कपालको समाजशास्त्र

समाजमा विद्यमान लिङ्गभेदले पुरुषभन्दा महिलाको कपाललाई यौनिकता, शिष्टता र सांस्कृतिक अनुशासनको कसीमा बढी राख्ने गर्दछ ।

श्रावण २०, २०८२

अनु गुरुङ

The sociology of hair

What you should know

शरीर एउटा जैविक तत्त्व मात्रै नभएर मानिस र उसको अर्थर्राजनीतिक परिवेशबीचको सम्बन्धले निर्मार्ण हुने सिर्जना हो । शरीरबारे हरेक समाजका आफ्नै सांस्कृतिक नियम र मान्यताहरू हुन्छन्, जसले मानिसलाई ‘अनुशासित’ बनाउन काम गर्दछन् । दार्शनिक मिसेल फुकोका अनुसार शरीर र कायिक अवयवप्रति निर्देशित एकदमै मिहिन र परिष्कृत अनुशासन र यसलाई लागू गर्ने स्कुल, कार्यालय, कारखाना, जेल र सैन्यजस्ता संरचनाको विकासक्रमले ‘डोसाइल’ (अप्रतिरोधी) शरीरको नयाँ अर्थराजनीति सिर्जना गरेको छ ।

समाजमा व्याप्त वर्गविभाजन र शक्तिसंघर्षको स्वरूप र परिणाम शरीरमा प्रस्ट देखिन्छ । छालाको रङ र तौलजस्ता कायिक आयामले मानिसको सामाजिक स्थान दर्शार्उँछ । कतिपय ठाउँमा कालो छालालाई अपराधीकरण गरिन्छ र धेरै तौल भएका व्यक्तिहरूलाई लज्जित बनाइन्छ । महिला र अल्पसंख्यकको शरीर लैंगिक शक्तिसंघर्ष र सांकेतिक प्रलयको निसाना बनिरहन्छ । सांस्कृतिक मानकबाट निर्देशित हुने व्यक्तिगत रोजाइद्वारा कपाललाई हेरफेर गर्न शरीरका अरू अंगभन्दा तुलनात्मक रूपमा सजिलो हुन्छ । समाजमा विद्यमान लिङ्गभेदले पुरुषभन्दा महिलाको कपाललाई यौनिकता, शिष्टता र सांस्कृतिक अनुशासनको कसीमा बढी राख्ने गर्दर्छ ।

मैले केहीअघि जोए कक्सको ‘फ्याट गर्ल्सर् इन ब्ल्याक बडिज’ (२०२०) र आयना बार्ड र लोरी थार्प्सर्को ‘हेयर स्टोरी’ (२०१४) पढेकी थिएँ । कक्सको पुस्तकले नश्लवाद र मोटोपनले कसरी ब्ल्याक महिलाप्रति लक्षित स्त्रीद्वेषी बडी सेमिङ हुन्छ भनेर व्याख्या गरेको छ भने बार्ड र थार्प्सर्को किताबले अफ्रिकी–अमेरिकी कपालको ऐतिहासिक र उपाख्यानात्मक नालीबेली बताउँछ । अफ्रिकाबाट दासको रूपमा पहिलो चोटि सन् १६१९ मा उत्तर अमेरिका आउँदासम्म ब्ल्याकहरूको घना र घुम्रिएको कपालले चर्को घामबाट उनीहरूको टाउकोलाई जोगाउँथ्यो । ‘सिल्की’ (रेशमी) मानिने सिधा र लामो युरोपेली कपाललाई सुन्दरताको मानक मानिने भएपछि मूलधारको ‘ह्वाइट’ समाजमा अफ्रिकी कपाललाई ‘ऊन’ सम्म भनिन्थ्यो । सन् १७०० ताकाका पत्रिका र दाससम्बन्धी विज्ञापनहरूमा अफ्रिकी कपाललाई जनावरसँग तुलना गरिन्थ्यो । दिनभरि कपास खेतीमा गर्मी सहेर काम गर्नुपर्ने भएकाले जुम्रा पर्ने अनि प्राकृतिक कपाललाई हेयको नजरले हेरिने भएपछि ब्ल्याकहरूले कपाल सिधा पार्न मसिनमा प्रयोग हुने ग्रिज, बोसो अनि क्षारीय कस्टिक सोडा र आलुको मिश्रण प्रयोग गर्नर् थाले । जब बिस्तारै युरोपेली मूलका पुरुष र अफ्रिकी दासीबाट जन्मिएका सन्तानको छालाको रङ फिका र कपाल अलि खुकुलो हुँदै गयो । त्यसपछि दासहरूको कपाल पनि राम्रो र नराम्रोमा वर्गीकरण हुन थाल्यो । फिका छाला र खुकुलो कपाल भएका दासहरूले घरभित्र काम पाउन थाले भने गाढा छाला र घुम्रिएको कपाल भएकाहरूले फार्ममै घोटिरहनुपर्‍यो । ब्ल्याकमध्ये पहिले स्वतन्त्र हुनेमा पनि फिका छाला र खुकुलो कपाल भएकाहरू नै बढी हुन्थे र उनीहरूका कार्यक्रम, संस्था वा चर्चर्हरूमा गाढा छाला र घुम्रिएको कपाललाई प्रवेश निषेध नै हुन्थ्यो ।

सामाजिक सञ्जालकृत आत्मकेन्द्रित संस्कृतिको उभारले शरीरलाई झनै सार्वजनिक निगरानीमा राख्छ । अनि मूलतः महिलाहरूलाई आफ्नो शरीरलाई सिँगार्न समय, ध्यान, ऊर्जा र पैसा खर्च गर्न बाध्य पार्छ र त्यसको मूल निसाना कपाल बन्दछ ।सन् १८६३ मा दासहरू स्वतन्त्र भएपछि पनि दक्षिणका धेरै चर्चहरूमा अफ्रिकीहरूलाई ‘काइँयो जाँच’ र ‘झोला जाँच’ गरेर मात्र सदस्यता दिइन्थ्यो । कपालमा काइँयो घुसाउँदा कपाल कति घुम्रिएको वा खुकुलो छ, थाहा हुन्थ्यो भने खैरो झोलासँग तुलना गरेर छाला कति फिका छ भनेर पत्ता लगाइन्थ्यो । सन् १८६७ मा अफ्रिकीका लागि खोलिएको प्रतिष्ठित हावोर्ड विश्वविद्यालयका सुरुआती ग्य्राजुएटहरूका तस्बिर हेर्दा त्यहाँ भर्ना हुन पनि उनीहरूको छाला र कपालको जाँच हुने गर्थ्यो भन्ने थाहा हुन्छ । नश्लका आधार चरम भेदभाव हुने बेलामा अफ्रिकी र युरोपेलीबाट जन्मिएका कतिपय सन्तानले छाला र कपालका आधारमा आफूलाई ह्वाइटका रूपमा चिनाएर भेदभाव छल्थे, जसलाई चल्तीमा ‘पासिङ’ भनिन्थ्यो । बार्ड र थार्प्सको किताबमा उल्लिखित नेला लार्सनको उपन्यास ‘पासिङ’ (सन् १९२९) का दुई महिला पात्रमध्ये क्लाराले आफूलाई सधैं ह्वाइटका रूपमा चिनाउँछिन् भने आइरिनले भने कहिलेकाहीँ मात्र । उपन्यासकार लार्सन आफैं डेनिस आमा र क्यारिवियन बाबुकी सन्तान थिइन्, जसले सन् १९२० को दशकतिर निकै प्रचलित यस चलनलाई नजिकबाट देखेकी थिइन् । छालाको रङ र कपालको प्रकारले पासिङ गर्न नसक्ने अफ्रिकीहरूले कपाललाई सिधा पार्ने विविध प्रयास गर्न थाले । यसैबीच छाला गोरो बनाउने र कपाल सिधा पार्ने ब्ल्याकलक्षित विभिन्न कस्मेटिक सामग्रीको उत्पादन र बिक्री हुन थाल्यो । सन् १८६७ मा लुजियानामा जन्मिएकी म्याडम सिजे वाकर अफ्रिकीलक्षित कपाल र छालासम्बन्धी सिँगारपटारका सामग्री उत्पादन र बिक्रीबाट पहिलो मिलिनियर ब्ल्याक महिला बनिन् । अफ्रिकी कपाललाई लामो, सिधा र चम्किलो बनाउने तीन सय वर्षको प्रयास विफल भएपछि सन् १९९० को दशकमा आफ्नो प्राकृतिक कपालमा कृत्रिम कपाल जोडेर लगाउने चलन ह्वात्तै बढ्यो । सुरु–सुरुमा यहुदीहरूले चलाएको कृत्रिम कपालको व्यापार अहिले मूलतः कोरियालीहरूले चलाउँछन् । दक्षिण कोरिया महँगो मूल्यका कस्मेटिक सामानको उत्पादन र व्यापारमा प्रख्यात छ ।

हामी महिलामध्ये धेरैलाई आफ्नो कपाल, छाला र शरीरप्रति सानैदेखि नै संवेदनशील बनाइएको हुन्छ । बाल्यकालमा आफ्नो शरीरप्रति परिवार, ‘सर–मिस’, छरछिमेक र नातेदारले गरेको नकारात्मक टिकाटिप्पणीले वयस्क हुँदासम्म गाँजिरहन्छ । मैले पनि बच्चा बेलादेखि कपालको बनावट र मोटोपनको कारणले अपमान सहनु परेको थियो । स्नातक पढ्दासम्म मलाई आफ्नो शरीरप्रति अरूले पक्कै नकारात्मक धारणा राख्छन् भनेर सामाजिक क्रियाकलापहरूबाट टाढा बस्थें । त्यसपछि ममा आफ्नो शरीरलाई आकारमा ल्याउने तीव्र हुटहुटी जागेर आयो । तौल घटाउन, कपाल मिलाउन र छालाको हेरचाह गर्न मेरो निक्कै समय, प्रयास र पैसा खर्च भयो । जब समाजशास्त्रको विद्यार्थीका रूपमा महिला र अल्पसंख्यकको शरीरमाथि नियन्त्रण गर्ने पितृसत्ता, नश्लवाद र पुँजीवादबारे थाहा पाएँ, तब मैले आफ्नै शरीरलाई कसरी सामाजिक संरचनाले नियन्त्रण गरेको रहेछ भन्ने थाहा पाएँ । अरूले आफूलाई हेर्दा हुने छटपटाहट र ऐनाअगाडि बसेर गर्ने आफ्नो शरीरको समीक्षा समाजशास्त्रीय–आलोचनात्मक सिकाइले कम त हुन्छ तर हुर्कंदै गर्दा परेको भावनात्मक घाउ निको हुन गाह्रो हुन्छ ।

स्कुलको सामान्य एक घटनाले मलाई आफ्नो कपालप्रति सधैं संवेदनशील बनाइरहन्छ । एक दिन शिक्षिकाले मेरो घुम्रिएको कपाललाई तान्दै अर्कोर् साथीको छेउमा पुर्‍याएर उसको कपाल देखाएर मलाई लज्जित बनाएकी थिइन् । यही घटनाले गर्दा नै पछि कसरी कपाललाई सिधा र लामो बनाउने र कुन रङ लगाउने भन्नेमा सचेत रहन थालें । पितृसत्ता, उपनिवेशवाद र पुँजीवादजस्ता संरचनाले कसरी महिलाको सौन्दर्यको मानक सिर्जना गर्दै त्यसमाथि व्यापार गर्छन् भन्ने कुरा समाजशास्त्र पढ्दा थाहा पाएँ । अमेरिका आएपछि अफ्रिकी अमेरिकी महिलाहरूले कपालकै आधारमा भोग्नुपर्नेर् भेदभाव र उनीहरूलक्षित हेयरकेयर उत्पादनले कसरी उनीहरूको कपालमा झनै असर गर्छ भन्ने कुरा थाहा पाएँ । उनीहरूलक्षित कोरियाली–अमेरिकीले सञ्चालन गरेका सुपथ मूल्य र कम गुणस्तरका कस्मेटिक पसलहरूबाट कृत्रिम कपालबारे थाहा पाएँ ।

पोहोर न्युयोर्क जाँदा मैले पहिलो पटक टाउकोको अघिल्तिर सानो कृत्रिम ‘ब्याङ’ अर्थात्, निधारबाट तल झुन्डिएको जुल्फी लगाएकी थिएँ । त्यसले मेरो आफ्नै हुर्काइ, लिङ्गभेद र पितृसत्ताले सिर्जर्ना गरेको सुन्दर कपालको मानक, त्यस मानकलाई आधार बनाएर हुने कस्मेटिक सामानको पुँजीवादी व्यापार, अफ्रिकी अमेरिकी महिलाको कपालमाथि नश्लवादले गरेको अतिक्रमण र सैन्य राष्ट्रवादले कोरियाली समाजमा गरेको सौन्दर्यको औषधीकरण सबै बोकेको थियो । सामाजिक सञ्जालकृत अहिलेको परिवेशमा चलेको आत्मकेन्द्रित संस्कृतिको उभारले शरीरलाई झनै सार्वजनिक निगरानीमा राख्छ अनि मानिस मूलतः महिलाहरूलाई आफ्नो शरीरलाई सिँगार्न समय, ध्यान, ऊर्जा र पैसा खर्च गर्न बाध्य पार्छ र त्यसको मूल निसाना कपाल बन्दछ । कारण— कपाल टक्क अगाडि नै देखिने तर अरूभन्दा छिट्टै र सजिलै मिलाउन सकिन्छ । 

अनु

Link copied successfully