संवैधानिक परिषद् विधेयकमा सुधारको अवसर

राष्ट्रपतिले पाँचबुँदे सन्देशसहित विधेयक फिर्ता गरेपछि संसद्ले संवैधानिक मर्म र शक्ति सन्तुलनलाई ध्यानमा राख्नुपर्ने आवश्यकता देखिएको छ।

श्रावण २३, २०८२

सम्पादकीय

An opportunity to amend the Constitutional Council Bill

What you should know

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरिदिएपछि त्यसमा रहेका कमजोर कडी सुधार्न सदनलाई अवसर प्राप्त भएको छ । संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय लिने सम्बन्धमा राखिएका प्रावधानप्रति सार्वजनिक रूपमै बढेको आशंकालाई निवारण गर्नु सदनको दायित्व पनि हो ।

हालको विधेयकका प्रावधान संवैधानिक मर्मविपरीत हुने संविधानविद्देखि राष्ट्रपतिसम्मको आशंकालाई स्वीकार र सम्बोधन गर्न सदन तयार हुनुपर्छ । यसले एकातिर राष्ट्रपतिको संवैधानिक सरोकारलाई सम्बोधन गर्छ र ऐनलाई संविधानअनुसार बनाउँछ । संवैधानिक परिषद्बाट हुने नियुक्ति सिफारिस प्रक्रियामा शक्ति सन्तुलन कायम हुने स्थितिमा मात्रै हामीले कल्पना गरेको लोकतन्त्र सार्थक हुन्छ । 

संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिस गर्ने परिषद्को बैठकमा सदस्यहरूको गणपूरक संख्याबारे विवाद बिथोलिँदै आएको छ । परिषद्मा ६ सदस्य हुने भए पनि अध्यक्ष र एक जना सदस्य मिलेर निर्णय लिन सक्ने गरी विधेयक नै संसद्ले पारित गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । परिषद्मा कुनै कारणले ‘अध्यक्ष र दुई जना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एक जना सदस्यसहित कम्तीमा दुई जनाको मतबाट निर्णय गरिने’ व्यवस्था विधेयकले गरेको छ । त्यस्तै परिषद्को पहिलो बैठकमा सहमति नजुटे अध्यक्ष (प्रधानमन्त्री) ले ४८ घण्टाभन्दा कम समयमै दोस्रो बैठक बोलाउन सक्ने र त्यस्तो बैठकको कार्यसूची तथा सूचना सदस्यहरूलाई दिन अनिवार्य नहुने व्यवस्थासमेत गरिएको छ । यसरी पहिलो बैठकमा सहमति नभएमा दोस्रो बैठकमा आफूले चाहेका सदस्यलाई मात्र जम्मा गरेर निर्णय गराउने अधिकार प्रधानमन्त्रीलाई दिने व्यवस्थाले विधि होइन, स्वेच्छाचारिता र अराजकतालाई प्रोत्साहित गर्नेछ ।

संविधानको धारा २८४ (१) मा संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष र प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यही प्रावधानबाटै बुझिन्छ– राज्यका उच्च पदस्थहरूको प्रतिनिधित्व रहने यो परिषद् बहुपक्षीय संयन्त्र हो । शक्ति पृथकीकरण, शक्ति सन्तुलन र शक्ति नियन्त्रणको सिद्धान्तले पनि यो संरचना बहुपक्षीय हुनुपर्ने परिकल्पना संविधानले गरेको हो । सबैको सहमतिले नियुक्ति सिफारिस गर्दा योग्य व्यक्ति छान्ने सम्भावना बढी रहन्छ । तर संवैधानिक परिषद्का ६ जनामध्ये ३ जनाको बैठक बसेर २ जनाको सहमतिमा निर्णय लिन सक्ने स्थितिले संवैधानिक परिषद्को संरचना र ऊप्रतिको अपेक्षालाई न्याय गर्न सक्दैन । 

थोरै व्यक्ति मात्रै बसेर गरेका निर्णय विवादित हुन सक्ने दृष्टान्त यसअघि नै प्रकट भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर २०७७ र २१ वैशाख २०७८ मा जारी गरेको अध्यादेशमा अध्यक्ष (प्रधानमन्त्री) सहित उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने प्रावधान राखिएको थियो । त्यसैको उपयोग गर्दै ३० मंसिर २०७७ र २६ वैशाख २०७८ मा तीन जना (प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना) मात्रै बसेर गरिएको निर्णयका आधारमा क्रमशः ३२ जना र २० जना पदाधिकारीले विभिन्न आयोग/निकायमा नियुक्ति पाएका थिए । तर यस्तो निर्णयले नियुक्ति प्रक्रिया मात्रै होइन, नियुक्ति पाउने व्यक्तिमाथि पनि प्रश्न उठेको थियो । हालै सर्वोच्च अदालतको संवैधानिक इजलासको बहुमतबाट त्यतिबेलाको नियुक्तिको संवैधानिक प्रश्नलाई टुंग्याएको छ तर यावत् प्रश्न अझै अनुत्तरित छन् । यसर्थ, संवैधानिक परिषद्बाट हुने निर्णयको दीर्घकालीन असर हुन्छ । 

प्रमाणीकरणका लागि ३१ असारमा राष्ट्रपति कार्यालय पुगेको संवैधानिक परिषद्सम्बन्धी विधेयक पाँचबुँदे सन्देशसहित पुनः प्रतिनिधिसभामै फर्किएको छ । अर्थात् बल अब प्रतिनिधिसभाकै कोर्टमा आइपुगेको छ । अब सत्ता पक्ष तथा प्रतिपक्ष दलहरूले आफ्नो अडान र शक्ति देखाउने, राजनीतिक आग्रह र पूर्वाग्रह प्रस्तुत गर्नेभन्दा पनि आफूहरूबाट हुन लागेको कमजोरी सुधार गर्ने अवसरका रूपमा लिनुपर्छ । अहिले सत्ता पक्षमा रहेका वा सत्ताको नेतृत्वकर्ता दलले सत्ता सधैं आफ्नो हातमा हुँदैन, आफू वा आफ्ना नेता सधैं प्रधानमन्त्रीको कुर्सीमा नहुन सक्छन् भन्ने बुझ्नुपर्छ । ऐनमा संविधानको मर्मलाई जोगाउन र कार्यान्वयन प्रक्रियामा विधिलाई बलियो बनाउन सक्दा मात्रै आफू प्रतिपक्षमा हुँदा पनि सन्तुलित र परिपक्व निर्णय हुन सक्छन् भन्ने यथार्थ आत्मसात् गर्नुपर्छ । त्यति बुझ्दा संविधानको व्यवस्था र राष्ट्रपतिको सन्देशलाई सम्बोधन गर्न कठिन छैन ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully