कानुन क्षेत्रमा महिलाको बढ्दो उपस्थितिले बढाएको उत्साह

पछिल्ला दुई दशकमा महिला अधिवक्ताको सहभागितामा उल्लेखनीय वृद्धि भएको छ । २०५० को दशकको प्रारम्भमा अधिवक्ता प्रमाणपत्रधारीमध्ये महिलाको अनुपात ५ प्रतिशतभन्दा कम थियो भने अहिले हाल यो संख्या दोब्बरभन्दा माथि पुगेको छ ।

श्रावण २१, २०८२

सम्पादकीय

Enthusiasm fueled by the growing presence of women in the legal field

What you should know

नेपाली समाजमा महिलाका निम्ति व्यक्तित्व विकास तथा पेसागत उत्थानमा अनेकौं दृश्य–अदृश्य अवरोध छन् । अझै पनि पेसा छनोट, निर्णय प्रक्रिया र आर्थिक भूमिकामा महिलालाई पूर्ण स्वतन्त्रता छैन । सामाजिक र आर्थिक कारणले शिक्षामा पहुँच, पदोन्नति, पेसागत निरन्तरता जस्ता विषय महिलाकै लागि चुनौतीपूर्ण छन् ।

प्रतिकूल पृष्ठभूमिमा पनि केही वर्षयता कानुन विषय पढ्ने तथा अधिवक्ता प्रमाणपत्र लिने महिलाको संख्या बढ्नु प्रेरक छ । महिला अधिवक्ताको संख्या बढ्दै जाँदा महिलासम्बन्धी मुद्दामा सहानुभूति राख्ने समूह पनि बढ्दै जानेछ । यसले पीडित महिलाको न्याय प्राप्तिको सम्भावना पनि बढ्छ । शिक्षित र सफल महिलाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा व्यक्ति, परिवार, समाज र राष्ट्र पनि लाभान्वित हुनेछ ।

नेपाल ल क्याम्पस, नेसनल ल क्याम्पस, पोखराको पीएन क्याम्पसलगायतमा कानुन अध्ययन गर्ने विद्यार्थीमध्ये झन्डै आधा महिला छन् । कतिपय क्याम्पसमा त महिलाको संख्या पुरुषभन्दा पनि बढी छ । त्यस्तै, २०७२ देखि २०८२ सालसम्मको तथ्यांकअनुसार ३ हजार १ सय २१ महिलाले अधिवक्ता प्रमाणपत्र लिएका छन् । यसै अवधिमा अधिवक्ताको प्रमाणपत्र लिने पुरुषको संख्या ४ हजार १ सय ५४ छ ।

विभिन्न वर्षमा लिइएका अधिवक्ताको परीक्षाको नतिजा केलाउँदा पुरुषको तुलनामा महिलाको उत्तीर्ण प्रतिशत बढी देखिन्छ । नेपाल कानुन व्यवसायी परिषद्द्वारा अधिवक्ताका लागि २०५१ मा लिइएको पहिलो परीक्षामा २८ महिला सहभागीमध्ये १५ जना अर्थात् ५३.५७ प्रतिशत उत्तीर्ण भएका थिए ।

त्यस्तै, ३ सय ३९ पुरुष सहभागीमध्ये १ सय ६४ जना अर्थात् ४८.३८ प्रतिशत उत्तीर्ण भएका थिए । मंसिर २०८१ मंसिर २१ र २२ मा लिइएको ३२ औं परीक्षामा सहभागी १ हजार २ सय १० महिलामध्ये ४ सय ७९ जना ३९.५८ प्रतिशत उत्तीर्ण भएका थिए । त्यस्तै, १ हजार ६ सय १९ पुरुषमध्ये ५ सय ४५ अर्थात् ३३.६६ प्रतिशत उत्तीर्ण भएका थिए । उक्त परीक्षामा १० उत्कृष्टमध्ये ७ महिला नै थिए ।

कानुन विषय पढ्ने र अधिवक्ताको परीक्षामा उत्तीर्ण हुने महिलाको संख्याले रोजगारी प्राप्तिको सम्भावना पनि बढेको छ । न्यायसेवा, मानवअधिकार, शिक्षक, गैसस/अगैसस, बैंक तथा प्रशासनिकलगायत सेवामा कानुन पढेका महिलाको सहभागिता बढ्दै गएको छ । यो रोजगारीको मात्रै सवाल होइन, राज्य निकायमा नेतृत्व विकास, सेवा प्रवाह, निर्णय प्रक्रियामा सहभागिताको पनि विषय हो । समाजको बृहत् पक्षसँग संवादको अवसर पनि हो ।

यसले महिलाको शैक्षिक, आर्थिक, पेसागतसँगै समाजको समानुपातिक विकासमा पनि आधार निर्माण गर्छ । त्यस्ता महिलाको संख्या बढ्दै जाँदा समाजलाई नै लैंगिक समानताप्रति उदार बनाउँदै लैजान्छ । लैंगिक समानतामै आधारित रहेर शिक्षा, स्वास्थ्यमा समान लगानी हुने, परिवार र समाजबाट समान अवसर र विश्वासमा वृद्धि हुने, सामाजिक कार्यहरूमा महिला अभिमतको आवश्यकता बोध हुने वा सम्मान गरिने स्थिति बन्दै जान्छ । यसरी शैक्षिक र पेसागत रूपमा सफल महिलाले समाज परिवर्तनका लागि बढी योगदान दिन सक्छन् ।

पछिल्ला दुई दशकमा महिला अधिवक्ताको सहभागितामा उल्लेखनीय वृद्धि भएको छ । २०५० को दशकको प्रारम्भमा अधिवक्ता प्रमाणपत्रधारीमध्ये महिलाको अनुपात ५ प्रतिशतभन्दा कम थियो भने अहिले हाल यो संख्या दोब्बरभन्दा माथि पुगेको छ । अन्तर्राष्ट्रिय बार एसोसिएसनका अनुसार नेपालमा करिब १८ हजार अधिवक्तामध्ये करिब दुई हजार दुई सय अर्थात् जम्मा १२ प्रतिशत मात्र महिला छन् । अझ वरिष्ठ अधिवक्ताको उपाधिमा महिलाको प्रतिनिधित्व प्रतिशत अझै न्यून छ ।

हालसम्म यस्तो उपाधि पाउनेमा केवल ३० महिला छन् भने पुरुषको संख्या ६ सय ६० भन्दा बढी छ । यसले देखाउँछ कि पेसामा महिलाको संख्या बढे पनि, उच्च तहको कानुनी पद र नेतृत्वमा पुग्न अझै जटिल छ । पेसागत पूर्वाग्रह, परिवार र समाजको परम्परागत अपेक्षा र उपेक्षा, मुद्दाका पक्ष (क्लाइन्ट) बाट विश्वासको कमीजस्ता पक्षले महिलाको प्रगतिमा अवरोध सिर्जना गरेका छन् ।

बार एसोसिएसनको नेतृत्व वा उच्च अदालत/सर्वोच्च अदालतमा बहस गर्ने महिलाको अनुपात अझै सीमित छ । यसले देखाउँछ कि कागजमा सफलता र व्यवहारमा समानताको बीचमा अझै ठूलो खाडल छ, जसलाई विभेद पूर्णतः मेटाउन दीर्घकालीन रणनीति आवश्यक छ ।

सहभागिता र सफलताको तथ्यांक उत्साहबर्द्धक भए पनि वकालत क्षेत्रमा व्यवहार र सोच पर्याप्त महिलामैत्री हुन सकेको छैन । यही क्षेत्रमा वर्षौंवर्ष बिताइसकेकाको अनुभवमा पनि कानुन अध्ययन र अधिवक्ताको परीक्षामा सहभागिता र सफलताको दाँजोमा वकालत पेसामा आबद्ध महिलाको संख्या न्यून छ । जति आउँछन्, ती पनि निरन्तर टिक्न मुस्किल छ । किनकि, महिलाको शैक्षिक, पेसागत सफलता र क्षमता आर्जनलाई लिएर परिवार र समाज अझै पनि पूर्ण रूपले उदार हुन सकेको छैन ।

अवरोध र असहयोगकै कारण कैयौं महिलाले घरपरिवार र आफ्नो पेसाबीच सन्तुलन कायम राख्न सकिरहेका छैनन् । त्यस्तै, अहिले पनि वकालतमा अब्बल महिलालाई समेत आफ्नो मुद्दामा विश्वास गर्न सकेको पाइँदैन । कमजोर क्षमता नै भए पनि पुरुषलाई नै रोज्ने अनौठो मनोवृत्ति ‘क्लाइन्ट’ मा हुने गरेको महिला अधिवक्ताको अनुभव छ । ठूला भनिने मुद्दामा महिलालाई विश्वास गरेको वा नेतृत्व दिइएको पाइँदैन ।

यसले कतिपय महिलाले आफ्नो क्षमता प्रस्तुत गर्न पाइरहेका हुँदैनन् । अन्य पेसामा जस्तो समान ज्यालाको समस्या पनि छँदै छ । फरक यत्ति हो, हरेक दिन पुरुषको तुलनामा महिलाले बढी मिहिनेत गर्नुपर्ने र उपलब्धि कम पाउने अवस्था छ । यतिबेला महिला स्वयंले आफ्नो वकालतमार्फत आफूप्रतिको विश्वास र भरोसालाई बलियो बनाउँदै जानुपर्ने बाध्यता छ । वकालत पेसामा आबद्ध महिलालाई टिकाउन र प्रोत्साहित गर्ने जिम्मेवारीलाई व्यक्ति, परिवार, समाज र राज्यले प्राथमिकतामा राख्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully