मदन भण्डारीमाथिको अस्पष्ट आरोप स्मरण गरिनु संयोग मात्रै नभई सोचविचारसहित गरिएको सञ्चार रणनीति हो भन्ने देखिन्छ
मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा असार १४ गते आयोजित कार्यक्रममा उनकी पत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, छोरीहरू, एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीमाथि ‘सहकारी ठग’ र ‘तीन–चारवटी श्रीमती राखेको’ जस्ता आरोपसमेत लागेको बताए ।
आफ्नो भनाइको सार र सुई घुमाउँदै उनले त्यस्ता आरोप तथ्यहीन भएको दाबी गर्दै एमाले र त्यसका नेताहरूलाई असफल बनाउने प्रयासस्वरूप त्यस्ता आरोपहरू लगाइएका तर्क गरे । मदन भण्डारीकै निकट रहेर काम गरेका धेरै एमाले नेता/कार्यकतासमेत यस प्रसंगबारे अनभिज्ञता प्रकट गर्छन् ।
मुख्यतः ओलीले यतिबेला त्यस विषयलाई चर्चामा ल्याएका कारण अचम्ममा पनि पर्छन् । किनकि, मदन यतिबेला एमाले वा एमालेइतर पार्टीमा पनि लोकप्रिय र सम्मानित नेतामा पर्छन् । यद्यपि, २०४८ को चुनावी भाषणमा मदनलाई तीन/चारवटी श्रीमती राखेको आरोप लागेको र उनले प्रतिवादसमेत गरेको जानकार बताउँछन् ।
सहकारी ठगको आरोप पनि अप्रमाणित रहेको धेरैको ठोकुवा हुने गर्छ । सहकारी ठगीको प्रसंग झापामा सक्रिय रहेका एमाले नेताहरूले सार्वजनिक रूपमै अस्वीकार गरेका छन् । ‘अनलाइन खबर’ मा प्रकाशित समाचारअनुसार, मोरङमा उतिबेला सरकार र जनता दुवैको लगानीमा बनेको साझा संस्थाले खाद्य सामग्री वितरण गर्ने गर्थ्यो ।
त्यो संस्थाको वितरण प्रणालीको विरोध गर्दै तत्कालीन मालेका २/३ सय कार्यकर्ता मिलेर संस्थाबाट दाल, चामल, नुन–तेल जस्ता सामग्री लुटेर बाँडिदिएका थिए । यो ०३६ सालको दसैं आसपासको घटना थियो । मदनको घर मोरङकै इटहरामा भए पनि त्यस दिन उनी मोरङमा थिएनन् । त्यो पञ्चायती व्यवस्थाको विरोधस्वरूप भएको घटना भए पनि उनी स्वयं त्यसमा संलग्न थिएनन्, उनको योजना वा सहमति पनि थिएन ।
ओली, जो मदनलाई आफूहरूकै प्रयत्नमा महासचिव बनाइएको दाबी गर्छन्, उनैले पछिल्लो समय चर्चामै नरहेको आरोप किन स्मरण गरे भन्ने प्रश्न उब्जिएको छ । मसमेत सहभागी एक अनौपचारिक भेटमा विद्या भण्डारीले ओलीले त्यस प्रसंग झिक्दा आफू अचम्मित भएको सुनाइन् । उनको भनाइ थियो, ‘म आफैं पनि अचम्म परें उहाँले त्यो कुरा किन निकाल्नुभयो होला भनेर ।’
राजनीतिक भाषण एउटा शक्ति हो जसले न केवल कार्यकर्ता वा जनताको भावनालाई हाँक्छ, बरु इतिहास र व्यक्तित्वको पुनः लेखन गर्ने सामर्थ्यसमेत राख्छ । सन् १९६३ मा मार्टिन लुथर किङ जुनियरले लाखौं अमेरिकी नागरिकमाझ राखेको मन्तव्य (आई ह्याभ अ ड्रिम) होस् वा विन्स्टन चर्चिलले १९४० मा दोस्रो विश्वयुद्धका क्रममा हाउस अफ कमन्समा गरेको भाषण (वी स्याल फाइट इन दि बिचेज) होस्, मानिसहरूको जीवनमात्र होइन, भाग्य र भविष्य पनि बदलिए अनि वक्ताको राजनीतिक उचाइलाई नै नयाँ आकार दिए । तर कुनै भाषण यस्ता पनि हुन्छन्, जसले दशकौंदेखि मानिसहरूले बनाएका विश्वासहरू भत्काएर विषय र पात्रहरूको छवि नै धूमिलसमेत पार्न सक्दछन् ।
कुरा गरौं ओलीकै भाषणको । मेरो बुझाइ छ– ओलीका भाषणहरू हेडलाइन त बन्छन्, तर इतिहासमा दर्ज हुन लायक कमै हुन्छन् । फुर्काहरू जोडेर, उखान र टुक्का हालेर विषय र घटनाहरूलाई प्रस्तुत गर्ने ओलीको विशेषता त हो नै, तर यही शैलीमार्फत उनले विषयहरूलाई कसरी ‘म्यानिपुलेट’ गर्छन् भन्ने उदाहरण प्रशस्तै छन् । सन्दर्भलाई आफूइतरका लागि घातक र आफ्ना लागि लाभकर बनाउन प्रयोग गरिने तरिकाहरूमा ओली पारंगत छन् ।
केपी ओलीले आजकाल चर्चामै नरहेको आरोपलाई किन सन्दर्भ बनाए त ? भाषण शैलीका हिसाबले केपी ओली लापरवाह वक्ता हुन् । तर ओलीले कुनै पनि विषय बिनाअर्थ र सुविचारित नियतबिना उठाउँदैनन् । प्रधानमन्त्रीको भूमिका सम्हालिरहेका र पार्टीभित्र एकल सत्ता चलाइरहेका ओली अघिपछिको कार्यक्रममा बोल्दै थिएनन्, स्वयं मदन भण्डारीको विचारमाथिको गोष्ठीमा बोल्दै थिए ।
त्यसमाथि उनकै सामुन्ने विद्या भण्डारी एमालेमा घर फिर्तीको घोषणा गर्दै थिइन्, ‘मदनको नीति, विद्याको नेतृत्व’ भन्ने नारा नै प्रचारित थियो । यस्तो परिस्थितिमा मदन भण्डारीमाथिको अस्पष्ट आरोप स्मरण गरिनु संयोग मात्रै नभई सोचविचारसहित गरिएको सञ्चार रणनीति हो भन्ने देखिन्छ ।
सञ्चारकलाको दृष्टिले हेर्दा, यो सामान्य शैली होइन । ओलीले प्रयोग गरेको यस्तो शैलीलाई अंग्रेजीमा ‘इन्न्युन्डो’ भनिन्छ । जसको नेपालीमा अर्थ हुन्छ– संकेतमार्फत आरोप लगाउने शैली । ‘इन्न्युन्डो’ भन्नाले वक्ताले कुनै विषयमा सीधा आरोपित नगरी अप्रत्यक्ष रूपमा सन्देहको बीउ रोप्ने शैली अपनाउने गर्छन । यस्तो भाषणले श्रोताको मनमा स्वाभाविक रूपमा प्रश्न उब्जाउँछ, ‘त्यो बेला साँच्चै केही थियो त ?’ जबकि यसको कुनै प्रमाण हुँदैन ।
आरोपहरू थिए भनेर भनिए पनि, कसले लगाए, कहिले र किन लगाए भन्ने अस्पष्ट रहन्छ । यस्तो शैलीले पात्रको छविमा आँच पुर्याउने प्रयास गर्छ, तर प्रत्यक्ष आरोप नलाग्ने भएकाले सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ । यो ‘रेटोरिकल सिल्ड’ पनि हो, ‘मैले भनेको होइन, अरूले भनेका थिए’ भन्ने रक्षा कवचभित्र लुकेको हमला ।
यस प्रकारको सञ्चार रणनीति ‘पोइजनिङ द वेल’ अर्थात् ‘इनारमा विष हाल्ने’ शैलीसँग मिल्दोजुल्दो हुन्छ जहाँ कुनै व्यक्तिबारे सन्देहको बीउ रोपेर सत्यलाई समेत प्रभावहीन बनाइन्छ ।
तर्कशास्त्रमा अर्को एउटा शैली छ ‘स्ट्रम्यान फ्यालासी’– हुँदै नभएको शत्रु खडा गर्ने र त्यसलाई परास्त गरेको तर्क गर्ने । हाम्रो सन्दर्भमा खेतबारीमा मान्छेको स्वरूपमा परालको बुख्याचा बनाएर चरा र जनावर भगाउने तरिका । ओलीले प्रयोग गरेको तरिका यही शैलीसँग निकट छ । हुँदै नभएका आरोपहरूसँग संघर्ष गरेको र तिनलाई परास्त गरेर अघि बढेको तर्क पेस गर्दै आफूलाई नैतिक रूपमा उच्च स्थानमा स्थापित गर्ने प्रयास ।
राजनीतिमा यो नयाँ होइन । नेपालकै सन्दर्भमा पनि धेरै नेताले यस्तो प्रयोग गरेका उदाहरण छन् । उदाहरणका लागि, गिरिजाप्रसाद कोइरालाले ‘ग्रान्ड डिजाइन’ को प्रसंग उठाए । त्यसका बारेमा यति धेरै बहस भयो, तर कसैले भन्न सकेनन् कि त्यो के थियो ? आजसम्म पनि कोइरालाले भनेको ‘ग्रान्ड डिजाइन’ को मूल के हो, त्यो ग्रान्ड डिजाइन कसले बनायो, किन बनायो भन्ने स्पष्ट छैन ।
तर अहिले पनि षड्यन्त्र सिर्जना गर्न र पातलाई पतिंगर बनाउन नेताहरूले यदाकदा यो शब्दको प्रयोग गरेको सुनिन्छ । यस्ता राजनीतिक सञ्चार रणनीतिहरू कति असरदार हुन्छन् भन्ने पात्र र समयअनुसार फरक पर्न सक्छ । जब विषय संवेदनशील र श्रद्धायोग्य पात्रसँग जोडिन्छ, तब यस्ता विधिको प्रयोगको प्रभाव दीर्घकालीन र गम्भीर हुन सक्छ ।
मदन भण्डारी जस्ता नेता, जसको राजनीतिक दर्शन, संगठन क्षमता र नैतिक छविका कारण आज पनि धेरैका लागि आदर्श मानिन्छन्, उनको नामसँग अस्पष्ट आरोप जोडिनु भाषणको चातुर्य मात्र होइन, इतिहास लेखनमै सञ्चारको हस्तक्षेप हो ।
केपी ओलीको उक्त मन्तव्य सञ्चारकलामा कसरी संकेत, सन्देह र सन्दर्भमार्फत धारणा निर्माण गरिन्छ भन्ने उदाहरण हो । न प्रत्यक्ष आरोप, न प्रत्यक्ष निन्दा तर जनमानसमा प्रभाव पार्ने शैली । हुन त मदन भण्डारीको छवि बलियो भएकाले यस्तो शैलीको प्रभाव गहिरो नपर्न पनि सक्छ । तर भोलि विद्या भण्डारीको प्रभाव बढ्ने स्थिति बन्ने भयो भने त्यसबेला उनका आलोचक वा ओलीकै समर्थकहरूले यसलाई प्रयोग गर्ने सम्भावना नरहला भन्न सकिन्न, चाहे त्यो पार्टीभित्र होस् वा बाहिर । जबजको सान्दर्भिकतामाथि प्रश्न उठाउने एमाले नेता/कार्यकर्ताका लागि त यो खुराक नै बन्ने हुन सक्छ ।
