संसद्प्रति सरकार होइन, सरकारप्रति संसद् उत्तरदायी हुने त्रास

सत्ताधारी दलको निर्देशनमा समितिले प्रतिवेदन तयार गर्दा संसद्को गरिमा कमजोर र सरकारप्रति उत्तरदायी हुने त्रास बढेको छ ।

श्रावण २०, २०८२

सम्पादकीय

The fear that the government will be accountable to the government, not the government to the parliament

What you should know

निजामती विधेयकमा भएको छलछामबारे अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाबाट गठित विशेष समितिले सोमबार सहमतिको प्रतिवेदन तयार पारेको छ । थपिएको म्यादसमेत सकिएको भोलिपल्ट भए पनि प्रतिवेदन तयार हुनु कुनै विशेष कारण थिएन, राजनीतिक र प्रशासनिक दबाब थेग्न नसक्नुको परिणाम थियो ।

यो प्रकरण कानुन निर्माणका क्रममा भएको अतिरिक्त र छलछाममा मात्रै सीमित रहेन । कतिपय विषय समितिको प्रतिवेदनले भन्ने नै छ । तर प्रतिवेदनले भन्न नसक्ने विषय हो– संसद्प्रति सरकार होइन, सरकारप्रति संसद् उत्तरदायी हुने त्रास बढेको छ । सैद्धान्तिक रूपमा संसदीय प्रणालीमा सरकार संसद्प्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने हो । तर यो प्रकरणमा संसद् नै सरकारप्रति उत्तरदायी भएको देखियो । किनकि, आइतबार नै प्रतिवेदन तयार गर्न समितिलाई अवरोध गर्ने अरू कोही थिएन, सत्ताधारी दलले दिएको ‘निर्देशन’ थियो । समितिले अनुभूत गरेको सत्यलाई समेत निस्तेज तुल्याउने गरी सत्ताधारी दलले निर्देशन दिएसँगै आइतबार समिति लटपटिएको थियो । सोमबार जसोतसो समितिले प्रतिवेदन तयार गरेको छ । तर समितिले तथ्य पहिचान र कारबाही सिफारिसको कुनै बलियो मानक स्थापित गर्न सकेको छैन । बरु समितिप्रति नागरिकको अपेक्षासमेत खण्डित भएको छ । यस्तो प्रवृत्तिले संसद् जस्तो सर्वोच्च संस्थाको गरिमालाई कमजोर तुल्याउनेछ नै, सत्ताधारी दल तथा संगठित कर्मचारीतन्त्रको हालीमुहालीलाई थप बलियो बनाउनेछ ।

निजामती वा सरकारी सेवाबाट बाहिरिएको दुई वर्ष पूरा नभई संवैधानिक वा सरकारी पदमा पुनः नियुक्ति लिन नपाइने (कुलिङ अफ पिरियड) व्यवस्थासहित राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयक प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको थियो । तर प्रतिनिधिसभाको पूर्ण सदनबाट विधेयक पारित हुँदा उल्लेखित प्रावधान नै निस्तेज हुने गरी ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाइने’ प्रावधान पनि राखिएको थियो । बहुचर्चित प्रावधानमा भएको हेराफेरीलाई लिएर सदनभित्र र बाहिर आलोचना बढेपछि असार २३ गते कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा अध्ययन तथा छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । समितिलाई राज्य व्यवस्थाबाट पारित प्रतिवेदन सभामा पेस हुँदा तादात्म्यता नदेखिनुको कारण छानबिन गर्न र त्यस्तो प्रतिवेदन तयार हुनुमा कसको र कस्तो भूमिका छ भन्ने छानबिन गर्न कार्यादेश छ । त्यस्तै, कसैको संलग्नता भए कारबाही गर्नुपर्ने वा नपर्ने सिफारिस गर्न र आगामी दिनमा कमजोरी हुन नदिन सुझाव पेस गर्न भनिएको छ । सुरुवातमा २१ दिनको समय दिइएको भए पनि पछि सात दिन थपिएको थियो । आइतबार समय सकिएको भए पनि समितिले सोमबार मात्रै प्रतिवेदन तयार गरेको हो । 

विधेयक प्रतिवेदनमा छलछाम भएकामा समितिका सदस्यहरू सहमत थिए । घटनाक्रमले पनि त्यसलाई अनौपचारिक ढंगले पुष्टि गर्छ । मुख्यसचिव एकनारायण अर्याल तथा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायतका कर्मचारी नेतृत्वले विधेयकबाट ‘कुलिङ अफ पिरियड’ हटाउन लबिइङ गरिरहेको र प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासमेत ‘कुलिङ अफ पिरियड’ को विपक्षमा देखिएका कारण विधेयकमा भएको ‘हेराफेरी’ लाई मानवीय त्रुटि मात्रै मान्न सकिने स्थिति थिएन । त्यसैले त्यस्तो छलछाम हो भन्नु मात्रै पर्याप्त थिएन/छैन । यति गम्भीर कार्यमा संलग्नको पहिचान र कारबाहीको सिफारिसको अपेक्षा समितिबाट गरिएको हो । समितिका सदस्यलाई पर्ने बाह्य दबाब बुझ्न नसकिने होइन । तर समिति स्वयं संसद्कै एउटा हिस्सा भएकाले संसद्को विशिष्ट अधिकार र क्षमता महसुस गर्दै तथा विषयको संवेदनशीलतालाई अनुभूति गर्दै दोषीलाई कारबाही सिफारिस गर्न समितिले आँट गर्नुपर्थ्यो । तर समिति राजनीतिक प्रशासनिक नेतृत्वसामु लाचार देखिएको छ । 

संसद्का निम्ति यो विषय किन पनि अर्थपूर्ण छ भने, कानुन बनाउने उसको अधिकार यहाँ खण्डित भएको छ । राज्य व्यवस्था समिति स्वयंले राष्ट्रिय सभालाई विधेयक पारित गर्ने क्रममा भएको कमजोरी सच्याउन आग्रह गर्नुले पनि त्यस्तो अवस्थालाई पुष्टि गर्छ । कानुन बनाउने भूमिकामा अर्को पक्ष निर्धारक बन्नु सांसद र संसद्को निम्ति अक्षम्य विषय हो । यस्तो प्रवृत्तिले जनप्रतिनिधिहरूको उपल्लो थलो संसद्कै औचित्यमाथि प्रश्न उठ्छ । व्यवस्था नै घाइते बन्छ । त्यसलाई जोगाउने हो भने दोषीलाई कडा कारबाही नै अन्तिम विकल्प हो । समितिले त्यसको सिफारिस गर्न सक्थ्यो । संसद्सँग नजोडिएकै विषय हुँदा पनि किर्ते वा अपराध गर्नेहरूले सजाय पाउनु स्वाभाविक हुन्थ्यो । यो प्रकरणलाई पनि त्यसैगरी हेरिनुपर्थ्यो । विधेयकमा छलछाम भएको निष्कर्षमा पुगिसकेपछि त्यसमा संलग्न पत्ता लगाउन नसकिने भन्ने होइन । कैयौं गम्भीर र जटिल अपराधको त सत्यतथ्य पत्ता लाग्छ भने विधेयक प्रतिवेदन त केही व्यक्तिको नियन्त्रण र हेराफेरी चल्ने ठाउँ हो । सिधा अर्थमा छलछाम भएको हो भन्ने निष्कर्षमा पुगिसकेपछि छलछामकर्ताको पहिचान र कारबाही सिफारिस सामान्य विषय हो । यो कसैलाई जोगाउने वा नजोगाउने भन्ने सबालभन्दा माथि संसद्को औचित्य र ओज जोगाउने कि नजोगाउने भन्ने सवाल हो ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully