भूमि विधेयकमा व्यापक स्वीकार्यता अनिवार्य

अध्यादेशमै विवादमा परेका प्रावधानलाई जस्ताको तस्तै राखेर विधेयक ल्याइएको छ र प्रतिनिधिसभाबाट बलजफ्ती पारित गर्न खोजिएको छ । जबकि, प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति छैन ।

श्रावण २, २०८२

सम्पादकीय

Broad acceptance mandated in Land Bill

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मा भूमाफियाको चलखेल बढाउन सहयोग पुग्नेगरी प्रावधान राखिएको भन्दै भइरहेको आलोचनाको निरुपण गर्न छाडेर विधेयक पारित गरिहाल्ने दाउपेचमा सरकार लागेको छ । भू–माफियाको बिगबिगी महसुस भएको र सरकारी/सार्वजनिक जग्गा व्यक्तिका नाममा पुगेका वा पुर्‍याउन प्रयत्न भइरहेका खबर छ्याप्छ्याप्ती भइरहेको पृष्ठभूमिमा विवादास्पद विधेयकमा भइरहेको बलजफ्तीले आशंका बढाएको छ ।

विधेयकका केही प्रावधानलाई लिएर विपक्षी दल, सत्तारूढ दलभित्रैका प्रभावशाली सांसद तथा सरोकारवालाले गम्भीर प्रश्न र असहमति राखिरहेका छन् । तसर्थ, सरकारले आशंका र आलोचनाको निरुपण हुने गरी परिपक्व ढंगले विधेयक अघि बढाउनुपर्छ । विवादास्पद विधेयकमा विश्वसनीय र स्थापित प्रक्रिया अपनाउन झनै अनिवार्य छ । विधेयकमाथि संसदीय समितिमा छलफल गर्ने, विज्ञ तथा सरोकारवालासँग अन्तरक्रिया गर्ने, सरकारले आफ्नो दाबी–बचाउ राख्ने र परिपक्व ढंगले विधेयकलाई पारित गर्ने हो भने धेरै आशंकाको निरुपण हुनेछन् ।

वैशाख २४ मा प्रतिनिधिसभामा दर्ता गरिएको भूमि विधेयकका केही प्रावधानमाथि यतिबेला प्रश्न उठेको छ । विधेयक जस्ताको तस्तै पारित भएमा विभिन्न कम्पनीको आवरणमा हदबन्दीभन्दा बढी जग्गा राखेकाहरूले घरजग्गा व्यवसाय गर्न अनुमति लिने र जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्छन् । त्यस्तै, यसअघि ऐलानी वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन क्षेत्र जनिएका भए तापनि आवादीमा परिणत भएको जग्गामा कम्तीमा दस वर्षअघिदेखि आवाद कमोत गरिरहेकालाई जग्गा उपलब्ध गराउन सक्ने उल्लेख थियो ।

विधेयकमा सरकारले मध्यवर्ती क्षेत्र पनि थपेको छ । अर्थात्, राष्ट्रिय निकुञ्ज वरपरका जग्गासमेत वितरण गर्ने उद्देश्य राखेको छ । त्यस्तै, मूल ऐनमा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँदा निजको आर्थिक अवस्था, बसोबासको स्थिति, जग्गाको प्रकृति, क्षेत्रफल, मूल्यांकन, आवाद कमोतको अवधि र अन्यत्र जग्गा भए, नभएको लगायतका आधारमा दस्तुर लिई जग्गाको स्वामित्व उपलब्ध गराउने भनिएको छ ।

विधेयकमा भने आर्थिक अवस्था, बसोबासको स्थिति, आवाद कमोतको अवधि र अन्यत्र जग्गा भए, नभएको लगायतका आधार हेनुपर्ने बाध्यतालाई हटाइएको छ । यसरी जोसुकैलाई मनमौजी ढंगले जग्गा वितरण गर्न सकिने छिद्र राखिएको देखिन्छ । विधेयकमा वन ऐन, २०७६ को दफा ३ को उपदफा २ मा प्रतिबन्धात्मक वाक्यांश थपिएको छ ।

अभिलेखमा वन, वन क्षेत्र वा बुट्यान क्षेत्र जनिएका जग्गालाई एक पटकका लागि पुनः नक्सांकन गरी वन क्षेत्रबाट छुट्याई नेपाल सरकारको नाममा कायम गरी अद्यावधिक गर्न बाधा नपर्ने उल्लेख छ । यस्तो प्रावधानमा त्यस्तो क्षेत्रका जग्गा वितरण गर्ने उद्देश्य राखिएको देखिन्छ । 

भूमि समस्या समाधान आयोगले विभिन्न ठाउँमा भूमिहीन दलित र सुकुम्बासीलाई अहिले पनि लालपुर्जा वितरण गरिरहेको छ । आयोगले बुधबार नै झापाको अर्जुनधारा नगरपालिकामा लालपुर्जा बाँडेको थियो । त्यहाँका भूमिहीन दलित र सुकुम्बासीले सभामुख देवराज घिमिरेको हातबाट पुर्जा लिएका थिए ।

भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन परेका अप्ठ्यारोलाई फुकाउन मूल ऐनमा संशोधन आवश्यक ठानेमा सरकारले प्रयत्न गर्न सक्छ । तर भूमिहीन र सुकुम्बासीलाई देखाएर भू–माफियालाई सहजीकरण गर्ने उद्देश्य भने स्वीकार्य हुन सक्दैन । निश्चित वर्गको आर्थिक लाभ र भोटको राजनीति गर्ने मनसायको भार देशले बोक्न सक्दैन । 

विधेयक अघि बढ्नुपर्छ तर दुईवटा सर्तमा । पहिलो, विधेयकका शंकास्पद प्रावधान हटाउनुपर्छ वा दुरुपयोग नहुने सुनिश्चित गर्नुपर्छ । दोस्रो, विधेयकलाई प्रक्रिया र परम्परासम्मत ढंगले अघि बढाउनुपर्छ । शंकास्पद प्रावधान हटाउनका लागि विधेयकमाथि पर्याप्त छलफल हुनुपर्छ । त्यसो गर्न समिति एउटा उचित ठाउँ हो । यसअघि कैयौं विधेयकका त्यस्ता प्रावधानलाई विभिन्न समितिले बृहत् छलफलमार्फत निरुपण गरेका उदाहरण छन् ।

त्यसले विधेयकको घोषित उद्देश्य पनि सुविचारित ढंगले पूरा हुन सक्छ । अपनत्व बढ्छ । सरकारले यति पनि नगर्ने र ‘फास्ट ट्र्याक’ बाट विधेयक पारित गरिहाल्ने प्रयत्नले विवादास्पद विधेयकमाथि झनै आशंका बढ्छ । समितिमा नलगी निश्चित पार्टीको कार्यदल बनाएर विधेयकमा सहमति खोज्ने प्रयत्न पनि गरिएको छ । त्यसले सबै पार्टीको सहभागिता सुनिश्चित गर्दैन । बरु विधेयकमाथि नै अपनत्व नहुने र विरोधको स्वर बलियो बन्ने सम्भावना रहन्छ । सरकारलाई लाग्ने आरोप पनि थप विस्तारित हुन्छ ।

गत माघमै भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । विवादमा परेपछि त्यतिबेला मन्त्रिपरिषद्बाट सिफारिस भएका अन्य अध्यादेश राष्ट्रपतिबाट तत्कालै जारी हुँदा पनि यो अध्यादेश भने रोकिएको थियो । पछि जारी भए पनि राष्ट्रिय सभाबाट पारित गर्न जसपा नेपालले असहमति राखेपछि स्वतः अस्वीकृत भएको थियो ।

सरकारले भने त्यही अध्यादेशलाई विधेयकका रूपमा ल्याएको हो । अध्यादेशमै विवादमा परेका प्रावधानलाई जस्ताको तस्तै राखेर विधेयक ल्याइएको छ र प्रतिनिधिसभाबाट बलजफ्ती पारित गर्न खोजिएको छ । जबकि, प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति छैन ।

अर्कोतर्फ, विधेयकले गठबन्धनकै जग हल्लिएको छ । सत्तारूढ दलका सांसदबाटै संशोधन प्रस्ताव दर्ता भएको छ । तैपनि सरकारले हठ गरिरहेको छ भने उसको नियत पनि शंकास्पद छ । तसर्थ सरकारले आफ्नो हठ त्याग्नुपर्छ र विधेयकलाई व्यापक स्वीकार्यतातर्फ लैजानुपर्छ । यसले मात्रै समस्याको समाधान हुन्छ र सरकारको नियतमाथि प्रश्न उठ्दैन ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully