अधिकांश नीति कागजमा जन्मिएर कागजमै मृत्युवरण गर्छन्, यस्ता प्रशासनिक व्यावहारिकताको अभावका कारण शासन प्रणालीमा निर्जीवता र अविश्वासको माहोल सिर्जना हुन्छ
झमक्क साँझको सुरम्य क्षण थियो । आकाशबाट अविरल वर्षा भइरहेको थियो । घरको पिँढीमा आमाले जाँतोमा मकै पिसिरहनुभएको थियो । पानसको मधुर उज्यालोले नपुगेर बुबाले लाल्टिन बाल्नुभयो । ठूलोबुबा, बुबा, हामी तीन दाजुभाइ र हामीलाई घरमा अध्यापन गराउनु हुने गुरु सधैंझैं बेलुकाको कुराकानीमा रमाइरहेका थियौं ।
तात्विक शून्यतालाई चिर्दै बुबाले अचानक गम्भीर प्रश्न सोध्नुभयो– ‘बाबु π आमाले के गरिरहेकी छन् ?’ मैले सरल भावले उत्तर दिएँ– ‘मकै पिसिरहनुभएको छ ।’ बुबाले पुनः जिज्ञासा राख्नुभयो– ‘यो मकै कसको र जाँतो पनि कसको हो ?’ मैले बाल हृदयबाट उत्तर दिएँ– ‘मकै पनि हाम्रो, जाँतो पनि हाम्रो ।’
भर्खरै माध्यमिक तहको शिक्षा आर्जन गर्दैगर्दाको त्यो क्षणको शब्दशः स्मृति नभए तापनि त्यसको भावात्मक प्रभाव र शिक्षाप्रद चिन्तनको बीउ आज पनि प्रस्फुटित छ । हाम्रो कुराकानीको प्रसंग अगाडि बढ्दै गयो, बुबाले फेरि गम्भीर स्वरमा सोध्नुभयो– कल्पना गर, यदि यो जाँतो र मकै राज्यको हुन्थ्यो भने के हुन्थ्यो ? मैले बाल सुलभ जिद्दी गरें । यो हाम्रो जाँतो र मकै कसरी राज्यको हुन सक्छ ? त्यसपछि बुबाले धीरतापूर्वक जीवनदर्शनको गहिरो व्याख्या सुरु गर्नुभयो, बाबु, म त एउटा दृष्टान्त प्रस्तुत गर्दै थिएँ, जीवन र राज्यचिन्तनबीचको सांगोपांग सम्बन्धलाई बुझाउन ।
जबसम्म यो जाँतो र मकै हाम्रो हुन्छ, तबसम्म यसको सञ्चालन स्वाभाविक, सहज र निरन्तर हुन्छ । यसले मकै पिस्छ र कहिलेकाँही मात्र घुन पिस्छ । तर कल्पना गर, यदि यही जाँतो राज्यको हुन्थ्यो भने यसले कहिले मकै पिस्थ्यो, कहिले केवल घुन, कहिले दुवैलाई एकसाथ धूलो बनाइदिन्थ्यो । कहिले निष्क्रिय भएर थन्किन्थ्यो । कहिले बिनामकै घुमेर जाँतोको दाँत पनि सबै खियाइदिन्थ्यो । कहिलेकाहीँ एउटा पनि मकै नपिसीकन सबै ओकलिदिन्थ्यो । कहिले मानी र हातो ठीकसँग नबसेर अनियन्त्रित घुमिरहन्थ्यो, सबै उधुम मच्चाइदिन्थ्यो ।
मलाई बुबाको त्यो दृष्टान्त रहस्यमय लाग्यो । मैले विस्मित भावमा सोधें, ‘यस्तो किन र कसरी ?’ बुबा र गुरुले पालैपालो यसको तात्पर्य बुझाउँदै भन्नुभयो, राज्य र परिवार दुवै समाजका मौलिक र आधारभूत संस्थाहरू हुन् तर तिनको स्वरूप, उद्देश्य, सञ्चालन विधि र प्रभावको आयाम आकाश–पातालजत्तिकै भिन्न हुन्छ ।
परिवार स्वधर्मको अभ्यासस्थल हो, जहाँ नियमभन्दा बढी दायित्व, माया र सम्बन्धबाट परिवारको शासन चल्छ । बुबाआमाको हृदयमा आफ्ना सन्ततिको सुखभन्दा बाहिर कुनै अर्को विचार टिक्नै सक्दैन । किनकि त्यहाँ सम्बन्धको मूलमा प्रेम र समर्पण दुवै हुन्छ । पारिवारिक निर्णय प्रक्रिया सरल हुन्छ, प्रत्यक्ष र स्वार्थरहित पनि । एउटा परिवारको दैनिक खर्च, सन्तानको शिक्षा र घरायसी निर्णयहरू स्वाभाविक रूपमा सहमतिका आधारमा सञ्चालन हुन्छन् ।
राज्य सञ्चालनका जटिलता र राजधर्मको पेचिलोपनको झलक दिँदै महाभारतका गूढ प्रसंगहरू उद्धृत गर्दै उहाँहरूले भन्न थाल्नुभयो– बाबुहरू, धर्मराज युधिष्ठिर जसलाई सत्य, न्याय र धर्मको प्रतीक मानिन्छ, उनी स्वयं पनि युद्धको भीषण समयमा आफ्ना गुरु द्रोणाचार्यलाई भ्रममा पारी बध गर्न अश्वत्थामा मर्यो भनेर अर्धसत्य बोल्न बाध्य भए ।
यद्यपि मरेको अश्वत्थामा द्रोणपुत्र नभई एक हात्ती थियो । त्यस्तै, कौरवसेनाले १६ वर्षीय निहत्था अभिमन्युलाई कुटिल चक्रव्यूहमा फसाएर पृष्ठभागबाट प्रहार गरी हत्या गरे । हनुमानजीले लंका दहन गर्दा केवल राक्षसहरूको निवास मात्र नभई निर्दोष वनस्पतिहरूसमेत भष्म भए ।
नेपालको इतिहासमा कोतपर्व र भण्डारखाल पर्वजस्ता हृदयविदारक घटनाहरूको स्मरण गर्दै उहाँहरूले भन्न थाल्नुभयो– शासकीय सत्ता हात पार्ने उद्देश्यले नेपालमा पनि यस्ता घटनाहरूमा सयौं निर्दोष नागरिकहरूको रगत बगाइयो । यस्ता घटना केवल राजनीतिक षड्यन्त्र मात्र थिएनन् । ती नीति, नैतिकता र विवेकको अभावमा राज्य सञ्चालन कति क्रूर, अन्धकारमय र अमानवीय हुन सक्छ भन्ने गहिरो चेतावनीका ज्वलन्त उदाहरणहरू थिए ।
कुनै औपचारिक शिक्षा नलिनुभएका पिताजीको यो दृष्टान्त एउटा पारिवारिक अनुभवको कथा मात्र रहेनछ, राजनीतिक दर्शनको मर्मस्पर्शी दस्ताबेज पो रहेछ, जसले राज्यतन्त्रको जटिल यथार्थलाई प्रतिविम्बित गर्दछ । यो दृष्टान्तबाट एक घरेलुयन्त्रको सरल क्रियाबाट शासन प्रणालीको जटिलता देखाउन मात्र खोजिएको थिएन, यसले राजधर्म र राजकर्मबीचको सूक्ष्म भेद, शक्ति–सन्तुलनको अनिवार्यता र विवेकपूर्ण सञ्चालनको नैतिक चेतना थियो । शासन चक्रमा विवेकको न्यूनता, नीति–अन्धता र संयमताको अभाव हुँदा कसरी राज्य व्यवस्था स्वयं विनाशको कारक बन्न सक्छ भन्ने चेतावनी निहित थियो ।
त्यसबखत मैले यस प्रसंगको गहिराइ कसरी बुझ्न सक्थें र । तर आज थाहा पाउँछु, त्यो कथाले मेरो जीवनको वैचारिक शंखनाद गरिदिएको रहेछ । विश्वविद्यालयका कक्षाकोठा र पाठ्यपुस्तकले मलाई शासन प्रणालीका परिभाषा र प्रविधि सिकाए तर राज्य सञ्चालनको मर्म र जनअपेक्षाको सूक्ष्म संवेदनाको पाठ बुबाकै उक्त दृष्टान्तबाट पाएँ । घरको जाँतो राज्यतन्त्रको रूपक बन्यो । मकै जनअपेक्षाको स्वरूप । हातो र मानी नीति र संयन्त्रको प्रतिरूप । मेरी आमा राज्ययन्त्र सञ्चालनको जीवन्त प्रतीक ।
म जागिरको सिलसिलामा सर्वोच्च अदालतको पवित्र प्रांगणमा पुग्दा विधिको छायामा लुकेको अन्यायको करुण चीत्कारले बुबाको दृष्टान्तलाई झनै जीवन्त बनाइदियो । त्यसपछि निर्वाचित पदाधिकारी नभएको अवस्थामा स्थानीय विकास अधिकारीका रूपमा जनतासँग गाँसिदा मैले महसुस गरें– राज्ययन्त्र शक्ति–सन्तुलन र अनुशासनमा आधारित लयबद्ध संरचना हो । जब यी आधारहरू कमजोर हुन्छन्, तब प्रशासनयन्त्रले राज्यका मूल्य र नैतिक मर्मलाई क्षति पुर्याउन थाल्छ ।
बुबाको दृष्टान्तको वास्तविक मर्मचाहिँ मैले निजामती सेवाको विशिष्ट श्रेणीको पदमा कार्य गर्दा अझै गहिराइमा बुझ्न सकें । राज्यको जाँतो सही तालमा, सन्तुलित गतिमा र न्यायोचित ढंगमा घुमाउनु साँच्चिकै दुरुह कार्य रहेछ । कतिपय अवस्थामा यो यन्त्र यति निर्मम र अन्धगतिमा घुम्दो रहेछ कि कहिले निर्दोष अभिमन्युहरूका सपना ओखलिदिन्छ, कहिले सत्यको मकै पिसिएको देखिए तापनि केवल भ्रमको घुन मात्र पिसिन्छ । कहिलेकाहीँ त व्यवस्था नै ‘अश्वत्थामा हतो–हत’ भन्ने अर्धसत्यको कुहिरोमा दिशाहीन भएर बग्छ ।
जीवनको यस यथार्थ भोगाइले मलाई सिकायो– ‘राजधर्मः कठिनः सदा’ भन्ने सूक्ति राज्यशास्त्रको केवल वाणी होइन, कटु यथार्थ हो । किनकि नीति र व्यवहारबीचको द्वन्द्व शासन प्रक्रियामा दिनहुँ चुनौतीका रूपमा उभिन्छ । सेवा निवृत्तिको शान्त बेलामा पनि मलाई यही प्रश्नले पुनः सताइरहेको छ, के हामी वास्तवमै राज्यको जाँतोलाई न्यायसंगत र विवेकयुक्त तरिकाले चलाउन सिक्यौं त ? वा हामी अझै पनि बाल्यकालको त्यो अबोध दृष्टिमा अल्झिएका छौं, जहाँ मकै र घुनबीचको सूक्ष्म भेद छुट्याउने दृष्टि अझै अपूर्ण छ ?
यस्ता जटिल प्रश्नहरूको स्पष्ट उत्तर यस सानो आलेखबाट दिन कठिन मात्र होइन, असम्भवप्रायः छ । तथापि, संक्षेमा भन्नुपर्दा राज्यको जाँतो सही तरिकाले घुमाउनु केवल प्राविधिक वा प्रक्रियात्मक कार्य मात्र होइन, यो गहिरो सामाजिक–राजनीतिक समायोजन, रणनीतिक सन्तुलन र विवेकपूर्ण निर्णयमार्फत अगाडि बढाइने एक सघन, समन्वित र संवेदनशील प्रक्रिया हो । राज्य सञ्चालनमा अन्तर्निहित जटिलता स्वाभाविक रूपमा रहन्छन् र ती जटिलता चिर्ने कार्य त्यति सहज हुँदैन, जति हामी सामान्य नागरिकको दृष्टिबाट सोच्ने गर्दछौं । यी जटिलताका मूलतः तीन प्रमुख कारणहरू छन् ।
प्रथम कारण ः जटिलताको सिद्धान्त (कम्लेक्सिटी थ्योरी) अनुसार राज्यतन्त्र एक स्थिर र सरल संरचना होइन, यो एक जटिल, बहुआयामिक र परस्पर निर्भर प्रणाली हो । यो प्रशासनिकयन्त्र मात्र पनि होइन, यो विविध तह, निकाय र पक्षहरूको समन्वयमा आधारित संरचना हो, जहाँ असंख्य हित, विरोध र द्वन्द्वहरू अन्तरनिहित हुन्छन् । यस्तो संरचनाबाट उत्पन्न निर्णयले बहुस्तरीय प्रभाव पार्छन्, जसमा अपेक्षित परिणाम मात्र होइन, अनपेक्षित, अनर्थकारी वा प्रतिकूल सामाजिक–आर्थिक–राजनीतिक असरहरूसमेत देखा पर्न सक्छन् ।
राजकाजको प्रकृति यस्तो छ कि, एउटै समस्या समाधान गर्न बनाइएको नीति वा कार्यक्रमले कहिले सकारात्मक, कहिले अप्रत्याशित र कहिलेकाहीँ नकारात्मक असर पार्न सक्छन् । एउटै निर्णय कुनै वर्गका लागि हितकारी प्रमाणित हुँदा, अर्को वर्गका लागि गम्भीर घाटा हुन सक्छ । यसैले नीतिगत प्रभावको पूर्वनिर्धारित निष्कर्ष निकाल्नु सजिलो हुँदैन ।
राजधर्मको अभ्यास कालो र सेतोको सीमारेखामा अट्दैन । यसको अभ्यास प्रायः ‘खैरो क्षेत्र’ भित्र पर्छ, जुन विवेक, सन्दर्भप्रज्ञा, कालबोध र व्यावहारिक सुझबुझको संयोजनमा आधारित हुन्छ । यसैले राज्य सञ्चालन विशेषतः नीति निर्माण र कार्यान्वयन प्रक्रिया कुनै निश्चित सूत्र वा यान्त्रिक प्रणालीअनुसार अघि बढ्न सक्दैन, यसले विवेकशीलता, लचिलोपन र संवेदनशील समायोजनको उच्चतम अपेक्षा गर्दछ ।
दोस्रो कारण ः राज्यतन्त्रको जस्तोसुकै संरचना पनि स्वभावतः सत्ताको केन्द्रीकरणतर्फ प्रवृत्त रहन्छ जसले शासन प्रणालीलाई अन्ततः अल्पसंख्यक अभिजात वर्गको नियन्त्रणमा धकेल्छ । प्रख्यात समाजशास्त्री रोबर्ट मिचेल्सले आफ्नो पुस्तक ‘आइरन ल अफ ओलिगार्ची’ मा उल्लेख गरेअनुसार लोकतन्त्र जस्तो जनकेन्द्रित शासन प्रणाली पनि समय क्रममा अल्पसंख्यक अभिजात्य व्यक्तिहरूको नियन्त्रणमा पुग्ने सम्भावना अत्यधिक हुन्छ ।
लोकतन्त्रको आडमा नीति निर्माण, स्रोत वितरण र सत्ता सञ्चालन प्रायः एक सानो, संगठित र प्रभावशाली समूहको नियन्त्रणमा केन्द्रित हुन पुग्दछ । राज्य सञ्चालनमा संलग्न मुख्य पात्रहरू– राजनीतिज्ञ, प्रशासक, नागरिक, निजी क्षेत्र, सञ्चारमाध्यम, अन्तर्राष्ट्रिय साझेदार सबैका दृष्टिकोण, प्राथमिकता र स्वार्थहरू प्रायः एकअर्कासँग टकराउने स्वभावका हुन्छन् । यस्ता टकरावहरूले नीति निर्माण प्रक्रियामा निष्पक्षताभन्दा पनि शक्ति केन्द्रीकरणको रणनीति हावी हुने स्थिति सिर्जना गर्छ ।
सत्ताको मूल केन्द्रमा पुगेका अभिजात्यहरूले सत्ताको पुनर्उत्पादनका लागि अनौपचारिक सञ्जाल, नातावाद, गुटीय गठबन्धन, दलगत पूर्वाग्रह र आर्थिक गठबन्धनजस्ता कुटिल कूटनीतिक उपायहरू प्रयोग गर्न पछि पर्दैनन् । यस्तो अवस्थामा बनाइने नीतिहरू आमनागरिकका दीर्घकालीन आवश्यकताभन्दा विशिष्ट वर्गको तात्कालिक लाभका लागि केन्द्रित हुने सम्भावना बढ्छ । यसले शासन प्रक्रियामा अभिजात्यकरणको गहिरो प्रभाव पार्दछ, जसले सुशासनको मूलधारलाई नै संकटमा पार्न सक्छ ।
तेस्रो कारण ः राज्य प्रशासनको मेरुदण्ड मानिने नोकरशाही स्वयं नीतिगत अराजकताको एक प्रमुख स्रोतमा रूपान्तरित हुँदै गएको छ । प्रशासनिक संयन्त्रको मूल उद्देश्य नीति कार्यान्वयन, सेवा प्रवाह र शासन सञ्चालन हो, तर व्यवहारमा अत्यधिक नियम, अस्पष्ट प्रक्रिया र अनावश्यक बहुतहको स्वीकृति प्रणालीले निर्णय प्रक्रिया ढिलो, जटिल र निष्प्रभावी बनाइदिएको छ । नीति–निर्माणदेखि कार्यान्वयनसम्मका प्रत्येक चरण अनावश्यक औपचारिकता, लालफितासाही र प्रक्रियाकेन्द्रित सोचले ग्रस्त छन् । नियमहरूको अत्यधिक संख्यात्मक बोझ, बहुअर्थी कानुनी भाषा, अस्पष्ट कार्यविधि र आपसी विरोधाभासपूर्ण व्यवस्थाहरूका कारण प्रशासनिक संयन्त्र एक प्रकारको नियमनात्मक भूलभुलैयामा फसिरहेको देखिन्छ ।
यस्तो प्रणालीमा निर्णयहरू उच्च तहमा सीमित रहन्छन्, जनताको आवाज न त सुन्ने प्रयास गरिन्छ, न त्यसलाई निर्णयमा प्रतिविम्बित गरिन्छ । परिणामतः नागरिकका लागि सरकार दृश्यमा त उपस्थित हुन्छ तर प्रभावमा अनुपस्थित । अधिकांश नीति कागजमा जन्मिएर कागजमै मृत्युवरण गर्छन् । यस्ता प्रशासनिक व्यावहारिकताको अभावका कारण शासन प्रणालीमा निर्जीवता र अविश्वासको माहोल सिर्जना हुन्छ ।
यसै कारण भनिन्छ, राज्य सञ्चालन केवल प्रशासनिक प्रक्रिया होइन, एक जटिल राजकीय कौशलता (स्टेटक्राफ्ट) हो, जहाँ नीति र नैतिकता, प्रयोग र परिणाम, तर्क र त्यागबीचको संवेदनशील सन्तुलन आवश्यक हुन्छ । यही सन्तुलन नै सुशासनको आत्मा हो । यस कारण राजकाजमा सैद्धान्तिक शुद्धता मात्र पर्याप्त हुँदैन, व्यावहारिक यथार्थबोध र प्रासंगिक संवेदनशीलताको संयोजन अनिवार्य हुन्छ ।
नीति–निर्माण त्यतिबेला मात्र जनहितको संवाहक बन्छ, जब त्यो सैद्धान्तिक स्पष्टता, नैतिक दिशाबोध र कार्यान्वयन सक्षम व्यावहारिकताको समुचित समन्वयमा आधारित हुन्छ । अतः राज्यको जाँतो सन्तुलित, न्यायोचित र जनउत्तरदायी रूपमा घुमाउन मूलतः चार आधारभूत तत्त्वहरूको सशक्त संगम आवश्यक हुन्छ– दृढ राजनीतिक इच्छाशक्ति, कार्यान्वयनयोग्य नीति, जनमुखी शासकीय संयन्त्र र दूरदर्शी, सेवामुखी एवं नैतिक नेतृत्व ।
प्रथमतः, राजकीय सुधारको मूल कुञ्जी नै दृढ राजनीतिक इच्छाशक्ति हो । यही इच्छाशक्तिका आधारमा मात्र समावेशी, सहभागितामूलक, उत्तरदायी, विकेन्द्रित र न्यायपरक शासन प्रणालीको मूर्त रूपान्तरण सम्भव हुन्छ । कुशल राज्य सञ्चालनको सम्पूर्ण प्रक्रियामा राजनीतिक प्रज्ञा (विजडम) र राजनीतिक विवेक (प्रुडेन्स) को सशक्त प्रयोग अनिवार्य हुन्छ । सुशासनको सुदृढीकरणका निम्ति सशक्त संकल्प शक्ति, गहिरो उत्तरदायित्व बोध र सामूहिक विवेकको पुनर्जागरण गर्न सक्ने दृढ राजनीतिक इच्छाशक्ति अपरिहार्य छ ।
दोस्रो, कुशल राज्य सञ्चालनका लागि कार्यान्वयनयोग्य, न्यायोन्मुख र परिवर्तनमुखी नीति–निर्माण अनिवार्य हुन्छ । नीति–निर्माण प्रक्रिया जनअपेक्षाको सूक्ष्म संवेदना र बहुआयामी अन्तरसम्बन्धहरूलाई सम्बोधन गर्न सक्ने व्यावहारिक, लोकहितैषी र रणनीतिमूलक हुन आवश्यक हुन्छ । नीति–निर्माणको प्रारम्भिक चरणमै सानो स्तरको परीक्षण, परिणामहरूको सम्यक् मूल्यांकन, जनसहभागिता र विषयगत विशेषज्ञताको प्रयोगजस्ता अभ्यासहरूले नीति समावेशी हुन्छ ।
तेस्रो, प्रभावकारी, क्रियाशील र जनमुखी शासकीय संयन्त्रको निर्माणबिना राज्य सञ्चालन उत्तरदायी र नागरिकमैत्री बनाउन सकिँदैन । शासन प्रणालीको मूल सार नीति निर्माण मात्र होइन, त्यसको समयोचित, गुणस्तरीय र न्यायोचित कार्यान्वयनमा निहित हुन्छ । जब शासकीय संरचनाहरू संस्थागत र परिणाममुखी हुन्छन्, तब मात्र राज्यका नीतिहरू व्यवहारमा अवतरण हुन्छन् र शासनप्रतिको जनविश्वास विस्तार हुन्छ । जहाँ शासकीय संयन्त्रहरू असंगठित र असमावेशी हुन्छन्, तब सुशासनका आदर्शहरू केवल नारा मात्र बन्छन् ।
चौथो, राज्य शक्तिको सर्वोच्च तहमा रहेका नेतृत्वकर्ताले ‘सेवाही परमो धर्मः’ भन्ने धर्म वाक्यलाई राजधर्मको आदर्श सिद्धान्तका रूपमा अंगीकार गर्न आवश्यक छ । राजकाजको बागडोर सम्हाल्ने नेतृत्वले राजकीय कौशलताका समग्र आयामहरू जस्तै, समयानुकूल निर्णय क्षमता, रणनीतिक धैर्य, संवेदनशील संवाद र विवेकपूर्ण हस्तक्षेपलाई आफ्ना आचरण र अभ्यासमा अवलम्बन गर्नुपर्दछ । नेतृत्वमा यो चेत, चिन्तन र चारित्रिक शुद्धता नआएसम्म शासकीय रूपान्तरण केवल दस्ताबेजमा सीमित रहन्छ ।
हाम्रो राज्यतन्त्रको मूल संकट भनेको कुशासनबाट उत्पन्न अराजकता (केओस अफ मिसगभर्नेन्स) लाई चिर्न सक्ने साहसयुक्त, शासन प्रणालीमा स्थायित्व ल्याउन प्रतिबद्ध र लोकतान्त्रिक सुशासनको आधारभूत मूल्यहरूमा गहिरो आस्था राख्ने दूरदर्शी नेतृत्वको अभाव हो । यस्तो नेतृत्व आकस्मिक रूपमा जन्मिने होइन, यो त चेतना, अभ्यास र उत्तरदायित्वको दीर्घकालीन प्रशिक्षणको साधनाबाट विकास गर्नुपर्ने पवित्र प्रक्रिया हो । वर्तमानमा यस्तो नेतृत्व न पर्याप्त रूपमा जन्मिएको छ, न त संस्थागत रूपले निर्माण गरिएको छ । यही कारणले गर्दा यो प्रश्न आज पनि अनुत्तरित छ, के हामी सुशासनयुक्त राज्य सञ्चालनको यथार्थ मार्गतर्फ अग्रसर छौं त ?
