प्रधानमन्त्रीज्यू ! कसरी हुर्काउने तीन सन्तान ?

आज पनि हाम्रा प्रधानमन्त्रीलाई लाग्छ– मानौं छोरीहरू भनेका सन्तान जन्माउने मेसिन हुन् । उनीहरूले योभन्दा अरू कुरा सोच्नै हुँदैन

श्रावण १२, २०८२

रामेश्वरी पन्त

Prime Minister! How to raise three children?

What you should know

विश्व जनसंख्या दिवसको दिन राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवकयुवतीलाई २० वर्षमा बिहे गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउन उर्दी जारी गरे ।

उनले ‘सुन साइँली चालीस कटेसी रमाउँला’ बोलको गीतलाई संकेत गर्दै ‘चालीस कटेसी के रमाउनू ! त्यतिन्जेल महिलाको प्रजनन क्षमता घटिसकेको हुन्छ । रमाउने त २० देखि ३० वर्षभित्रै हो’ भन्दै युवकयुवतीलाई ‘आफ्नो करिअर भनेर नबस, बरु बेलैमा सन्तान जन्माएर हुर्काऊ, दुई सन्तानको नीति खारेज भइसक्यो, जति जन्माए पनि हुन्छ’ भन्ने अभिव्यक्ति दिए । उनको यस्तो हास्यास्पद अभिव्यक्ति खासमा छोरीहरूतर्फ लक्षित थियो ।

विगत दस वर्षमा कुल प्रजनन दर प्रतिमहिला २.६ प्रतिशतबाट १.९४ प्रतिशतमा झरेपछि सरकारले जनसंख्या र प्रजनन दरबीच सन्तुलन ल्याउन जनसंख्या नीतिमा सुधार गर्ने कुरा राष्ट्रिय जनसंख्या नीति २०८२ मार्फत उद्घोष गरेको छ । यसअघिको दुई सन्तानको नीतिमा परिवर्तन गर्दै महिलाको प्रजनन दर बढाउने र त्यस अनुसार प्रजनन हक दम्पतीमा छोडिदिने नीति ल्याएको छ । जस अनुसार दुईभन्दा बढी जतिवटा सन्तान जन्माए पनि हुने बरु राज्यले जन्मेका जति सबै सन्तानलाई सेवा सुविधा दिनुपर्ने भनिएको छ । 

यस्तै विगत एक दशकमा १५ वर्षमुनिका बालबालिकाको संख्या ३४.९ प्रतिशतबाट घटेर २७.८ प्रतिशतमा झरेको छ भने ६० वर्षभन्दा माथिको जनसंख्या बढेर ८.१ प्रतिशतबाट १०.२१ प्रतिशत पुगेको छ । यसर्थ अहिलेको जनसंख्या नीतिले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने र आमा र शिशुको स्वास्थ्यमा जोड दिँदै ‘सन्तान बेलैमा जन्माऊ, हुर्काऊ र उत्पादनमूलक काममा लगाऊ’ भनेको छ ।

‘जनसंख्या घट्यो त्यसैले बेलैमा बिहे गर, बेलैमा सन्तान जन्माऊ र हुर्काएर उत्पादनमूलक काममा लगाऊ’ रे ! कति सजिलो ! मानौं सन्तान जन्माउनु, हुर्काउनु र काममा लगाउनु जादुको छडी नचाएजस्तो हो । यता राज्यको नीति यस्तो छ, उता प्रधानमन्त्री भन्छन्– २० देखि ३० वर्षभित्रै रमाउँदै सन्तान जन्माऊ । उनी ठान्छन्, रमाउनु भनेको छिटो बिहे गर्नु र सन्तान जन्माउनु हो । सन्तान जन्माउनु र हुर्काउनुको आनन्द मात्र होइन, त्यस दौरानमा दम्पतीले भोग्नुपर्ने अभाव, कष्ट र उतारचढाव यसको अनुभव नै नभएका प्रधानमन्त्रीलाई के 

थाहा ! अनि आज पनि उनलाई लाग्छ– मानौं छोरीहरू भनेका सन्तान जन्माउने मेसिन हुन् । उनीहरूले योभन्दा अरू कुरा सोच्नै हुँदैन । 

प्रधानमन्त्री ओली भन्छन्, ‘२० वर्षपछि तुरुन्तै बिहे गरिहाल र ३० वर्षमा ३ वटा सन्तान जन्माऊ अनि बल्ल करियर बनाऊ, रोजगारीमा लाग ।’ त्यति सजिलो छ र छोरीहरूलाई बिहे गरेर सन्तान जन्माएर हुर्काएपछि रोजगारमा लाग्न ? बिहेपछि छोरीहरूमा पारिवारिक दायित्व थपिनु मात्र होइन, हाम्रो जस्तो समाजमा बिहेपछि निर्धक्क भएर आफ्नो पढाइलाई निरन्तरता दिन र रोजगारीमा लाग्न सहज वातावरण अपवादका रूपमा मात्र छ । त्यसैले पनि आजका छोरीहरू पहिले करिअर, रोजगारीको सुनिश्चितता अनि मात्र बिहे र सन्तान भन्छन् । 

सामान्यतः अहिलेका छोराछोरीले २० वर्षमा स्नातकको पढाइ पूरा गरेका हुन्छन् अनि उच्च शिक्षा सबैको चाहना हुन्छ । एकातिर राज्यका हरेक क्षेत्र, सेवा र सुविधामा समान लैंगिक हक भन्ने अनि अर्कोतिर छोरीहरूलाई जति सक्छौ सन्तान जन्माएर बस भन्ने ? 

विगत एक दशकमा देशको जनसंख्या वृद्धिदर किन कम भयो ? किन ६० वर्षमाथिको संख्या धेरै छ देशमा ? यसतर्फ किन ध्यान जान सकेन, हाम्रा प्रधानमन्त्रीको ? गत वर्ष रुस–युक्रेन युद्धमा धेरै संख्यामा रुसी सैनिकको मृत्यु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी महिलालाई सम्बोधन गर्दै धेरै सन्तान जन्माउन आदेश दिएका थिए । ती आमाहरू, जसको काख रित्याएर युवाहरूलाई युद्धको आगोमा झोस्दै फेरि अरू सन्तान जन्माऊ भन्न कसरी सकेको ? युद्ध रोकेर देशलाई शान्तिको मार्गमा लैजाने कि ‘तिमी सन्तान जन्माउँदै जाऊ, म तिनलाई युद्धमा होम्दै जान्छु’ भन्ने ? के ओली पनि पुटिनबाट दीक्षित भएका हुन् ? 

बढ्दो महँगी, सन्तानका असीमित आवश्यकता र सीमित आयस्रोतका कारण दुई सन्तान जन्माएर हुर्काउन पनि हम्मेहम्मे परेर आज अधिकांश दम्पतीले एउटै सन्तानमा चित्त बुझाउन थालेका छन् । प्रधानमन्त्रीज्यू ! देशभित्रै अड्याउने व्यवस्था गरिदिनुहोस् न ती युवकयुवतीलाई । किन अझै पनि युवाहरूलाई निर्यात गर्न बिनाधितो ऋण दिने व्यवस्था गर्दै हुनुहुन्छ ? बरु देशमै उद्यम गर्ने वातावरण बनाइदिनुहोस् । 

बन्द भएका उद्योग कलकारखाना सञ्चालन गराउनुहोस्, नयाँ उद्योग, नयाँ रोजगारीका अवसर सिर्जना गर्नुहोस् अनि आफू र जहान परिवारको पेट भर्न पुग्ने गरी पारिश्रमिक र सेवासुविधाको व्यवस्था गर्नुहोस् । त्यसपछि हेर्नुहोस् त युवाहरू परिवारसँगसँगै आफ्नै देशभित्र बसेर खुसीसाथ तपाईंले भनेजस्तै २० देखि ३० वर्षभित्र रमाउने छन् ! दिनुहुन्छ यस्तो अवसर ? तपाईं र तपाईंजस्ता राज्य सञ्चालक त सचेत र सक्षम युवकयुवतीलाई जतिसक्दो विदेश पलायन गराएर तिनैको खुनपसिनाबाट पठाइएको रेमिट्यान्सबाट देश समृद्धितर्फ गएको सुगारटाइ गर्दै राज्यस्रोतको दोहनमा मस्त हुनुहुन्छ । 

सुनेकी थिएँ, कुनै समय कुनै एउटा राणा शासकलाई उनका भारदारले ‘सरकार ! जनता भोकै छन् भन्छन्, के गर्ने ?’ भनेर सोध्दा ती शासकले ‘के उनीहरूले दूधभात पनि खान पाएका छैनन् ?’ भनेर प्रतिप्रश्न गरेका थिए रे ! हाम्रा प्रधानमन्त्रीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि यस्तै भएको छ अचेल ।

रामेश्वरी

Link copied successfully