइयो भने सबै किसिमका संक्रमणबाट बच्न र बचाउन सकिन्छ ।
संक्रमणको जुन तथ्यांक छ, त्यो प्रमाणित मात्रै हो । तर गम्भीर लक्षण नदेखिएका वा अस्पताल गएर परीक्षण नगरेकाहरूको संख्या अझै हुन सक्छ । तसर्थ, जोकसैलाई जेईको संक्रमण हुन नदिन खोपलाई नै प्रभावकारी विकल्प मानिन्छ । यस पटक मृत्यु हुनेमध्ये जेईविरुद्धको खोप नलिएका बढी भएकाले पनि खोपको महत्त्व बढी छ ।
एक डोज खोप लगाएपछि जीवनभर रोगबाट बच्न सकिने भएकाले सरकारले सन् २०१५ देखि शिशु जन्मेको १२ महिनामा जेईविरुद्ध खोप नियमित रूपमा दिँदै आएको छ । बालबालिकालाई ठूलो हुञ्जेलसम्मै संक्रमणबाट बचाउन सो समयमा खोप लगाउन छुटाउनु हुँदैन । अर्कोतर्फ वयस्कले पनि जेईविरुद्ध खोप लगाउन मिल्छ । त्यसैले संक्रमण फैलिएका ठाउँका वयस्कले उपलब्ध भएसम्म खोप लगाउनु उचित हुन्छ । सरकारले पनि त्यस्ता ठाउँमा खोप अभियान चलाउनु उपयुक्त हुन्छ । साथै, जेईबाट बच्ने उपायबारे प्रचारप्रसारमा जोड दिनुपर्छ ।
सरकारसँग १२ महिनाका बच्चालाई दिने जेईविरुद्धको खोप ५० लाख मौज्दात रहेको र यस वर्षका लागि पर्याप्त भएको बताइए पनि वयस्कलाई लगाउने खोप भने उपलब्ध छैन । स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार ५० लाख जनसंख्यालाई पुग्ने खोप खरिद गर्न करिब डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ, तर सरकारले बजेट विनियोजन गरेको छैन ।
दातृ निकायले पनि सहयोग गर्ने योजना नहुँदा खोप जुटाउन सकिएको छैन । त्यसैले सरकारी अग्रसरतामै तत्कालै वयस्कका लागि खोप प्राप्त हुने सम्भावना कम छ । अर्कोतर्फ, खोप उपलब्ध भए पनि त्यसले काम गर्न करिब एक महिना लाग्छ । त्यतिञ्जेल संक्रमणले अर्कै स्वरूप लिन सक्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हो । त्यसका लागि लामखुट्टे नियन्त्रणका योजनालाई कार्यान्वयन गरिनुपर्छ । तीनै तहका सरकार, स्थानीय संस्थाहरू र समुदाय नै सक्रिय हुनुपर्छ ।
