स्रोत नियन्त्रणका लागि विश्वमा आजसम्म भएका प्रोक्सी–युद्धहरूले स्रोतका धनी देशहरूको विकास भएको देखिँदैन, बरु ती देश झन् भूराजनीतिक चेपुवामा परेका देखिन्छन्, कैयौं युद्ध वा ती युद्धलाई समाधान गर्न भनी थालिएका जति पनि बाह्य सहजीकरण वा शक्तिराष्ट्रका प्रयास छन्, ती सबैमा स्रोतमाथिको कब्जा, नियन्त्रण र दोहन नै सामुन्नेमा देखा पर्छन्
What you should know
युद्ध किन हुन्छन् ? कारण विभिन्न छन् । तर २१ औं शताब्दीका युद्ध वा द्वन्द्व मूलतः महत्त्वपूर्ण स्रोतको नियन्त्रणका लागि भएका देखिन्छन् । अहिले विभिन्न भूगोलमा भएका जति पनि युद्ध देखिएका छन्, ती विचारधाराबाट निर्देशित छैनन् । प्रथम र द्वितीय विश्वयुद्ध जस्तो भूगोल विस्तारका लागि मात्र पनि भएका छैनन् । शीतयुद्धकालमा जस्तो दुई विपरीत वैचारिक धार सिर्जित पनि होइनन् ।
भने पुँजीवाद र समाजवादको सीमाका बीचमा नै यतिबेला पातलो पर्दा छ, अभ्यासका दृष्टिकोणमा । सिद्धान्तका बहस अब त्यसै पनि गौण भइसके । शासक वा सत्ताका स्वार्थले विश्व पुनर्गठन र पुनर्गठबन्धनतिर अघि बढिरहेका बेला विचार र वादको दुनियाँले कसैलाई पर्खाल लगाउनै सक्दैन ।
युद्ध राजनीतिक व्यवस्थाका लागि त झन् हुँदै होइन । किनभने व्यवस्थाका दृष्टिकोणमा प्रागऐतिहासिककालदेखि सुरु गर्दा जातीय नेतृत्व, धार्मिक नेतृत्व, निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, प्रजातन्त्र हुँदै अहिले गणतन्त्र र कतिपय देशमा ‘हाइब्रिड’ व्यवस्थासम्मको अभ्यास भइरहेको छ । चाहे ती पुँजीवाद देश हुन् वा समाजवादी र साम्यवादी, सबै यो चरणबाट गुज्रेका छन् ।
वामपन्थी, दक्षिणपन्थी र यथास्थितिवादी सबै यी व्यवस्थाका चरित्रबाट प्रभावित र प्रताडित भएका छन् । एउटा सत्य यो हो कि राजनीतिक व्यवस्थाको पनि जीवनचक्र हुन्छ र निश्चित समयपछि ती नयाँ रूपमा पुनरावृत्त हुन सक्छन् ।
धार्मिक र जातीय विषय पनि कतिपय ठाउँमा युद्धका आंशिक कारण भएका छन्, मूल कारण भने होइनन् । भूगोलको विस्तार अहिले पनि रूपमा कतै देखिन सक्छ तर त्यहाँ पनि लुकेका केही एजेन्डा छन्, जसका निसाना अन्यत्रै छन् । सुरक्षाको खतरालाई कारण देखाएर पूर्वप्रक्षेणात्मक युद्ध भएका हुन सक्छन्, ती झन् बनावटी छन् । इजरायलले इरानमाथि गरेको आक्रमण त्यस्तै थियो, जसलाई प्रतिरक्षात्मक आक्रमणको नाम दिइयो, जुन प्रमाणित गर्न सकिँदैन ।
तर प्रायः सबै युद्धको जरामा पुग्दा निष्कर्ष निस्कन्छः त्यहाँ स्रोतका लागि युद्ध भएको छ अर्थात् स्रोतमाथिको युद्ध (रिसोर्स वार) । प्राकृतिक स्रोतमाथिको युद्ध पनि नयाँ होइन, तर आज भने यो वैश्विक राजनीति र तनावको मूल प्रवृत्तिकै रूपमा दृश्यमा आएको छ । र, जसका कारण शक्तिराष्ट्रहरू आफ्ना चरित्र गुमाएर या त युद्धमा प्रत्यक्ष होमिएका छन् वा प्रतिनिधि युद्ध (प्रोक्सी वार) लडिरहेका छन् ।
रुस–युक्रेन युद्ध, मोसाद–हमास युद्ध, विगतमा भएका कैयौं युद्ध वा ती युद्धलाई समाधान गर्न भनी थालिएका जति पनि बाह्य सहजीकरण वा शक्तिराष्ट्रका प्रयास छन्, ती सबैमा स्रोतमाथिको कब्जा, नियन्त्रण र दोहन नै सामुन्नेमा देखा पर्छन् । महत्त्वपूर्ण प्राकृतिक सम्पदाहरू जस्तै तेल, ग्यास, मिनरल्स, पानी अथवा रेअर अर्थ मिनरल्सको नियन्त्रणका लागि आजका युद्ध भएका देखिन्छन् । समाधान गर्ने नाममा प्रवेश भएका शक्तिराष्ट्रको हस्तक्षेपभित्र पनि ती देशका बहुमूल्य स्रोतको निगरानी र नियन्त्रण पर्छ । कूटनीति ‘विन–विन’ हुन्छ, त्यसै पनि आजको कूटनीति कारोबारी कूटनीति भइसक्यो ।
आज विश्वमा देखापरेका द्वन्द्व, त्यसमा संलग्न प्रोक्सी पात्रहरू र तिनलाई उक्साउनेहरूका नियत ती राष्ट्रको संरक्षण होइन, प्राकृतिक स्रोतको नियन्त्रण हो । ती राष्ट्रमा नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाऊन्, देश समुन्नत होस् भन्ने होइन । त्यसैले वैदेशिक सहयोग वा अनुदान पाएर देश बनेका उदाहरण कम छन् ।
रूपमा वा आवरणमा जस्ता भाष्य बनाउन खोजिएको भए पनि कथित शक्तिराष्ट्रको एकलब्ये ती खनिज हुन्, जसले आउँदो विश्व शक्तिलाई नियन्त्रण गर्न सक्छन् । यो आलेखमा अहिलेका युद्धहरूका पछि लुकेका एजेन्डाहरूको बहस गरिन्छ । त्यसो गर्दा विगतका केही प्रमुख युद्ध कुन आवरणमा र के अन्तरनिहित उद्देश्यका लागि भएका थिए भन्ने तथ्यसमेत स्मरण गरिन्छ ।
पहिला विगतका केही युद्धको विश्लेषण गरौं ।
सन् २००३ को इराक युद्धबाट सुरु गरौं । इराकमाथि सन् २००३ मा अमेरिकी नेतृत्वको गठबन्धनले आक्रमण गर्दा त्यहाँ रहेका भनिएका आणविक हतियारलाई देखाइएको थियो । इराकमा सामूहिक विनाशका हतियार रहेका छन् र तिनले विश्व सुरक्षालाई खतरा पुर्याउँछन् भनिएको थियो ।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज विलियम बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले इराकी राष्ट्रपति सद्दाम हुसेनसँग आमविनाशका आणविक, रासायनिक र जैविक हतियार रहेको दाबी गरेका थिए । कारण त अर्को पनि भनिएको थियो कि सद्दामको आतंकवादी संगठन अलकायदासँग सम्बन्ध छ । तर यी दुवै आरोप प्रमाणित हुन सकेनन् ।
इराकमाथि अमेरिकी नियन्त्रण कायम भएपछि इराकी सर्वे समूहले आमनरसंहारकारी हतियारको खोजी गर्यो, तर पत्ता लागेन । अमेरिकी सरकारकै सन् २००४ को रिपोर्टले यस्ता हातहतियार फेला नपरेको प्रतिवेदन दियो । त्यसैले प्रस्ट भयो कि खास उद्देश्यचाहिँ इराकको विशाल तेल भण्डारमाथिको नियन्त्रण थियो ।
त्यसको प्रमाण हो– अमेरिकाका पूर्व फेडरल रिजर्भ चेयर इभान अलन ग्रिनस्पानको यो भनाइ– ‘इराक युद्ध मुख्य रूपमा तेलका लागि थियो (द गार्डियन, २००७) ।’ इराकी जनताको मायाले र त्यहाँको प्रजातन्त्रका लागि सद्दामलाई सत्ताबाट हटाउने मिसन बुस र ब्लेयरले तयार पारेका थिएनन् । सद्दाम निरंकुश शासक हुन् भन्ने स्थापित थियो तर पश्चिमा मिसन प्रजातन्त्रका लागि थिएन भन्ने पनि स्थापित नै भयो ।
उनलाई डिसेम्बर २००३ मा अमेरिकी सेनाले गिरफ्तार गर्यो, इराकी विशेष इजलासले मुद्दा चलायो र मानवताविरुद्धको अपराधमा मृत्युदण्ड दियो । कारण बनाइयो– सन् १९८२ मा १ सय ४८ सिया इराकीको हत्या । त्यसैले यो युद्धमा आज पनि अमेरिकाको आलोचना हुन्छ र अमेरिकी प्राध्यापकहरूले नै यसको कडा आलोचना गर्दै आएका छन् । नोम चोम्स्कीले नै भने– ‘यो साम्राज्यवादी आक्रमण थियो ।’
इराकबाट अब अफगानिस्तान पुगौं । अमेरिकाले तालिवान र अलकायदाविरुद्ध अफगानिस्तानमा वैश्विक युद्ध नै लड्यो तर अन्ततः २१ वर्षपछि फेरि तालिवानलाई नै सत्ता सुम्पेर अमेरिका त्यहाँबाट बहिर्गमित भयो । फेरि तालिवान जन्माउने पनि अमेरिका नै भयो । किनकि सीआईएले अफगानिस्तानमा सन् १९७९ मा भएको सोभियत कब्जालाई हटाउन ‘अपरेसन साइक्लोन’ चलाएर अफगानी मुजाहुद्दिन र तालिवानलाई तालिम, युद्धकोष र हतियार नै उपलब्ध गरायो ।
अलकायदाले अमेरिकी ट्वीन टावरमा सेप्टेम्बर ११ मा आक्रमण गरेपछि यो युद्धारम्भ भएको थियो । झट्ट हेर्दा, उसले चलाएको युद्ध उसको प्रतिरक्षा प्रणालीमाथिको आक्रमणकै कारण आरम्भ भएको जस्तो पनि देखिन्छ । तर असली कारण भने अफगानिस्तानमा भएको रेअर अर्थ र मिनरल्स हो ।
एक अनुमानअनुसार, अफगानिस्तानमा १ देखि ३ ट्रिलियन डलर बराबरको प्राकृतिक स्रोत छ । त्यसमा लिथियम, रेअर अर्थ, कपर र आइरन पर्छन् । अमेरिकी जियोलजिकल सर्वेले अफगानिस्तानलाई ‘लिथियमको साउदी अरेबिया’ नाम नै दियो । लिथियम ब्याट्री र इलेक्ट्रोनिक्सका लागि आवश्यक पर्छ ।
अब अफ्रिकाको कंगोतिर जाऔं । डेमोक्रेटिक रिपब्लिक अफ कंगो कोल्टान, कोबाल्ट र गोल्डका लागि धनी छ, जुन स्मार्टफोन, इलेक्ट्रिक गाडी र सैन्य हार्डवेयरका लागि महत्त्वपूर्ण मानिन्छन् । अहिले त्यहाँ जारी युद्ध, दोस्रो कंगो युद्ध वा अफ्रिकन विश्वयुद्धका कारण लाखौं मान्छे मरेका छन् । त्यसको उद्देश्य भने ती पदार्थमाथिको पहुँच र नियन्त्रण नै हो । बहुराष्ट्रिय कम्पनी, सैन्य समूहहरू र विदेशी शक्तिले ती स्रोतको दोहन गर्नका लागि त्यहाँ अस्थिरतालाई मलजल गरिरहेका छन् । मूलतः अमेरिका र चीनको त्यहाँ प्रोक्सी युद्ध देखिन्छ ।
त्यस्तै अर्को क्षेत्र हो– साउथ चाइना सी । त्यहाँ चीन र अमेरिकाको स्वार्थ जुधिरहेको छ । चीनले स्वाभाविक रूपमै आफ्नो ब्याकयार्डमा नियन्त्रणको प्रयास गर्ने नै भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शक्तिलाई यतिबेला हिन्द प्रशान्त क्षेत्रमा केन्द्रीकृत गरेका छन्, जसको प्रमुख उद्देश्य चिनियाँ शक्तिको विस्तारित प्रभावको नियन्त्रण हो । चीनले साउथ चाइना सीमाथि नियन्त्रण गर्यो भने त्यहाँ रहेको खनिजमाथि पनि नियन्त्रण गर्छ र त्यसले अन्ततः उसलाई रणनीतिक रूपमा थप बलियो बनाउँछ भन्ने अमेरिकी बुझाइ देखिन्छ ।
साउथ चाइना सी तेल, ग्यास भण्डार र फिसरिजका लागि महत्त्वपूर्ण मानिन्छ । रणनीतिक सामुद्रिक मार्गमाथिको पहुँचका लागि स्वार्थ जुधेको हो नै, त्यसभन्दा बढी सम्भावित तेल र ग्यास भण्डारको पहुँचका लागि हो । अमेरिकी इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनको अनुमानअनुसार, यस क्षेत्रमा ११ बिलियन ब्यारेल तेल छ भने १ सय ९० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास छ ।
अब जारी रुस–युक्रेन युद्धलाई नियालौं । यो युद्ध भूराजनीतिक युद्ध वा पहिचानको युद्ध मात्र होइन । यो ऊर्जा करिडर, मिनरल्स, कृषि र आपूर्ति शृंखलाको नियन्त्रणको युद्ध हो । २१ औं शतादीको विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएका यी स्रोतमाथि युरापेली भूमिमा लडिएको यो ठूलो युद्ध हो ।
युक्रेन रुसका लागि युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने पारवहन बिन्दु भएकाले त्यसमाथि नियन्त्रण कायम गर्न सकेमा युरोपको ऊर्जा सुरक्षालाई प्रभावित पार्न सकिने रुसले ठानेको छ । त्यस्तै, युक्रेन मिनरल्स र रेअर अर्थमा धनी छ । त्यहाँ लिथियम, टिटानियम, आइरन र युरेनियमको ठूलो स्रोत रहेको छ । यीमाथिको नियन्त्रणका लागि पनि त्यहाँ प्रोक्सी युद्ध भइरहेको छ ।
युद्धको खास कारण स्रोतमाथिको नियन्त्रण भए पनि रुसले नाटोको विस्तार आफ्नो वरपर नहोस्, पूर्वतर्फ नपुगोस् भन्ने चाहेको थियो, सुरक्षाको दृष्टिकोणले । तर भोलोदिमिर जेलेन्स्कीले भ्लादिमिर पुटिनलाई अमेरिका र युरोपको आड लिएर नाटो सदस्य हुनेलाई मूल मुद्दा बनाएपछि दोस्रो चरणको युद्ध २४ फेब्रुअरी २०२२ बाट भएको हो ।
स्रोतमाथिको युद्धमा अमेरिका पनि मिसिएको अर्को प्रमाण हो– राष्ट्रपति ट्रम्पको युद्धविरामको सर्त र मापदण्ड । ट्रम्पको मुख्य ध्यान युक्रेनसँग रहेको लिथियमको ठूलो भण्डारतर्फ छ । राष्ट्रपति भएको २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका उनी असफल भएका छन् । र, उनी युद्ध अन्त्य होइन, त्यहाँको खनिज चाहन्छन् भन्ने त दुई राष्ट्रपतिबीच भएको सहमतिले नै प्रमाणित गर्छ ।
रुससँग युद्ध लड्न अमेरिकाले करिब ३ सय विलियन अमेरिकी डलर युक्रेनलाई उपलब्ध गराएको हिसाबकिताब राख्दै त्यसबापत अमेरिकालाई ५ सय विलियन डलर बराबरको खनिज दिनुपर्ने त प्रस्ताव नै राखे । त्यसमा दुवैबीच ३० अप्रिलमा हस्ताक्षर नै भयो ।
यीबाहेक अरू युद्ध, द्वन्द्व वा प्रतिस्पर्धा पनि चलिरहेका छन् । जस्तो कि, आर्टिक क्षेत्रमा देखिएको प्रतिस्पर्धा । त्यहाँ अहिलेसम्म उत्खनन गर्न नसकिएका तेल, ग्यास र मिनरल्सहरू अब क्रमशः हिउँ पग्लिन थालेपछि उत्खनन गर्न सकिने भएकाले शक्तिराष्ट्र प्रतिस्पर्धामा देखिन्छन् । यो सामुद्रिक मार्ग रुसको नियन्त्रणमा देखिन्छ, जहाँ उसले चीनसँग मिलेर खनिज उत्खननको प्रयास गर्दै छ, जसबाट अमेरिका त्रसित छ । अर्को सम्भावित युद्ध अन्तरिक्षको युद्ध देखिँदै छ ।
अन्तरिक्षमा जान वा लैजान त प्रतिस्पर्धा चलिरहेकै छ तर अब मुन माइनिङ र एस्टोरोइन मिनरल्समाथि शक्तिराष्ट्रको आँखा पर्नेछ । त्यसैगरी, पानी युद्ध पनि स्रोतकै द्वन्द्वका रूपमा देखा पर्दै छ । पानीको अभाव भइरहेका बेला नाइल, बह्मपुत्र र जोर्डन नदी पानीका स्रोत हुन् र तिनलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने सोच तनावका रूपमा देखा पर्दै छन् ।
अब नेपालको सन्दर्भलाई हेरौं । नेपालसँग नवलपरासीको धौबादीमा फलाम खानी, गणेश हिमालमा सिसा र तामाखानी, सिमेन्टमा प्रयोग हुने लाइमस्टोन, जिंक, लिड, कोबाल्ट, निकेल, सुन र लामटाङ क्षेत्रमा युरेनियम रहेको भन्नेखालका सर्वेहरू आएका छन् । देशका विभिन्न करिब ३० क्षेत्रमा अति महत्त्वपूर्ण खनिज रहेको सरकारको पनि अनुमान छ ।
तर ती सबैको वास्तविक भौगर्भिक नक्सांकन र उत्खनन हुन नसक्दा शक्तिराष्ट्रबीचको चासो प्रतिस्पर्धाको तहमा उक्लन पाएको छैन । तर हालै दैलेखको जलजलेमा चिनियाँ सर्वेयरहरूले गरेको ड्रिलिङबाट १.१२ अर्ब घनमिटर प्राकृतिक ग्यासको सम्भावना रहेको सार्वजनिक भएपछि भने शक्तिराष्ट्रको चासो बढ्नेछ । यदि ड्रिलिङ गर्न बाँकी रहेका चार सम्भावित क्षेत्रसमेत अनुमान गर्दा करिब ४ सय ३० अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने बताइन्छ । यसले घरेलु ग्यास आवश्यकताका लागि ५० वर्षसम्म पुग्न सक्छ भनिन्छ ।
उत्खनन त परको भयो, आफ्नो खनिज पदार्थको सम्भावनासमेत पत्ता लगाउन नसक्ने सामर्थ्यका कारणले नेपालले बाह्य सहयोग त लिन्छ नै, तर त्यसमा भूराजनीतिक प्रतिस्पर्धा र द्वन्द्व नेपालकै कारण आकर्षित नहोस् भन्नेमा हामी सजग रहनुपर्छ । स्रोत नियन्त्रणका लागि विश्वमा आजसम्म भएका प्रोक्सी युद्धहरूले स्रोतका धनी देशहरूको विकास भएको देखिँदैन, बरु ती देश झन् भूराजनीतिक चेपुवामा परेका देखिन्छन् ।
देशभित्र भएका खनिजहरूको सम्भावना र उत्खननमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहल लिएका छन्, उनकै सोच र सक्रियताका कारण जलजलेबाट अब उत्खननको पनि आरम्भ हुँदै छ । जसरीे प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश सम्बन्ध अघि बढाएका छन्, त्यसको छनक नेपालका महत्त्वपूर्ण खनिज अध्ययन र उत्खननमा पनि देखिँदै छ । यसले आत्मनिर्भरता र पारस्परिक निर्भरताको चरणतर्फ प्रवेश गराउँदै छ, जुन सुखद हो ।
