पितृसत्ता एक सामाजिक संरचना हो । पितृसत्तात्मक सोचविचार र व्यवहार महिलामा पनि हुन्छ, कतिपय अवस्थामा पितृसत्ताको भारी महिलाले पनि बोकेरै हिँडिरहेका हुन्छन् भन्ने हामीले भेउ पाइराखेका हुँदैनौं ।
What you should know
हरेक समाजका मूल्य–मान्यता र धर्म–विश्वास फरक–फरक हुन्छन् । कतिपय शब्द र व्यवहार अनि सोच हाम्रो मस्तिष्कमा जोडिई नै सक्यो कि हामी ती चीजलाई पछाडि फर्केर हेर्न पनि चाहँदैनौं ।
प्रकृतिमा विविधता छ तर प्रकृतिकै बीच भेदभावचाहिँ छैन तर समाजले समाजकै अन्य समुदाय या व्यक्ति–व्यक्तिबीच भेदभाव गराइदिन्छ ।
बाल्यकालमा तपाईंको परिवारमा लैंगिकता के थियो र अहिले के छ ? महिला हुनु र पुरुष हुनुले तपाईंको जीवनमा घटेका दुःखदायी घटना के–के थिए ? यी र यस्ता घटना व्यवस्थालाई चुनौती दिएका उदाहरण छन् ? मानवीय र प्रकृतिसँगको सहअस्तित्वका बारेमा पनि ‘फेमिनिज्म’ ले बहस चलाउनुपर्ने देखिन्छ ।
हामीले कहिल्यै पनि असमानता, विभेदको इतिहास, यथार्थको लडाइँ र विजयका बारेमा गहिराइमा पुगेर सोचेका र मन्थन गरेका या अधिकारका लागि लडाइँ गरेका छैनौं । हामी लैंगिकताको कुरा गरिरहेका छौं । यसभित्र मानव इतिहासको कुरा आउँछ, व्यक्तिगत सम्पत्ति, उद्योगधन्दाको विकासको कुरा आउँछ ।
विश्व साम्राज्यको कुरा आउँछ अनि पितृसत्ता र पुरुषत्व अनि पुँजीवाद र असमानताको कुरा पनि आउँछ । पितृसत्ताभन्दा बाबुप्रति र पुरुषत्वभन्दा सम्पूर्ण पुरुष अस्तित्वकै विरुद्धको अवधारणा आएको, समाज भाँडेको, नैतिकता हराउँदै गएका महिला भन्ने भान पनि एक पक्षलाई पर्न सक्छ ।
प्रकृतिप्रदत्त दुई प्राणी महिला र पुरुषमा एक थरी शक्तिमा हावी भएर पितृसत्ता निर्माण हुन पुग्यो र यो व्यवस्था झन्डै ४ हजार वर्ष पहिलेदेखि नै सञ्चालित छ भन्ने कुरालाई हाम्रो मनमस्तिष्कले स्वीकार गर्न नै मुस्किल छ ।
पितृसत्ता एक सामाजिक संरचना हो । पितृसत्तात्मक सोचविचार र व्यवहार महिलामा पनि हुन्छ । कतिपय अवस्थामा पितृसत्ताको भारी महिलाले पनि बोकेरै हिँडिरहेका हुन्छन् भन्ने हामीले भेउ पाइराखेका हुँदैनौं ।
लैंगिकताले केवल महिलासँग मात्र सम्बन्ध राख्दैन । नारीत्वको अस्तित्व कुनै शून्य अवस्थामा छैन । यो पुरुषत्वको साथमा रहेको हुन्छ । यसमा एउटा विशेषणको छवि या शक्तिलाई अर्को विशेषणले तय गरिराखेको हुन्छ । महिलालाई कमजोर त्यतिबेला सम्झिइन्छ, जतिबेला पुरुषलाई बलवान् या शक्तिशाली सम्झिइन्छ ।
हामी जुन पितृसत्तात्मक समाजमा रहिरहेका छौं, त्यस समाजमा पुरुषको छवि तथा भूमिकामा पुरुषले पनि पीडा तथा अन्याय सहनु परिराखेको छ । पुरुषलाई भावनात्मक हुन, कमलो हुन, आफ्नो
कमजोरी देखाउन, डर देखाउन या स्वीकार गर्न यस समाजले रोकिराखेको छ । उनीहरूलाई हमेसा परिवारको रक्षक, पालनपोषणकर्ताको भूमिकामा दबाब परिराखेको हुन्छ । त्यसैले पनि यी पक्ष अनिवार्य भइसकेका छन् कि पुरुषत्वले उनीहरूमा पार्ने असरमा पनि ध्यान पुर्याउनुपर्नेछ ।
पुरुषत्वकै कुरा गरिरहँदा धेरै पुरुष शासकीय या शक्तिशाली पुरुषत्वको कथित मान्यताको मापदण्डमा पुग्न सक्दैनन् । यदि उनीहरू आक्रामक हुन सकेनन् भने उनीहरूको खिल्ली उडाइन्छ– ‘नारी, महिला, आईमाई’ जस्ता उपमा दिएर । सोझो र विनम्र केटालाई अन्य बलिया, दादा किसिमका पुरुषले शारीरिक र मानसिक शोषण गर्न पनि पछि पर्दैनन् ।
पुरुषत्वलाई उनीहरूको यौन शक्तिसँग पनि जोडेर हेरिने हुनाले कतिपय पुरुष आफूलाई यो मामिलामा असुरक्षित महसुस गर्ने र चिन्ताको सिकार भइरहेका हुन्छन् । समय आइसकेको छ कि यस्ता मुद्दामा संवेदनशील भएर चर्चा होस् । ‘फेमिनिज्म’ ले यस्ता पक्षलाई पनि समेटोस् ।
पुरुषत्वमा हुनुपर्ने गुणहरूमा रफ, टप, चाम्रो, रिसाहा, उच्च महत्त्वाकांक्षा भएको, यौनिक आवेग (हिंसात्मक), महिलाप्रति सुरक्षात्मक र अधीनस्थजस्ता कुरालाई समेटिन्छ । अनुसन्धानकर्ताहरूले जैविक रूपमा शरीरका केही अंगको महिला र पुरुषमा केही भिन्नता तथा प्रजनन अंगको फरक भए पनि अन्य भूमिका र गुण भने समाजबाट नै सिर्जित हुने मान्यता राख्छन् । तर जैविक विशेषताले नभई कठोर सामाजिक मूल्य मान्यताले नै पुरुषत्व र स्त्रीत्वको सिर्जना गरेको हुन्छ ।
विभिन्न विचारधारा, धार्मिक राजनीतिक धारणा, राष्ट्रिय तथा अन्य साम्प्रदायिक धारणा पनि पुरुषत्वलाई नै बढावा दिने खालका छन् । उदाहरणका रूपमा महिलालाई परम्परा, संस्कृति र सामूहिक पहिचानको रक्षक र पुरुषलाई आफ्नो क्षेत्र र सिमानाको रक्षकका रूपमा मानिन्छ । त्यस्तै गरेर सबै प्रकारका तौरतरिका, गुण, असलपन दर्शाउने सवालमा पनि पुरुषत्व र नारीत्वको अभ्यास गरिन्छ । स्वतन्त्रता, लोकतन्त्र, मातृभूमि, पितृभूमिजस्ता तर्कलाई पुरुषत्वका रूपमा ग्रहण गरिन्छ भने भावना र कमजोरीपनलाई स्त्रीत्वका रूपमा बुझ्ने गरिन्छ ।
यी सामाजिक संरचनाकै कारणले पुरुष अनेक पारिवारिक सामाजिक समस्यालाई खुलेर छलफल नगरी यो मेरो जिम्मेवारी हो भन्दै एक्लै अगुवा हुन खोज्दा विभिन्न आर्थिक मनोवैज्ञानिक समस्यामा फस्न पुग्छन् । तर पनि यी कुराहरू दबाउँदै मदिरा र अन्य लागू पदार्थको सेवन पनि गर्न पुग्छन् र यस्ता चीजबिजको अम्मली नै बन्छन् । कतिपय पुरुष सदस्य भित्रभित्रै अहंकार, आवेग र एक्लोपनले सताउँदै लगेर विभिन्न शारीरिक समस्यासँग पनि जुधिरहेको देख्न सकिन्छ ।
पुरुषत्वकै अवधारणामा हुर्किरहेका कतिपय पुरुष विभिन्न आपराधिक संघ–संगठनमा आबद्ध भएका घटना पनि हामी सुनिरहन्छौं । तर पुरुषहरू जन्मँदै पासविक हुँदैनन् । उनीहरू पनि उत्तिकै दयालु, विवेकी र आफ्ना भावनालाई प्रस्फुरण गर्न सक्ने हुन्छन्, जति महिला हुन्छन् । तर, यो कुरालाई मनन नै नगरी एकोहोरो समाजका अमानवीय ढर्राहरूलाई पछ्याउँदै जाँदा भने पुरुषहरू बन्ने भनेको उही प्रभुत्वशाली पुरुष या ‘हेजेमोनिक’ पुरुष नै हो ।
आरडब्लू कोनेलका अनुसार समकालीन अमेरिकी र युरोपेली संस्कृतिमा ‘हेजेमोनिक’ मर्दानीले मापदण्डको रूपमा काम गर्दछ । जसमा महिलामाथिको प्रभुत्व र पुरुषभित्रैको पनि प्रभुत्व पर्छन् । यसले पुरुषहरूमा पनि को बढी पुरुषत्व भएको भन्ने बुझाउँछ ।
यस्तो ‘स्टेरियोटाइप’ को अवधारणाले नै युवा पुरुषको सामाजिकीकरण र आकांक्षालाई आकार दिइरहेको हुन्छ । उदाहरणका रूपमा पुरुष हुनुमा निर्दयी, तीव्र प्रतिस्पर्धी, कमजोरी या निर्भरता स्वीकार गर्न नसक्ने या नचाहने र महिलाको अवमूल्यन र खिल्ली पनि गरिरहेका हुन सक्ने हुन्छन् । पुरुषत्वको कुरा गर्नु भनेको लैंगिक सम्बन्धका बारेमा कुरा गर्नु हो । पुरुषत्वले लैंगिक रूपमा पुरुषहरूको सामाजिक अवस्थालाई चित्रण गर्दछ ।
अहिले हाम्रो समाजलाई पुरुषत्वको भन्दा पनि मानवीय वर्चस्वको खाँचो छ । ‘फेमिनिज्म’ को अवधारणाले महिला, पुरुष, यौनिक तथा लैंगिक अल्पसंख्यक अनि सीमान्तीकृत समुदायको न्यायको आवाजलाई समेटोस् भन्ने अपेक्षा राखिन्छ । प्रसिद्ध महिलावादी अभियन्ता, लेखक, फेमिनिस्ट विचारक कमला भासिनले
आफ्ना प्रवचनमा बारम्बार भन्ने गरेको नारा नै यही हो कि ‘फेमिनिज्म’ अर्थात् पितृसत्ताको उल्टो मातृसत्ता होइन, ‘फेमिनिज्म’ त एक मानवतावादी, समानता र समतावादी अवधारणा हो । जसले महिला र पुरुषको समान अस्तित्वलाई स्विकार्छ । साँच्चै भन्ने हो भने ‘फेमिनिज्म’ को सिद्धान्तले त विश्वव्यापी युद्ध, लडाइँ, झै–झगडा र विनाशको विरोध गर्दै प्रकृतिलाई पनि न्याय मिल्ने मानवीय संसारको परिकल्पना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।
