नागरिकको गोपनीयतामाथि अतिक्रमण नगर

नागरिकलाई आमरूपमै ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न’ रहेको आशंका गर्ने राज्यले विधिको शासन कायम गर्नै सक्दैन । यतिबेला सरकारले आफ्नो उद्देश्यप्रति पुनः समीक्षा गर्नुपर्छ । उद्देश्य राम्रै राखिएको हो भने पनि विधेयकको मस्यौदामा प्रयोग गरिएको भाषाले त्यसलाई पुष्टि नगर्ने भएकाले सुधार गर्न तयार हुनुपर्छ ।

श्रावण २८, २०८२

सम्पादकीय

Do not invade the privacy of citizens

What you should know

विवादास्पद विधेयक ल्याउने क्रमलाई सरकारले निरन्तरता दिएको छ, यही क्रममा राष्ट्रिय गुप्तचरसम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ । संसद्मा विचाराधीन रहेका वा मस्यौदाको क्रममा रहेको भूमि विधेयक, मिडिया काउन्सिल विधेयक र मुलुकी अपराध संहितासँग सम्बन्धित विधेयक विवादमा परिरहेका बेला सरकारले राष्ट्रिय गुप्तचरसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ ।

जहाँ सरकारले नागरिकका संविधानप्रदत्त वैयक्तिक गोपनीयता हनन गर्ने उद्देश्य राखेको छ । नागरिकका फोनकल, म्यासेज, भिडियोलगायत सामग्री निगरानी, अनुगमन र ट्यापिङ गर्न सक्ने व्यवस्था मस्यौदामा छ । आफ्ना प्राथमिकताबाट बहकिएर नागरिकका व्यक्तिगत सम्पर्क र गतिविधि संकलनमा सरकारको रुचि अस्वाभाविक छ । यस्ता प्रयत्नबाट सरकार पछि हट्नुपर्छ ।

हालको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ‘विशेष सेवा ऐन, २०४२’ अन्तर्गत सञ्चालित छ । सोही ऐनलाई विस्थापित गरी सरकार ‘राष्ट्रिय गुप्तचर’ (इन्टेलिजेन्स) सम्बन्धी ऐन ल्याउने तयारीमा लागेको हो । मस्यौदा विधेयकमा सरकारले गुप्तचर हाकिममार्फत नागरिकका व्यक्तिगत संवाद सुन्ने र रेकर्ड गर्ने प्रावधान राखेको छ ।

मस्यौदामा सञ्चारमाध्यम, व्यक्ति र संघसंस्थाका कुराकानी, श्रव्यदृश्य, विद्युतीय संकेत तथा विवरणमाथि ‘इन्टरसेप्सन’ (ट्यापिङ) गर्न पाउने व्यवस्था समेटिएका छन् । ‘अन्य माध्यमबाट सूचना संकलन गर्न सम्भव नभएमा र त्यस्तो सूचना तत्काल संकलन नगरेमा मुलुकलाई गम्भीर हानिनोक्सानी हुने कुरामा अनुसन्धान महानिरीक्षक विश्वस्त भएमा’ ट्यापिङ गर्न पाउने व्यवस्था राखेर संवेदनशील विषयलाई अनुसन्धान महानिरीक्षकको तजबिजीमा छोड्न खोजिएको छ । 

जासुसी संयन्त्रलाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न सन्दिग्ध व्यक्तिका फोन ट्यापिङ गर्न दिइनु गलत मानिँदैन । अहिले पनि अपराध अनुसन्धानका लागि सूचनामा पहुँच आवश्यक भए सम्बन्धित जिल्ला अदालतको अनुमतिले प्राप्त गर्न सकिने अवस्था छ । यो हुँदै आएको पनि छ । विरोध भएको पनि छैन । तर सरकारले अझै अघि बढेर तजबिजी अधिकार प्रयोग गर्ने उद्देश्यसहित मस्यौदामा ‘अनुसन्धान महानिरीक्षक विश्वस्त भएमा’ भन्ने प्रावधान राखेको छ । जसको दुरुपयोग हुने सम्भावना ज्यादा छ ।

हाम्रो जस्तो तरल समाज, जहाँ समाजका मूलभूत मुद्दा नै व्यवस्थित भइसकेका छैनन्, राजनीतिक–सामाजिक संघर्ष अद्यापि बाँकी छन्, त्यहाँ यस किसिमको अधिकारको दुरुपयोगको त्रास हुने गर्छ । विशेषतः विपक्षी पार्टीका नेताहरूमाथि निगरानी राख्ने, सरकारविरुद्ध हुन सक्ने संघर्षलाई निस्तेज तुल्याउन विवादास्पद प्रावधानको दुरुपयोग गरिने सम्भावना रहन्छ ।

त्यस्तै सरकारका विवादास्पद निर्णय र तयारीको उजागर गर्ने सञ्चारमाध्यम तथा पत्रकार, सरकारका गतिविधिका स्वतन्त्र आलोचक, अभियन्ता, लेखकमाथि निगरानी र नियन्त्रण गर्ने औजारका रूपमा दुरुपयोग हुन सक्छ । यसले सामाजिक/राजनीतिक आन्दोलनलाई नै ठप्प पार्ने जोखिम रहन्छ । जबकि, ठूला सामाजिक राजनीतिक परिवर्तनका लागि ठूलै आन्दोलन वा क्रान्ति नै आवश्यक पर्ने भए पनि सानातिना सुधारका लागि सामाजिक/राजनीतिक आन्दोलन सहायकसिद्ध हुन्छन् । यस्तो व्यवस्थाले संविधानकै मौलिक हकको उल्लंघन गर्ने सम्भावना रहन्छ ।

संविधानको धारा २८ ले व्यक्तिको गोपनीयताको हक सुनिश्चित गरेको छ । जहाँ कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्रचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनिएको छ । यसको आशय कानुन बनाएर अतिक्रम्य गर्नु भन्ने होइन । अपवादका लागि स्वीकृति मात्रै हो । एकातिर सरकारले सेवा प्रवाह जस्ता नियमित दायित्व र स्वयंद्वारा गरिएको प्रतिबद्धता पूरा गर्न नसकिरहेको अवस्थामा शंकास्पद विधेयक ल्याउन खोज्नु अनौठो छ ।

यस्ता कानुनी प्रावधानको कानुनी र सामाजिक औचित्य पुष्टि हुनुपर्छ, यस मस्यौदाले त्यसलाई सुनिश्चित गर्दैन । सरकारप्रति भरोसा जगाउन र ऊ अभिभावक हो भन्ने विश्वास दिलाउन नै कठिन परिरहेको अवस्थामा सरकारको प्राथमिकताले झनै दूरी बढाउँछ ।

विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक, गोपनीयताको हकलगायत संविधानमै सुनिश्चित गरिएका अधिकारलाई कमजोर पार्ने र प्रकारान्तरले नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रयत्न स्वीकार्य हुनै सक्दैन । अमूक शब्द राखेर अपव्याख्या गर्ने र त्यसकै आडमा नागरिकमाथि थोपर्ने अस्त्रका रूपमा प्रयोग हुने जोखिम अनेकौं विधेयकमा देखिएका छन् ।

राष्ट्रिय गुप्तचरसम्बन्धी विधेयकको मस्यौदा त व्यक्तिको निजत्वमा प्रवेश गर्न खोजेको छ । एकातिर व्यक्तिको गोपनीयताको हक, अर्कोतिर ‘अनुसन्धान महानिरीक्षक विश्वस्त भएमा’ भन्ने जस्तो प्रावधानले संविधानकै मर्म मेट्ने निश्चित जस्तै छ । नागरिकलाई आमरूपमै ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न’ रहेको आशंका गर्ने राज्यले विधिको शासन कायम गर्नै सक्दैन ।

यतिबेला सरकारले आफ्नो उद्देश्यप्रति पुनः समीक्षा गर्नुपर्छ । उद्देश्य राम्रै राखिएको हो भने पनि विधेयकको मस्यौदामा प्रयोग गरिएको भाषाले त्यसलाई पुष्टि नगर्ने भएकाले सुधार गर्न तयार हुनुपर्छ । आफू सत्तामा हुँदा विवादास्पद प्रावधान राखेर ऐन बनाउँदा आफैं विपक्षमा भएका बेला दुरुपयोग हुन सक्ने सम्भावनालाई ख्याल गर्नुपर्छ । नागरिकको हक र स्वतन्त्रतालाई अक्षुण्ण राख्न सांसद पनि सचेत बन्नुपर्छ । आफूहरूले नागरिकको सार्वभौमिकताको नेतृत्व गरिरहेको हो भन्ने ख्याल गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully