इला शर्मा : कुपण्डोलको आँगनमा अस्ताएको इतिहास

इलाले आफ्नो पास्नीमा आमा कृष्णकुमारीको हातबाट सुनको बाला वा चाँदीको कल्ली होइन, नेपाली वीर नारीका बारेमा लेखिएको उपन्यास ‘भृकुटी’को कपीराइट उपहार पाएकी थिइन् ।

असार ३२, २०८२

अलका आत्रेय चूडाल

Ila Sharma: The history of Kupandol's courtyard

२९ असार २०८२ । कुपण्डोलको गुरुद्वाराअगाडिको घरको चोकमा परालको गुन्द्रीमा एउटा हँसिलो र उज्यालो अनुहार शान्त भावमा कहिल्यै नउठ्ने गरी शवासनमा ध्यानमग्न थियो । त्यस पार्थिव शरीर राखेको केही पर उनको प्रिय बिरालोको पनि समाधि थियो । अरूले हेर्दा त त्यो अनुहार अहिल्यै उठेर बोलिहाल्छ कि जस्तो लाग्थ्यो । त्यो प्रदीप्त अनुहारको ज्योतिले त्यहाँ आएका र आउन नपाएका धेरै जनाको हृदय छोएको थियो । धेरैले त्यो उदार हृदयको माया पाएका थिए । त्यसैले त पहेँलो रामनामी र अनेकन खादा र माला ओढेको त्यस प्रदीप्त पार्थिव शरीरप्रति नतमस्तक हुन धेरै क्षेत्रका र धेरै किसिमका मानिस आएका थिए ।

पेसाकर्मी मात्र होइन, त्यहाँ वरिपरिका पान पसले, तरकारी पसले, मिठाई पसले र उनले माया गरेका कुकुर–बिराला, पशु, त्यस आँगनमा पानी पिउन र चारो खान आउने चराचुरुङ्गी सबै स्तब्ध थिए । धेरैका आँखा रसाए र अनगिन्ती मन रोए । त्यस स्थानले र त्यो आँगनले यसअघि पनि धेरै जनालाई अन्तिम बिदाइ गरिसकेको थियो, तर यो बिदाइ एउटा विशेष बिदाइ थियो । अनेक व्यक्तित्वकी धनी, आफ्नो मधुर बोली, हँसिलो अनुहार र मायाले सबैको मन जित्न सकेकी नेपालकी एउटी सुयोग्य चेली इला शर्माको भावपूर्ण र अश्रुपूर्ण बिदाइ थियो त्यो । 

इला शर्माको परिचय पूर्वनिर्वाचन आयुक्त, पत्रकार, अधिवक्ता, विदेशी विश्वविद्यालयमा कौटिल्यको अर्थशास्त्र र मनुको मानवधर्मशास्त्रको प्राध्यापन र अनुसन्धान गर्ने प्राध्यापक वा अन्य कुनै पद वा पदवी जोडेर पूरा हुन्न । उनको जीवन एउटा सिंगो इतिहास हो र उनको अवसान एउटा इतिहासको अवसान हो । उनको शारीरिक अवसानसँगै नेपालको धेरै अलिखित इतिहासको पनि अवसान भएको छ, जसलाई लिपिबद्ध गर्न हामीले भ्याइसकेका थिएनौं ।

२००२ सालमा पद्मशमशेर राणाले सत्ता ग्रहण गरेपछि भारदारलाई सम्बोधन गर्दै कन्या स्कुल पनि खोलिने अश्वासन दिएका थिए । तर नेपालका प्रधानमन्त्रीले यसो भन्दै गर्दा छिमेकी देश भारतमा महिला शिक्षाको जग बलियो भइसकेको थियो । अवश्य पनि छिमेकी मुलुकको शैक्षिक विकासलाई र नेपालीमा पनि अब नारी शिक्षाको चेतना आइसकेको कुरालाई राम्ररी बुझेको कुनै व्यक्तिले पद्मशमशेरको त्यो भाषण लेखिदिएको हुनुपर्छ । राजा राममोहन राय र ईश्वरचन्द्र विद्यासागरजस्ता सशक्त पुनर्जागरणकर्ताले नारी शिक्षाका लागि भारतमा पहलकदमी गरिसकेका थिए तर पनि त्यो देशभरि सशक्त भइसकेको थिएन । 

एनी बेसेन्टले सन् १९०४ मा भारतीय चेलीको अध्ययनका बारेमा एउटा पम्प्लेट निकालेपछि मात्र काशीमा औपचारिक रूपमा नारी शिक्षाको दरिलो पाइला चालिएको मानिन्छ । त्यसै दरिलो पाइलाको प्रभाव नेपाली समाजमा पनि अप्रत्यक्ष रूपमा परेको अर्को यथार्थ हो । एनी बेसेन्टको शिक्षाको परिकल्पना ‘परिष्कृत घरेलु शिक्षा’ खालको थियो । हिन्दु नारीलाई हिन्दु संस्कार अनुसारकी असल पत्नी र आमा बनाउनु उनको नारी शिक्षाको परिकल्पना थियो । यसै परिकल्पनामा आधारित भएर नारीका लागि विद्यालय खुल्यो । उनको पनि सक्रियतामा पछि काशी हिन्दु विश्वविद्यालयको स्थापना भयो अनि धमाधम धेरै कन्या पाठशाला र गुरुकुल खुले । काशी हिन्दु विश्वविद्यालयमा नै महिला महाविद्यालयको पनि स्थापना भयो, जहाँ धेरै नेपाली चेलीले शिक्षा पाए । 

नेपालमा पद्मशमशेरले नारी शिक्षाको सम्भावनामा सोच–विचार गरिरहँदा देश–निकाला र अन्य विविध कारणले भारतमा निर्वासित पुरुषको साथ लागेर सेवा वा अन्य प्रयोजनका लागि त्यहाँ पुगेका सेविका, पत्नी वा परिवारका नारी सदस्य पनि त्यहाँ भइरहेको नारी शिक्षाको पहलबाट जानेर वा नजानेर लाभान्वित भए । आर्यसमाजको स्थापना गरेबापत देश–निकाला भएका माधवराज जोशीकी छोरी चन्द्रकान्ता मल्ल पनि बाबुसँगै भारत पुगेर उतै पढ्न पाइन् । उनले त्यहाँ शिक्षाको महत्त्व बुझेकी हुँदा १९९० सालमा जुद्धकै पालामा अनुमति लिएर काठमाडौंको मखनमा सानो कन्या पाठशाला खोल्ने जमर्को गरेकी थिइन् । 

वि.सं. १९९० को दशकमा कृष्णकुमारी ठकुरी पनि पिताको साथमा भारतको काशी पुगिन् । ठकुरी परिवारमा जन्मिएकी उनी विद्यालय नगएकी तर शिक्षित महिला थिइन् । त्यस समय काशीमा प्रकाशनको रौनक थियो । नेपाली प्रकाशनहरू धमाधम खुल्दै थिए । त्यसै समयमा बाबु माधवप्रसाद शर्माको प्रकाशन पनि स्थापित भइसकेको थियो । उनको आर्थिक अवस्था पनि सुदृढ थियो । अविवाहित सफल व्यवसायी नेपाली ब्राह्मण कुमार बाबु माधवप्रसाद शर्मासँग कृष्णकुमारीको विवाह भयो । उनका दुई सन्तति (इला शर्मा र सागर शर्मा) काखमै हुँदा बाबु माधवप्रसाद शर्माले काशीको नेपाली मोहल्लामा कृष्णकुमारीलाई सदाका लागि एक्लै छोडेर गए । 

हिम्मतिली नेपाली चेली कृष्णकुमारीले छोराछोरीको शिक्षादीक्षाका साथै पतिले स्थापना गरेको प्रकाशन व्यवसायलाई निरन्तरता दिइन् । आफैं कृतिहरू पनि लेखिन् र लेख्न लगाइन् । त्यतिमात्र होइन, उनको घर र थैली नेपालमा प्रजातान्त्रिक आन्दोलनमा लागेका योद्धाहरूका लागि सदैव उदार थियो । यस्तो परिवेश र परिस्थितिमा काशीमा इला शर्मा हुर्किइन् । उनी त्यस इतिहासकी साक्षी थिइन् । 

Ila Sharma: The history of Kupandol's courtyardआमा कृष्णकुमारीसँग बालिका इला

कृष्णकुमारीले छोरी इला शर्मालाई शिक्षाको केन्द्र काशीमा उपलब्ध सबै प्रकारको शिक्षा दिने प्रयास गरिन् । कृष्णकुमारीले छोरी इलालाई संस्कृत व्याकरण र साहित्य पढाएर शास्त्रीको परीक्षा दिन लगाइन् । साथसाथै अंग्र्रेजी शिक्षाको अपरिहार्यता पनि उनले बुझेकी थिइन् । अनि विज्ञान पनि पढ्नुपर्छ भनी पढाइन् । घरेलु शिक्षा पनि चाहिन्छ भनेर गृहविज्ञान पढाइन् । कानुनी अध्ययनको महत्त्व त झन् त्यो समयमा उच्च थियो । उनले छोरीलाई कानुन पनि पढाइन् । काशीमा भएका दुवै प्रख्यात विश्वविद्यालय सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दु विश्वविद्यालयमा उनले छोरीलाई पढाइन् । 

किशोर वय पार गरिनसक्दै इला शर्माले संस्कृत र अंग्रेजी दुवै प्रकारको शिक्षा हासिल गरिसकेकी थिइन् । इला शर्माको शिक्षा त्यस समयका मानिसले मात्र होइन, आजको पुस्ताले समेत कल्पना गर्ने र लोभिने खालको उत्तम शिक्षा थियो । आमाको सपनाले जता–जता जे जस्तो चुनौती अगाडि तेर्स्याइदियो, आज्ञाकारी छोरी इलाले पनि खुरुखुरु त्यो सबैलाई स्वीकार गर्दै गइन् । कृष्णकुमारी त्यो बेलाकी त्यस्ती सचेत आमा हुन्, जसले छोरी इलाको पास्नीमा सुनको बाला वा चाँदीको कल्ली होइन, नेपाली वीर नारीका बारेमा लेखिएको उपन्यास ‘भृकुटी’को कपीराइट उपहार दिएकी थिइन् । 

धर्म र दर्शन बुझेकी तर धर्मान्धता नभएकी, वक्तृत्वकलामा अब्बल, सहृदयी, दयालु, मृदुभाषी अनि सौन्दर्यकी उपमा सुयोग्य छोरीलाई कृष्णकुमारीले नेपालको सेवामा काठमाडौं पठाइन् । नेपाल उनका लागि कर्मथलोभन्दा पनि एक प्रकारको रणमैदान भयो, पारिवारिक जीवनमा होस् वा जागिरे जीवनमा । उनी नेपाल फर्केको समय सजिलो थिएन । भर्खर प्रजातन्त्र पुनःस्थापना भएको थियो । नारीहरू घरबाट कम बाहिर निस्कन्थे । घरबाहिर निस्किएका नारीलाई पनि सहज थिएन ।

इला शर्माको अवसान एउटा युगको अवसान हो, एउटा ज्युँदो इतिहासको अवसान हो र नेपालकी सुयोग्य पुत्रीको अवसान हो । इला शर्मा जस्ता छोरीहरू र कृष्णकुमारी जस्ता आमाहरू यस धर्तीमा विरलै जन्मिएका छन् । तर मलाई आज सोध्न मन लागेको छ, ‘कृष्णकुमारीले नेपालको सेवामा पठाएकी सुयोग्य छोरीलाई नेपालले न्याय गर्न सक्यो ?’, ‘के हामीले त्यस ज्ञानको भरपूर उपयोग गर्न सक्यौं ?’, कतै कुपण्डोलको त्यस आँगनबाट हाम्रो इतिहासको एउटा पाना त सदाका लागि बिदा भएन ?’

अलका

Link copied successfully