सफलता र सम्भावनाको सुनौलो यात्रामा महिला खेलाडी

महिला खेलाडीले दिलाएको सफलता र देखाएको सम्भावनाकै कारण फुटबल र भलिबल यतिबेला लोकप्रिय बनेका छन् 

श्रावण ११, २०८२

सम्पादकीय

A female athlete on a golden journey of success and potential

What you should know

आजकाल नेपाली खेल जगत् महिला खेलाडीकै कारण उत्साहबर्द्धक स्थितिमा छ । व्यक्तिगत/सामूहिक सफलताका अनेकौं सिँढीमा महिला खेलाडी नै उक्लिरहेका छन् । सानदार उपलब्धिका हकदार पनि उनीहरू नै भइरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिने गरेको पदकको खडेरीलाई उनीहरूले नै तोडिरहेका छन् ।

विश्वभर खेलकुदमा सबै जसो विधामा देखिने गरेको पुरुष दबदबा नेपालमा भने तोडिँदै गएको छ । यस्तो लाग्छ कि, नेपालमा महिला खेलाडीको सुनौलो युग चलिरहेको  छ । यसले खेलसँग जोडिएका वा नजोडिएका तमाम महिलालाई त प्रेरणा मिलेकै छ, समग्र नेपालीलाई पनि गर्वको अनुभूति दिलाएको छ । अथाह खुसी दिएको छ । फरकफरक खेलप्रति महिला खेलाडीको व्यक्तिगत/सामूहिक लगाव, मिहिनेत र आत्मविश्वासकै कारण सफलता सम्भव भइरहेको छ । सफलताको दर र उचाइलाई अझै फैलाउन भने राज्यको नीति खेलाडीमैत्री हुनुपर्छ । 

महिला खेलाडीसँग जोडिएको सानातिना सफलता र गौरवको कथा दशकौं पुराना छन् । तेक्वान्दोकी संगीना वैद्य वा सविता राजभण्डारीको नाम लिँदा अहिले पनि धेरैको अनुहार उज्यालो हुन्छ । नेपाली खेलकुदले नै पाएको अहिलेसम्मकै निर्विवाद सर्वोत्कृष्ट खेलाडी मान्न मिल्ने संगीना ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी र एसियालीस्तरको प्रतियोगितामा स्वर्ण जित्ने अहिलेसम्मकै एक्ली खेलाडी पनि हुन् ।

पछिल्ला दशकमा प्रतिभाशाली महिला खेलाडीको सहभागिता बढ्दै गएको छ । परिणामतः घाँटीमा पदक झुन्डिने क्रम पनि बढ्दै गएको छ । जस्तो कि, २०२३ मा आयोजित एसियाली खेलकुदमा कुमुतेको ६८ केजी तौल समूहमा करातेकी एरिका गुरुङले रजत पदक जितिन् । त्यहीं कबड्डीको महिला टोलीले एक कांस्य हात पर्‍यो । ओलम्पिकमा अहिलेसम्म कुनै पदक जित्न नसके पनि पारालिम्पिकमा भने तेक्वान्दोकी पलेशा गोवर्धनले २०२४ को संस्करणमा खाता खोलिदिएकी छन् । 

महिला खेलाडीले दिलाएको सफलता र देखाएको सम्भावनाकै कारण फुटबल र भलिबल यतिबेला लोकप्रिय बनेका छन् । सामूहिक खेल भएका कारण हरेक खेलाडीको मिहिनेतको कदर हुनुपर्छ नै । यद्यपि, खास नामले भने देशभित्र र बाहिर पनि अतिरिक्त प्रशंसा पाएका छन्, नाम कमाएका छन्, अवसर छोपेका छन् । जस्तो कि, अहिले नेपाली राष्ट्रिय टिमकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी आफ्नो स्वर्ण समय व्यतीत गरिरहेकी छन् ।

उनी युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी हुन् । एन्जिला तुम्बापो सुब्बाले पनि युरोपमा खेलिसकिन् । यस्तै रेखा पौडेलले यूएईको आबुधाबी कन्ट्री क्लबका लागि खेलिन् । प्रीति राई पनि व्यावसायिक फुटबल खेल्न जोर्डन जाँदै छिन् । महिला भलिबल त लोकप्रियताको शिखरमै छ । यसले सन् २०१९ र २०२२ को एबीसी एसियन सिनियर सेन्ट्रल जोन्स च्याम्पियनसिप जितिसकेको छ ।

सलिना श्रेष्ठ, अरुणा शाही तथा उषा भण्डारी जस्ता प्रतिभावान् खेलाडीले भलिबल टिमलाई बलियो बनाएको छ । पूजा महतो, इन्दु बर्मा, रुबिना क्षेत्री जस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण महिला क्रिकेटले पनि सम्भावना देखाएको छ । त्यस्तै एथलेटिक्सका मीरा राई, राजपुरा पछाईं र सन्तोषी श्रेष्ठ सफलता र प्रेरणाका पात्र हुन् । 

खेल अनेकौं छन्, जहाँ महिला खेलाडीले आफ्नो अदम्य साहसका साथ आफूलाई समर्पित गरेका छन् र सफलता प्राप्त गरेका छन् । खेल क्षेत्रमा उनीहरू नै हाबी भइरहेका छन्, उज्यालो छरिरहेका छन् । यस्तो लाग्छ– नेपाली खेल जगत्को केन्द्र भाग नै महिला खेलाडी र टिम हुन् । जे छ, यहीं छ । केही भइरहेको छ भने, यहीं भइरहेको छ । केही हुनेछ भने, यहीं हुनेछ । यसबाट रुचि र प्रतिभा भएका महिलाका लागि खेल क्षेत्र उपयुक्त गन्तव्य हो भन्ने देखिन्छ ।

अवसरको बढ्दो दायराले महिला खेलाडीको आर्थिक–सामाजिक उन्नतिका आधार पनि बलियो बनेको छ । व्यक्तिगत/सामूहिक अवसरको दृष्टिले मात्रै होइन, नयाँ खेलाडीलाई आकर्षित गर्न र सबै क्षेत्रका महिलालाई प्रेरणा भर्न यतिबेला महिला खेलाडीको अनुशासन, धैर्य, आत्मविश्वास र सफलता–यात्रा अनुकरणनीय छ । पुरुषप्रधान नेपाली समाजमा त महिला खेलाडीका एकएक सफलताको अतिरिक्त अर्थ हुन्छ ।

सफलताले भरेको उत्साहलाई किनारामा राखेर समग्र खेल क्षेत्र र त्यसमा पनि महिला खेलाडी जोडिएको खेलप्रति राज्यका नीति र प्राथमिकता केलाउने हो भने उत्साहित हुने अवस्था छैन । पहिलो, खेलाडीलाई अवसरको कमी छ । आन्तरिक र बाह्य प्रतियोगिता असाध्यै कम छ । बाहिर खेल्ने अवसर नपाउने खेलाडीले व्यक्तिगत पहलकदमीबाटै आफ्नो क्षमतालाई निखारिराख्नुपर्छ ।

त्यसैले सरकारको ध्यान घरेलु र बाह्य प्रतियोगितातर्फ केन्द्रित हुनुपर्छ । यसले खेलाडीलाई व्यस्त राख्छ नै, अब्बल पनि बनाउँदै लैजान्छ । दोस्रो, खेल क्षेत्रमा राज्यको लगानी न्यून छ । व्यक्तिगत रूपमा खेलाडीको आर्थिक सुरक्षा छैन । पारिश्रमिकमा पनि विभेद छ । त्यसकारण बल्लतल्ल मैदानसम्म आइपुगेका प्रतिभावान् खेलाडीलाई पनि टिकाइराख्न मुस्किल छ ।

राष्ट्रिय खेलाडी नै रोजीरोटीकै लागि बिदेसिएका छन् भने नवप्रतिभालाई झन् अप्ठ्यारो छ । महिला खेलाडी त बहुपक्षीय अप्ठ्यारोमा छन् । अवसर, सुविधा र आर्थिक सुरक्षा भएमा नेपाली खेलाडीले थप प्रगति गर्न सक्ने सम्भावना छ । त्यसैले राज्यले आफ्नो लगानी बढाउनुपर्छ । यस्तो लगानी महिला खेल वा खेलाडीका लागि मात्रै नभई महिला सशक्तीकरणकै लागि हो भन्ने सम्झिनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully