महिनावारी भएका बेला छाउगोठमा बस्दा मृत्यु भएकाको सूचीमा एक महिला थपिएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी ३२ वर्षीया कमला आउजी दमाईको शुक्रबार राति छाउगोठमा सर्पले डस्दा शनिबार साँझ मृत्यु भएको हो ।
यस प्रकृतिको घटना नयाँ भने होइन । २०६३ यता छाउगोठका घटनामा अछाममा १४ महिला तथा किशोरी, डोटीमा २, बाजुरामा ३ र हालै कञ्चनपुरमा १ गरी सुदूरपश्चिममा २० जनाको मृत्यु भएको अनौपचारिक तथ्यांक छ । विशेषतः कर्णाली र सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथाले किशोरी तथा महिलालाई मृत्यु, हिंसा तथा असुरक्षातर्फ धकेलिरहेको छ । तर यस प्रथा उन्मूलनका लागि गरिएका पहल सार्थक हुन सकेका छैनन् । त्यसैले अझै ठोस, व्यावहारिक र दीर्घकालीन नीतिहरू अवलम्बन गरिन आवश्यक छ ।
कर्णाली र सुदूरपश्चिममा धेरै ठाउँका महिलाहरू महिनावारी भएका बेलामा आफ्नै वा आफन्त/छिमेकीका छाउगोठमा बस्न जान्छन् । मुख्यतः महिनावारीका बेलामा छाउगोठमा नबसे देउता रिसाउँछन् भन्ने अन्धविश्वास व्याप्त छ । कतिपय व्यक्तिको शारीरिक समस्यालाई समेत छाउप्रथासँग जोडेर बुझ्ने गरिएको हुन्छ । जसले गर्दा किशोरी तथा महिलाले घरभन्दा टाढा अव्यवस्थित र साँघुरो छाउगोठमा असुरक्षित महसुस गरेरै रात बिताउन बाध्य छन् ।
छाउगोठमा बसेका बेला जंगली जनावरको आक्रमण, सर्पले टोकेर, पहिरो खसेर, जाडो सहन नसकेर, धूवाँले निसासिएर मृत्यु हुने गरेको छ । त्यस्तै बलात्कृतसमेत हुने गरेका छन् । छाउगोठमै सर्पले डसेर कमला आउजी दमाईको मृत्यु भएको घटना पछिल्लो सन्दर्भ मात्र हो । चार वर्षअघि अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । २ असार २०८१ मा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक १५ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । २०८१ माघ १३ राति कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० वर्षीया सरस्वती विकलाई छाउगोठमा सुतिरहेकै बेलामा चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।
छाउगोठका लागि कैयौं गाउँमा एक घर, एक छाउगोठ बनाइएको हुन्छ । दैनिक प्रयोगमा नआउने भएकाले त्यसको नियमित मर्मत सम्भार हुँदैन । सर्प वा अन्य विषालु जीवको आगमनबारे आकलन पनि हुँदैन । सुरक्षाका अन्य उपाय पनि अपनाइएको पाइँदैन । त्यसैले त्यहाँ बस्न जाने गरेका किशोरी तथा महिलाहरू जोखिममा पर्ने गर्छन् । तर छाउगोठलाई सुरक्षित बनाएर वा नियमित मर्मत सम्भार गरेर समस्या समाधान हुने होइन । किनकि, महिनावारीलाई महिलाको शरीरमा हुने स्वाभाविक शारीरिक चक्रका रूपमा नलिएर पाप वा अस्वाभाविक अवस्थाका रूपमा बुझ्ने र छाउगोठमा पुग्न बाध्य बनाउने चेतना रहुन्जेल महिलाले मृत्यु वा हिंसा भोग्न छाउगोठसम्म पुग्नै पर्दैन, यत्रतत्र हुनेछ । घटना छाउगोठमा घटे पनि त्यो अन्धविश्वासी मानसिकताको उपज हो । त्यसैले छाउगोठमा पुग्ने वा पुर्याउने चेतनाकै सुरुमा मर्मत सम्भार आवश्यक छ ।
छाउपडी प्रथा अन्त्यका लागि दुई किसिमको प्रयत्न आवश्यक छ । पहिलो, बाध्यात्मक । स्थानीय प्रशासन, पालिका तथा वडा, स्थानीय संघसंस्थाको पहलकदमीमा छाउगोठ भत्काउने अभियान चलाउन सकिन्छ । छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेहरूलाई कानुनी कारबाही गर्न सकिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (३) मा महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भनिएको छ । उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ । कारबाहीका लागि उपलब्ध कानुनी आधारको उपयोग गर्न सकिन्छ । छाउगोठमा बस्न बाध्य पार्नेहरू सामान्यतयाः परिवारकै सदस्य, आफन्त वा छिमेकी हुने भएकाले उजुरी पर्ने वा कानुनी कारबाही चाहने किशोरी वा महिला कमै हुन्छन् । त्यसैले प्रहरीले स्वयं वा वैकल्पिक उपायबाट जानकारीमा लिएर घटनाबारे अनुसन्धान र अभियोजन गर्नुपर्छ ।
प्रशासनिक उपायले मात्रै छाउपडी प्रथा पूर्णरूपमा निर्मूल हुँदैन । किनकि, केही वर्षको अन्तरालमा विभिन्न निकायले छाउगोठ भत्काउने अभियान चलाए पनि लगत्तै बनाउने क्रम पनि चल्ने गरेको छ । दिमागमा बलियोसँग बनेको छाउगोठ जमिनमा बन्न समय नै लाग्दैन । छाउगोठ बनाउन नपाए गाई, भैंसी वा बाख्राको गोठदेखि ओडारसम्ममा बस्ने वा बस्न बाध्य बनाइन्छ । त्यसैले प्रशासनिक उपायले दीर्घकालीन समाधान नदिने निश्चित छ । ती उपायसँगसँगै चेतनामूलक कामलाई पनि प्राथमिकता दिनुपर्छ । छाउगोठमा नबसेका वा विशेषगरी महिनावारीलाई सामान्य शारीरिक चक्रका रूपमा लिएका चेतनशील र सेलिब्रिटी महिलालाई अनुभव र चेतना प्रवाहका लागि प्रयोग गर्न सकिन्छ । त्यस्ता धारणासहितका भिडियो सामाजिक सञ्जालमा राख्न प्रोत्साहित गरियो भने अरूलाई सन्देश पुग्छ । अरू पनि उत्प्रेरित हुन्छन् । सामान्य रूपमा लिने प्रचलनको विस्तार हुन्छ । साथै, जो किशोरी वा महिलाले छाउपडी प्रथाविरुद्ध उभिने साहस गरेका छन्, उनीहरूको मनोबल बढाउने कार्यक्रम पनि आवश्यक छ । उनीहरूको चेतनालाई थप तिखार्न, आफूमाथि उठ्ने प्रश्नको जवाफ दिन सक्ने बनाइयो भने परिवर्तन सम्भव छ । त्यस्तै, राजनीतिक नेतृत्व र स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्छ । तुलनात्मक रूपमा प्रगतिशील धारणा राख्ने स्थानीय धार्मिक अगुवाहरूलाई पनि प्रयोग गर्न सकिन्छ । एक तरिका, एक स्थान, एक पटकको प्रयासले अन्धविश्वासमा आधारित कुनै पनि प्रथा तोडिँदैन । निश्चित व्यक्ति वा संस्थाको प्रयासले पनि हुँदैन । यो सामूहिक र निरन्तरको अभियान बन्नुपर्छ ।
