राजस्वमा पुँजी बजारले दिएको उत्साहपूर्ण सन्देश

बजारमा विकृतिका रूपमा मौलाउँदै आएको भित्री, जालसाजी, कृत्रिम कारोबारहरू अन्त्य गरी दोषीलाई कारबाही र इमानदारीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्छ । यसले पुँजी बजारको विश्वसनीयता बढ्नेछ र यो क्षेत्र राजस्वको भरपर्दो स्रोत बन्नेछ ।

भाद्र २, २०८२

सम्पादकीय

Enthusiastic message from capital markets on revenue

What you should know

पछिल्ला वर्षमा राजस्व संकलन वृद्धिदर घट्दै गएकाले अत्यावश्यक कामका लागि पनि स्रोत जुटाउन सरकारलाई हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा नेपालको पुँजी बजार राजस्व संकलनको महत्त्वपूर्ण स्रोत बन्ने सम्भावना देखिएको छ । राजस्वका सबै स्रोत हाम्रा लागि अर्थपूर्ण छन् ।

किनकि, विदेशी सहायता तथा अनुदान विश्वव्यापी रूपमै घटिरहेको छ । नेपाल स्वयं सन् २०२६ देखि विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएकाले यसअघि कम विकसित राष्ट्रका नाताले प्राप्त भइरहेको अनुदान तथा सहयोग रोकिनेछ, सहुलियत ऋणको पनि ब्याजदर बढ्नेछ । स्रोत संकलन चापमा परेका बेला राजस्व बढाउनका लागि पुँजी बजार बलियो विकल्प बनेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट करिब १८ अर्ब २२ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ जो हालसम्मकै उच्च हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा नेप्से परिसूचक करिब एक हजार अंकले बढ्दा राजस्व संकलनमा पनि वृद्धि भएको हो ।

२०८१ जेठ अन्तिम सातातिरबाट सेयर बजारमा वृद्धिको संकेत देखिए पनि दुई ठूला दलको गठबन्धनमा सरकार बन्ने समाचार आएपछि नेप्से वृद्धिले तीव्र गति समातेको हो । ठूला दुई दलले सरकार बनाउने अग्रसरता लिएपछि राजनीतिक स्थिरताको अपेक्षासहित सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका थिए ।

जसकारण सुरुका तीन महिनामा नेप्से परिसूचक करिब १ हजार अंकले बढेर २०८१ भदौ पहिलो सातासम्म २ हजार ९ सय ७४ अंकमा पुगेको थियो । सो अवधिमा नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी आयो । त्यसको सकारात्मक असर सरकारलाई प्राप्त हुने राजस्व संकलनमा परेपछि पुँजी बजारबाट हालसम्मकै धेरै राजस्व संकलन भएको हो । 

जब–जब सेयर बजार उकालो लाग्छ, सरकारलाई प्राप्त हुने राजस्व पनि बढ्छ । नेप्से परिसूचक बढ्न नसक्दा पुँजी बजारबाट आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १५ करोड र २०७९/८० मा ३ अर्ब ४२ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । यी दुवै वर्ष नेप्से परिसूचक २ हजारभन्दा मुनि थियो । जबकि २०७७/७८ मा १४ अर्ब ३४ करोड र २०७८/७९ मा १० अर्ब ३४ करोड रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो ।

२०७७/७८ मा नेप्से हालसम्मकै उच्च अर्थात् करिब ३२ सय अंकको हाराहारीमा थियो । त्यसपछि नेप्से ओरालो लागेको भए पनि २०७८/७९ मा धेरै तल भने झर्न पाएको थिएन । यसकारण ती दुवै वर्ष सरकारलाई पुँजी बजारबाट राम्रै राजस्व प्राप्त भएको थियो । यी तथ्यांकबाट सरकारले प्राथमिकताका साथ पुँजी बजारको विकास र विस्तारमार्फत बजारका दायरा बढाउन सके ठूलो परिमाणमा राजस्व प्राप्त गर्न सक्ने आधार देखिन्छ । 

नेपालमा औपचारिक रूपमा पुँजी बजार स्थापना भएको करिब ३२ वर्ष पुगेको छ । हाल दोस्रो बजारको कारोबार अनलाइनमार्फत भएको त छ तर बजारका लागि ‘इक्विटी’ बाहेक पुँजी बजारका धेरै औजार कार्यान्वयनमा आउन सकेका छैनन् । आधुनिक प्रविधि भित्र्याउन सकिएको छैन, प्रभावकारी नियमन र सुपरिवेक्षण पनि हुन सकेको छैन । स्थापनाको तीन दशकमा पनि नियामक निकाय धितोपत्र बोर्ड र ‘फ्रन्टलाइन रेगुलेटर’ नेप्सेको संस्थागत क्षमता अपेक्षित रूपमा बढ्न सकेको छैन ।

संस्थागत क्षमता अभिवृद्धि गरेर ती निकायलाई सबै पक्षमा सशक्त बनाउनुको साटो सबल र सक्षम नेतृत्व छनोटमा सरकार चुकेको छ । नेतृत्व छनोटमा व्यावहारिक समूह (स्वार्थ समूह) हाबी हुन थालेका छन् । यसरी चयन हुने नेतृत्वले बजार विकासभन्दा आफ्नो स्वार्थअनुसार काम गर्ने प्रवृत्ति हाबी भएको छ । यसकारण बजार राम्रो हुन सकेको छैन । विकास र विस्तार पनि हुन सकेको छैन ।

सेयर लगानीका लागि खुलेका डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या ७० लाख नाघेको छ । ‘सीडीएस एन्ड क्लियरिङ’ का अनुसार आइतबारसम्म ७० लाख १० हजार ९ सय १६ लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यो नेपालको कुल जनसंख्याको करिब २४ प्रतिशत हो । तर डिम्याट खाता खोलेका सबै लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गरेका छैनन् । हाल दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् । तीमध्ये १२ लाख ४८ हजार ८ सय ५५ जना मात्र दोस्रो बजारमा सक्रिय छन् ।

नेप्सेले गएको एक वर्षमा कम्तीमा एउटा कारोबार गर्ने लगानीकर्तालाई सक्रिय लगानीकर्ता भन्दै आएको छ । तर पनि उल्लिखित तथ्यांकले सेयर बजारमा लगानीकर्ताको आकर्षण निकै बढेको पुष्टि हुन्छ । यसका आधारमा सरकारले अब पुँजी बजारको विकास र विस्तारलाई प्राथमिकता दिनुपर्छ । हाल सरकारले बजेट नै विनियोजन गरेर न त पुँजी बजारको कुनै पूर्वाधार थपेको छ, न त वित्तीय साक्षरताका कार्यक्रम नै सञ्चालन गरेको छ । बरु नियामक निकायको नेतृत्व छनोटमा संवेदनशील नबनी स्वार्थ समूहलाई हाबी बन्न दिएकाले संस्थागत सुशासनमा प्रश्न उठेको छ ।

राजस्व संकलनले चालु खर्च पनि जुटाउन हम्मेहम्मे परिरहेको अवस्थामा थोरै मात्र पुँजी बजारको विकास र विस्तारका लागि ध्यान दिँदा हालको भन्दा धेरै राजस्व यो बजारबाट संकलन गर्न सकिन्छ ।

यसका लागि सरकारले हरेक वर्ष बजारको विकास र विस्तारका लागि निश्चित बजेट विनियोजन गर्ने, स्वार्थ समूहको प्रभाव र दबाबमा नपरी निष्पक्ष रूपमा सक्षम र योग्य व्यक्तिलाई नियामक निकायमा नेतृत्व चयन गर्ने, नियामक निकायमा उत्कृष्ट संस्थागत सुशासन कायम गर्ने, व्यापक रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर लगानीकर्तामाझ सेयर बजारबारे ज्ञान र सूचनाको पहुँच दिने काम गर्न सकिन्छ ।

त्यस्तै, बजारमा विकृतिका रूपमा मौलाउँदै आएको भित्री, जालसाजी, कृत्रिम कारोबारहरू अन्त्य गरी दोषीलाई कारबाही र इमानदारीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्छ । यसले पुँजी बजारको विश्वसनीयता बढ्नेछ र यो क्षेत्र राजस्वको भरपर्दो स्रोत बन्नेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully