अन्यत्र तथा आफूवरपरका घटनाबाट पाठ सिकेर भए पनि सुरक्षित बसोबास र गतिशीलताका उपाय अवलम्बन गरिन आवश्यक छ ।
नियमित दैनिकीमा चलिरहेको रसुवागढीलाई मंगलबार बिहानै भोटेकोशीमा आएको बाढीले तहसनहस बनाएको छ । मुख्यतः रसुवागढी आसपासमा मानवीय र भौतिक क्षति भएको छ । ९ जनाको शव फेला परेको छ भने ६ जना चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाले मंगलबार त्रासमै बिताउनुपर्यो । बाढीको प्रवाह कम भए पनि मंगलबारअघिकै अवस्थामा पुग्न भने लामो समय लाग्नेछ । भोटेकोशीको बाढीले मात्रै होइन, हरेक विपत्तिले मानिसमा दुःख थपेर जान्छ । पूर्वयोजना र सपना बिथोलेर जान्छ । त्यसैले क्षति कम हुने गरी सुरक्षित बसोबासका लागि गम्भीरतापूर्वक पहल गरिन आवश्यक छ । भोटेकोशीको आकस्मिक बाढीले सिर्जना गरेको विध्वंसले दिने मूल शिक्षा यही हो ।
प्रकृतिमा आउने उथलपुथल र त्यसले सिर्जना गर्ने विध्वंसको कहिलेकाहीँ पूर्वानुमान गरिएको हुन्छ, कहिलेकाहीँ हुँदैन । पूर्वानुमानअनुसार सचेत हुँदा मानवीय तथा भौतिक क्षतिलाई पनि कम गर्न सकिन्छ । त्यस्ता सूचनालाई गम्भीरतापूर्वक लिएर सुरक्षित बस्नेहरू पनि छन् । कहिलेकाहीँ प्रविधिको पहुँच र मानिसको सावधानी पुग्दैन वा स्वयंले आकलन गरेभन्दा फरक अवस्था आइदिन सक्छ ।
मंगलबारको घटनाको पृष्ठभूमि पनि त्यही हो । यो बाढीले नेपाल–चीन सीमाको मितेरी पुल बगाएको छ । रसुवागढीसहित चार जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सुक्खा बन्दरगाहमा रहेका सामानसहित कन्टेनर गाडी, ट्रक तथा विद्युतीय सवारी साधन बगेका छन् । बाटो भत्किएका कारण आवागमन अवरुद्ध छ । बाढीको प्रभाव तल्लो भूभागमा पनि परेको छ । नुवाकोटमा बाढीमा फसेका दुई जनालाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्नुपरेको छ । निजी घर, होटल, व्यवसाय, नदी किनाराका बालीनालीमा पनि ठूलो क्षति पुगेको आकलन गरिएको छ ।
गत असोजमा पनि भारी मात्रामा वर्षा हुने पूर्वानुमानसहित सावधानी अपनाउन पूर्वसूचना दिइएको थियो । तर पर्याप्त सावधानी अपनाउन नसक्दा जनधनको ठूलो क्षति भयो । कहिलेकाहीँ भने प्रक्षेपण र पूर्वानुमान नै नगरिएको विपत्ति निम्तिन्छ । रसुवागढी क्षेत्रमा अहिले निम्तिएको विपत्ति त्यस्तै हो । किनकि, नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवागढी–केरुङ नाका आसपास केही दिनयता भारी वर्षा भएको थिएन, बाढी/पहिरोको कुनै पूर्वसूचना पनि थिएन । त्यसैले अतिरिक्त सचेतना वा सुरक्षा अपनाउने बाध्यता पनि महसुस गरिएको थिएन । तर आकस्मिक बाढीले नदी आसपासका क्षेत्र खण्डहर बन्न पुगे ।
२०७८ असार १ गते राति मेलम्ची नदीमा आएको बाढी बस्तीमा पसेको थियो । जसले गर्दा मेलम्ची बजारलगायत नदी किनारमा रहेका बस्तीहरूमा मानवीय र भौतिक व्यापक क्षति पुगेको थियो । निजी घर, रिसोर्ट तथा होटल, पुल बाढीले बगाएको थियो । प्रहरी चौकी, स्वास्थ्य चौकी, बैंक, जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । बालुवाले पुरिएका घरखेतमा मानिस बस्न सक्ने र खेती गर्न सक्ने अवस्था बनेन ।
हिमताल फुट्नेदेखि भू–स्खलनसम्मका कारणले मेलम्चीमा बाढी आएको थियो । त्यस्तै, २०८१ साउन ३२ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रमा रहेका पाँचमध्ये दुईवटा हिमताल फुट्दा आएको लेदोसहितको बाढीले सोही गाउँपालिकाको थामे बस्तीलाई तहसनहस बनायो । घर, विद्यालय, क्लिनिक तथा होटलका भवनहरू र स्थानीय विद्युत् आयोजनाको विद्युत् गृहमा क्षति पुर्याएको थियो ।
२०६९ वैशाख २३ मा अन्नपूर्ण हिमशृंखलामा आएको हिमपहिरोपछि त्यहाँ पहिल्यैदेखि थुनिएको पानीले निकास पाएको थियो । परिणामतः घाम लागिरहेकै दिनमा पनि सेती नदीमा लेदोसहितको बाढी आएको थियो । सेती नदी किनारमा रहेको खारापानी बजार क्षेत्र तहसनहस भएको थियो ।
भोटेकोशीमा मंगलबार आएको आकस्मिक बाढीको ठोस कारण प्रस्ट भइसकेको छैन । तर हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो खस्ने, त्यसको असरले नदीमा ठूलो बाढी आउने र किनाराका बस्तीमा विध्वंस ल्याउने गरेका अनेकौं घटना छन् । आकस्मिक घटनाका कारण मानिसले सुरक्षित स्थानमा पुग्ने समयसमेत नपाउने गरेका छन् । पहाडमा बर्खायाममा बाढी र पहिरो सामान्य नै मानिन्छ । कहिलेकाहीँ बस्तीमै पहिरो खस्दा ठूलो क्षति निम्तिने गरेको छ ।
तराईमा बाढी तथा डुबानले विपत्ति निम्त्याउने गरेको छ । तर त्यसपछि पीडितको दैनिकीलाई सहजीकरण गर्ने गरी सरकारका कार्यक्रम प्रभावकारी नहुँदा वा प्राथमिकतामा नपर्दा वर्षौंवर्ष पुनःस्थापनासमेत हुन सकेको पाइँदैन । भूकम्प, बाढी, पहिरो, डुबानमा पर्नेहरूको साझा अनुभूति यस्तै पाइन्छ ।
अन्यत्र तथा आफूवरपरका घटनाबाट पाठ सिकेर भए पनि सुरक्षित बसोबास र गतिशीलताका उपाय अवलम्बन गरिन आवश्यक छ । किनकि, हामीले आफ्नो भूगोल र यहाँ हुने हलचल परिवर्तन गर्न नसके पनि आफ्नो जीवनलाई तुलनात्मक सुरक्षित बनाउन भने सक्छौं । त्यसका लागि व्यक्तिका प्रयत्न मात्रै पूर्ण नहुने भएकाले राज्यका नीति पनि जरुरी हुन्छ । तर हामीकहाँ व्यावहारिक नीति छैन ।
कमजोर र विपत्तिको सम्भावना रहेको भूगोलबाट मानिसलाई सुरक्षित स्थानान्तरण गराउन व्यवस्थित प्रयत्न नै गरिएको छैन । जनचेतना अभिवृद्धिमा मिहिनेत गरिएको पनि छैन । जसले गर्दा ठाउँठाउँमा अनपेक्षित क्षति हुने गरेको छ । क्षतिपछि पछुताउनुभन्दा क्षति कम गर्न पहिल्यै प्रभावकारी उपाय पहिल्याउन सरकार र नागरिक सबै सक्रिय बन्नुपर्छ ।
