पुष्पलाल बन्ने कि रायमाझी ?

कम्युनिस्ट पार्टीमा पनि कुनै अमुक व्यक्तिलाई पहिचान नगर्ने हो भने गद्दारी गर्दै जाने केशरजंग रायमाझीहरू नजन्मेलान् भन्न सकिन्न।

भाद्र ६, २०८२

सोभियत ढकाल

Pushpalal or Rayamazhi?

What you should know

१८ वर्ष निर्वासित जीवन बिताउने कम्युनिस्ट पार्टीको संस्थापक महासचिव क. पुष्पलालको स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभरि मनाइयो । सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन्, जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन भन्ने पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको एक खम्बा हुन् । 

इतिहासको स्मरण वर्तमानलाई गतिशील बनाउन गरिन्छ । नेपालको कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट छ । कम्युनिस्ट हृदय विशाल हुनुपर्छ, इमानदार र सक्रिय हुनुपर्छ । जनताको हितलाई आफ्नो ज्यानभन्दा प्यारो सम्झनु पर्दछ ।

व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नु पर्दछ । सही सिद्धान्तमा अडिग रहनु पर्दछ, गलत चिन्तन र विचारको विरोधमा अथक संघर्ष चलाउनुपर्दछ भन्ने पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको साझा सम्पत्ति हुन् । जीवन जगत् र दर्शनको अध्ययन गर्ने, सधैँ सत्यको पक्षमा उभिने सबैभन्दा दूरदर्शी, त्यागी, अध्ययनशील, ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने आन्दोलनमा दृढसंकल्पित वर्गीय पक्षधरता अंगीकार गर्ने, लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयतालाई आदर्श मान्ने पुष्पलाल कम्युनिस्ट आन्दोलनको सगरमाथा हो ।

कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागू हुन सकेन भने पार्टी जीवनमा नै बेथिति देखा पर्दछ । जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहल हुन्, जुन जहिले पनि सन्तुलित हुन आवश्यक छ । अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ, स्वतन्त्रताविनाको अनुशासन निरंकुश हुन्छ । यी दुई तराजुका दुई पल्ला हमेसा बराबर र सन्तुलित हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न पुष्पलालले कम्युनिस्ट पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्धति जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्थापित गरे ।

पार्टीभित्र छद्मभेषी तत्वहरूको घूसपैठ हुन लागेपछि नेपालको कम्युनिस्ट आन्दोलनभित्रका दाहिने वा देब्रे भड्कावविरुद्ध सम्झौतारहित अन्तरपार्टी संघर्ष चलाए भने बाहिर निरंकुशता अन्त्यको अभियान चलाए । इतिहासको भौतिकवादी नियमअनुसार सत्यलाई एक–दुई दिन महिना वा वर्ष ढाक्न सकिन्छ तर आखिरी सत्य सत्य नै हुन्छ । 

मार्क्सवादी गतिशील विज्ञान हो, यो आफ्नो देशकाल परिस्थिति सामाजिक बनोट, भूबनोट आदिको विश्लेषण गरेर लागु हुन्छ । यही कुरालाई पुष्पलालले प्रयोग गर्न खोजे । यसरी प्रयोग गर्दा उनलाई कम्युनिस्ट आन्दोलनभित्र कहिले कांग्रेसपरस्त र कहिले भारतपरस्तजस्ता आरोप लागे । वास्तवमा उनी न आतंककारी, न कांग्रेसपरस्त, न भारतपरस्त नै थिए । उनीमाथिको आरोप लगाउने उग्रवामपन्थी तथा दक्षिणपन्थी धार पराजित भई हिजोआज पुष्पलालको गुणगान गाउँछन् र स्मृति दिवस मनाउँछन् । राजनीतिमा स्थायी रूपमा कुनै पनि शक्ति सधैँभरि मित्र वा दुश्मन हुन सक्दैन । 

आजको मित्रशक्ति भोलिको दुश्मन हुन सक्छ । यो सबै देशको परिस्थितिमा भर पर्ने कुरा हुन् । राजनीतिक परिस्थितिमा परिवर्तन आउनासाथै विभिन्न वर्ग तथा वर्गस्तरको आपसी सम्बन्धमा परिवर्तन देखिन थाल्छ भन्थे पुष्पलाल । जसरी कम्युनिस्ट आन्दोलनभित्रका गद्दार केशरजंग रायमाझीले सामन्तवादको विरोधमा उठेको आन्दोलनको बेगलाई कम गर्न २०१७ सालको काण्डपछि शाही गुप्तचरका रूपमा काम गरे र विभिन्न थरिका भ्रम फैलाई कम्युनिस्ट आन्दोलनलाई टुक्र्याई शाही पञ्चायती व्यवस्थाको पक्षमा लान चाहे, त्यसका विरुद्धमा संघर्ष गर्दै र अनेकौं जालझेल र षड्यन्त्रलाई चिर्दै कथित भ्रमपूर्ण झूटा प्रचारको खण्डन गर्दै कम्युनिस्ट पार्टीलाई जीवन्त बनाउने काम पुष्पलालले गरे । 

कम्युनिस्टहरू श्रम गर्ने, पसिना चुहाउने र जनताकै पक्षमा आवाज बुलन्द गर्ने हुनाले प्रतिक्रियावादी गद्दारहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन साम, दाम, दण्ड, भेद अपनाउनु स्वाभाविकै थियो । शोषित, पीडित जनताका अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरूको दलाली गरी विश्वासपात्र बन्न त्यति बेला तेस्रो बाटोको जाली नारा उठाएका थिए रायमाझीले । तर तेस्रो बाटो हुन सक्दैन, बाटोको बीचको नीति हुन सक्दैन, आफ्नो विश्वासघाती अनुहारलाई ढाक्न र प्रतिक्रियावादीसँगको आफ्नो मेलमिलाप र साँठगाँठलाई लुकाउन तेस्रो बाटोको नारा लगाएका मात्र हुन् भन्दै त्यसको भण्डाफोर गर्दै कम्युनिस्ट आन्दोलनलाई बचाउन पुष्पलालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

पार्टीको आन्तरिक जीवनक्रियामा विकृति देखा परेपछि स्वाभाविक रूपमा व्यक्तिको दिमागमा पनि खिया लाग्छ । त्यसको असर पार्टीमा पर्दछ । पुष्पलालका भनाइमा, ‘नदीले अक्सर आफ्नो धार बदल्छ कसरी ? यसको मुख्य कारण के हो ? यसको मुख्य कारण नदीसँग नै पाइन्छ । त्यो हो नदीले बगाउँदै ल्याएको माटो प्रतिदिन अलिअलि निकासमा जम्मा हुँदा निकासको सतह नदीको सतहभन्दा अग्लो हुन्छ अनि नदीलाई आफ्नो धार बदल्न कर लाग्छ ।’ त्यसरी नै कम्युनिस्ट पार्टीमा पनि कुनै अमुक व्यक्तिलाई पहिचान नगर्ने हो भने गद्दारी गर्दै जाने केशरजंग रायमाझीहरू नजन्मेलान् भन्न सकिन्न । 

कम्युनिस्ट पार्टी केन्द्रीय नेतृत्व पार्टीको मुटु हो, त्यो सही ढंगबाट अगाडि बढेमा पार्टी सही दिशातिर गतिशील भई अगाडि बढ्छ, दम्भ र अहंकार प्रदर्शन गर्ने, पूर्वाग्रह साँचिराख्ने र कसैलाई काखा कसैलाई पाखा गर्ने व्यवहारलाई पुष्पलाल सामन्ती चरित्र हो भन्थे । एउटाको परिश्रमले मात्र यो पार्टी बनेको होइन, सबैको त्याग, समर्पण र बलिदानले पार्टी यो अवस्थासम्म आइपुगेको हो । पुँजीवादी प्रतियोगितामा बलियाले कमजोरलाई मास्ने कुरा हुन्छ भने समाजवादी प्रतियोगितामा कमजोरलाई पनि बलियो बनाएर सबैलाई उठाउन सक्नुपर्दछ ।

हामी मार्क्सवादी–लेनिनवादी हौँ । हामी वैज्ञानिक भौतिकवादी हौँ । हाम्रो काम नै सत्यको ठहरमा पुग्नु हो । सत्यबाट डराउँदैनौं परन्तु हामी हमेसा सत्यको खोजीमा छौँ । कुनै पनि वस्तु घटना आन्दोलन आदिको अधिशासित नियम पत्ता नलगाई हामी सत्यमा पुग्न सक्दैनौं । हाम्रो पार्टीले सिद्धान्तलाई व्यवहारमा सही सावित गर्ने र व्यवहारमा काँधमा आएका जिम्मेवारीलाई पूरा गर्न नेतृत्वमा आसिन भएका व्यक्तिहरूले पार्टीको विधान, नियम, परम्परा, पद्धति निर्मित विचारलाई कहिल्यै लत्याउनु हुँदैन । हामी कम्युनिस्टहरू कुनै कीर्तनमण्डलीजस्तो मार्क्सवाद–लेनिनवाद जप्ने भजनमण्डली होइनौं न त यो पार्टी विभिन्न गुट–उपगुटको यान्त्रिक संयोग नै हो । यो त एक निश्चित उद्देश्य, कार्यनीति र संगठनात्मक नीतिको आधारमा संगठित सर्वहारा र श्रमजीवि वर्गको संगठनात्मक जीवन हो । 

यति बेला पुष्पलालले रोपेको बिउ कम्युनिस्ट पार्टीको प्रेरणाको स्रोत बनेको छ । यही जगमा नेपालको कम्युनिस्ट आन्दोलन गतिशीलताका साथ अगाडि बढिरहेको छ । न अवसरवादको पछि लागेर कहिल्यै मन्त्री भए पुष्पलाल, न त नेतृत्वमा बसेर आन्दोलनलाई रायमाझीले झैँ घात गर्ने चेष्टा गरे ।

तसर्थ पुष्पलाल कम्युनिस्ट आन्दोलनको सर्वोच्च व्यक्तित्व हो । उनले बिताएका जिन्दगीको कठिन यात्रामा घात–प्रतिघात, गुट–फुट, षड्यन्त्रका बलिदानीपूर्ण संघर्षबाट पाठ सिकेर, कसैलाई आग्रह वा पूर्वाग्रह नगरी, तेरो र मेरो नभनी, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन सकेमात्र त्याग, समर्पण र बलिदानको पनि उच्च सम्मान हुने र पुष्पलाललाई सम्झेको पनि सार्थकता रहनेछ ।

सोभियत ढकाल

Link copied successfully