बुद्धको प्रथम धर्मचक्र प्रवर्तनको सन्देश

विवेक, संयम एवं सन्तुलनमा आधारित जीवनशैलीको आधार नै बुद्ध शिक्षा हुन् । असार पूर्णिमाका दिन बौद्ध अनुयायी संसारभर आफ्ना जीवनमा बुद्धका यिनै विचार र शिक्षालाई सन्देशका रूपमा व्यवहारमा उतार्ने संकल्प गर्दै छन्

असार २५, २०८२

फणीन्द्रकुमार न्यौपाने

The Message of the Buddha's First Dharmachakra Enactment

पालि साहित्य महावंश र दीपवंशको कालक्रमीय विवरणअनुसार नेपालको लुम्बिनीमा इसापूर्व ६२३ को वैशाख पूर्णिमाका दिन राजकुमार बोधिसत्व सिद्धार्थको जन्म भएको थियो । सांसारिक लोकचक्रबाट वैराग्य उत्पन्न भई पूर्ण मुक्ति प्राप्त गर्न २९ वर्षको उमेरमा असार पूर्णिमाको दिन उहाँ सत्यको खोजीमा निस्कनुभएको हो ।

यस घटनालाई बोधिसत्व सिद्धार्थको महाभिनिष्क्रमण भनिन्छ । आध्यात्मिक यात्रामा उहाँले तत्कालीन समयका महान् तपस्वी आचार्य आलारकालाम र उद्धकरामपुत्रबाट क्रमशः सातौं र आठौं तहका ध्यानावस्था प्राप्त गर्नुभयो । तर ती ध्यानबाट पनि क्लेसको समूल नष्ट नभएपछि उहाँले अतिदुष्कर तपश्चर्याको मार्ग रोज्नुभयो । 

करिब ६ वर्षसम्मको कठोर शारीरिक तपश्चर्याबाट पनि अन्ततः क्लेस शमन नभएपछि बाल्यकालमा आफैंले अभ्यास गरेको आनापानसति अर्थात् श्वासप्रश्वासप्रतिको सजगताको पुनः स्मरण भई उक्त अभ्यासबाट गुज्रनुभयो । मध्यम मार्ग अवलम्बन गरी श्वासप्रश्वासप्रतिको सजगताको अभ्यास गर्दै जाँदा विपश्यना ध्यान जागृत भई वैशाख पूर्णिमाका दिन ३५ वर्षको उमेरमा वर्तमान भारतको बोधगयामा उहाँलाई पूर्ण विमुक्तिको अवस्था प्राप्त भयो, जसलाई बोधिसत्व सिद्धार्थको सम्यक सम्बोधि लाभ भनिन्छ । 

बोधिसत्व सिद्धार्थबाट सम्यक सम्बुद्ध बनेको सात हप्तासम्म बुद्धले आफूले सम्बोधि ज्ञान प्राप्त गरेको बोधिवृक्षमुनि विमुक्ति रसस्वादनमा बिताउनुभयो । आफूले कल्प–कल्पको कठोर बोधिसत्वचर्याबाट प्राप्त गरेको ज्ञान सांसारिक लोकचक्रमा डुबेका जनसाधारणलाई बुझाउन कठिन हुने ठानी सर्वप्रथम उहाँमा संसारबाट विमुख हुने मनोभाव उत्पन्न हुन्छन् । पुनः गम्भीर रूपमा विचार गर्दा बुद्धले आफ्नो सम्यक् बोधिबाट लाभ उठाई मानसिक विकारबाट मुक्त हुन सक्ने पुण्य सत्वलाई बोधिनेत्रबाट देख्नुभयो र तिनीहरूको मुक्तिका लागि उहाँमा अनन्त करुणा उत्पन्न भयो । सर्वप्रथम आफूलाई सातौं र आठौं उच्च तहको ध्यानसमापत्तिमा प्रवेश गराउने आचार्यप्रति कृतज्ञतास्वरूप विमुक्तिरस आस्वादन गराउने इच्छा उत्पन्न भयो । तथापि बोधिनेत्रबाट हेर्दा सातौं एवं एक दिन पहिले नै दुवै जनाको देहान्त भइसकेको बोध हुन्छ । अब बुद्धलाई आफूले ६ वर्षसम्म कठोर दुष्कर तपस्चर्या गर्दा अनवरत साथ दिने पाँच जना तपस्वी साथीको सम्झना आउँछ र उनीहरूबाटै आफ्नो विमुक्तिको मार्गको उपदेश गर्ने इच्छा हुन्छ । 

बोधिसत्व सिद्धार्थले महाभिनिष्क्रमण गर्दा उहाँसँगै ज्ञानको खोजीमा लाग्ने पाँच जना तपस्वी कोण्डन्य, अस्सजी, महानाम, वप्प र भद्दीय वर्तमान नेपालस्थित कपिलवस्तुकै ब्राह्मणहरू थिए । यिनीहरूलाई पञ्चवर्गीय भिक्षु भनेर चिनिन्छ । बोधिसत्व सिद्धार्थले दुष्करचर्या गर्दा ६ वर्षसम्म सँगै बसेका यिनीहरू उहाँले दुष्करचर्या छोड्नेबित्तिकै पथभ्रष्ट भएको भन्ने भ्रममा परी उहाँलाई छोडेर बनारस गएका थिए । बोधगयामा ज्ञान प्राप्त गरेपछि बुद्धले असार पूर्णिमाका दिन बनारसको मृगदावनमा यिनै पञ्चवर्गीय भिक्षुलाई पहिलो पटक जीवन र जगत्को शाश्वत ज्ञान दिनुभयो । यस घटनालाई धर्मको पहिलो चक्र घुमाएको अर्थात् प्रथम धर्मचक्र प्रवर्तन भनिन्छ ।

प्रथम धर्मचक्र प्रवर्तनमार्फत बुद्धले संसारलाई दिएको ज्ञान मानव इतिहासका लागि एक महत्त्वपूर्ण कोसेढुंगा हो, जसले समाजमा व्याप्त दुई चरम सीमालाई परास्त गर्दै नयाँ मार्गप्रशस्त गरिदियो । एकातिर, जीवनको वास्तविक अर्थ नबुझी विषयवासना र इन्द्रियसुखमा अल्झिएको समाज र अर्कातिर यसको प्रतिक्रियामा धर्म र अध्यात्मका नाममा अनावश्यक शारीरिक कष्ट र कठिन तपस्यामा फसेका साधकलाई उद्धार गर्दै बुद्धले सही र सन्तुलित जीवन मार्ग देखाउनुभयो, जुन आज ‘मध्यम मार्ग’ भनेर चिनिन्छ । मध्यम मार्गअन्तर्गत बुद्धले आठ अंग भएको मार्गको देशना गर्नुभयो, जसअन्तर्गत सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति एवं सम्यक् समाधि पर्छन् । 

सम्यक् दृष्टि भन्नाले कुनै पनि वस्तु वा विषयलाई उसकै यथार्थतामा वस्तुपरक ढंगले प्रत्यक्ष अनुभवबाट बुझ्नु भन्ने अर्थ हुन्छ भने सम्यक् संकल्प भन्नाले मनमा आउने विभिन्न संकल्प विकल्पप्रति साक्षी भाव जगाउनु भन्ने हुन्छ । यी दुवै मार्गको अभ्यासलाई प्रज्ञा भनिन्छ । मन र शरीरको अनुशासनसँग सम्बन्धित चर्या सम्यक् वचन, सम्यक् कर्मान्त तथा सम्यक् आजीविकाको अभ्यासलाई शील भनिन्छ भने बाँकी तीन अंग सम्यक् व्यायाम, सम्यक् समाधि र सम्यक् स्मृति समाधिअन्तर्गत पर्दछन् । यस प्रकार बुद्धले शील, समाधि र प्रज्ञायुक्त आर्य अष्टांगिक मध्यम मार्गको लोककल्याण हेतु उपदेश गर्नुभयो । 

प्रथम धर्मचक्र प्रवर्तनको मूल उपदेशका रूपमा चार आर्यसत्यलाई लिन सकिन्छ, जहाँ बुद्धले मानव जीवनका सम्पूर्ण दुःख, तिनका कारण, तिनको निरोध एवं निरोधका उपाय सम्बन्धित चार सत्यको उद्घाटित गर्नुभयो । यी चार आर्यसत्य नै जीवन र जगत्का वास्तविक सत्य हुन्, जसलाई अनुभवको स्तरमा अन्तिम परिधिसम्म बुझ्न सक्दा तिनीहरू आर्यसत्य बन्छन् र सत्वहरूको कल्याणका कारण बन्छन् । जसरी एक चिकित्सकले सम्पूर्ण रूपमा रोगको पहिचान गर्दछ, रोगको कारण बुझ्दछ, रोग निको हुने विषय ठम्याउँछ एवं आवश्यक औषधि दिएर बिरामीलाई रोगबाट बाहिर ल्याउँछ, त्यसैगरी चार आर्यसत्यको पूर्ण अभ्यासले व्यक्तिलाई लोकचक्रबाट धर्मचक्रमा, अनार्यबाट आर्य मार्गमा पदस्थापन गराउँछ । बुद्धको धर्मचक्र प्रवर्तनको परिणामस्वरूप पञ्चवर्गीय भिक्षुहरूले पूर्ण विमुक्ति प्राप्त गर्दछन् र बुद्धको प्रथम संघ बन्न पुग्दछन् । यस प्रकार महावंश र दीपवंशको कालक्रमीय विवरणबमोजिम इसापूर्व ५८८ असार पूर्णिमाका दिन बुद्ध, धर्म र संघको पूर्णता भई शाक्यमुनि बुद्धको शासनको सुरुवात हुन्छ । 

बौद्ध दर्शनको मूल मर्म मध्यमार्ग, आर्य अष्टांगिक मार्ग एवं चार आर्यसत्यको देशना आजको विश्व परिवेशमा झनै सान्दर्भिक हुँदै गएको छ । व्यक्तिको आध्यात्मिक धार्मिक उन्नतिका निम्ति यी मार्ग उपयोगी छन् नै, त्यसमाथि आजको समसामयिक परिवेशमा यी दर्शन अझ मार्गदर्शक सिद्धान्त पनि बन्न सक्छन् । आज समाजमा देखिइरहेको चरम उपभोक्तावाद, भौतिकवाद, व्यक्तिवादी सोच, क्षणिकतावाद, चरम स्वार्थ एवं विषयवासनाप्रतिको अन्धलिप्साले मानव सभ्यताको शालीनतामाथि नै प्रश्न उठिरहेको छ । शील, सदाचार, मनोवेगमाथिको नियन्त्रण र विषयवस्तुप्रतिको वस्तुगत विश्लेषण नै बुद्धका विचार हुन् । विवेक, संयम एवं सन्तुलनमा आधारित जीवनशैलीको आधार नै बुद्ध शिक्षा हुन् । असार पूर्णिमाका दिन बौद्ध अनुयायी संसारभर आफ्ना जीवनमा बुद्धका यिनै विचार र शिक्षालाई सन्देशका रूपमा व्यवहारमा उतार्ने संकल्प गर्दै छन् । आज पनि धर्मचक्र प्रवर्तनको पहिलो चक्र चेतना, करुणा र विमुक्तिका रूपमा अनवरत घुमिरहेकै छ ।

–न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक हुन् । 

फणीन्द्रकुमार न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

Link copied successfully