थिचोमिचो र दासताको जीवन बाँचिरहेकालाई तत्कालीन सरकारले ‘कमैया मुक्त घोषणा’ गरे पनि उनीहरूका दुःख भने जस्ताको तस्तै छन्, अहिले पनि उनीहरू आवासका लागि संघर्षरत छन्
What you should know
नजिकै सुपेला खोला बगिरहेको छ । वरिपरि जंगल र बुट्यान छ । जंगलमा विचरण गरिरहेका छन् थरीथरीका चराचुरुङ्गी । निस्फिक्री घुमिरहेका छन् जंगली जनावर । डुल्छन्, घुम्छन्, उड्छन् मनलाग्दी बस्छन् पनि । न तिनलाई कसैको रोकटोक छ, न त अवरोध नै । तर, २४ वर्षपहिले नै राज्यबाट मुक्त घोषित भएका कमैया परिवार भने अहिले पनि बसोबास सुरक्षाका लागि भौंतारिरहेका छन् ।
यहाँका सबैसँग नेपाल सरकारले दिएको जग्गाधनी प्रमाणपुर्जा छ । घर बनाउन र सामान्य खेतीपाती गरी खान जमिन पनि छ । तर, न त घर बनाएर बस्न पाएका छन्, न खेतीपाती नै गर्न । बरु उल्टो विभिन्न हैरानी खेप्नु परिरहेको छ । यो समस्या हो, दाङ गढवा गाउँपालिका–४ सालझुन्डी गाउँमा पुनःस्थापनाका लागि जग्गा पाएका १८ मुक्त कमैया परिवारको ।
जीवनको लामो समय कमैया बसेका डिल्ली चौधरी १८ परिवार मुक्त कमैयाका अगुवा छन् । उनी नै सालझुन्डी गाउँ भूमि अधिकार मञ्चको अध्यक्ष पनि हुन् । उमरेले ७० वर्ष पुगे । १० वर्षको उमेरदेखि नै जमिनदारकोमा भैसवार (भैंसी चराउने, घाँस काट्ने, ग्वाला जाने, दाना पकाउने खुवाउने पशुधनको हेरचाह गर्ने) काम गर्न बसेका थिए । उनलाई यसरी कमैया बसी सेवा गरेबापत दैनिक दुई छाक खाना र वर्षमा दुई जोर लुगा दिइन्थ्यो । वार्षिक २४ मन अर्थात् ३६० केजी अन्न (धान, मकै, गहुँ आदि) पनि दिइन्थ्यो । डिल्लीको उमेर बढेसँगै भैसवारबाट कमैयामा परिणत गरिए । उनीजस्तै उनको जमिनदारकोमा १३ जना अरू कमैया पनि थिए । कमैयाको काम खेत जोत्ने, कुलो खन्न जाने, धान काट्ने, बोक्ने, तरकारी रोप्ने, मिलमा धान कुट्न जाने आदि हुन्थ्यो ।
डिल्लीको विवाहपछि उनकी श्रीमती श्यामकुमारी चौधरी पनि जमिनदारकोमै बेगलहरी (कमलरी) भएर काम गर्न थालिन् । घरको सरसफाइ, लत्ताकपडा धुने, भाँडाकुँडा सफा गर्ने, चामल केलाउने, बालबच्चा स्याहार्ने र गोबर सोहर्ने कामको जिम्मेवारी श्यामकुमारीले गर्नुपर्दथ्यो ।
डिल्ली भन्छन्, ‘मेरो बुबा पनि त्यही जमिनदारको कमैया बसेर बित्नुभयो र आमा कमलरी । हामीले पाएको मसुरा (तलब) बापतको खाद्यान्नले घरपरिवार चलाउन सधैं मुस्किल हुन्थ्यो ।’
डिल्लीका अनुसार कमैयाबाट मुक्त हुन पहिला जमिनदारको ऋण तिर्नुपर्थ्यो, नत्र मिल्दैनथ्यो । केही उपाय नलागेर २५ वर्षसम्म कमैया बस्नुपरेको उनले सुनाए । २०५२ सालमा आफ्नो ठाउँमा भाइलाई कमैया बस्न पठाएर मुक्ति पाएको डिल्लीले सुनाए । कमैया छोड्दा ९ सय रुपैयाँ ऋण बाँकी रहेको भनी तमसुक बनाई सहीछाप गराइएको पनि उनले बताए ।
डिल्लीले जस्तै अन्याय, थिचोमिचो र दासताको जीवन बाँचिरहेको वर्ग (कमैया) लाई २०५७ साउन २ मा तत्कालीन सरकारले ‘कमैया मुक्त घोषणा’ गरेपछि भने सबै कमैया औपचारिक रूपमा मुक्त भएका थिए । तर, उनीहरूका दुःख भने जस्ताको तस्तै छन् । अहिले पनि उनीहरू आवासका लागि संघर्षरत छन् ।
कमैया मुक्त घोषणा गरिएपछि पुनःस्थापना गर्नका लागि सरकारले ४ खाले परिचयपत्र वितरण गरेको थियो । डिल्लीले सरकारबाट नीलो (ख वर्गको) परिचयपत्र पाए । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली, २०६८ को दफा ३ को बुँदा (ख) अनुसार सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको वा आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई ‘ख’ वर्गमा राखिएको थियो । ऐन र नियमावलीमा भएको व्यस्थाअनुसार ‘क’ र ‘ख’ वर्गमा परी सोअनुसारको कार्ड पाएका मुक्त कमैयाले मात्रै जग्गाजमिन पाउने व्यवस्था छ ।
आफ्नो नाममा कहींकतै जग्गा नभएकाले सरकारले कमैया पुनःस्थापना आयोगमार्फत डिल्लीसहित १८ जना मुक्त कमैयालाई २०६५ सालमा सालझुन्डी सामुदायिक वन क्षेत्रको खाली ठाउँमा जग्गा र सोको प्रमाणपुर्जा दिएको थियो । जहाँ कुनै बेला बगर थियो । तैपनि, सरकारबाट पहिलो पटक आफ्नै नाममा पुर्जासहित प्रतिपरिवार ५ कट्ठाका दरले जग्गा पाउँदा उनीहरू खुसी भएका थिए । अब आफ्नै घरमा बसेर खेतीपाती गर्न पाइने भयो, कसैको बन्धनमा बस्नु नपर्ने भयो भनेर खुसी पनि मनाएका थिए ।
२०५७ मा मुक्त घोषित उनीहरूले २०६५ मा बल्लतल्ल जग्गा पाए र अर्को वर्ष घर बनाएर बसोबास गर्न खोज्दा सामुदायिक वन समितिले अवरोध गर्यो । खेती–घरबास गर्न दिएनन् । नबस्न धम्की दिए ।
१८ परिवार सबै मुक्त कमैया दाङकै हुन् । बाहिरबाट आएका पनि हैनन् । डिल्ली चौधरीले मुक्त कमैयालाई बसोबास गराउनका लागि धेरै नै दुःख र हन्डर खेपे । सामुदायिक वन समितिका अध्यक्ष र इलाका वन कार्यालयका कर्मचारीले वन फँडानी गरेको झूटो आरोप लगाएर उनीमाथि ‘वन मुद्दा’ लगाए । उनी भन्छन्, ‘यहाँ जग्गा दिएको ठाउँमा न त पानीको सुविधा छ, न बत्ती नै । सामुदायिक वन समितिले पानी ल्याउन पनि अवरोध गरेको छ ।’
मुक्त कमैयाहरू जिल्ला वन कार्यालय, सीडीयो कार्यालय धाए । केही सीप नचलेपछि उनीहरूले सांसदसँग गुनासो पोखे । तत्कालीन प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतलाई भेटेरै जग्गाधनी पुर्जा दिएको ठाउँ उपयोगमा अवरोध नगर्न अनुरोध गरे । तैपनि वन अध्यक्षले धम्क्याउन छोडेनन् ।
गत वर्ष (२०८० मा) पूर्वकमैया बलिराम चौधरीले गच्छेअनुसार सानो झुपडी बनाए । अरूलाई झुपडी भए पनि उनका लागि बस्ने आवास थियो, त्यो । तर घर बनाएर सकिएकै राति सामुदायिक वनको अध्यक्ष लगायतले आएर आगो लगाइदिए र भएको सामानसमेत उठाएर लगे । बलिराम भन्छन्, ‘हामीलाई जनावरलाई गरिने जति संरक्षण र माया पनि गरिएन । न त हामी वन मास्नेहरू हौं, न तस्कर । राज्यले नै लालपुर्जा दियो अनि आएर बसेका हौं ।’ दासताबाट मुक्त भए पनि अन्यायले नछाडेको उनले सुनाए ।
मुक्त कमैया समाजका केन्द्रीय महासचिव हरिचन्द्र चौधरीले सरकारले मुक्त कमैया घोषणा त गर्यो तर पुनःस्थापनामा जुन पहल गर्नुपर्ने हो, त्यो नगरेको गुनासो गरे ।
दाङको राप्ती गाउँपालिकाको मात्रै १ हजार १ परिवार मुक्त कमैयाको तथ्यांक छ । राप्तीले कार्यविधि नै बनाएर पुनःस्थापनाको कार्य अघि बढाउन खोजेको अध्यक्ष प्रकाश विष्टले बताए । मुक्त कमैयालाई बसोबासको उचित व्यवस्थापन गरी कृषि कर्ममा जोड्दै उनीहरूको जीविका सहज बनाउनका लागि पहल गरिरहेको उनको भनाइ छ ।
पुस्तौंदेखि बन्धनमा रहेका मुक्त कमैयालाई सरकारले स्वतन्त्र गरिदिनु नै ठूलो राहत भएको स्वान नेपाल दाङका अध्यक्ष कृष्णकुमार चौधरीले बताए । कमजोर र आफ्नो कुनै पनि जीविका जिउने स्रोत नभएका कमैयालाई भने सरकारले मुक्तपछि राम्रो पुनःस्थापना प्याकेज दिनुपर्नेमा त्यो नपाएको उनको गुनासो छ ।
सामुदायिक आत्मनिर्भर केन्द्रले प्रकाशन गरेको ‘मुक्त कमैया’ हाते पुस्तिकाअनुसार दाङमा १ हजार १ सय २७, बाँकेमा १ हजार ३ सय ४२, बर्दियामा ६ हजार ९ सय ७९, कैलालीमा ५ हजार ६ सय ७३ र कञ्चनपुरमा ३ हजार १ सय ७० गरी १८ हजार २ सय ९१ परिवार मुक्त कमैया थिए । सरकारले सोही बेला निवेदन संकलन गर्दा क, ख, ग र घ वर्ग विभाजन गरेको थियो । जसअनुसार ५ जिल्लामा क वर्गमा ८ हजार १ सय ३१, ख वर्गमा ५ हजार १ सय २८, ग वर्गमा १ हजार ७ सय ४७ र घ वर्गमा ३ हजार २ सय ८५ परिवार थिए ।
२०७८ सालमा सरकारले श्याम श्रेष्ठको संयोजकत्वमा कमैया, कम्लहरी, हलिया र हरूवाचरुवाको वस्तुस्थिति अध्ययन समितिले पेस गरेको प्रतिवेदनअनुसार पछिल्लो लगतबाट पुनःस्थापना गर्नुपर्ने भनेर क र ख वर्गको कमैया परिवार २७ हजार ५ सय ७० देखिएको छ । आ.व. २०७५/७६ सम्ममा ३२ हजार ५ सय ९ कमैया परिवारले परिचयपत्र पाएको भए पनि क र ख वर्गका केवल ८४ प्रतिशत मात्र पुनःस्थापनायोग्य ठहर्याइएका छन् । ९ प्रतिशत कमैया जमिन प्राप्त गर्नबाट वञ्चित छन् । ग र घ वर्गका कमैया परिवारलाई त्यस समयमा पुनःस्थापना गर्नुपर्ने सूचीमा सरकारले राखेको थिएन । ४ हजार ४ सय ६३ कमैया परिवारले पुनःस्थापना कार्य थालिएको करिब डेढ दशक हुन लाग्दा पनि परिचयपत्र पाउनै बाँकी छ ।
नेपालको संविधान (२०७२) धारा ५१ मा राज्यका नीतिहरू (ञ) सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिको बुँदा (६) मा मुक्त कमैया, कमलरी, हरूवाचरुवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापन गर्ने व्यवस्था छ ।
सरकारले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ मा जारी गरेको ऐनको प्रस्तावनामै भनिएको छ, ‘कमैया श्रम निषेध गर्न, मुक्त कमैयालाई पुनःस्थापन गर्न तथा सामाजिक न्यायको दृष्टिले मुक्त कमैयाको जीवनस्तर अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले’ ऐन तय गरिएको छ ।
ऐनको व्यवस्थाअनुसार जिल्ला समन्वय समितिको प्रमुख अध्यक्ष रहने गरी मुक्त कमैया पुनःस्थापना तथा अनुगमन समिति गठनको व्यवस्था थियो । जसको अवधि तीन वर्ष तोकिएको थियो । यसको अर्थ मुक्त भएका कमैयाको पुनःस्थापनको कार्य मुक्त घोषणा भएको तीन वर्षभित्र गरिसक्नुपर्ने थियो । तर, कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली २०६८ सालमा मात्र बन्यो, झन्डै १० वर्षपछि । सोही नियमावलीको दफा ११ को व्यवस्थाअनुसार जग्गा उपलब्ध गराइएका क वर्गका मुक्त कमैया र घर नभएका वा घर भए पनि सो ठाउँबाट स्थानान्तरण गरिएको ख वर्गका मुक्त कमैयालाई एउटा घर निर्माण खर्चबापत एक पटक रकम र काठ उपलब्ध गराउनुपर्ने थियो । तर सालझुन्डी गाउँमा जग्गा पाएका मुक्त कमैयाले अहिलेसम्म राम्ररी उपयोग गर्न पाएका छैनन् । एउटा दुःख समाप्त भयो भनेको अर्को दुःख थपियो ।
