अहिलेको अध्ययनले के देखाउँछ भने अत्यधिक ग्याजेटको प्रयोगले बालबालिकाको शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक भावनादेखि सबै कुरामा नकारात्मक असर पारिरहेको छ । विज्ञहरूका अनुसार बालबालिकालाई समयमै ग्याजेटको लतबाट टाढै राख्न सकेनौं भने भविष्यमा पछुताउनु सिवाय हाम्रो हातमा केही बाँकी रहने छैन ।
What you should know
हाम्रा बालबालिकाले ग्याजेट खोल्दा एकचोटिमा एउटा मात्र स्क्रिन चलाइरहेका हुँदैनन्, एकैचोटि १०/१५ वटा एप्स खोलेर बसेका हुन्छन् । उनीहरू साथीभाइसँग खेलिरहेका हुन्छन् । धेरै जनासँग कुराकानी गरिरहेका हुन्छन् । यसो गर्दा आफ्ना सहपाठी, नातेदारसँग मात्रै हुँदैनन्, संसारभरका मानिस र एआईसँग पनि जोडिइरहेका हुन्छन् ।
सन् २०१० पछि सबैको हातहातमा मोबाइल फोन आयो र यससँगै उसले खेल्ने, सिक्ने र मनोरञ्जन लिने साधन पनि भित्रियो । संसार नै फोनमा आधारित भयो, जसले गर्दा उसको बाल्यकालको विकासमा गम्भीर असर पर्नुका साथसाथै मानसिक स्वास्थ्यमा पनि समस्या आउन थालेको छ ।
२०११ देखि २०१९ को बीचमा किशोरकिशोरीको आत्माहत्याका प्रयास, चिन्ता र डिप्रेसनका केश बढेको रिपोर्टहरूले देखाएका छन् । यसलाई हामीले बेवास्ता गर्न मिल्दैन । संसारका धेरै देशमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन बन्देज छ तर हाम्रो देशमा सम्बन्धित निकायले त्यस्तो केही गरेको पाइँदैन ।
ग्याजेटको अत्यधिक प्रयोगबाट विद्यालयका बालबालिका बढी प्रभावित छन् । जसले गर्दा शिक्षकलाई शिक्षण सिकाइमा निकै कठिन हुन थालेको छ । बालबालिका अनलाइन बुलिङको सामना गरिरहेका, नकारात्मक प्रतिक्रिया, अनलाइन अपराधमा परेका र मानसिक रूपमा अस्वस्थ बालबालिका भौतिक रूपमा त विद्यालयमा उपस्थित हुन्छन् तर मानसिक रूपमा उनीहरूको ध्यान अन्यत्रै हुन्छ ।
त्यस्तो अवस्थामा शिक्षकले के गर्ने ? मानसिक रूपमा सिक्न उत्सुक विद्यार्थीलाई सिकाउन सकिन्छ तर रातभर गेम खेलेर भोलिपल्ट अनिँदो विद्यालयमा उपस्थित हुने बालबालिकालाई कसरी सिकाउने भन्ने शिक्षक/शिक्षिकालाई ठूलो चुनौती छ ।
आफ्ना बालबालिकासँग एकदमै आत्मीय र खुला कुराकानी गरौं, १६ वर्षमुनिका बालबालिकलाई सामाजिक सञ्जालमा खाता खोल्न नदिऔं र प्रविधिका असरबाट जोगाउन निश्चित समयावधिका लागि मात्र उपकरण चलाउन दिऊँ ।
बालबालिकालाई नयाँ नयाँ रमणीय स्थलहरू जस्तै : हाइकिङ, मठमन्दिर, पार्क, मस्जिद, गुम्बा, चर्च आदि स्थानको अवलोकन गराऔं । खाली समयको सदुपयोग गर्न उनीहरूको ध्यान अन्यत्र मोडौं । त्यसैगरी, आफन्त र साथीभाइको घरमा जाने, खेल्ने र रमाउने व्यवस्था मिलाऔं । काम हुँदा मात्र प्रविधिको प्रयोग गरेर हामी आफैं पनि उदाहरण बनौं ।
इन्टरनेटमा आधारित नभएका सबै गृहकार्य सकेपछि मात्र इन्टरनेटमा आधारित गृहकार्य गर्न लगाऔं । शारीरिक व्यायाम र योगमा जोड दिऊँ र उमेरअनुसारका जिम्मेदारी सुम्पिने कुरामा कुन्ज्यस्याइँ गर्दै नगरौं ।
उपकरण निषेधित क्षेत्र निर्धारण गरौं । जस्तै: सुत्ने कोठा, भान्साकोठा, बाथरुम आदिमा ग्याजेट चलाउनै नदिऔं । सुत्नुभन्दा एक घण्टाअघि मोबाइल बन्द गर्न लगाऔं । बालबालिकाको सुत्ने चक्र ठीक बनाऔं ।
अहिलेको अध्ययनले के देखाउँछ भने अत्यधिक ग्याजेटको प्रयोगले बालबालिकाको शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक भावनादेखि सबै कुरामा नकारात्मक असर पारिरहेको छ । विज्ञहरूका अनुसार बालबालिकालाई समयमै ग्याजेटको लतबाट टाढै राख्न सकेनौं भने भविष्यमा पछुताउनु सिवाय हाम्रो हातमा केही बाँकी रहने छैन ।
