मुरलीहरू सधैं भूमिहीन ?

उनी केही पटक त सिंहदरबारभित्र पनि छिरेका छन्  तर पुर्जा पाउने उनको सपना भने अझै अधुरो नै छ ।

श्रावण २०, २०८२

सुष्मा न्यौपाने

Murlis forever landless?

What you should know

काठमाडौँ — रसुवाको कालिका गाउँपालिका–३, इटपारेका मुरली नेपालीको जीवन अनेकन् पीडा, अभाव र बेवास्ताको पहाडजस्तै छ । अहिले ७० वर्ष टेकिरहेका मुरलीले कहिल्यै सुख भने अनुभव गर्न पाएनन् ।

उनका हजुरबुवाका पालादेखि नै जमिन थिएन । उनी जन्मिँदै भूमिहीन थिए । आमाले ल्याएको गाउँ इटपारेमा अर्काको जमिनमा बसे । पछि त्यहाँबाट पनि निकालिए । २०५४ सालतिर गाउँको एउटा रुखो पाखोमा जनप्रतिनिधिको सहयोगमा सानो झुपडी बनाएर बस्न थाले । त्यही झुपडी आज पनि उनको आश्रय स्थल हो ।

मुरलीले रुखो पाखो फोरेर थोरै तरकारी फलाउने साना सुर्का बनाए । त्यही सुर्का जग्गाको लालपुर्जाको आसमा उनी २० वर्षदेखि भूमि अधिकारको अभियानमा लागेर संघर्ष गरिरहेका छन् । त्यसै क्रममा कहिले कालिकास्थानको सडकमा उभिएर चर्को घाममा नाराबाजी गरेर त कहिले सदरमुकाम धुन्चेको मालपोत, नापी, जिल्ला प्रशासनमा, कहिले काठमाडौंको वनकाली, खुलामञ्च र माइतीघरको आन्दोलनमा सहभागी भएका छन् । केही पटक त सिंहदरबारभित्र पनि छिरेका छन् । पुर्जा पाउने उनको सपना भने अझै अधुरो नै छ ।

लालपुर्जाका लागि बारम्बार फाराम भर्न लगाइन्छ, पुर्जा पाउने सपना देखाइन्छ तर ती सबै झूटा साबित हुन्छन् । उनका लागि बाँकी एकमात्र रहर हो, २८ वर्षदेखि आफैंले जोतेको, हरेक माटोको धूलो र बोटबिरुवासँग आत्मीयता साटेको करिब २ रोपनी भिरालो जमिनको अधिकार आफ्ना नाममा आओस् । जहाँ उनको सम्पत्ति, बाँच्ने आधार या भनौं जीवन, जे भने नि भएको त्यही एउटा सानो झुपडी पनि त्यहीँ छ । 

मुरलीहरूका फाइल स्थानीय तहबाट आवश्यक सबै प्रक्रिया पूरा भइसकेपछि, जिल्ला समितिले सूचना जारी गर्‍यो । सूचना जारी गरिएपछि लामटाङ राष्ट्रिय निकुञ्जले उजुरी गर्‍यो र भन्यो– मुरली बस्दै आएको जमिन मध्यवर्ती क्षेत्रमा पर्छ, दिन मिल्दैन । 

जिल्ला समितिले गरेको काम गलत थिएन । कानुनअनुसार साबिकमा वन जनिए तापनि हाल आवादीमा परिणत भएको, रूख बुट्यान नभएको जमिन दिन मिल्ने थियो । जिल्ला समितिले २०७८ जेठ २७ मा त्यहाँको निकुञ्ज प्रशासनको पत्रसहित के गर्न मिल्छ भनेर केन्द्रीय आयोगलाई पत्राचार गर्‍यो । आयोगले २०७८ साउन ४ मा जिल्ला समितिलाई जमिन दिन सकिने र निकुञ्ज प्रशासनको पत्रमा कुनै कानुनी आधार नदेखिएको पत्र पठायो । हुन पनि निकुञ्जको पत्रमा जग्गा वितरण नगर्नु मात्र भनिएको थियो, कानुनको दफा, उपदफा केही उल्लेख थिएन । यत्तिकैमा २०७८ साउन १९ मा आयोग नै विघटन भयो ।

२०७८ साउनमा केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग बन्यो । गठन आदेशमा पुरानो काम जहाँ रोकिएको थियो, त्यहीँबाट अघि बढ्ने कार्यादेश थियो । तर पालिका र वडाले मुरलीलाई फेरि निवेदन दिन भने । निवेदन दिए । आयोगले २४ महिने कार्यकालमा एउटा निवेदनको निस्साबाहेक केही दिन सकेन । 

२०८० चैत ८ मा फेरि आयोग विघटन भयो । मुरलीले भूमि अधिकारकर्मीको सहयोगमा अदालतमा मुद्दासमेत दायर गरे– संविधानको धारा ४० मा दलितको हकमा सुनिश्चित गरिएको आवास र कृषिका लागि दलित भूमिहीनलाई जमिन दिने भनिएको व्यवस्थाअनुसार हामीलाई जमिन किन नदिएको भनेर । मुरली अहिले अदालतको फैसलाको पर्खाइमा छन् । 

२०८१ कात्तिक १३ मा पुनः हरि रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भयो । मुरलीको प्रमाणीकरण भएको निवेदन पुनः अघि बढाइएको छ । तर फेरि पनि, निकुञ्जले बीचैमा हस्तक्षेप गरिरहेको खबर पनि आइरहेको छ ।

मध्यवर्तीकै कुरा गर्ने हो भने पनि मुरली बसोबास गरेको एक वर्षपछि उक्त क्षेत्र मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो । सो क्षेत्रमा सबै मानव बस्ती र खेतीपाती नै छ । फेरि निकुञ्ज ऐनमा नै मध्यवर्ती क्षेत्रको भूस्वमित्वमा कुनै असर नगर्ने लेखेकै छ । के कारणले किन मध्यवर्तीको जग्गा मुरली नेपालीले नपाउने ? उनी बास बस्ने जग्गा खोज्दै अब कहाँ जाने ? जबकि, मुरलीजस्ता नागरिकलाई जमिन उपलब्ध गराउन नेपालको संविधानको धारा ४० मा प्रस्टै लेखिएको छ– ‘भूमिहीन दलितलाई एक पटकका लागि आवास र कृषिका लागि जमिन दिइनेछ ।’ के कसैले संविधानको हक खोस्न मिल्छ ? कहिलेकाहीं त लाग्छ– यो देशको संविधान पनि लाज मानिरहेको होला, यहाँ न्याय व्यक्तिको हैसियतअनुसार, कानुन कर्मचारीको व्याख्याअनुसार चलाएको देखेर । 

यो समस्या लामटाङ निकुञ्जको मध्यवर्तीमा मात्र होइन, बर्दिया, चितवन, मकवानपुरलगायत कैयन् जिल्लामा छ । मुरलीको कथा त प्रतिनिधिमूलक हो । यस्ता हजारौं भूमिहीन छन्, जसले जीवनको ठूलो हिस्सा एक टुक्रा जमिनको सपना देख्दै बिताइरहेका छन् । सबैले स्विकार्नैपर्ने सत्य के हो भने, मुरलीजस्ता नागरिक वन, निकुञ्ज वा मध्यवर्ती कसैको दुस्मन होइनन्, आफ्नै देशका अधिकारविहीन पहरेदार हुन् । उनीहरूलाई अधिकार दिनु भनेको राज्यलाई न्यायपूर्ण बनाउनु पनि हो । 

अब पनि भूमिहीन मुरलीहरूको सपना अधुरै रहन्छ भने त्यो केवल मुरलीको हार होइन, त्यो स्थानीय सरकार, भूमिहीनका नाममा बनिने दर्जनौं आयोग, नागरिकलाई सेवा प्रवाहका लागि भनेर नागरिकको करबाट पारिश्रमिक खाइरहेका सरकारी कर्मचारी, जनप्रतिनिधि, गरिबको पक्षमा कार्यरत संघसंस्था र संगठन, नीति निर्माता, सरकार र सिंगो राष्ट्रको नैतिक हार हो । 

यसरी हरेक पटक निरीह भएर वास्तविक भूमिहीनका समस्या समाधान नगर्ने, स–साना कारण देखाएर अल्झाइरहने, एउटै प्रक्रिया दोहोर्‍याएर भूमिहीनलाई सधैं ललिपप देखाइरहने हो भने यस्ता आयोग गठन गरेर करोडौं लगानी गरिरहनुको पनि कुनै अर्थ छैन ।

सुष्मा न्यौपाने सुष्मा न्यौपाने भूमि अधिकार अभियन्ता हुन् ।

Link copied successfully