खासमा नेतृत्व पालो पर्खेर आउँदैन, यो त राजनीतिक, वैचारिक योग्यताका आधारमा मूल नेतृत्वलाई च्यालेन्ज गरेर लिने कुरा हो। प्रमुख पार्टीका शीर्ष नेतृत्वमा दल भनेको आफ्नै पेवा वा प्राइभेट कम्पनी हो भन्ने मनोवृत्ति छ, तिनमा पछिल्लो पुस्तालाई योग्यताका आधारमा अवसर दिने संस्कार नै छैन।
What you should know
राजनीतिशास्त्रमा एउटा चल्तीको अंग्रेजी शब्दावली छ, ‘जेरोन्टोक्रेसी’ । जसको सरल अर्थ हो, राजनीतिमा बूढाहरूको वर्चस्व । राजनीतिक निर्णयमा वृद्ध नेताहरूको पहुँच, भूमिका वा नियन्त्रण रहिरहने अवस्थालाई ‘जेरोन्टोक्रेसी’ भनिन्छ । नेपाली राजनीतिमा लामो समयदेखि ‘जेरोन्टोक्रेसी’ हाबी छ ।
यहाँ जीवनको उत्तरार्द्धमा पुगेका नेताहरूको पार्टी वा सत्ता राजनीतिमा निर्णायक भूमिका छ । जसले गर्दा नवीन नेतृत्व र पुस्तान्तरणको मुद्दा पोखरीमा पानी जमेजस्तो बग्दै बग्दैन । वर्षौंवर्ष पार्टी वा सरकारको नेतृत्वमा उही अनुहारको हालीमुहाली भइरहँदा त्यसले एकातिर राजनीति गतिशील बन्न सकेन भने अर्कोतर्फ आमवृत्तमा निराशा र दिक्दारी थपिँदो छ । यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण हो, राजनीतिक दलहरूमा मूल नेतृत्वको किटानी ‘एक्जिट पोलिसी’ (बहिर्गमन नीति) नहुनु । त्यसकारण नेतृत्वको ‘एक्जिट पोलिसी’ यतिबेला एउटा महत्त्वपूर्ण विमर्शको विषय हो ।
सत्तारूढ नेकपा (एमाले) को विधान महाधिवेशन नजिकिँदै गर्दा यो मुद्दा अझ बढी सान्दर्भिक भएको छ । आगामी भदौ २० देखि एमालेले तीन दिन विधान महाधिवेशन गर्ने भएको छ । उक्त विधान महाधिवेशनमा ७० वर्षे उमेर हद एउटा मुख्य मुद्दाका रूपमा रहनेछ । विधान महाधिवेशन नजिकिँदै गर्दा एमालेवृत्तमा भइरहेका बहस/अभ्यासहरूले त्यो संकेत गर्छ ।
एमाले सम्बद्ध बौद्धिक परिषद्ले ७० वर्षे उमेरहद लगायतका केही विषय समावेश गरेर डिजिटल सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणमा मूलतः पार्टीको संगठनात्मक संरचना, पदाधिकारी संख्या, उमेरहद, कार्यकारी पदमा दुई कार्यकालको सीमाजस्ता प्रश्न समावेश छन् ।
खासमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा फर्केको घोषणा गरेसँगै ७० वर्षे उमेरहदका आधारमा नेतृत्वको बहिर्गमन हुनुपर्ने लगायतका मुद्दा पुनः ब्युँतिएको हो । तर, अध्यक्ष केपी शर्मा ओलीको बलियो वर्चस्व भएको केन्द्रीय कमिटीले उनलाई पार्टी प्रवेशमा रोक लगाइदियो । तत्कालका लागि भण्डारीको पार्टीमा फर्किने आकांक्षामा बिराम लागे पनि यसबीच उठेका उमेरहद लगायतका मुद्दाले चाहिँ एमालेमा प्रवेश पाएको छ ।
७० वर्षे उमेरहदको विषयलाई लिएर एमालेभित्र दुईथरी धारणा छन् । पहिलो, प्रधानमन्त्री एवं अध्यक्ष ओली ७० वर्षे उमेरहदको प्रबन्ध फेल खाइसकेकाले त्यसको औचित्य नभएको धारणा राख्छन् । उनी भन्छन्, ‘७० वर्षे उमेरहदले फेल खाइसक्यो । अहिले म ७४ मा छु । ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ? ७० वर्षमा रिटायर्ड हुन उमेर चार वर्ष घटाउन त भएन नि ! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ/दिँदैन, कार्यक्षमता हुन्छ/हुँदैन भन्ने मुख्य कुरा हो ।’ अर्को एउटा कार्यक्रममा त उनले ७० वर्षे उमेरहद लागू गर्ने भए आफू जेल बसेको १४ वर्ष घटाउनुपर्छ भनेर ठट्टा पनि गरे ।
एमालेमा ओलीको पंक्ति बलियो छ । त्यसकारण अधिकांशले उनले जे भन्छन्, टाउको हल्लाएर सदर गरिदिन्छन् । तर, उनी इतरको पंक्ति पनि त्यहाँभित्र संगठित हुँदै छ, जो यी मुद्दामा फरक धारणा राख्छ । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याउन लागिपरेको समूहले ७० वर्षे उमेरहद र दुई कार्यकालको विषयलाई मुद्दा बनाएको छ ।
के राजनीतिमा सक्रिय हुने उमेर तोक्नु उचित हो ? एमालेभित्र हुर्कंदो विद्या–ओली द्वन्द्वसँगै यो प्रश्न फेरि बहसको विषय बनेको छ । यो प्रश्नमा थप विवेचना गर्नुअघि एमालेले उमेरहदका विषयमा के–कस्तो अभ्यास गर्दै आयो, त्यो हेरौं ।
एमालेले २०७८ असोजमा भएको विधान महाधिवेशनबाट एउटै व्यक्ति कार्यकारी पदमा दुई अवधिभन्दा बढी रहन नपाउने र ७० वर्ष उमेर कटेपछि सम्मानजनक रूपमा बिदा हुनुपर्ने प्रबन्ध गरेको थियो । तर, आफूअनुकूल निर्णय बदलिरहने नेतृत्वले यसको बलियो कार्यान्वयन गरेन । एकीकृत समाजवादीबाट ७० कटेका मुकुन्द न्यौपानेलाई पार्टीमा फर्काउने बहानामा उक्त प्रबन्धलाई निलम्बनमा राखियो । जसले गर्दा ७० पुग्दै गरेका एमालेका अरू धेरैलाई नेतृत्वमा रहिरहने बाटो खुल्यो । सबै ‘तैं चुप, मै चुप’ भए ।
एमालेले २०७८ मा उमेरहदको प्रबन्ध राख्दा पार्टीलाई लोकतान्त्रीकरण गर्न, जीवन्त र गतिशील बनाउन पार्टीमा प्रवेश गर्ने र सम्मानजनक रूपमा बिदाइ हुने प्रणाली स्थापित हुनुपर्छ भनेर वकालत गरेको थियो । त्यसबेला उसले पार्टी नेतृत्व निर्माणमा तीन पुस्ताको योजनाबद्ध र वैधानिक प्रबन्ध आवश्यक ठान्यो । प्रतिवेदनमा भनियो, ‘अनुभवी र पाको उमेरको नेतृत्व पंक्तिले पार्टीभित्र मैत्रीपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्ने परिपाटी बसाउँदै पार्टीको लोकतान्त्रीकरणको प्रक्रियालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु आवश्यक छ ।’
२०७८ को विधान महाधिवेशनले ७० मा हिँड्दै गरेका ओलीलाई नै लाभ हुने गरी ‘७० वर्ष पूरा नहुँदासम्म पार्टी नेतृत्वका लागि उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने’ प्रबन्ध गरिदिएको थियो । ११ फागुन २०७८ मा ७० वर्ष पूरा हुने ओलीले त्यसै कारण २०७८ मंसिरमै महाधिवेशन गराएका थिए । अहिले उनी उमेरहदको प्रबन्ध असफल भइसकेको भन्दै ‘अवकाश लिन ४ वर्ष उमेर घटाउने ?’ पो भन्दै छन् । र, प्रश्न गर्दै छन्– उमेर हेर्ने कि योग्यता ?
जब–जब राजनीतिमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको सन्दर्भ आउँछ– स्वाभाविक हिसाबले उमेरहद तोक्ने कुरा पनि सँगै आउँछ । र, सँगै प्रश्न पनि उठ्छ– ‘के राजनीतिमा सक्रिय हुने उमेर तोक्नु उचित हो ?’ वा, उमेरका आधारमा अवकाश तोक्ने कि योग्यताका आधारमा ? यो प्रश्नमा पनि दुईथरी मत छन् ।
एउटा कोणबाट विश्लेषण गर्नेहरू भन्छन्, उमेरका आधारमा राजनीतिबाट अवकाश लिने प्रबन्ध गर्नु उचित होइन । यसले पार्टीहरूमा नेतृत्व हस्तान्तरणको मुद्दालाई प्राविधिक र प्रशासनिक बनाइदिन्छ । यसो भन्नेहरूको तर्क छ– उमेरभन्दा पनि नेतृत्वको राजनीतिक विचार, योग्यता र गतिशीलतालाई अवकाशको आधार बनाइनुपर्छ ।
अर्को कोणबाट वकालत गर्नेहरू भन्छन्– ‘एक्जिट पोलिसी’ को मुख्य आधार उमेरहद हो । तिनको तर्क छ– निश्चित उमेरपछि भौतिक रूपमा सक्रिय रहने कुराको सीमा हुन्छ । गतिशील र ऊर्जावान् पार्टी बनाउन शिथिल शरीरबाट सम्भव हुँदैन । कर्मचारी, न्यायिक क्षेत्रको नेतृत्व लिनेहरूको उमेरहद तोकिएको हुन्छ भने राजनीतिक नेतृत्वको किन नतोक्ने ? मेडिकल साइन्सले पनि उमेरहदको शारीरिक सक्रियता र शिथिलताबारे बोल्छ ।
उपरोक्त तर्कको प्रतिवाद गर्नेहरू भन्छन्– मुख्य कुरा मानसिक तन्दुरुस्ती हो । निश्चय पनि बढ्दो उमेरसँगै कार्यसम्पादनमा तलमाथि हुन्छ तर स्नायु विज्ञान र मनोविज्ञानविद्हरू भन्छन्– कतिपय पाका मान्छेमा आफूभन्दा निकै कान्छाको दाँजोमा मानसिक तीक्ष्णता बढी हुन्छ । त्यसैले कोही नेतृत्वका लागि धेरै बूढो भयो भन्ने निष्कर्ष निकाल्ने काम कठिन हो ।
एकातिर नेतृत्वमा ७० कटेका वृद्धहरूको बाहुल्य हुँदा राजनीतिमा नवीन विचार, ऊर्जा वा दीर्घकालीन योजना नआउने अवस्था बन्छ । लोकतान्त्रिक पद्धतिलाई गतिशील बनाउन राजनीतिक, मानसिक अनि शारीरिक हिसाबले पनि ऊर्जाशील नेतृत्व चाहिन्छ । अर्को कोणबाट पाको नेतृत्वसँग राजनीतिक अनुभव, ज्ञान र परिपक्वता हुन्छ । जनताबाट निर्वाचित भएर आएको वृद्ध नेतालाई उमेर सीमा लगाएर राजनीतिबाट अवकाश लिने प्रबन्ध गर्नु लोकतन्त्रको मर्म अनुकूल हुँदैन ।
तर, यी तर्क–वितर्कभन्दा हाम्रो सन्दर्भमा राजनीतिक दलहरूको ‘एक्जिट पोलिसी’का आधारको खोजी महत्त्वपूर्ण छ । कारण, यहाँ राजनीतिक नेतृत्वको बहिर्गमनको नीति नै छैन । प्रमुख तीन मुख्य दललाई हेरौं । नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) । यी तीनवटै पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा बेलाबेलामा उठिराख्छ । तर, तीनै पार्टीमा ७०/८० कटेका वृद्ध नेताको ‘अकन्टक साम्राज्य’ चलेको छ । यी दलले जतिसुकै डेमोक्रेसीको वकालत गरे पनि खासमा यी आफैं ‘जेरोन्टोक्रेसी’ को अभ्यासमा लिप्त छन् ।
पुस्तान्तरणको बहस कांग्रेसमा अरू पार्टीको तुलनामा बढी हुने गर्छ । २०४६ सालपछिको खुला राजनीतिक परिवेशमा यो पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा कैयौं पटक उठ्यो । ती मुद्दाले पार्टीमा गुटबन्दी र विभाजनको अवस्था ल्यायो । पछिल्लो कालखण्डमा कांग्रेसमा पुस्तान्तरणको आंशिक अभ्यास पनि भयो । चौधौं महाधिवेशनबाट पुराना पुस्ताका नेतालाई पराजित गर्दै दुई जना नयाँ पुस्ताका महामन्त्री चुनिए । पार्टी सभापति शेरबहादुर देउवा विधानमा बाँधिएका कारण अब तेस्रो पटक नेतृत्वमा पुग्नबाट वञ्चित हुनेछन् । यद्यपि, अझै आगामी महाधिवेशनपछिको नेता को हुने ? सबैले उनैको मुख ताक्दै छन् । अर्थात् कांग्रेसमा संगठनलाई चुस्त र प्रभावकारी बनाउने ‘एक्जिट पोलिसी’ छैन ।
दुई मुख्य कम्युनिस्ट पार्टी एमाले र माओवादीमा ओली र पुष्पकमल दाहालको ‘मोनोपोली’ कायम छ । दाहाल झन्डै साढे तीन दशकदेखि अनवरत नेतृत्वमा छन् । अर्का नेता जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको मुद्दा उठाए पनि पार्टीभित्रको दाहाल दबदबालाई तोड्न सकेका छैनन् । एमालेमा ओलीको एक्लो वर्चस्व कायम छ । पार्टीभित्र वा बाहिर आफ्ना प्रतिद्वन्द्वीलाई किनाराकृत गर्नमा उनी माहिर छन् । यिनै पृष्ठभूमिमा प्रमुख दलका लागि विधिसम्मत ‘एक्जिट पोलिसी’ अनिवार्य छ । त्यसो हुँदा पार्टीहरूमा ‘एक्जिट पोलिसी’ केका आधारमा तय गर्ने त ?
केही आधार यस्ता हुन सक्छन् । पहिलो, राजनीतिक संस्कारमा सुधार । राजनीतिक दलहरूले लोकतान्त्रिक आचरण र संस्कार हुर्काउन सकेको भए सायद ‘एक्जिट पोलिसी’ बारे लम्बेतान चर्चा–परिचर्चाको आवश्यकता नै पर्ने थिएन । निश्चित समय नेतृत्वमा रहेपछि पाका नेताले स्वेच्छाले अवकाश लिने राजनीतिक संस्कार संस्थागत हुने हो भने दलहरूमा पुस्तान्तरणको मुद्दा प्रधान हुने थिएन । तर, प्रमुख पार्टीका शीर्ष नेतृत्वमा दल भनेको आफ्नै पेवा वा प्राइभेट कम्पनी हो भन्ने मनोवृत्ति छ । तिनमा पछिल्लो पुस्तालाई योग्यताका आधारमा अवसर दिने संस्कार नै छैन । त्यसकारण, ‘एक्जिट पोलिसी’ को पहिलो र स्वाभाविक आधार राजनीतिक संस्कार हो । जसमा चामत्कारिक सुधार आवश्यक छ । त्यसका लागि शीर्ष नेतृत्वमा ‘म र मेरो’ भन्ने सोच हराइ ‘हामी र हाम्रो’ भन्ने भावना विकास हुनुपर्छ ।
दोस्रो, नेतृत्वको स्वाभाविक बहिर्गमन हुने चरित्र विकास नहुनुमा शीर्ष नेतृत्व मात्रै जिम्मेवार छैन । दोस्रो, तेस्रो पुस्ताका नेताहरूमा हुर्कंदो मौकापरस्त चरित्र पनि यसमा जिम्मेवार छ । एकाध नेताबाहेक प्रमुख दलमा नेतृत्वको स्वेच्छाचारिताविरुद्ध ‘चु’ सम्म नबोली अवसरको ढोका कुरिबस्नेको ताँती नै छ । जसले गर्दा नेतृत्व पुस्तान्तरण वा हस्तान्तरणको मुद्दा फितलो बन्ने गर्छ । खासमा नेतृत्व पालो पर्खेर आउँदैन । यो त राजनीतिक, वैचारिक योग्यताका आधारमा मूल नेतृत्वलाई च्यालेन्ज गरेर लिने कुरा हो ।
न शीर्ष नेता स्वाभाविक रूपमा नेतृत्व हस्तान्तरण गर्न तयार हुन्छ, न त त्यसपछिको पुस्ता आफू नेतृत्वमा जान हाँक नै दिन सक्छ । यो अवस्थामा तेस्रो विकल्प आवश्यक पर्छ । अर्थात् दलहरूले विधिवत् रूपमा उमेरहद र कार्यकालको सीमा तोक्नु आवश्यक छ । र, दुई कार्यकालभन्दा बढी कार्यकारी नेतृत्वमा एकै व्यक्तिलाई नदोहोर्याउने नीति यहाँनेर आवश्यक र सार्थक हुन जान्छ । अन्यथा नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरणको गति सुस्त हुने मात्रै होइन, मुलुक नीतिगत दिशाहीनतामा फस्नेछ । पुरानो अनुहार र पुरानै कार्यशैलीबाट एकातिर जनता दिक्दार भई राजनीतिप्रति मोहभंगको अवस्थामा पुग्छन् भने अर्कोतिर नयाँ पुस्ता नेतृत्वमा आउनबाट रोकिँदा प्रविधि, अर्थतन्त्र अनि सामाजिक सुधारका नयाँ दृष्टिकोण जन्मिन पनि समय लाग्नेछ ।
त्यसो त युवा हुँदैमा त्यो योग्य अथवा वृद्ध नेता अयोग्य भन्ने पनि होइन । पाका राजनीतिज्ञहरूको संघर्ष, अनुभव र परिपक्वता अनि नयाँ पुस्ताको नवीन सोच र ऊर्जाबीच सन्तुलन आवश्यक छ । अन्तर्राष्ट्रिय कूटनीति अनि घरेलु सन्तुलनमा शीर्षको अनुभव उपयोगी हुन सक्छ । तर, शीर्ष नेतृत्वले मुखमा लोकतन्त्रको दुहाइ दिने अनि व्यवहारमा आ–आफ्ना पार्टी वा आफू सत्तामा जाँदा जसरी ‘जेरोन्टोक्रेसी’ को अभ्यास गरेका छन्, त्यसबाट राजनीतिले त्राण पाउनुपर्छ । राजनीतिक नेतृत्वको उमेरहद र कार्यकारी अधिकारमा बस्ने विधिसम्मत अवधि तय हुनुपर्छ । त्यसो हुँदा मात्रै नेतृत्व गतिशील भइराख्छ । आखिर, प्रकृतिको नियम नै हो, नयाँ पालुवा पलाउन पुरानो पात झर्नैपर्छ । तर, नयाँ पात पनि चिल्लाचाहिँ हुनुफर्छ ।
