आयोजना बैंकको औचित्य र अभ्यास

राष्ट्रिय प्रभाव देखिने र नतिजा दिन सक्ने खालका योजना नभई प्रक्रियागत मापदण्ड नै पूरा नगरेका खुद्रे आयोजनाको भारीले ‘आयोजना बैंक’ नामजस्तो रहेन, यसको मूल उद्देश्य र मर्म नै हराउन पुग्यो

असार २४, २०८२

पूर्णचन्द्र भट्टराई

Rationale and practice of project banks

नेपालमा योजनाबद्ध विकास प्रणालीको सात दशक व्यतीत भइसक्दा पनि विकास आयोजनाको पहिचान र छनोट स्पष्ट मापदण्डमा आधारित हुन सकेको छैन । आयोजनाको आवश्यक पूर्वतयारीबिना नै बजेट विनियोजन गरी कार्यान्वयनमा लैजानुले आयोजना कार्यान्वयन प्रभावकारी हुन नसकेको हो ।

तोकिएको समय र लागतमा निर्माण सम्पन्न गर्न आयोजनाको पहिचान, विकास तथा विश्लेषण, लेखाजोखा, छनोट र प्राथमिकीकरण प्रक्रियालाई वस्तुगत मापदण्डमा आधारित बनाउन आयोजना बैंकको आवश्यकता खट्किएको छ । 

सरकारले कार्यान्वयन गर्ने आयोजना पूर्वतयारीका सम्पूर्ण प्रक्रियागत चरण पूरा गरी कार्यान्वयन गर्न योग्य भएका आयोजनालाई सूचीकृत आयोजनाका रूपमा अभिलेख गर्ने प्रणाली नै आयोजना बैंक हो । यसबाट आयोजनाको पहिचान, आयोजनाको विकास तथा विश्लेषण र आयोजनाको लेखाजोखा, छनोट र प्राथमिकीकरण गरी तीन चरण पार गरेका आयोजना/कार्यक्रम चरणगत रूपमा सूचीबद्ध हुँदै कार्यान्वयनका लागि तयार आयोजनाका रूपमा आयोजना बैंकमा समावेश हुन्छन् । 

योजना आयोगले सम्बन्धित निकायबाट तोकिएको प्रक्रिया मापदण्डअनुसार चरणबद्ध रूपमा तयारी पूरा गरेका आयोजना मात्र आयोजना बैंकमा समावेश गर्नुपर्दछ । कार्यान्वयनका लागि तयारी अवस्थामा रहेका सूचीकृत आयोजनामध्ये सम्भाव्य र स्रोतको उपलब्धताअनुसार प्राथमिकतामा परेका आयोजना मात्र कार्यान्वयनका लागि छनोट हुन ग्राह्य हुन्छन् । 

नेपालमा आयोजना बैंकसम्बन्धी प्रयास

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले राष्ट्रिय योजना आयोगमा राष्ट्रियस्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ । राष्ट्रिय आयोजना बैंकमा समावेश नभएका आयोजनाका लागि बजेट विनियोजन गर्न नपाइने कानुनी व्यवस्था छ । यस प्रयोजनका लागि राष्ट्रिय योजना आयोगले २०८१ सालमा राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्डसमेत जारी गरेको छ । यसैगरी प्रदेश र स्थानीय तहमा समेत आयोजना बैंक स्थापना गर्नुपर्ने हुन्छ ।

धेरै प्रदेशले आयोजना बैंकसम्बन्धी कार्यविधि मापदण्ड तयार गरिसकेका छन् । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनले स्थानीय तहमा आयोजना बैंकको व्यवस्था र आयोजनाको प्राथमिकीकरणसम्बन्धी स्पष्ट मापदण्ड निर्देशित गरेको छ । आयोजनाको दोहोरोपना हुन नदिन तीनै तहका आयोजना बैंकबीच प्रणालीगत अन्तरआबद्धता हुने व्यवस्था पनि छ । 

आयोजना बैंकमा राष्ट्रिय योजना आयोगले तोकेको मापदण्डअनुसारका योजना समावेश गर्नुपर्ने हुन्छ । नयाँ आयोजनाका हकमा तीन चरणको पूर्वतयारी भएपछि मात्र आयोजना बैंकमा कार्यान्वयनयोग्य आयोजनाका रूपमा सूचीकृत हुन्छ भने पुराना योजना पुनः प्राथमिकीकरण गरी आयोजना बैंकमा सूचीकृत गर्नुपर्दछ ।

राष्ट्रिय योजना आयोगले ३ करोड रुपैयाँभन्दा कम लागतका आयोजना प्रस्ताव गर्न नमिल्ने गरी न्यूनतम लागत सीमा निर्धारण गरेको छ । आयोजना बैंकको कार्यान्वयन तयारी चरणमा सूचीबद्ध हुन पूर्वाधार विकास आयोजनाको हकमा आयोजनाको पहिचान भई सम्भाव्यता अध्ययन, डीपीआर, वातावरणीय अध्ययन, जग्गा प्राप्तिसम्मका तयारी चरणका काम सम्पन्न हुनुपर्ने हुन्छ । 

कार्यान्वयनको अवस्था

राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षबाट आयोजना बैंकलाई पूर्ण रूपमा कार्यान्वयनमा लाने र बजेटमा टुक्रे योजना नराख्ने भन्दै तीन करोड रुपैयाँभन्दा बढीका आयोजनामा मात्र बजेट विनियोजन गर्ने गरी ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१’ स्वीकृत गरेको छ । यो सिलिङमा अर्थमन्त्रीले पनि पटक–पटक सार्वजनिक रूपमा प्रतिबद्धता जनाउनुभएको थियो ।

बजेट सार्वजनिक भयो तर अवस्था यस्तो देखिएन । विगतमा झैं ठूलो संख्यामा हजारे र केही लाख विनियोजन भएका ‘खुद्रे योजना’ ले संघीय बजेट पुस्तिकामा स्थान पाए । यस्ता योजना प्रायः सबै विकासे मन्त्रालयमा देखिए । पुराना योजना सम्पन्न गरी राफसाफ गर्नका लागि यस्तो बजेट राख्नुपरेको तर्क पनि नसुनिएको होइन ।

तर यस्ता आयोजना बजेट र दायित्वसहित सम्बन्धित तहका सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने थियो । विगतमा पनि यस्ता अभ्यास हुने गरेका थिए । मुख्य कुरा प्रतिबद्धता हो । जबसम्म प्रणालीप्रति प्रतिबद्धता प्रस्ट हुँदैन, अवस्था यस्तै गोलमटोल नै हुने हो । 

नयाँ आयोजना बैंक मापदण्ड जारी भएपछि पहिलो बजेट नै आव २०८२/८३ को हो । आयोजना बैंक प्रणालीको जग बसाल्ने बजेट पनि यही थियो । तर, वार्षिक कार्यक्रम र बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयले परम्परालाई नै पछ्याउँदै मापदण्डको व्यवस्थालाई ठाडै लत्याए । यस वर्ष पनि सहरी विकास मन्त्रालयले तयारी चरण पूरा नै नभएका सयौं ‘हजार र लाख विनियोजन’ गरिएका पूर्वाधार विकासका आयोजना बजेटमा समावेश गरेको छ ।

राष्ट्रिय राजमार्ग र रणनीतिक सडकको जिम्मेवारी प्राप्त गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि सयौंमा यस्ता योजना राखेको छ । खानेपानी मन्त्रालय होस् वा युवा तथा खेलकुद– बजेटको प्रवृत्तिमा कुनै भिन्नता छैन । 

यस्ता अधिकांश योजनाको डीपीआर र जग्गा प्राप्तिको विषय अन्योलमै छ । कतिपयले त फरक–फरक योजना एकीकृत गरेर तीन करोडको बनाएका पनि छन् । यस किसिमले बजेटका सिद्धान्त, मापदण्ड र नियम मिचिएका बग्रेल्ती उदाहरण छन् । न्यून बजेटका आयोजना राख्नुको अन्तर्य केन्द्रीयतावादी सोच, निर्वाचन क्षेत्रमा आफूले बजेट ल्याएको देखाउने मोह, आसेपासेको प्रभाव, सानो रकमसहित कार्यक्रम प्रवेश गराएर पछि रकमान्तर गर्न ठाउँ बनाइराख्ने निहित उद्देश्य रहेको देखिन्छ । आयोजना बैंकमा सूचीकृत नभएका योजना पनि वार्षिक कार्यक्रममा समावेश हुनु अर्को गम्भीर कुरा हो ।

तीन तहका आयोजना बैंक स्थापनाले तीनै तहका सरकार आ–आफ्ना अधिकार क्षेत्रभित्रका आयोजनामा केन्द्रित हुने अपेक्षा थियो । तर संघ र प्रदेश दुवैले अधिकारका सूचीलाई योजना प्रणालीमा आत्मसात् गर्न सकेको देखिएन । तीनै तहका सरकारले एकअर्काको कार्यक्षेत्रमा बजेट विनियोजन गर्ने प्रवृत्तिले कुन कामका लागि कुन तहका सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने हो, सुनिश्चित गर्नसमेत अप्ठ्यारो बनाएको छ । 

आयोजना बैंकसम्बन्धी संघीय अव्यवस्थाको प्रभाव अन्ततः प्रदेशमा पनि पर्ने नै भयो । प्रदेशहरूले पनि खुलेर टुक्रे योजनाको सूची आयोजना बैंकमा प्रविष्ट गराई विनियोजन गरे । आयोजना बैंक प्रणाली अवलम्बन गर्ने उद्घोष गर्नेमा गण्डकी अग्रणी थियो । यस प्रदेशले समावेश गरेका करिब ७ हजार योजनामा यस्ता टुक्रे योजनाकै बोलवाला छ ।

प्रदेशको अधिकार सूचीभित्रका योजना र आयोजना भने औंलामा गन्न लायक छन् भने प्रदेश रूपान्तरणकारी योजनाको कुरै हुन छाडेको छ । मधेशमा पाँच लाखसम्मका योजनासमेत राखिएको, बिचौलिया हाबी भएको जस्ता आरोप विपक्षीले मात्र होइन, सत्तापक्षले समेत लगाएबाट योजना प्रणाली लथालिंग बनेको प्रस्ट हुन्छ । बागमतीले त एक कदम अघि बढेर अर्को प्रदेशको योजनामा समेत बजेट विनियोजन गरेको घटना सतहमा आयो । यहाँ अनधिकृत रूपमा ठूलो संख्यामा योजना तथा कार्यक्रम प्रविष्ट गरिएको सत्तारूढ दलकै कार्यदलले औंल्याएको छ । 

लुम्बिनीमा आर्थिक वर्षको अन्तिममा चालु वर्षका योजनाको भुक्तानी दिन नसकिएको अवस्था सिर्जनाले बजेट कस्तो बन्दो रहेछ भन्ने प्रस्ट भएको छ । कर्णाली प्रदेशमा हचुवाका भरमा आयोजना बैंकमा सूचीकरण भएको भन्ने असन्तुष्टि आएको छ । सुदूरपश्चिममा बजेट तयार गर्दा योजना प्रणाली अवलम्बन नभएको आरोप छ । कोशी प्रदेश योजना बैंकको तथ्यांकमा एकै वर्षमा ४५ हजारभन्दा बढी योजना प्रविष्ट भएका छन् । यो तथ्यांकलाई हेर्दा आयोजना बैंकमा कति लथालिंग र भद्रगोलको अवस्था छ भन्ने कुराको अनुमान गर्न सकिन्छ । 

अबको बाटो

मुलुकसामु २०८७ सालसम्म दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुक र २१०० सालसम्म उच्च आयस्तर भएको विकसित मुलुकमा पुग्ने गरी निर्धारण गरिएका दीर्घकालीन विकासका लक्ष्य प्राप्त गर्ने जिम्मेवारी छ । दिगो विकास लक्ष्य प्राप्त गर्न नै स्रोतको न्यूनतासँग जुझ्नु परिरहेको अवस्था छ । 

संघीय सरकारले पहिचान, सम्भाव्यता अध्ययन, डीपीआर निर्माण, जग्गा प्राप्ति, खरिद योजनाजस्ता आयोजनाको पूर्ण तयारी भएका कार्यान्वयन गर्न योग्य ठूला पूर्वाधार विकाससम्बन्धी योजना, रूपान्तरणकारी आयोजना र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रूपमा लग्नुपर्ने आयोजनामा बढी ध्यान र स्रोत केन्द्रित गर्नुपर्दछ । तीनै तहका सरकारको अधिकार क्षेत्र, दायित्व र जिम्मेवारीसमेतका आधारमा आयोजनाको छनोट र प्राथमिकीकरण गर्दै योजना प्रणाली व्यवस्थित गर्न नै आयोजना बैंक प्रणाली आवश्यक भएको हो ।

तर बजेट विनियोजनका लागि तयारी अवस्थामै नपुगेका आयोजनासमेत रातारात प्रविष्ट गर्ने अभ्यासले आयोजना बैंकको औचित्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ । अभ्यास हेर्दा योजना अनुशासन र तथ्यमा आधारित योजना तर्जुमातर्फ जान चाहेको देखिएन । यसले हामी सुध्रिनै नचाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।

निष्कर्ष

पूर्वतयारीबिना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनामा दोहोरोपना हुन नदिन र योजना अनुशासन कायम गर्न आयोजना बैंक प्रणाली प्रारम्भ भएको हो । यसले आयोजना विकासका चरणलाई व्यवस्थित बनाउँछ । यस प्रणालीले आयोजना कार्यान्वयनमा देखिएका कमीकमजोरी हटाउँदै आयोजनाको विकास तथा विश्लेषण, लेखाजोखा, छनोट तथा प्राथमिकीकरणलाई वस्तुगत बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । 

मुलुकको दीर्घकालीन विकास लक्ष्य प्राप्त गर्नका लागि स्रोत साधनको कुशल विनियोजन तथा आयोजना सुशासन अपरिहार्य छ । राष्ट्रिय योजना आयोगले यस वर्ष बलियो कानुनी प्रबन्ध गरेर खुद्रे आयोजना रोक्ने जमर्को गरे तापनि योजना अनुशासनमा कायम गर्न सकेन । बजेट तर्जुमा गर्दा आयोजना बैंक प्रणालीको कार्यान्वयन निकै कमजोर देखियो । 

विगतमा जस्तै जथाभाबी योजना सूचीकरण गर्ने र विनियोजन गर्ने अभ्यासमा खासै सुधार आउन सकेन । राष्ट्रिय प्रभाव देखिने र नतिजा दिन सक्ने खालका योजना नभई प्रक्रियागत मापदण्ड नै पूरा नगरेका खुद्रे आयोजनाको भारीले ‘आयोजना बैंक’ नामजस्तो रहेन । यसको मूल उद्देश्य र मर्म नै हराउन पुग्यो । अझ जथाभाबी आयोजना प्रविष्ट गर्ने र यसैलाई आयोजना बैंक भनी ‘आयोजना बैंक’ को मान्यता नै भ्रमित गराउने प्रयास तीनै तहका सरकारले गरेका छन् । 

प्राप्त स्रोत साधनलाई प्राथमिकतायुक्त आयोजनामा केन्द्रित गरी पूर्वतयारी सम्पन्न भई कार्यान्वयनका लागि तत्पर अवस्थामा रहेका आयोजना समयमै सम्पन्न गर्न चाहने पर्याप्त बजेट विनियोजन गर्न सकेमा मात्रै लगानीको अपेक्षित प्रतिफल प्राप्त हुन सक्छ । यसैले आयोजना बैंक प्रणाली र मापदण्डको अनुपालना गर्नका लागि विद्यमान आयोजना छनोट र विनियोजन प्रणालीमा सुधार हुनै पर्दछ ।

पूर्णचन्द्र

Link copied successfully