घरकै भाषामा प्रारम्भिक सिकाइ

प्रारम्भिक साक्षरताको काम बालबालिकाको परिचित भाषाबाट सुरु गर्नु उचित हुन्छ, बालबालिकाले बुझ्ने भाषाबाट पढ्न र लेख्न सिके भने ती सीपलाई दोस्रो वा तेस्रो भाषामा सहजै स्थानान्तरण गर्न सक्छन् ।

भाद्र ३, २०८२

भोगेन्द्र लामिछाने

Early learning in the home language

What you should know

कक्षा ६ मा पढ्दा एक जना शिक्षकले भन्नुभएको थियो– ‘हामीले सोच्ने तरिका हाम्रो भाषाले निर्धारण गर्छ ।’ त्यतिबेला मसँग त्यसको गहिराइ बुझ्ने बौद्धिक क्षमता थिएन । तर लामो समयसम्म मेरो मनमा गुञ्जिरह्यो । धेरै वर्षपछि, स्नातकोत्तर तहको अध्ययनका क्रममा सापिर–ह्वोर्फ हाइपोथेसिसको बारेमा पढें, जुन भाषिक मानवशास्त्रको एउटा धारणा हो ।

यसले भन्छ, हाम्रो सोचाइलाई हाम्रो मातृभाषाले प्रभाव पार्छ । संस्कृतिको कारणले मात्र होइन, उनीहरूले प्रयोग गर्ने भाषामा रहेको संरचना र वर्गीकरणका कारणले पनि फरक भाषा बोल्ने मानिसले फरक–फरक तरिकाले सोच्न सक्छन् ।

पछिल्ला वर्षमा देखिन्छ, अभिभावक र नीति निर्माताले प्रारम्भिक कक्षादेखि नै अंग्रेजी माध्यमको शिक्षाको वकालत गरिरहेका छन् । अभिभावकमा एउटै चाहना देख्छु, आफ्ना बालबालिकालाई अंग्रेजी माध्यमका विद्यालयमा भर्ना गराउने । उनीहरूको तर्क हुन्छ, बालबालिकाले अंग्रेजी सिक्न चाहन्छन् भने तिनीहरूलाई अंग्रेजीमै पढाउनुपर्छ । यो विश्वास व्यापक छ । भावनात्मक रूपमा जरा गाडिएको छ । अंग्रेजीमा दक्षता प्राप्त गर्नु भनेको भविष्यमा शैक्षिक र व्यावसायिक सफलताको सुनिश्चितता हो भन्ने अवधारणामा आधारित छ ।

यो सोच विशेषगरी नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा झनै गहिरो देखिन्छ, जहाँ अंग्रेजीलाई शक्ति, अवसर र विश्वव्यापी पहुँचको भाषा मानिन्छ । तर, यस धारणासँगै एउटा आधारभूत प्रश्न उब्जिन्छ, जुन शिक्षासम्बन्धी छलफलहरूमा धेरैजसो उपेक्षित हुन्छ, के हामी अंग्रेजीलाई वास्तविक सिकाइभन्दा प्राथमिकतामा राखिरहेका छौं ?

हाम्रो शिक्षा प्रणाली बालबालिकालाई उनीहरूकै भाषामा आधारभूत सीप प्राप्त गराउनेतर्फ उन्मुख छ कि केवल प्रारम्भिक अंग्रेजी दक्षता प्राप्त गराउनेतर्फ भन्ने पक्ष विचारणीय छ । यदि हाम्रो लक्ष्य विद्यार्थीमा सुदृढ आधारभूत सिकाइ क्षमतामा विकास गर्नु हो भने, शिक्षाको भाषा माध्यममात्र होइन, सफलताको निर्णायक कारक बन्छ । यस सन्दर्भमा बालबालिकाले अंग्रेजी सिक्नुपर्छ कि पर्दैन भन्ने बहस नै होइन । बरु त्यो कहिले र कसरी सिकाइनुपर्छ भन्ने हो । 

अंग्रेजी सिकाइको सम्बन्ध बालबालिकाले पहिले नै जानेका भाषासँग कस्तो हुनुपर्छ भन्ने हो । आधारभूत सिकाइ भन्नाले प्रारम्भिक औपचारिक शिक्षाका वर्षहरूमा बालबालिकाले विकास गर्नुपर्ने आवश्यक संज्ञानात्मक र सामाजिक–भावनात्मक क्षमतालाई जनाइन्छ । यसमा आधारभूत साक्षरता र गणितीय सीप समावेश छन् । यद्यपि यसले सम्प्रेषण, आलोचनात्मक सोच, सहकार्य र आत्मनियमन जस्ता व्यापक सीपलाई पनि समेट्छ ।

बालबालिकाले आधारभूत सीपहरू कसरी प्राप्त गर्छन् भन्नेमा भाषाको केन्द्रीय भूमिका रहन्छ । सिकाइ भाषामार्फत नै हुने भएकाले, जब सिकाइको भाषा अपरिचित हुन्छ, त्यसले बुझाइ, सहभागिता र संज्ञानात्मक सक्रियतामा थप अवरोध खडा गर्छ । ब्रिटिस काउन्सिल (२०२३) को अनुसन्धानले देखाएको छ कि शिक्षाको भाषा बालबालिकाको घरको भाषासँग जति नजिक हुन्छ, त्यति नै सजिलै बालबालिकाले सिक्न सक्छन्, विशेष गरी पढ्ने सीप विकास गर्न । अर्कातर्फ, जब शिक्षाको माध्यम भाषा विदेशी हुन्छ, त्यतिबेला विद्यार्थीले विषयवस्तु बुझ्न र नयाँ भाषा सिक्न एकैसाथ प्रयास गर्नुपर्छ । परिणामतः सतही स्तरको सिकाइ, घोकेर पढ्ने प्रवृत्ति र विद्यालयप्रति विमुखता बढ्छ । युनेस्कोका अनुसार, संसारका करिब ४० प्रतिशत जनसंख्याले आफूले बुझ्ने वा बोल्ने भाषामा शिक्षा पाउँदैनन् । यो तथ्यांकले विश्वव्यापी समस्या उजागर गर्छ ।

विद्यार्थीको कमजोर नतिजाका प्रमुख कारणमध्ये एक हो, घरमा प्रयोग गरिने भाषा र विद्यालयमा प्रयोग गरिने भाषाबीचको बेमेल । स्थानीय वा मातृभाषा बोल्दै हुर्केका बालबालिकालाई उनीहरूले बोल्न वा बुझ्न नसक्ने भाषामा औपचारिक शिक्षा सुरु गर्न भनिन्छ । बरु प्रारम्भिक साक्षरताको काम बालबालिकाको परिचित भाषाबाट सुरु गर्नु उचित हुन्छ । बालबालिकाले बुझ्ने भाषाबाट पढ्न र लेख्न सिके भने ती सीपलाई दोस्रो वा तेस्रो भाषामा सहजै स्थानान्तरण गर्न सक्छन् । तर, अपरिचित भाषाबाट सिकाइ सुरु गर्दा सुस्त र जटिल बन्छ । आधारभूत सिकाइको सफलता शिक्षकमा पनि निर्भर हुन्छ । उनीहरूको भाषिक दक्षताले पनि प्रभाव पार्छ । सिकाइको भाषामा आत्मविश्वासी नभएका वा दक्ष नभएका शिक्षकले आधारभूत सीप प्रवर्द्धन गर्न कमै मात्र प्रभावकारी हुने गरेको अध्ययनले देखाएको छ । सिकाइ सामग्रीको उपलब्धताले पनि सिकाइमा भूमिका खेल्छ । विद्यार्थीको घरमा बोल्ने भाषामै पर्याप्त स्रोत सामग्री नभएमा शिक्षण सिकाइ खण्डित हुन्छ । प्रारम्भिक तर महत्त्वपूर्ण वर्षमै विद्यार्थी पछि पर्न थाल्छन् ।

बालबालिकाको घर वा परिचित भाषालाई प्रवर्द्धन गर्नु भनेको उच्च तहको सोचाइ विकास गर्ने प्रक्रिया हो । जसले पछि अन्य भाषा पनि सिक्न सहयोग पुर्‍याउँछ । अध्ययनहरूले देखाएका छन्, मातृभाषामा पढाइएका बालबालिका विद्यालय जान उत्साहित हुने र विद्यालयमा बढी टिक्ने गर्दछन् । 

आफ्नो पहिलो भाषामा सिक्न पाएका विद्यार्थीको कक्षा दोहोर्‍याउने सम्भावना पाँच गुणा कम र विद्यालय छाड्ने सम्भावना तीन गुणा कम पाइएको छ । यसर्थ, शिक्षा बजेटमा ४–५ प्रतिशत अतिरिक्त लगानीले मातृभाषामा शिक्षा सञ्चालन गर्न सकिन्छ र दीर्घकालीन लागत घटाउन सकिन्छ ।

शिक्षाको सन्दर्भमा भाषा केवल शैक्षिक साधन मात्र होइन, यो त बालबालिकाको आत्मपहिचान र सामाजिक–सांस्कृतिक सम्बन्धसँग पनि जोडिएको हुन्छ । बालबालिकाले आफ्नै भाषामा सिक्न पाउँदा आत्मविश्वास, सांस्कृतिक पहिचान र शिक्षाप्रतिको सकारात्मक दृष्टिकोण बढ्छ । साथै, जब विद्यालयले घरमै बोलिने भाषा प्रयोग गर्छ, अभिभावकलाई सिकाइ प्रक्रियामा संलग्न गराउन सजिलो हुन्छ ।

विभिन्न देशले शिक्षा नीतिमा फरक भाषा मोडल अपनाएका छन् । केहीले प्रारम्भिक चार वर्षसम्म मातृभाषाको प्रयोग गर्छन् । केहीले छैटौं वा आठौं वर्षसम्म मातृभाषा प्रयोग गर्छन् । बालबालिकालाई अंग्रेजी पनि सिकाइनुपर्छ । तर कहिले, कसरी र कस्ता सर्तमा सिकाइनु उपयुक्त हुन्छ भन्ने प्रश्न छ । अंग्रेजी सिकाइनुपर्छ, तर त्यो बालबालिकाले जीवनमा आवश्यक आधारभूत सीपहरू सिक्ने प्रक्रियामा बाधक बन्नु हुँदैन ।

अबको चुनौती बहुभाषिकतालाई अवसरका रूपमा हेर्ने प्रणाली बनाउनु हो । हामीलाई यस्तो नीति, पाठ्यक्रम, शिक्षक तालिम र कक्षाकोठाको अभ्यास चाहिन्छ, जसले विद्यार्थीहरूको भाषिक विविधतालाई स्वीकार र उपयोग गर्न सकोस् । परिचित भाषामा बलियो आधार निर्माण गरी क्रमिक रूपमा अंग्रेजीलाई विषय र माध्यमका रूपमा प्रस्तुत गर्दा मात्रै हामी बालबालिकालाई दक्ष अंग्रेजी प्रयोगकर्ता बनाउन सक्छौं । साथै आत्मविश्वासी, सक्षम र समालोचक सोच राख्ने नागरिक बनाउन सक्छौं ।

– लामिछाने ब्रिटिस काउन्सिल नेपालका अंग्रेजी तथा विद्यालय शिक्षाका प्रमुख हुन् ।

भोगेन्द्र लामिछाने

Link copied successfully