सडक सुरक्षा र स्थानीय प्रशासन

सबै विपद्को करिब ६० प्रतिशत विपद् मनसुनजन्य हुने गरेको सन्दर्भलाई मध्यनजर गर्दै मनसुनका समयमा यात्रामा निस्कनुपूर्व जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान तथा आफू भ्रमण गर्नुपर्ने क्षेत्रको सडकको अवस्थाका बारेमा पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्नु श्रेयस्कर हुन्छ ।

असार २६, २०८२

रामकृष्ण अधिकारी

Road safety and local administration

सडक सुरक्षा आधुनिक समाजमा सर्वाधिक चासोको विषय बनेको छ । विकास प्रकृतिको नियम र मानवीय स्वभाव पनि हो ।

विकास भन्नाले सकारात्मक परिवर्तन र सुधारलाई बुझिन्छ । विकासका विभिन्न आयाममध्ये पूर्वाधार विकास महत्त्वपूर्ण छ । यसका लागि सडक पूर्वाधार प्रमुख क्षेत्र हो । जसले अन्य सबै पक्षको विकासमा निर्णायक भूमिका निर्वाह गर्छ । 

नेपालमा सडक निर्माण कार्य विसं. १९८० मा राणा शासनकालमा काठमाडौंबाट सुरु भएको मानिन्छ । काठमाडौंबाहिरको पहिलो सडक ४२ किमि अमलेखगन्ज–भीमफेदी सडक हो । सडक विभागको तथ्यांकमा हाल सबै प्रकारका गरी राष्ट्रिय राजमार्गको पहिचान भएका सडकको लम्बाइ १४ हजार ९ सय १३ किलोमिटर पुगेको छ । यसका अतिरिक्त सहरी तथा ग्रामीण सडक पनि उत्तिकै विस्तार भएका छन् । यी सडकमा हर समय लाखौं मानिस यात्रा गरिरहेका हुन्छन् । नेपाल प्रहरीको विगत १० वर्षको तथ्यांक हेर्ने हो भने, हरेक दिन औसतमा ७ जनाको सवारी दुर्घटनामा मृत्यु भइरहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ३ सय ६९ जनाको मृत्यु भएको थियो । गएको १० वर्षमा सवारी दुर्घटनामा परी ५० हजारभन्दा बढी त गम्भीर घाइते भएका छन् ।

अध्ययनहरूका अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेमा ७७ प्रतिशत हाराहारी वयस्क उमेर समूहका पुरुष छन् । साथै औषधि, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीको मेरुदण्ड पनि हाम्रो सन्दर्भमा सडक सञ्जाल नै हो । यस प्रकार लाखौंको संख्याका सडक यात्रीको सुरक्षा र आपूर्ति व्यवस्था सुचारु राख्नु राज्यका सबै संयन्त्रको दायित्व हो र स्थानीय प्रशासनको हकमा त राजमार्ग सुरक्षा अनिवार्य प्राथमिक दायित्व हो । राजमार्ग सुरक्षाका विविध पक्षमा स्थानीय प्रशासनले सीमित तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

सडक सुरक्षा सडक निर्माणको परिकल्पनाबाट सुरु भएर यसको डिजाइन, निर्माणको गुणस्तर, नियमित मर्मतसम्भार, ट्राफिक संकेत, सवारीसाधनको अवस्था, चालक र यात्रु (सवारी तथा पैदल) को सडक अनुशासन तथा सीप तथा नियमनकारी निकायको प्रभावकारितालगायतका अनेकन पक्षको साझा विषय हो । सुरक्षित सडकका लागि सामान्यतः पूर्वाधार, सचेतना र नियमनलाई महत्त्वपूर्ण मानिन्छ । 

पूर्वाधारमा सडकको डिजाइन चरणदेखि निर्माण, नियमित मर्मतसम्भार, ट्राफिक सुरक्षा तथा संकेतजन्य चिह्नसमेत यसमा समेटिन्छ । सडक निर्माण स्थलको भौगोलिक अवस्थिति, मौसम तथा पर्यावरणीय अवस्थालगायतका पक्षमा ध्यान दिँदै सुरक्षित सडकको डिजाइन गरी दीर्घकालीन आवश्यकता र सडकको दिगोपनाजस्ता विषय समेटिनु आवश्यक छ । निर्माण चरणमा निर्धारित गुणस्तर, लागत तथा समयमै सम्पन्न गर्दै ती सडकमा आधुनिक प्रविधि र उपकरणसमेत उपयोग गरी सडक सुरक्षा एवं ट्राफिक संकेत र नियमन प्रणाली अवलम्बन गरिनुपर्छ । यसपश्चात् सडकमा गुड्ने सवारीसाधनको नियमित मर्मतसम्भार एवं पुराना सवारीसाधनको नियमन गरी आधुनिक प्रविधियुक्त गुणस्तरीय यातायात साधनको प्रबन्ध गरी सडक सुरक्षा प्रत्याभूत गरिनुपर्छ । 

सवारी चालक, यात्रु र नियमनका लागि जिम्मेवार ट्राफिक प्रहरी सडक सुरक्षाका लागि प्रमुख रूपमा जिम्मेवार निकाय हुन् । सवारी चालक तथा यात्रुले सडकका नियमको पूर्ण पालना गरी सुरक्षित वातावरण निर्माण गर्न सक्छन् ।

नियमन दोस्रो चरणको क्रियाकलाप हो र यसमा स्थानीय प्रशासनको महत्त्वपूर्ण भूमिका रहन्छ । सडक सुरक्षासँग सम्बन्धित पूर्वाधार निर्माण तथा मर्मतलगायतका कार्य निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न गर्न गराउन प्रभावकारी अनुगमन, नियमन, समन्वय र सहजीकरणकर्ताको भूमिका स्थानीय प्रशासनले निर्वाह गर्नुपर्छ । यसका अतिरिक्त सडक सुरक्षासँग सम्बद्ध निकायबीच समन्वय एवं सहजीकरणमा उचित ध्यान दिँदा सम्भावित जोखिम न्यूनीकरण हुन पुग्दछ । 

सडक पूर्वाधार निर्माण, मर्मतसम्भार तथा सोको संरक्षणमा धेरै निकायको सहकार्य आवश्यक हुने र ती निकायको बीचमा सहयोग, समन्वय र सहजीकरणका लागि स्थानीय प्रशासनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । उपरोक्त कार्यलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पादन गर्न एवं मनसुनको समयमा हुन सक्ने राजमार्ग अवरोधलाई समयमै हटाई सडक सुरक्षाका लागि स्थानीय प्रशासनले राजमार्ग तथा सडक अवरोध हटाउने कार्ययोजना तयार गरी कार्यान्वयन गर्नु/गराउनु आवश्यक छ । 

प्रत्येक जिल्लामा स्थानीय प्रशासनले सरोकारवाला निकायसँगको समन्वयमा आफ्नो जिल्लाभित्रको सडक अवरोध हटाउने कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्नु जरुरी छ । सडक अवरोध हुन नदिनु स्थानीय प्रशासनको नियमित कार्य भए पनि मनसुन सिजनमा वर्षालगायतका कारण हुने बाढीपहिरोलगायत घटनाबाट हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरी सडक सुरक्षित र नियमित गर्न गराउन समयमै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने तथा यस्ता घटना हुँदा सम्बन्धित निकाय तत्काल परिचालन गरी सम्भावित सडक अवरोध हटाई राजमार्ग सुचारु राख्नु कार्ययोजनाको प्रमुख उद्देश्य हो । 

समग्र सडक सुरक्षाका लागि सम्बन्धित निकायको क्रियाशिलतासँगै सवारी चालक र यात्रु सचेतनाको महत्त्वपूर्ण भूमिका रहन्छ । सडक नियम तथा अनुशासन पालनाबिना सडक सुरक्षा कल्पना पनि गर्न सकिँदैन । यसका लागि सवारीधनी तथा सवारी चालकले आवधिक चेकजाँच तथा मर्मतसम्भार गरी आफ्नो सवारीसाधन चुस्तदुरुस्त राख्ने, सवारी चालक तथा सहचालक कुनै पनि प्रकारका लागूपदार्थको सेवनजस्ता कुलतमा नफस्ने, फस्न नदिने तथा सुरक्षित यात्राका लागि सचेत रहने कार्य उत्तिकै महत्त्वपूर्ण छ । 

हाल देशमा मनसुन सिजन सुरु भएको छ । सबै विपद्को करिब ६० प्रतिशत विपद् मनसुनजन्य हुने गरेको सन्दर्भलाई मध्यनजर गर्दै मनसुनका समयमा यात्रामा निस्कनुपूर्व जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान तथा आफू भ्रमण गर्नुपर्ने क्षेत्रको सडकको अवस्थाका बारेमा पूर्ण जानकारी लिएर मात्रै यात्रा गर्नु श्रेयस्कर हुन्छ । जोखिमयुक्त समयमा अति आवश्यक नपरी यात्रा नगर्ने, यात्रामा निस्कनैपर्ने अवस्थामा सकेसम्म दिनको उज्यालोमा यात्रा गर्ने गर्नुपर्छ । 

समयमै सुरक्षित स्थानमा पुग्ने र कुनै प्रकारको जोखिममा परेको अवस्थामा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह, स्थानीय प्रशासन तथा आफ्नो परिवार तथा आफन्तलाई खबर गरी सहयोगका लागि अनुरोध गर्नेलगायतका सुरक्षा सावधानीका उपाय अवलम्बन गर्नु अपरिहार्य छ । सचेतना, सक्रियता र समन्वयमार्फत यस मनसुन सिजनमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्दै सुरक्षित सडक र सुरक्षित यात्रा सुनिश्चितताका लागि सबै पक्षको एकताबद्ध प्रयास नै हाम्रो निर्विकल्प आश्यकता हो । 

अधिकारी तनहुँका प्रमुख जिल्ला अधिकारी हुन् ।

रामकृष्ण

Link copied successfully