मूल्यांकनकर्ता सधैं पेसागत जोखिममा

नेपाली न्यायशास्त्रअनुसार प्रत्यायोजित विधायनले आफूलाई जन्म दिने मूल ऐनको सीमा नाघ्न सक्दैन । यस्तो निर्देशन कानुनभन्दा माथि गयो भने बदरयोग्य हुन्छ । सर्वोच्च अदालतबाट २०५२ देखि हालसम्मका थुप्रै फैसला यसै आधारमा प्रत्यायोजित कानुन खारेज गरिएका छन् ।

श्रावण २७, २०८२

सहदेव खत्री

Appraisers are always at occupational risk

What you should know

नेपालको प्रचलित ऐन, कानुन वा नियमले ‘इन्जिनियरले नै मूल्यांकन गर्नुपर्छ’ भनेर स्पष्ट रूपमा नतोके तापनि अचल सम्पत्तिको मूल्यांकन कार्य उनीहरूले नै गर्दै आएका छन् । नेपालमा इन्जिनियरद्वारा गरिने मूल्यांकन सेवा एक अत्यन्तै जिम्मेवार र विशिष्ट प्राविधिक ज्ञानमा आधारित पेसा हो । तर पछिल्ला वर्षमा मूल्यांकनकर्ता अन्यायपूर्ण व्यवहार, कानुनी प्रावधानको गलत प्रयोग र संस्थागत दुर्व्यवहारको सिकार भइरहेका छन् ।

विशेषतः कर्जा असुलीमा समस्या आएपछि बैंक तथा वित्तीय संस्थाले मूल्यांकनकर्तालाई नै कालोसूचीमा राख्ने, ऋणीसरह दोषी ठहर गर्ने र गलत नियतको शंकामा पेसागत चरित्रहत्या गर्नेजस्ता प्रवृत्तिले यो पेसालाई गम्भीर संकटमा पुर्‍याएको छ । 

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनअनुसार मात्र कर्जा प्रवाह गर्न सक्छन् । कर्जा लगानी नै उनीहरूको मुख्य आम्दानीको स्रोत हो, जसमा सधैं जोखिम रहन्छ कि ऋणीले कर्जा फिर्ता नगर्न सक्छ । यही जोखिम व्यवस्थापन गर्नकै लागि बैंकले ऋणीसँग ब्याज असुल गर्ने हो, जुन उनीहरूको व्यवसायको अंग हो । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ अनुसार ‘कर्जा सूचना केन्द्र’ को उद्देश्य कर्जा फिर्ता नगर्ने वा दुरुपयोग गर्ने ऋणीहरूको विवरण संकलन र आदानप्रदान गर्नु हो । त्यसैगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७(११) ले कर्जा सम्झौता उल्लंघन गर्ने ऋणीलाई मात्र कालोसूचीमा पठाउन सकिने स्पष्ट व्यवस्था गरेको छ ।

मूल्यांकनकर्ताले न त बैंकबाट कर्जा लिएका हुन्छन्, न उनीहरूको बैंकसँग कर्जासम्बन्धी कुनै सम्झौता रहेको हुन्छ । तसर्थ, उनीहरूलाई कालोसूचीमा राख्नु न केवल गैरकानुनी हो, यो संविधानद्वारा प्रत्याभूत ‘व्यावसायिक स्वतन्त्रता’ र ‘न्यायमा समान पहुँच’ जस्ता अधिकारकै उपहास पनि हो । सर्वोच्च अदालतबाट पटक–पटक मूल्यांकनकर्तालाई कालोसूचीमा राख्ने कार्य असंवैधानिक भएको ठहर भइसकेको छ । 

ईश्वरप्रसाद अधिकारी र घनश्याम दाहाललगायतका मुद्दामा अदालतले स्पष्ट रूपमा मूल्यांकनकर्ताले कर्जा नलिएको, कर्जासम्बन्धी दायित्व नरहेको हुँदा कालोसूचीमा राख्न नमिल्ने व्याख्या गरिसकेको छ । 

हाल बैंक तथा वित्तीय संस्थाहरू र मूल्यांकनकर्ताबीच गरिने परामर्श (कन्सल्टेन्सी) सम्झौता पूर्ण रूपमा एकपक्षीय र मूल्यांकनकर्ताका लागि अन्यायपूर्ण देखिएको छ । यस्ता सम्झौतामा आवश्यक परिमार्जन र संशोधन नगर्ने हो भने मूल्यांकनकर्ता सधैं पेसागत जोखिममा पर्ने अवस्था कायम रहन्छ ।

वर्तमानमा बैंकहरू मूल्यांकनकर्तालाई जबर्जस्ती कबुलियतनामामा हस्ताक्षर गराउन बाध्य पारिरहेका छन्, जसले उनीहरूको स्वतन्त्रता र पेसागत मर्यादामा गम्भीर प्रश्न उठाएको छ । अझ गम्भीर कुरा त के छ भने दोस्रो पटक गरिने मूल्यांकनका क्रममा पहिलो मूल्यांकनकर्तालाई साक्षीझैं प्रस्तुत गरिने अभ्याससमेत देखिन्छ, जुन निष्पक्ष मूल्यांकन प्रक्रियामा हस्तक्षेप हो । 

मूल्यांकनकर्ताले हाल ३ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ, जुन दोष प्रमाणित भएमा मात्र जफत हुन सक्ने प्रावधान स्पष्ट छ । तर व्यवहारमा बैंकहरूले मूल्यांकनकर्तामाथि सोझै बैंकिङ अपराधअन्तर्गत मुद्दा हाल्ने गरेका छन्, जसलाई न त सम्झौताले समर्थन गर्छ, न कुनै ऐनले अनुमोदन गरेको छ । कर्जा प्रदान गर्दा ऋणीले अनिवार्य रूपमा जमानतकर्ता प्रस्तुत गर्नुपर्दछ, जसले कानुनी रूपमा एक सहमतिपत्रमार्फत ऋणीले कर्जा तिर्न नसकेमा आफूले ऋणीसरह कर्जा तिर्नेछु ।

नेपालको कानुनले यस्ता जमानतकर्ताको भूमिकालाई स्पष्ट मान्यता दिएको छ तर कर्जा असुल नभएको अवस्थामा मूल्यांकनकर्तामाथि कर्जा असुलीको प्रयास गर्नु पूर्ण रूपमा गैरकानुनी कार्य हो, किनकि मूल्यांकनकर्ता न त ऋणी हुन्, न जमानतकर्ता । त्यसैले मूल्यांकनकर्तासँग कर्जा फिर्ता गर्न माग गर्नु वा उनीहरूमाथि बैंकिङ अपराधको आरोप लगाउनु कुनै कानुनी आधारबिना गरिएको मनपरी कदम मात्र हो । 

नेपाल राष्ट्र बैंकको इप्रा निर्देशन १२/०८१ को बुँदा ७ मा मूल्यांकनकर्तालाई विशेष परिस्थितिमा कालोसूचीमा राख्न सकिने व्यवस्था गरिएको छ । तर यस्तो व्यवस्था नेपाल राष्ट्र बैंक ऐनको मूल उद्देश्य र दफा ८८ सँग प्रत्यक्ष बाझिएको छ ।

नेपाली न्यायशास्त्रअनुसार प्रत्यायोजित विधायनले आफूलाई जन्म दिने मूल ऐनको सीमा नाघ्न सक्दैन । यस्तो निर्देशन कानुनभन्दा माथि गयो भने बदरयोग्य हुन्छ । सर्वोच्च अदालतबाट २०५२ देखि हालसम्मका थुप्रै फैसला यसै आधारमा प्रत्यायोजित कानुन खारेज गरिएका छन् । तसर्थ, मूल्यांकनकर्तालाई कालोसूचीमा राख्ने प्रावधान ऐनविपरीत, त्यसैले अवैध र अमान्य ठहरिन्छ । 

मूल्यांकनकर्तामाथिको बढ्दो दमन र असंवैधानिक व्यवहारविरुद्ध नेपाल भ्यालुयर्स एसोसिएसनले अहिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडविरुद्ध आन्दोलन सुरु गरिसकेको छ । एसोसिएसनले यो विषयलाई पेसागत अस्तित्वको लडाइँका रूपमा उठाएको छ । असंवैधानिक कालोसूचीकरण, एकपक्षीय सम्झौता र बैंकिङ अपराधको आरोपजस्ता व्यवहारको अन्त्य नभएसम्म संघर्ष जारी राखिने एसोसिएसनको स्पष्ट प्रतिबद्धता छ । 

मूल्यांकनकर्ताको पेसा जोखिममा छ । एकातर्फ बैंकहरूका नीति र व्यवहार कानुनभन्दा माथि जान खोजिरहेका छन् भने अर्कोतर्फ नियमनकारी निकायले आँखा चिम्लिएजस्तो गर्दा समस्या देखिएको छ । यदि यस्तो अन्यायपूर्ण अवस्था रोकिएन भने योग्य प्राविधिक यस पेसाबाटै पलायन हुन बाध्य हुनेछन्, जसले सम्पूर्ण कर्जा प्रणाली र वित्तीय पारदर्शितालाई नै संकटमा पार्ने निश्चित छ । 

अब समय आएको छ– सरकारले हस्तक्षेप गरोस्, नेपाल राष्ट्र बैंकले कानुन अनुकूल निर्देशिका परिमार्जन गरोस् र बैंकहरूले मूल्यांकनकर्तासँगको सम्बन्धलाई समानताका आधारमा पुनरावलोकन गरुन् । अब पनि बैंक र मूल्यांकनकर्ताबीच हुने सम्झौता पुनर्परिमार्जन गरिएन भने मूल्यांकनका नाममा भइरहेको यो संस्थागत अन्यायले लोकतान्त्रिक शासन व्यवस्थामै प्रश्न खडा गर्नेछ । 

–खत्री अधिवक्ता हुन् । 

सहदेव खत्री खत्री अधिवक्ता हुन्।

Link copied successfully