प्रेस स्वतन्त्रता संविधानको प्रस्तावनामै सीमित रहने जोखिम

नियुक्ति, कार्यसम्पादन र जवाफदेहितामा सरकारको छाया नपर्ने काउन्सिल गठन हुने सुनिश्चित हुनुपर्छ अनि मात्रै काउन्सिल स्वायत्त हुनेछ, प्रेस स्वतन्त्रतालाई पनि योगदान पुग्छ

श्रावण १३, २०८२

सम्पादकीय

The risk of press freedom being limited to the preamble of the constitution

What you should know

अनेकौं आवरण र उपायमार्फत प्रेसलाई नियन्त्रण गर्ने सरकारको प्रयत्न बारम्बार उजागर हुँदै आएको छ । मिडिया काउन्सिल विधेयक एउटा सन्दर्भ हो । विधेयकमार्फत सरकारले काउन्सिलको स्वायत्तता समाप्त पार्ने उद्देश्य राखेको छ र राष्ट्रिय सभाले त्यसलाई मलजल गरेको छ ।

मुख्यतः काउन्सिलका अध्यक्षसहितका पदाधिकारीको नियुक्ति र बर्खास्तगीमा हाबी बन्ने सरकारको प्रयत्न छ । यसमार्फत अर्धन्यायिक निकाय काउन्सिललाई आफू अनुकूल चलाउने र अन्ततः प्रेस जगत्माथि हैकम जमाउने गरी राखिएका विधेयकका प्रावधान परिवर्तन नभएमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ संविधानको प्रस्तावनामा मात्रै सीमित रहने जोखिम छ । राष्ट्रिय सभाले पारित गरेको विधेयक यतिबेला प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेकाले विवादित प्रावधान सच्याउने अवसर छ । समितिले प्रेस स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउनुपर्छ । यसरी मात्रै संविधानको मर्मको सम्मान हुनेछ । अन्तर्राष्ट्रिय समुदायबीच पनि प्रेस स्वतन्त्रताप्रति व्यक्त गरिने प्रतिबद्धताको ओज रहनेछ ।

विधेयकको दफा ६ (२) मा काउन्सिलको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति रहने उल्लेख छ । दफा ९ मा कार्यक्षमताको अभाव, खराब आचरण वा पदीय दायित्व पूरा नगरेको कारण पदबाट हटाउन सक्नेछ । स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन हुने भनिए पनि विधेयकको मूल अभिप्रायः भने काउन्सिललाई मन्त्रालयको शाखा बनाउनेतर्फ केन्द्रित देखिन्छ । किनकि, सचिव संयोजकत्वको समितिले सिफारिस गरेपछि सरकारले नियुक्ति गर्ने र सरकारलाई मन लागेका बेला विधि पुर्‍याएर पदमुक्त गर्ने प्रावधान राखिएको छ । अध्यक्षको पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा काउन्सिलमा पदेन सदस्य रहने मन्त्रालयका सहसचिवले बैठकको अध्यक्षता गर्ने भनिएको छ । यसअघि राष्ट्रपतिलाई बुझाउँदै आइएको काउन्सिलको वार्षिक प्रतिवेदन अब मन्त्रालयमा बुझाउनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ । यस्ता प्रावधानबाट सरकारले कस्तो काउन्सिल खोजेको हो भने संकेत दिन्छ ।

विद्यमान ऐनमा सर्वोच्चको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट अध्यक्ष हुने प्रावधान छ । तर पार्टी तथा नेतानिकट पत्रकारहरू अध्यक्ष तथा सदस्य हुने क्रम बढ्दै गएपछि काउन्सिलको मर्यादा र प्रतिष्ठा धूमिल हुँदै गएको थियो । विधेयकमा भने सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको वा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको र पत्रकारिताको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको व्यक्ति अध्यक्ष हुने प्रावधान छ । नियुक्ति हुने योग्यतालाई थप ठोस बनाउन खोजिएको भए पनि प्रक्रियामा भने मन्त्रीको चाहना सर्वोपरि हुने प्रावधान भएकाले उल्लेखनीय सुधार हुने सम्भावना न्यून छ । यस्तो स्थितिमा सरकारलाई कमजोर काउन्सिलमार्फत प्रेसमाथि हैकम जमाउन सहज हुनेछ । त्यसैले नियुक्ति, कार्यसम्पादन र जवाफदेहितामा सरकारको छाया नपर्ने काउन्सिल गठन हुने सुनिश्चित हुनुपर्छ । अनि मात्रै काउन्सिल स्वायत्त हुनेछ, प्रेस स्वतन्त्रतालाई पनि योगदान पुग्छ ।

संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित भएकाले प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले गरिने अवरोध वा त्यस किसिमको प्रयत्न स्वीकार्य हुन सक्दैन । यो कुनै पत्रकार वा संस्थाले निर्बाध ढंगले काम गर्न पाउने अधिकारसँग मात्रै सम्बन्धित विषय होइन । यो नागरिकको पनि सरोकारको विषय हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत नै ‘सूचनाको हक’ राखिएको छ । जहाँ भनिएको छ– ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।’ नागरिकको सूचनाको हक त्यतिबेला मात्रै क्रियाशील हुनेछ, जब प्रेस स्वतन्त्रता सुनिश्चित हुनेछ । प्रेस स्वतन्त्रता क्रियाशील बनाउने अनेकौं उपायमध्ये प्रेस काउन्सिलको स्वायत्तता पनि एक हो । किनकि यो संस्थाको स्थापना नै स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धनका लागि भएको हो । अभ्यासका क्रममा यसले आफ्नो मूल दायित्व पूरा गर्न सक्यो वा सकेन भनेर समीक्षा हुन सक्छ । सुधारका लागि प्रयत्न पनि हुन सक्छ । विधेयकमार्फत सरकारले भने संस्थामा सुधार होइन, संस्थालाई नै नियन्त्रण गर्न खोजेको देखिन्छ ।

विश्वभरकै प्रेस स्वतन्त्रताको अनुगमन र अभिलेखन गर्ने संस्था ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले राजनीतिक, आर्थिक, कानुनी, सामाजिक–सांस्कृतिक र सुरक्षाका पक्षमा मूल्यांकन गरेर प्रेस स्वतन्त्रताको अवस्था विश्लेषण गर्दै नेपालमा प्रेस स्वतन्त्रता खुम्चिँदै गएको उल्लेख गरेको छ । २०२५ को प्रतिवेदनमा समेटिएका १८० देशमध्ये नेपाल ५५.२ अंकसहित ९० औं स्थानमा झरेको छ । जबकि, २०२४ को प्रतिवेदनमा भने नेपाल ६०.५२ अंकसहित ७४ औं स्थानमा थियो । यस्तो पृष्ठभूमिमा नेपालले प्रेस स्वतन्त्रता सुनिश्चित हुने गरी कानुनी प्रबन्ध गर्नु आवश्यक छ । तर खुम्च्याउनेतर्फ रुचि बढ्दा अन्तर्राष्ट्रिय छवि पनि खस्किने सम्भावना छ । तसर्थ, सरकारी कामकारबाहीप्रति निगरानी र प्रश्न गर्ने अंगसँग जोडिएको नियुक्ति प्रक्रियामा सरकारको संलग्नतालाई अन्त्य गर्नुपर्छ । विकल्पमा, काउन्सिलमा हुने नियुक्ति प्रक्रियामा संसद्को सहभागिता सुनिश्चित गर्न सकिन्छ । ऊ सदनप्रति जवाफदेही हुने व्यवस्था गर्नुपर्छ । यस्तो हुन सके काउन्सिलको स्वायत्तता र स्वतन्त्रता बढ्न सक्छ । यसका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू सार्वजनिक निगरानीमा छन्, उनीहरूले प्रेस स्वतन्त्रताप्रतिको सम्मानलाई विधेयकमा प्रतिबिम्बित गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully