मुटु बिरामी महिनौं पालोको पर्खाइमा, ‘क्याथल्याब’ भने गोदाममा

राजधानीमै बिरामीको चाप बढी भएका अस्पतालमा सेवा थप्नुका अतिरिक्त देशका प्रादेशिक र ठूला अस्पतालमा सेवा विस्तारलाई प्राथमिकता दिनुपर्छ ।

भाद्र ३, २०८२

सम्पादकीय

Heart patient waiting for his turn for months, 'cathlab' in the warehouse

What you should know

अत्याधुनिक उपकरणको विकासले उपचार प्रक्रिया सहज र प्रभावकारी भएको छ, जसले मान्छेको औसत आयु नै उल्लेखनीय रूपमा बढेको छ । तीन दशकअघि नेपालीको औसत आयु ५६ वर्ष आसपासमा थियो भने अहिले त्यो बढेर ७१ वर्ष नाघेको छ । उपचारमा प्रविधिको उच्चतम प्रयोगले बिरामीलाई सुविस्ता पनि भएको छ ।

प्रविधिको एक उच्चतम उपलब्धि हो– क्याथल्याब अर्थात् क्याथेटराइजेसन ल्याबोरेटरी । दुर्घटना, प्राकृतिक प्रकोप, चोटपटकजस्ता आकस्मिक घटनामा घाइते भएर मुटु वा रक्तनलीमा ‘ब्लकेज’ भएका बिरामीहरूको तत्काल उपचार गर्नुपरेमा यो सेवा निकै जीवनदायी हुन्छ । यस्तो सेवा नेपालमा भित्रिएको छ, दशक अघिदेखि नै अभ्यासमा पनि 

छ । तर, काठमाडौंका ठूला भनिने सरकारी अस्पतालमा यो सेवा छैन वा नियमित छैन । ‘क्याथल्याब’ नै नहुनु त आफैंमा समस्या हो, भएका अस्पतालमा पनि जनशक्तिको अभाव भन्दै प्रयोगविहीन बनाएर राखिएको छ । बिग्रिएको अवस्थामा पनि मर्मत नगरी थन्क्याएर राखिएको छ । यसले गर्दा मुटुजस्तो संवेदनशील अंगको उपचारमा बिरामीले ‘क्याथल्याब’ को सेवा लिन महिनौं पालो कुर्नुपर्ने अवस्था छ । अथवा सरकारी अस्पतालले यही सेवाका लागि निजीमा ‘रेफर’ गर्दा बिरामीहरू आर्थिक रूपमा पिल्सिनुपरेको छ । यो अवस्था विडम्बनापूर्ण छ । 

राष्ट्रिय ट्रमा सेन्टरको ‘क्याथल्याब’ नै १३ वर्षदेखि प्रयोगविहीन छ । ट्रमा सेन्टर बनाइदिएको भारत सरकारले विशेष गरी दुर्घटनामा परेकाहरूको मुटु वा नसामा ब्लक भएमा तत्काल उपचार गर्न २०६९ सालमा ‘क्याथल्याब’ को व्यवस्था गरिदिएको थियो । तर, दक्ष जनशक्ति अभाव देखाएर ट्रमाले हालसम्म सञ्चालनमा ल्याएको छैन । ट्रमाको छेउमै रहेको वीर अस्पतालमा ‘क्याथल्याब’ त छ तर जनशक्ति अभावमा सातामा दुई दिन मात्र चल्छ । सिभिल अस्पतालमा क्याथल्याब छैन ।

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा चार वटा सञ्चालनमा छन् तर बिरामीको चापका कारण ती पनि पर्याप्त छैनन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका तीनमध्ये एउटा र त्रिवि शिक्षण अस्पतालको एउटा ‘क्याथल्याब’ १२ वर्ष पुराना हुन् । पुराना भएकाले बेला–बेलामा बिग्रिरहन्छ । राजधानीकै प्रमुख अस्पतालकै यस्तो अवस्था भइरहँदा देशभरका अन्य अस्पतालको अवस्था सहजै आकलन गर्न सकिन्छ ।

कतिपय अवस्थामा मुटुका बिरामीलाई तत्कालै उपचार पनि चाहिन्छ । त्यसैले पनि मुटुसँग सम्बन्धित रोगको उपचार सेवाका लागि सकेसम्म बढी र देशव्यापी रूपमै विशेषज्ञसहितको बलियो पूर्वाधार हुन आवश्यक छ । त्यसैमध्ये ‘क्याथल्याब’ पनि एक हो । नेपालमा मुटुसँग कुनै न कुनै प्रकारको समस्या भएका व्यक्तिको संख्या ४० लाखभन्दा बढी रहेको तथ्यांक छ । नेपालमा सर्वाधिक मृत्युको कारण मुटु तथा रक्तनलीसम्बन्धी रोग हो । यस रोगबाट बर्सेनि ४६ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ, त्यो भनेको कुल मृत्युको करिब एक चौथाइ हो । मुटुसम्बन्धी रोगबाट हुने मृत्यु पनि ७० प्रतिशत हृदयाघातबाट हुने गरेको तथ्यांक छ ।

यता, बिरामीको अत्यधिक भीडभाडका कारण गंगालाल हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मात्रै मुटुको उपचार गराउन पालो कुर्नेको संख्या करिब ५ हजार छ । वीर र त्रिवि शिक्षण अस्पतालमा मुटुलगायत रोगको शल्यक्रिया गराउन पालो कुरिरहेका बिरामीको संख्या ६ हजार छ । वीरको ओपीडीमा दैनिक सरदर १ सय ३० जनादेखि १ सय ७० जनासम्म मुटुका बिरामी आउने गर्छन् । चिकित्सकहरूका अनुसार सामान्यतया एउटा ‘क्याथल्याब’ बाट दैनिक सरदर १२ देखि १५ जनासम्मको मुटुको उपचार गर्न सकिन्छ । तर, राजधानीकै सरकारी अस्पतालमा सहज सेवा नहुँदा बिरामी उपचारका लागि महिनौंसम्म कुर्न बाध्य छन् । विकल्पमा, निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता छ । त्यस्तो शुल्क जुटाउन औसत नेपालीलाई कठिन हुन्छ । त्यसैले तुलनात्मक रूपमा कम खर्चमा सेवा पाइने सरकारी अस्पतालमै सेवा विस्तार र सुनिश्चितता गर्न आवश्यक छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहलकदमी लिनुपर्छ ।

सरकारले तीन कोणबाट काम गर्न जरुरी छ । पहिलो, जनशक्ति व्यवस्थापन । वीरजस्ता अस्पताल जहाँ ‘क्याथल्याब’ सेवा भएर पनि नियमित सञ्चालन गर्न सकिएको छैन । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरजस्तो व्यस्त अस्पतालमा रहेको ‘क्याथल्याब’ १३ वर्षदेखि प्रयोगविहीन हुनुमा पनि जनशक्तिकै अभावलाई कारण देखाइएको छ । त्यसैले सरकारले त्यहाँ जनशक्ति व्यवस्थापन गर्नुपर्छ । आवश्यकताअनुसार दरबन्दी थप्नुपर्छ ।

दोस्रो, खरिद वा मर्मतसम्भारको नियमित खर्चको जोहो गर्नुपर्छ । लामो समय प्रयोगविहीन बनेको ट्रमाको ‘क्याथल्याब’ समयअनुकूल अपग्रेड र मर्मत गर्न कम्तीमा ४०–५० लाख रुपैयाँ खर्च लाग्ने त्यस अस्पतालका अधिकारीको भनाइ छ । त्यस्तै, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर तथा त्रिवि शिक्षण अस्पतालका पुराना ‘क्याथल्याब’ बेला–बेलामा बिग्रिरहन्छन् । यसले सेवा अवरुद्ध हुने गर्छ । त्यसैले ट्रमालगायतका ‘क्याथल्याब’ को नियमित मर्मतसम्भार गर्न खर्चको जोहो गरिन आवश्यक छ । अस्पताल स्वयंले आफ्नै आन्तरिक स्रोतबाट, सरकारले सहयोग गरेर वा अन्य विकल्पमार्फत मर्मतसम्भारलाई नियमित गरिनुपर्छ ।

तेस्रो, ‘क्याथल्याब’ सेवाको विस्तार गर्नुपर्छ । राजधानीमै बिरामीको चाप बढी भएका अस्पतालमा सेवा थप्नुका अतिरिक्त देशका प्रादेशिक र ठूला अस्पतालमा सेवा विस्तारलाई प्राथमिकता दिनुपर्छ । यो सेवा स्थापना गर्न र नियमित सञ्चालन गर्न महँगो पर्ने बताइन्छ । तर नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने सरकारको दायित्व हो । यसमा गम्भीर र इमानदार हुनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully