मधेशमा पानीको संकट, जटिलता र निकास

यदि हामीले भारतसँग मिलेर पानीको समस्या समाधान गरेनौं भने मधेश मात्रै होइन, भारतले पनि छिट्टै केही क्षेत्रमा पानीको संकट बेहोर्न बाध्य हुनेछ

श्रावण १३, २०८२

सोमत घिमिरे

Water crisis, complexity and drainage in Madhesh

What you should know

अहिले मधेशमा पानीको हाहाकार छ । रोपाइँका लागि पानी होइन, खानका लागि पानीको संकट छ । सरकार डिप बोरि…ङमा ध्यान दिन खोजेजस्तो देखिन्छ । डिप बोरिङ एकखाले राहत कार्यक्रमजस्तो हो ।

अल्पकालीन हिसाबले जारमा पानी बाँड्नु, डिप बोरिङ गर्नु ठिकै होला तर अल्पकालीन कार्यक्रमभित्र मधेशमा आउने आगामी वर्षको खाद्य संकटलाई के गर्ने ? जहिले पनि विपत्ले कमजोर व्यक्ति र समुदायमा अप्ठेरोमा पार्छ । 

मानौं अहिले कुनै एकल महिला ७५ वर्षकी छिन् भने उनको घरमा पानीको जोहो कसरी होला ? विपत्को राहत कार्यक्रममा सामाजिक न्याय मूलधारीकरण भइसकेको छैन । पानीको संकट सबैलाई बराबर हुँदैन । ठूला होटललाई गाडी पखाल्ने पानी जति पनि हुन्छ । कमजोर समुदायलाई खानेपानी हुँदैन । सरकारले राहतमा करुवा देखाएर मात्रै हुँदैन । राहतमूलक कार्यक्रम के हुन् ? पानीको संकट टार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच एवं कार्यक्रम के हुन् ? अब हामीले त्यता चिन्तन गरिएन भने मधेश बस्न सकिने ठाउँ रहने छैन । अहिलेको पानीको संकटलाई इतिहासमा हामीले गरेको कर्मका आधारमा पनि विश्लेषण गरिनुपर्छ । इतिहासबाट पाठ सिक्दै वर्तमान सन्दर्भमा टेकेर निकास खोज्नुपर्छ । 

पूर्व–पश्चिम राजमार्ग र बसाइँसराइ 

मधेशमा कुनै बेला घना जंगल थियो । मधेशी तथा आदिवासी जनजाति समुदाय औलोसँग लडेर बसेका थिए । औलो उन्मूलन भएपछि पुनर्वास कम्पनी खोलेर व्यवस्थित रूपमा पहाडियालाई मधेशमा बसोबासका लागि उत्प्रेरित गराइयो । पुनर्वास कम्पनीले कति वन फाँड्यो, सरकारी तथ्यांकका कहीँ भेटिँदैन । मधेशसँगको सम्बन्धलाई पहाडिया राष्ट्रवादको चस्माबाट विश्लेषण गरियो । मधेशी समुदायसँग अविश्वास गरेर पहाडियालाई लाने काम अहिले स्वतः मधेश झर्नेमा रूपान्तरित भएको छ ।

चुरे सबैभन्दा होचो, कलिलो र कान्छो पहाड हो । यसले राज्य र समुदायको विशेष माया खोजेको छ । तर हाम्रो व्यवहार चुरे कलिलो हो भन्ने ढंगको छँदै छैन । जब चुरेको कुरा आउँछ, अव्यावहारिक रूपमा मानवरहित चुरे बनाउने कुरा उठ्छ

पुनर्वाससँगै पूर्व–पश्चिम राजमार्ग बन्यो । कति रुख काटिए, कसले हिसाब निकाल्ने ? पूर्व–पश्चिम राजमार्ग खासमा पहाडियालाई मधेशमा झार्ने आकर्षक प्याकेज थियो । रौतहटको गौर सदरमुकाम मृत अवस्थामा छ, चन्द्रनिगाहपुर बल्दो छ । मधेशी पौरखका शहर राज्यको प्राथमिकतामा परेनन्, किनभने त्यहाँ मधेशी थिए । चन्द्रनिगाहपुरमा पहाडी थिए, त्यसैले प्राथमिकतामा पर्‍यो । हाइवे नवनिर्मित सदरमुकामभन्दा उम्दा छन् । अझ रोचक त के छ भने पूर्व–पश्चिम राजमार्गले मधेशको कुनै पनि जिल्लाको सदरमुकामलाई छोएन । त्यहीबाट सुरु भयो सीमान्तकरणको प्रक्रिया । 

मधेशको सबैभन्दा ठूलो गौरव जानकी मन्दिरलाई पनि पूर्व–पश्चिम राजमार्गले छोएन । पूर्व–पश्चिम राजमार्ग मधेशीको सशक्तीकरण गर्न र गौरव बढाउन थिएन, पहाडियालाई मधेश झार्नु थियो । व्यवस्थित रूपमा यसरी मान्छे झारेपछि जमिनमुनिको पानी झर्दै जान्छ । स्वभाविक हो । आजभन्दा १० वर्षअघिदेखि नै पानी घट्दै थियो । सात वर्षअघि म आफैंले गरेको अध्ययनमा चुरे र स्थानीयबासीले पानीको संकटबारे बताइसकेका थिए । अहिले विस्फोट भएको मात्र हो । पानीको संकट देखिइसकेको थियो । १ सय ५० फिट गहिरो इनार खन्नुपर्ने कुरा त्यसबेला नै आइसकेको थियो । आखिर हामीले चासो नदिएर मात्रै हो । बसाइँसराइ यही रूपमा भइरहने र मधेशमा पानीको संकट नहोस् भन्ने कुरा मिल्दैन । 

पानीको दुईदेशीय भूगोल

पानीको आफ्नै भूगोल हुन्छ । भूमिगत जल भण्डारणको अझ गहिरो पक्ष हुन्छ । मोटामोटी रूपमा मधेशमा सबै नदी गंगा बेसिनको एक भाग हो । जमिनभन्दा सारै तल गएर हेर्ने हो भने विहार, उत्तरप्रदेश र मधेशलाई मिलाउँदा एउटा ठूलो पोखरी छ, जुन सतहभन्दा धेरै तल हुन्छ । विहार र उत्तर प्रदेशमा जमिनमुनिको पानी यति धेरै झिकियो । त्यो आखिर हाम्रो मधेशको पोखरीको पानी पनि झिकिएको हो । उत्तर प्रदेश र विहारले यसैगरी शोषण गरिरहने हो भने मधेशमुनिको हाम्रो पोखरीको पानी सकिन्छ । के गर्ने यो अवस्थामा ! राज्यले यसमा उत्तरप्रदेश र भारत सरकारसँग सार्थक वार्ता गर्न सक्नुपर्छ । वैज्ञानिक अनुसन्धानका आधारमा कति पानी निकाल्न पाइन्छ, समझदारी गर्नुपर्छ । के हाम्रो सरकार मधेशमा पानीको संकटमोचनका लागि भारतको प्रदेश र संघीय सरकारसँग वार्ता गर्न तयार छ ? यदि हामीले भारतसँग मिलेर पानीको समस्या समाधान गरेनौं भने मधेश मात्रै होइन, भारतले पनि छिट्टै केही क्षेत्रमा पानीको संकट बेहोर्न बाध्य हुनेछ । 

चुरे व्यवस्थापन र पानीको संकट 

जब मधेशमा खडेरी पर्छ, यसका बहुआयामिक जटिलतालाई ख्याल नगरी चुरे नासिएको कारणले हो भन्छौं । अब यति भनेर मात्रै पुग्दैन । योभन्दा प्रभावकारी ढंगले चुरेको संरक्षण गर्नुपर्छ । जैविक विविधताको दृष्टिकोणले पनि मधेशको पानीको संकट टार्न यसो गर्नु जरुरी छ । तर चुरे राम्रो बनाउँदा पनि माथि उल्लेख गरिएका कारणमा काम गरिएन भने पानीको संकट टर्न सक्दैन । 

चुरे सबैभन्दा होचो, कलिलो र कान्छो पहाड हो । यसले राज्य र समुदायको विशेष माया खोजेको छ । तर हाम्रो व्यवहार चुरे कलिलो हो भन्ने ढंगको छँदै छैन । जब चुरेको कुरा आउँछ, अव्यावहारिक रूपमा मानवरहित चुरे बनाउने कुरा उठ्छ । आदिवासी जनजाति समुदाय चुरेकै काखमा हुर्किए । चुरेकै एउटा अंग भएर हुर्किए । चुरेलाई दोहन गरेनन् । चुरे र आफ्नो जीवन सँगसँगै लगे । चुरे बिग्रनुमा उनीहरूको कुनै दोष छैन । एउटा वैचारिक धाराले आदिवासी जनजाति समुदालाई नै दोष दिन्छ । 

वास्तवमा भन्ने हो भने जतिबेला राज्यको संरक्षणमा, नेताजीहरूको लालनपोषणमा काठ तस्करी हुन थाल्यो, ढुंगा, गिट्टी र बालुवा निकालेर बेच्नु नेताहरूको आदर्श बन्यो र नेताजीहरूको जीवनशैलीलाई ह्वात्तै माथि उठायो– त्यही बेलादेखि चुरे बिग्रिएको हो । अर्को महत्त्वपूर्ण पक्ष के छ भने चुरे र समुदायमात्रै बसुन्जेल चुरे रिसाएको थिएन । आदिवासी जनजाति समुदायको वन आस्थाको केन्द्र हो । छोराछोरीलाई माया गरेजस्तो आदिवासी जनजाति समुदायले वन र पानीलाई माया गर्छन् । 

मधेशी समुदायले त चुरे माई भनेर आमाको दर्जा दिन्छन् । वर्षौंदेखि त्यही रनवनमा हुर्किएका मधेशी समुदायका लागि चुरे क्षेत्र केवल वन मात्रै होइन, चुरेबाट बग्ने नदी, ढुंगा, गिट्टी, बालुवा निकाल्ने ठाउँ होइन, ती त आमासरह हुन् । जतिबेला राज्यको संरक्षणमा चुरेमा निजी क्षेत्र पस्यो, त्यहीँबाट यसको दोहोन कार्य सुरु भयो । त्यसो भएकाले यदि चुरेलाई जोगाउने हो भने मधेशी र आदिवासी जानजातिको स्थानीय संस्कृतिअनुसार नै जोगाउनुपर्छ । 

आस्थाको केन्द्रका रूपमा व्याख्या गरिनुपर्छ । स्थानीय ज्ञान, सीप, प्रविधि र पौरखका आधारमा यसलाई जोगाउनुपर्छ । तर एउटा सत्य के पनि हो भने प्रकृतिमा चुरेको जन्म जति पनि जनसंख्यालाई पानी खुवाउँछु भनेर भएको होइन । बसाइँसराइ यही रूपमा भयो भने पानी पनि चुरेको क्षमताभन्दा बाहिरको कुरा हुन्छ । 

संघीयताको सन्दर्भमा चुरे व्यवस्थापन

मुलुकमा संघीयता आइसकेपछि पनि राष्ट्रपति चुरे संरक्षण समिति केन्द्रीकृत रूपमा काठमाडौंमा बनाइएको छ । यस्तो समितिसँग चुरेमा कहाँ पहिरो गएको छ, कहाँ पानीको मुहान सुकेको छ, त्यति लामो दूरीको चस्मा छैन । राज्यसँग यति लामो दूरीसम्म देख्ने चस्मा नभएर हामीले संघीयता ल्याउनु परेको हो । संघीयता केवल राज्य व्यवस्थाको परिवर्तनका लागि मात्रै थिएन, मधेशमा पानीको संकट टार्न पनि संघीयताको औचित्य थियो । तर संघीयतालाई जनताको यस्तो चासो, सरोकार र दुःखसँग जोड्ने संयन्त्रका रूपमा विकास नै गरिएन । 

अब ढिलो नगरीकन केन्द्रीकृत संरचनाहरू खारेज गर्नुपर्छ र चुरेलाई अन्तरप्रदेश मामिलामा लैजानुपर्छ । अब प्रादेशिक सहकार्यको ढोका खोल्नुपर्छ । सबैभन्दो ठूलो विश्वास स्थानीय सरकारमाथि गर्नुपर्छ । स्थानीय सरकारले समुदायको सहकार्यमा मात्रै चुरेको संरक्षण गर्न सक्छ । 

पानीको संकट टार्न स्थानीय सरकार

वास्तवमा भन्ने हो भने दीर्घकालीन दृष्टिकोणबाट स्थानीय सरकारको ठूलो भूमिका छ अहिलेको पानीको संकटलाई सम्बोधन गर्न । स्थानीय सरकारले चारवटा काम प्राथमिकताका साथ गर्नुपर्छ । पहिलो कामा हो, स्थानीय ज्ञान, सीप र प्रविधिको आधारमा चुरेको माटो जोगाउने योजना बनाउनु । चुरेको माटो र ढुंगा यति तल बगेको छ, जसले गर्दा पूर्व–पश्चिम राजमार्गका पुलहरू पुरिन लागेका छन् । तल आइपुगिसकेको छ । यो एउटा ठूलो समस्या हो । 

चुरेसँग जोडिएका प्रत्येक नगरपालिका र गाउँपालिकाले बृहत् दृष्टिकोणका साथ गुरुयोजना बनाउन जरुरी छ । स्थानीय स्तरमा स्थानीय समुदायकै सहकार्यमा बनाएको गुरुयोजना लागू हुन सक्छ । समुदायमा विश्वास गरेर समुदाय केन्द्रित योजना बनाउन जरुरी छ । चुरे बिग्रियो भने समुदायलाई नै अप्ठेरो छ । चुरेका विज्ञ, अनुसन्धानकर्ता, विद्हरू त केवल पर्यटक हुन् । चुरे बिग्रिए पनि अन्ततः उनीहरूको जीवन सुरक्षित छ । समग्र चुरे संरक्षण र व्यवस्थापनको एकीकृत योजना स्थानीय सरकारले नै बनाउनुपर्छ । 

दोस्रो हो, भूउपयोग योजना । भूउपयोग योजना कुनै परम्परागत ढाँचाबाट होइन, पानीको संकट टार्न कस्ता विरुवाले मद्दत गर्छन्, कहाँ रोप्ने, पोखरी कहाँ र कति बनाउने ? यसलाई अभियानका रूपमा लैजानुपर्छ । आज मधेशमा पोखरीहरू सुक्दैछन् । 

हाम्रा पुर्खा त्यति बेवकुफ थिएनन्, जसले पोखरीहरू बनाए । आज विज्ञ र विद्हरू त बढ्दा छन्, तर पोखरीहरू मासिँदा छन् । पोखरीका लागि भूउपयोग योजनाको ढाँचाभित्र काम गर्नुपर्छ । भूउपयोग योजनाको एउटा प्रमुख काम भनेको पानीका मुहान संरक्षण गर्ने हुनु पर्‍यो । अहिलेको विकास प्रक्रियाले पोखरी संरक्षलाई विकासको मान्यताले हेर्दैन । खानेपानीको मुहान संरक्षणलाई विकासको सूचकभित्र राखिएको छैन । त्यसैले मधेश चलनचल्तीका सूचकहरूमा विकसित हुँदैछ तर पानीको हाहाकार बढ्दैछ । पानीको संकट गहिरिँदै छ । 

विकासको यही मान्यतामा अघि बढियो भने निकट भविष्यमै मधेशमा खाद्य संकट आउँदैछ । कृषियोग्य जमिनको संरक्षण, व्यवस्थित बसोवास, पोखरी संरक्षण र प्रवर्द्धन, खानेपानीको मुहानको संरक्षण अब भूउपयोग योजनाको प्राथमिकतामा पर्नुपर्छ । अहिले हामीले कृषिको रसादी र विषादीको बाटो लिइरहेका छौं अर्थात् प्रकृतिसम्मत कृषिको बाटो लिएका छैनौं । यसले पनि मधेशको माटोलाई बिगारेको छ । सुक्खा बनाएको छ । 

सीमसार क्षेत्रहरू नासिएका छन् । त्यसैले हाम्रो कृषि प्रणालीलाई प्रकृतिसम्मत रूपमा लैजान जरुरी छ । यस सन्दर्भमा हरिवन नगरपालिकाले प्रकृतिसम्मत कृषिको घोषणा गरेर मधेशलाई बाटो देखाउन खोजेको छ । हरिवनबाट सिक्नुपर्छ । प्रकृतिको लयलाई कुनै पनि हालतमा बिथोलियो भने मधेश अझ संकटमा जानेछ । सरकार र समुदाय दुवैको लामो जीवनका लागि प्रकृतिसम्मत र प्रकृतितिर फर्किएको काम हुनुपर्‍यो । 

सबैभन्दा पहिलो त स्थानीय सरकारमाथि विश्वास हुनुपर्‍यो । चुरेको विशेष संवेदनशीलतालाई ख्याल गरेर संघीय सरकारले विशेष सशर्त अनुदान प्रदान गर्नुपर्‍यो । सशर्त किन भनिएको हो भने यस्तो विशेष अनुदान चुरेको संरक्षण र व्यवस्थापनभन्दा अन्त खर्च गर्न पाइने छैन । तर चुरे संरक्षणका लागि सिर्जनात्मकताका लागि भने स्थानीय सरकारलाई ठाउँ छोड्नुपर्छ र विश्वास गर्नुपर्छ । 

विकासको पुनर्व्याख्या

अहिले विकासको जुन प्रक्रिया चलिरहेको छ, विकाससँग जोडिएर जुन बसाइँसराइ भइरहेको छ, यसले मधेशमा पानीको संकट कहिल्यै पनि टार्न सक्दैन । उदाहरणका रूपमा हेरौं । विकसित भनिएका ठाउँ र व्यक्तिका घर ढुंगा, गिट्टी र बालुवामा ठडिएका छन् । यदि घर यस्ता बनाइरहने हो भने कहीँ न कहीँबाट ढुंगा, गिट्टी, बालुवा निकाल्नै पर्‍यो । यातायातका दृष्टिकोणले पनि व्यापारीलाई गिट्टी निकाल्न सजिलो मधेशमै छ । त्यसो हो भने हामीलाई कस्तो घर उपर्युक्त हो, कस्तो शहर उपर्युक्त हो, कस्तो जीवनशैली उपर्युक्त हो ? यसबारे क्लियर हुन जरुरी छ ।

आज वैयक्तिक रूपमा पानीको उपभोग बढेर गएको छ । कोकाकोलाजस्ता पेय पदार्थ बनाउन पानीको माग ठूलो छ । मासु बढी खानाले कुखुरा उद्योगमा पानी बढी खर्च भएको छ । राज्य र सबै नागरिकले यसबारे पनि सोच्नुपर्ने भएको छ । कस्तो जीवनशैली हो, कस्तो विकास हो ? गम्भीर चिन्तन गर्नुपर्ने बेला आएको छ । यही विकास र मान्यताको रणनीतिले मधेशमा पानीको हाहाकार छ । अझै यही मान्यतालाई अगाडि बढाउने हो भने झन् के होला ? समग्र जीवनशैली र विकासबारे सोच्नुपर्ने बेला आएको छ । अहिलेको संकटबाट शिक्षा लिएर विकास पद्धति र जीवनशैलीमा नयाँ मान्यता बनायौं भने संकट टर्ला अन्यथा संकट झन् गहिरिँदै जाने निश्चित छ ।

सोमत घिमिरे घिमिरे प्राकृतिक स्रोत ब्यवस्थापनको अध्ययन र अनुसन्धानमा संग्लन छन् । उनकाे जुर्मराएको बखत, प्राकृतिक स्रोतमा नागरिक सर्वोच्चता, समृद्ध कर्णालीको दुःख जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully