इजरायल मात्रै होइन, विश्व नै परीक्षामा

अब पनि इजरायललाई कहाँसम्म जान दिने, केसम्म गर्न दिने भनेर देशहरू नबोल्ने हो भने उनीहरूमाथि पनि प्रश्न उठ्नेछ । किनकि अहिलेको विनाश इजरायलको योजनाले मात्रै सिर्जना भएको होइन, शक्तिराष्ट्रहरूको मौनता पनि उत्तिकै जिम्मेवार छ । त्यसैले यतिबेला इजरायल मात्रै होइन, दुनियाँकै परीक्षा भइरहेको समय हो ।

श्रावण २५, २०८२

सम्पादकीय

Not only Israel, the world is under test

What you should know

हमासद्वारा दुई वर्षअघि गरिएको आक्रमणको प्रतिवादमा इजरायलद्वारा गरिएको बल प्रयोगलाई मूल्याङ्कन गर्ने विषयमा विश्व आफैं विभाजित थियो । इजरायलका निर्दोष निहत्था नागरिक र विदेशी पाहुना पनि आतंकवादी हमलामा मारिएपछि दोषीलाई दण्डित गर्नुपर्छ भन्नेमा कुनै पनि सभ्य समाजको फरकमत हुन सक्दैनथ्यो । तर त्यसको बदलामा इजरायलले लिएको रणनीतिलाई समर्थन गर्ने र नगर्ने समूहमा विश्व विभाजित भएको थियो ।

किनकि यस अवधिमा इजरायलले विद्यालय, स्वास्थ्य संस्था र शरणार्थी शिविरमा मिसाइल प्रहार गरिरह्यो । हमासले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोग गरेकाले कतिपय देशले इजरायलको कदमलाई आत्मरक्षाको अधिकार भने, धेरैजसो मौन बसे भने साह्रै मसिनो समुदायले मात्र विरोध गर्दै आएको थियो । तर, योबीचमा बालबालिका र महिला नभनी हतियार प्रहार भइरहेको छ ।

हुँदाहुँदा युद्धले हात, खुट्टा, आँखा, कान गुमाएका, अभिभावकबाट बिछोडिएका, बासस्थानबाट विस्थापित भएका असहाय र अबोध बालबालिकालाई समेत निसाना बनाइएका छन् । ती बालबालिका, जसको अनुहारभरि निराशा छ, शरीरभर रगतको टाटा छ, थकित छन्, तैपनि हातले कचौरा समातेर खाना पाइने आसमा घस्रिरहेका छन्, उनीहरूमाथि पनि गोली प्रहार भइरहेको छ ।

यो युद्धले इजरायलको मानवीय संवेदना र जवाफदेहिताका सबै पर्खाल भत्काएको छ । अब इजरायल गाजालाई पूर्ण नियन्त्रणमा लिने घोषित तयारीमा लागेको छ । इजरायलको यस्तो महत्त्वाकांक्षापछि विश्व समुदाय पनि जागृत भएको छ । यो आफैंमा सकारात्मक छ । 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि भीषण आक्रमण गरेको थियो । क्षेप्यास्त्रका अतिरिक्त हमासका लडाकुहरू अनपेक्षित तरिकाले जमिन तथा समुद्री मार्गमार्फत इजरायल प्रवेश गर्न सफल भएका थिए । गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू छिचोल्दै इजरायल पुगेर हमास लडाकुले गरेका आक्रमणका कारण कम्तीमा १२ सयले ज्यान गुमाएका थिए । साथै, २ सय ५१ जनालाई बन्धन बनाएर लगिएको थियो ।

इतिहासका घाउचोट र व्याख्या विश्लेषण आफ्ना ठाउँमा हुन सक्छन्, तर जारी युद्धको सुरुवातकर्ता हमास नै हो भन्नेमा शंका छैन । संसारका कुनै पनि भागमा कुनै पनि समूहले गर्ने यस्ता बर्बर आक्रमणको निन्दा हुनुपर्छ र दोषीलाई हदैसम्मको दण्ड दिनुपर्छ भन्नेमा शंकै छैन । तर व्यक्ति वा समूह आतंकवादी हुन सक्छ, तर पूरै भूगोल र समुदायलाई नै आतंकवादी ठानेर गरिने कारबाही स्वीकार्य हुन सक्दैन ।

इजरायलले समग्र प्यालेस्टाइन र विशेषतः गाजावासीलाई नै हमास ठानेर अनियन्त्रित हमलालाई तीव्र बनाएको हो । परिणामतः इजरायली हमलामा करिब ६० हजार नागरिक मारिएको तथ्यांक पाइन्छ । जसमा १७ हजार जति बालबालिका छन् । मारिने सबै हमास हुन् भनेर न इजरायलले दाबी गर्न सक्छ, न त्यसलाई विश्वले पत्याउँछ ।

आफ्नो नेतृत्वमा भइरहेको नरसंहार र भौतिक क्षतिको जवाफ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै दिन, कतै दिनैपर्ला । किनकि, शक्तिमा हुँदा गरेका मानवताविरोधी कामका निम्ति विश्वका धेरै शासक कालान्तरमा जवाफहेदी हुनुपरेको छ । यतिबेला उनै नेतान्याहुले गाजा क्षेत्र नियन्त्रण लिने तयारीलाई तीव्र बनाएका छन् । उनको योजनालाई उनको मन्त्रिपरिषद्ले अनुमति दिएको छ । नेतान्याहुको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्ले बहुमतबाट यो निर्णय गरेको हो । इजरायलको सुरक्षाका लागि गाजामाथि पूर्ण नियन्त्रण चाहेको उनको भनाइ छ ।

इजरायलले आफ्नो भूमिको सुरक्षा चाहनु स्वाभाविक हो तर त्यसका लागि उसले दुई वर्षयता हिँडिरहेको बाटो गलत थियो, अब हिँड्न खोजेको बाटो पनि गलत नै हुनेछ । क्षेत्रीय तनाव र अशान्ति कम गर्ने उपाय वार्ता र संवाद नै हो, त्यो बाटो नहिँडुन्जेल शान्ति र सुरक्षाको इजरायली आकांक्षा पूरा हुन कठिन छ । किनकि युद्ध वा नियन्त्रणले प्रतिशोधको शृंखला मात्रै तयार गर्छ । तत्काल कमजोर भएको शक्ति कुन बेला बलियो बन्छ र तनाव दिन सक्छ भनेर पूर्वआकलन गर्न सकिँदैन । यसका लागि अन्यत्र जानै पर्दैन, इजरायल–प्यालेस्टाइनका विगतलाई फर्केर हेरे पुग्छ ।

प्यालेस्टाइनलाई नियन्त्रणमा लिने इजरायली तयारी सुरक्षासँग भन्दा पनि महत्त्वाकांक्षा र उन्मादसँग जोडिएको प्रस्टै छ । किनकि, इजरायलको तनाव गाजामा मात्रै सीमित छैन । प्यालेस्टाइनको लडाकु समूह हमास जस्तै लेबनानको हेजबुल्लाह र यमनका हुथी जस्ता समूहसँग लडिसकेको वा लडिरहेको छ । विद्रोही वा लडाकु समूह मात्रै होइन, विभिन्न देशसँग पनि उसको राम्रो सम्बन्ध छैन । हालै उसले सुरक्षाकै नाम लिएर इरानमाथि आक्रमण गरेको थियो ।

यस्ता प्रसंगले प्यालेस्टाइनमा नियन्त्रण गर्ने बित्तिकै उसको सुरक्षा चुनौती समाप्त हुनेछन् भन्ने होइन । बरु अन्य राष्ट्र र समूहलाई चिढ्याउने, प्रतिशोधी बनाउने काम गर्छ । मुख्यतः यतिबेलाको भूमि नियन्त्रण गर्ने घोषणा अन्य देशको सार्वभौमिकतामाथिको प्रहार पनि हो । हुन त ६० हजार नागरिकको सफाया भइसकेको ठाउँमा देशको सार्वभौमिकता मुख्य विषय नहुन सक्छ, तर शक्तिको आडमा एकपछि अर्को ज्यादतीतर्फको यात्रा रोक्न विश्वका शक्तिशाली राष्ट्रहरूको पहलकदमी आवश्यक छ ।

इजरायलको तर्फबाट प्यालेस्टाइनी भूमिका जे भइरहेको छ, अति भइरहेको छ । इजरायलले खसाएको हतियार र गरेका जनधनको क्षतिप्रति विश्वले यसअघि आँखा चिम्लिदिएकै कारण उसको महत्त्वाकांक्षा बढेको हो । अझ अमेरिकालगायतका देशले बिनासर्त समर्थन र सहयोग पनि गरे । इजरायलको व्यवहारलाई बेलैमा नियन्त्रण गर्नका लागि विश्वले आवाज उठाएको भए अहिलेको निर्णयतिर ऊ जान हच्किने थियो ।

अब पनि इजरायललाई कहाँसम्म जान दिने, केसम्म गर्न दिने भनेर देशहरू नबोल्ने हो भने उनीहरूमाथि पनि प्रश्न उठ्नेछ । किनकि अहिलेको विनाश इजरायलको योजनाले मात्रै सिर्जना भएको होइन, शक्तिराष्ट्रहरूको मौनता पनि उत्तिकै जिम्मेवार छ । त्यसैले यतिबेला इजरायल मात्रै होइन, दुनियाँकै परीक्षा भइरहेको समय हो । अर्को महिना संयुक्त राष्ट्रसंघको ८०औं महासभा हुँदै छ । त्यहाँ पनि गाजाको मानवीय संकट र प्यालेस्टाइनको सार्वभौमिकताको पक्षमा आवाज उठ्न जरुरी छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully