अब पनि इजरायललाई कहाँसम्म जान दिने, केसम्म गर्न दिने भनेर देशहरू नबोल्ने हो भने उनीहरूमाथि पनि प्रश्न उठ्नेछ । किनकि अहिलेको विनाश इजरायलको योजनाले मात्रै सिर्जना भएको होइन, शक्तिराष्ट्रहरूको मौनता पनि उत्तिकै जिम्मेवार छ । त्यसैले यतिबेला इजरायल मात्रै होइन, दुनियाँकै परीक्षा भइरहेको समय हो ।
What you should know
हमासद्वारा दुई वर्षअघि गरिएको आक्रमणको प्रतिवादमा इजरायलद्वारा गरिएको बल प्रयोगलाई मूल्याङ्कन गर्ने विषयमा विश्व आफैं विभाजित थियो । इजरायलका निर्दोष निहत्था नागरिक र विदेशी पाहुना पनि आतंकवादी हमलामा मारिएपछि दोषीलाई दण्डित गर्नुपर्छ भन्नेमा कुनै पनि सभ्य समाजको फरकमत हुन सक्दैनथ्यो । तर त्यसको बदलामा इजरायलले लिएको रणनीतिलाई समर्थन गर्ने र नगर्ने समूहमा विश्व विभाजित भएको थियो ।
किनकि यस अवधिमा इजरायलले विद्यालय, स्वास्थ्य संस्था र शरणार्थी शिविरमा मिसाइल प्रहार गरिरह्यो । हमासले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेकाले कतिपय देशले इजरायलको कदमलाई आत्मरक्षाको अधिकार भने, धेरैजसो मौन बसे भने साह्रै मसिनो समुदायले मात्र विरोध गर्दै आएको थियो । तर, योबीचमा बालबालिका र महिला नभनी हतियार प्रहार भइरहेको छ ।
हुँदाहुँदा युद्धले हात, खुट्टा, आँखा, कान गुमाएका, अभिभावकबाट बिछोडिएका, बासस्थानबाट विस्थापित भएका असहाय र अबोध बालबालिकालाई समेत निसाना बनाइएका छन् । ती बालबालिका, जसको अनुहारभरि निराशा छ, शरीरभर रगतको टाटा छ, थकित छन्, तैपनि हातले कचौरा समातेर खाना पाइने आसमा घस्रिरहेका छन्, उनीहरूमाथि पनि गोली प्रहार भइरहेको छ ।
यो युद्धले इजरायलको मानवीय संवेदना र जवाफदेहिताका सबै पर्खाल भत्काएको छ । अब इजरायल गाजालाई पूर्ण नियन्त्रणमा लिने घोषित तयारीमा लागेको छ । इजरायलको यस्तो महत्त्वाकांक्षापछि विश्व समुदाय पनि जागृत भएको छ । यो आफैंमा सकारात्मक छ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि भीषण आक्रमण गरेको थियो । क्षेप्यास्त्रका अतिरिक्त हमासका लडाकुहरू अनपेक्षित तरिकाले जमिन तथा समुद्री मार्गमार्फत इजरायल प्रवेश गर्न सफल भएका थिए । गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू छिचोल्दै इजरायल पुगेर हमास लडाकुले गरेका आक्रमणका कारण कम्तीमा १२ सयले ज्यान गुमाएका थिए । साथै, २ सय ५१ जनालाई बन्धन बनाएर लगिएको थियो ।
इतिहासका घाउचोट र व्याख्या विश्लेषण आफ्ना ठाउँमा हुन सक्छन्, तर जारी युद्धको सुरुवातकर्ता हमास नै हो भन्नेमा शंका छैन । संसारका कुनै पनि भागमा कुनै पनि समूहले गर्ने यस्ता बर्बर आक्रमणको निन्दा हुनुपर्छ र दोषीलाई हदैसम्मको दण्ड दिनुपर्छ भन्नेमा शंकै छैन । तर व्यक्ति वा समूह आतंकवादी हुन सक्छ, तर पूरै भूगोल र समुदायलाई नै आतंकवादी ठानेर गरिने कारबाही स्वीकार्य हुन सक्दैन ।
इजरायलले समग्र प्यालेस्टाइन र विशेषतः गाजावासीलाई नै हमास ठानेर अनियन्त्रित हमलालाई तीव्र बनाएको हो । परिणामतः इजरायली हमलामा करिब ६० हजार नागरिक मारिएको तथ्यांक पाइन्छ । जसमा १७ हजार जति बालबालिका छन् । मारिने सबै हमास हुन् भनेर न इजरायलले दाबी गर्न सक्छ, न त्यसलाई विश्वले पत्याउँछ ।
आफ्नो नेतृत्वमा भइरहेको नरसंहार र भौतिक क्षतिको जवाफ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै दिन, कतै दिनैपर्ला । किनकि, शक्तिमा हुँदा गरेका मानवताविरोधी कामका निम्ति विश्वका धेरै शासक कालान्तरमा जवाफहेदी हुनुपरेको छ । यतिबेला उनै नेतान्याहुले गाजा क्षेत्र नियन्त्रण लिने तयारीलाई तीव्र बनाएका छन् । उनको योजनालाई उनको मन्त्रिपरिषद्ले अनुमति दिएको छ । नेतान्याहुको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्ले बहुमतबाट यो निर्णय गरेको हो । इजरायलको सुरक्षाका लागि गाजामाथि पूर्ण नियन्त्रण चाहेको उनको भनाइ छ ।
इजरायलले आफ्नो भूमिको सुरक्षा चाहनु स्वाभाविक हो तर त्यसका लागि उसले दुई वर्षयता हिँडिरहेको बाटो गलत थियो, अब हिँड्न खोजेको बाटो पनि गलत नै हुनेछ । क्षेत्रीय तनाव र अशान्ति कम गर्ने उपाय वार्ता र संवाद नै हो, त्यो बाटो नहिँडुन्जेल शान्ति र सुरक्षाको इजरायली आकांक्षा पूरा हुन कठिन छ । किनकि युद्ध वा नियन्त्रणले प्रतिशोधको शृंखला मात्रै तयार गर्छ । तत्काल कमजोर भएको शक्ति कुन बेला बलियो बन्छ र तनाव दिन सक्छ भनेर पूर्वआकलन गर्न सकिँदैन । यसका लागि अन्यत्र जानै पर्दैन, इजरायल–प्यालेस्टाइनका विगतलाई फर्केर हेरे पुग्छ ।
प्यालेस्टाइनलाई नियन्त्रणमा लिने इजरायली तयारी सुरक्षासँग भन्दा पनि महत्त्वाकांक्षा र उन्मादसँग जोडिएको प्रस्टै छ । किनकि, इजरायलको तनाव गाजामा मात्रै सीमित छैन । प्यालेस्टाइनको लडाकु समूह हमास जस्तै लेबनानको हेजबुल्लाह र यमनका हुथी जस्ता समूहसँग लडिसकेको वा लडिरहेको छ । विद्रोही वा लडाकु समूह मात्रै होइन, विभिन्न देशसँग पनि उसको राम्रो सम्बन्ध छैन । हालै उसले सुरक्षाकै नाम लिएर इरानमाथि आक्रमण गरेको थियो ।
यस्ता प्रसंगले प्यालेस्टाइनमा नियन्त्रण गर्ने बित्तिकै उसको सुरक्षा चुनौती समाप्त हुनेछन् भन्ने होइन । बरु अन्य राष्ट्र र समूहलाई चिढ्याउने, प्रतिशोधी बनाउने काम गर्छ । मुख्यतः यतिबेलाको भूमि नियन्त्रण गर्ने घोषणा अन्य देशको सार्वभौमिकतामाथिको प्रहार पनि हो । हुन त ६० हजार नागरिकको सफाया भइसकेको ठाउँमा देशको सार्वभौमिकता मुख्य विषय नहुन सक्छ, तर शक्तिको आडमा एकपछि अर्को ज्यादतीतर्फको यात्रा रोक्न विश्वका शक्तिशाली राष्ट्रहरूको पहलकदमी आवश्यक छ ।
इजरायलको तर्फबाट प्यालेस्टाइनी भूमिका जे भइरहेको छ, अति भइरहेको छ । इजरायलले खसाएको हतियार र गरेका जनधनको क्षतिप्रति विश्वले यसअघि आँखा चिम्लिदिएकै कारण उसको महत्त्वाकांक्षा बढेको हो । अझ अमेरिकालगायतका देशले बिनासर्त समर्थन र सहयोग पनि गरे । इजरायलको व्यवहारलाई बेलैमा नियन्त्रण गर्नका लागि विश्वले आवाज उठाएको भए अहिलेको निर्णयतिर ऊ जान हच्किने थियो ।
अब पनि इजरायललाई कहाँसम्म जान दिने, केसम्म गर्न दिने भनेर देशहरू नबोल्ने हो भने उनीहरूमाथि पनि प्रश्न उठ्नेछ । किनकि अहिलेको विनाश इजरायलको योजनाले मात्रै सिर्जना भएको होइन, शक्तिराष्ट्रहरूको मौनता पनि उत्तिकै जिम्मेवार छ । त्यसैले यतिबेला इजरायल मात्रै होइन, दुनियाँकै परीक्षा भइरहेको समय हो । अर्को महिना संयुक्त राष्ट्रसंघको ८०औं महासभा हुँदै छ । त्यहाँ पनि गाजाको मानवीय संकट र प्यालेस्टाइनको सार्वभौमिकताको पक्षमा आवाज उठ्न जरुरी छ ।
