पर्यावरणीय हत्या र जलवायु न्याय

वातावरणीय विनाशलाई संसारको सबैभन्दा नैतिक रूपमा निन्दनीय अपराधमध्ये एक मानिन्छ भन्ने विश्व जनमत सिर्जना भइरहेको छ, नेपाल जस्ता मुलुकहरूले औद्योगिक देशहरूबाट जलवायु न्याय चाहन्छन् भने वातावरणीय विनाशसम्बन्धी मस्यौदालाई सकेसम्म चाँडो स्विकार्नुपर्छ

असार २४, २०८२

कटक मल्ल

Environmental Killing and Climate Justice

काठमाडौंको विष्णुमती नदी किनारस्थित शोभा भगवती मन्दिर एक आध्यात्मिक, सांस्कृतिक र स्मारक महत्त्वको स्थल हो । यो मन्दिरनजिकै दशरथ चन्द र गंगालाल श्रेष्ठका स्मारक मूर्तिहरू छन् । राणा शासनविरुद्ध जनताको अधिकारको संघर्षका लागि यी दुई सार्वजनिक बौद्धिकहरूलाई त्यो ठाउँमा मृत्युदण्ड दिइएको थियो । सहिदका पूर्णआकारका मूर्तिहरूले बलिदानको सम्झना गर्दछन् ।

तर स्मारक मूर्तिहरूको मुनिबाट मानव मलमूत्रको ढल बगिरहेको छ । शोभा भगवती मन्दिरवरिपरि गन्ध छ । मन्दिर क्षेत्रमा गम्भीर पर्यावरणीय विनाश भएको छ । विष्णुमती नदीमा जैविक विविधताको क्षति र पानीको गुणस्तर बिग्रिएको छ । जलचरहरू लगभग लोप भएका छन् । तर यस सम्बन्धमा राजनीतिज्ञहरू र आर्थिक योजनाकार मात्र होइन आध्यात्मिक र सांस्कृतिक व्यक्तिहरू पनि चिन्तित छैनन् जस्तो देखिन्छन् । त्यसैले, ‘पर्यावरण हत्या’ को कानुनी विमर्श वर्तमान समयको सान्दर्भिक विषय हो ।

शोभा भगवती मन्दिर क्षेत्र, बागमती र विष्णुमतीको पर्यावरण प्रतिनिधि उदाहरण हुन् भन्ने आधारमा पर्यावरणीय विनाशका क्रियाकलापलाई अपराधीकरण गर्न भइरहेका अन्तर्राष्ट्रिय कानुनी पहलहरू नेपालका लागि सान्दर्भिक हुन सक्छ । संस्कृतको ‘वसुन्धराविनाश’ शब्दले पर्यावरणीय हत्या (इकोसाइड) को अर्थ बुझ्न मद्दत गर्न सक्छ । ग्रिक शब्द ‘ओइकोस’ (घर वा पर्यावरण) र ल्याटिन प्रत्यय ‘साइड’ (मार्न) संयोजन गरी ‘इकोसाइड’ शब्द बनेको छ ।

यसको शाब्दिक अर्थ घर–पृथ्वीको हत्या हो । ‘लापरबाही वा जानाजान गरिने व्यापक पर्यावरणीय विनाश, जसले प्रकृति र यसका बासिन्दाहरूलाई गम्भीर क्षति पुर्‍याउँछ र जसलाई कुनै पनि प्रकारको क्षतिपूर्तिद्वारा पहिले जस्तो सामान्य अवस्थामा फर्काउन सकिँदैन, त्यसलाई अन्तर्राष्ट्रिय वातावरणीय कानुनको भाषामा ‘पर्यावरणीय हत्या’ भनिन्छ । ‘वसुन्धराविनाश’ को ‘जलवायु न्याय’ सँग अन्तरसम्बन्ध हुन्छ ।

‘पर्यावरणीय हत्या’ र ‘जलवायु न्याय’

नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा आफैंले पहल नगरे पनि ‘जलवायु न्याय’ को दाबी गर्ने मुलुकहरूसँग सहभागी भइरहेको छ । यसैबीच विश्वव्यापी रूपमा जन–संहार (‘जेनोसाइड’) जस्तै ‘पर्यावरणीय हत्या’ लाई दण्डनीय अपराध बनाउन आन्दोलन भइरहेको छ । यसको बावजुद नेपाल सरकार आफ्नो मुलुकभित्र भइरहेको ‘वातावरणीय हत्या’ बारे मौन छ ।

नेपालमा चुरे (शिवालिक) पहाडमा काठ र कृषि भूमिका लागि व्यापक वन फँडानी हुँदै छ । पानीका स्रोतहरू सुक्दै छन् । नदीहरूमा बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन हुँदै छ । हरेक वर्ष बाढीले नदी किनारको कटान र जलचरहरूको बासस्थान विनाश भएको छ । तालहरूमा अतिक्रमण र प्रदूषण बढ्दै छ । राष्ट्रिय निकुञ्जहरूमा जैविक विविधताको क्षति र सन्तुलनमा अवरोध भइरहेको छ । स्थानीय प्रदूषण र अनियन्त्रित इँटाभट्टा र डिजेल इन्जिनहरूबाट कालो कार्बनले हिमनदीहरू पग्लने गति बढ्दै छ । हिमनदीहरूमा पानीको मात्रा घट्दै छ । हिमतालहरू फुट्ने खतरा बढ्दै छ ।

विश्वका औद्योगिक देशहरूले विगत लगभग तीन सय वर्ष वायुमण्डलमा गरेको हरितगृह ग्यास उत्सर्जनबाट प्राप्त गरेको समृद्धि अन्यायपूर्ण थियो । तर अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्झौतामा औद्योगिक देशहरूले कानुनी रूपमा ऐतिहासिक जिम्मेवारी स्वीकार गर्न (जलवायु महासन्धि, क्योटो प्रोटोकल र पेरिस सम्झौतामा) इन्कार गरे । विकासशील देशहरू चीन र भारतको नेतृत्वमा सम्झौतामा असफल भए ।

फलस्वरूप, विकासशील देशहरू जलवायु न्यायको आफ्नै अधिकारका आधारमा माग गर्ने सामर्थ्यमा खडा हुनुको सट्टा औद्योगिक देशहरूको इच्छामा निर्भर छन् । केही तथाकथित जलवायु कोषअन्तर्गत क्षतिपूर्ति दिने भन्ने औद्योगिक देशहरूले स्वीकार गरेका छन् । त्यस्तो क्षतिपूर्ति दिनेले दिए वा पाउनेले पाए पनि संसारका भ्रष्ट–सरकारहरूले कसरी कार्यान्वयन गर्न सक्छन् भन्ने आफैंमा एक ठूलो प्रश्न हो । यदि नेपाल सरकारले जलवायुसम्बन्धी त्यस्तो कुनै कोषबाट आर्थिक मद्दत पायो भने बागमती र विष्णुमती नदीको वातावरण पुनःस्थापित होला ?

बागमती र विष्णुमतीको हत्या

पर्यावरण विधिशास्त्रमा प्रकृतिको कानुनी व्यक्तित्व स्वीकार गरिएको छ । अर्थात्, नदी, पहाड, वनको कानुनी अस्तित्व र कानुनी अधिकार स्थापित छ । यस प्रकारको कानुनी व्यक्तिले आफ्नो बचाउ गर्न सक्दैन । राज्यले यस्ता व्यक्तिको बचाउ गर्नुपर्छ । तैपनि काठमाडौंका बागमती र विष्णुमती नदीहरूमा गम्भीर वातावरणीय विनाश भएको छ ।

कुनै समयमा मानिसहरूले पौडी खेल्न हुने बागमती र विष्णुमती नदी, माछा र चराहरूको बासस्थान अब जैविक रूपमा मृत छन् । यी नदीहरूमा सहरी फोहोरबाट प्रदूषण, ढल निकास, प्रशोधित घरेलु ढल र औद्योगिक फोहोरको ठूलो मात्रा सिधै नदीहरूमा मिसाइन्छ । नदीहरू प्लास्टिक, निर्माण भग्नावशेष र घरेलु फोहोरका लागि ‘डम्पिङ ग्राउन्ड’ बनेका छन् ।

वर्षायाममा बागमती र विष्णुमतीको बाढीले ज्यान र सम्पत्तिको क्षति गर्छ, सुक्खा मौसममा दुवै नदीहरू मानव मलमूत्र, मरेको जनावरको दुर्गन्धबाट गन्हाउँछन् । अनौपचारिक बस्ती र पूर्वाधारले प्राकृतिक नदी करिडोरहरूमा अतिक्रमण गरेको छ, जसले गर्दा प्रवाह साँघुरो भएको छ र पर्यावरणीय प्रणालीलाई क्षति पुगेको छ । तीव्र र अनियन्त्रित सहरी विकासले प्राकृतिक ढल निकास प्रणाली प्रदूषित छ ।

काठमाडौंको स्थानीय सरकारले नदीको वातावरण पुनःस्थापित गर्न केही प्रयास गरेको छ । नागरिकहरूको लापरबाही, कमजोर सहरी योजना र कमजोर शासनको संयोजनका कारण परियोजनाहरू असफल भएका छन् । बागमती पुनरुत्थान परियोजनाहरू कमजोर समन्वय, भ्रष्टाचार र सार्वजनिक संलग्नताको अभावका कारण असफल भएका छन् ।

आम जनहत्या र पर्यावरण हत्या

आम जनहत्या सबै अपराधहरूको अपराध हो भन्ने संयुक्त राष्ट्रसंघको साधारणसभामा पहिलो पटक सन् १९४६ मा विश्वव्यापी सहमति भएको थियो । जनहत्या जस्तै मानव गतिविधिबाट प्राकृतिक वातावरणीय प्रणालीको व्यापक विनाश र त्यसबाट जैविक विविधताको स्वास्थ्य सुरक्षामा हुने गम्भीर क्षतिलाई ‘पर्यावरणीय हत्या’ भनिन्छ ।

जनसंहार अपराधको रोकथाम र सजायसम्बन्धी महासन्धि (जेनोसाइड’ कन्भेन्सन) सन् १९४८ मा पारित भयो (१९५१ मा लागू भयो) । यो महासन्धिले राष्ट्रिय, जातीय वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले गरिएका कार्यहरूलाई जनसंहारका रूपमा परिभाषित गर्दछ ।

जनसंहारको अपराध प्रमाणित गर्न आपराधिक ‘मनसाय’ र आपराधिक ‘कार्य’ प्रमाणित गरिनुपर्छ, यद्यपि मनसायमा बढी ध्यान दिइन्छ । जनसंहार रोक्न असफल भए पनि कानुनी रूपमा जनसंहारविरुद्ध लड्न बन्द गर्नु हुँदैन ।

अर्कोतर्फ गम्भीर, व्यापक वा दीर्घकालीन वातावरणीय क्षति निम्त्याउनेछ भन्ने थाहा हुँदाहँॅदै बेवास्ता गरेर गरिएका ‘कार्यहरू’ स्वयंले ‘पर्यावरण हत्या’ निम्त्याउन सक्छ । जस्तै, बाग्मती र विष्णुमतीमा शौचालयबाट निस्कने मानव मलमूत्रलगायत नगरपालिकाको फोहोर, औद्योगिक रासायनिक प्रशोधित फोहोरलाई फाल्ने कार्यहरू ।

यसका साथै, ठूलो मात्रामा वन फँडानी, पानी र माटो प्रदूषण, ठूला उद्योगहरूबाट हुने वायु प्रदूषण समावेश छन् । अन्य उदाहरणहरूमा रासायनिक खानी गतिविधिहरू, ‘र्‍याकिङ’ र केही कीटनाशक औषधिको प्रयोग पनि समावेश छ । आणविक विस्फोटबाट हुने विकिरण पनि यस श्रेणीमा पर्छन् ।

वासिङ्टन अन्तर्राष्ट्रिय सम्मेलन १९७० मा पहिलो पटक ‘इकोसाइड’ शब्द आर्थर डब्लू गाल्स्टनले भियतनाममा अमेरिकी सेनाले ‘एजेन्ट ओरेन्ज’ को प्रयोगबाट भएको वातावरणीय क्षतिको प्रतिक्रियामा प्रयोग गरेका थिए । उनले पर्यावरण विनाशलाई प्रतिबन्ध लगाउन नयाँ अन्तर्राष्ट्रिय सम्झौताको प्रस्ताव राखेका थिए । ‘एजेन्ट ओरेन्ज’ एक झारनाशक र डिफोलिएन्ट हो । यो मुख्यतया पात र वनस्पति हटाउन प्रयोग गरिएको थियो, जसले गर्दा सेनाहरूलाई आफ्ना शत्रुहरूलाई पत्ता लगाउन सजिलो भएको थियो ।

वातावरणीय क्षतिको अवधारणालाई अपराधका रूपमा सुझाव दिने पहिलो समर्थकमध्ये ब्रिटिस वकिल पोली हिगिन्स थिइन् । हिगिन्सले २०१० मा ‘इकोसाइड’ लाई अन्तर्राष्ट्रिय शान्तिविरुद्धको पाँचौं अपराध बनाउन संयुक्त राष्ट्र कानुन आयोगमा प्रस्ताव पेस गरिन् (अन्य चार अपराधहरू जनसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रामकताको अपराध हुन्, यीमध्ये मानवताविरुद्धको अपराध, युद्ध अपराध नेपालको शान्ति र मेलमिलापसँग सम्बन्धित छन्) ।

अन्तर्राष्ट्रिय कानुन आयोगले हालसम्म वातावरणीय विनाशसम्बन्धी मस्यौदा औपचारिक रूपमा अपनाएको छैन । यद्यपि, वातावरणीय विनाशलाई अन्तर्राष्ट्रिय अपराधका रूपमा मान्यताको लक्ष्यतर्फ स्वतन्त्र कानुनी विज्ञहरूले महत्त्वपूर्ण काम गरेका छन् । सबैभन्दा उल्लेखनीय मस्यौदा जुन २०२१ मा ‘स्टप इकोसाइड फाउन्डेसन’ को एक स्वतन्त्र विशेषज्ञ प्यानलले रोम विधानअन्तर्गत पाँचौं अन्तर्राष्ट्रिय अपराधका रूपमा सम्भावित समावेशका लागि पर्यावरणीय विनाशको कानुनी परिभाषा प्रस्ताव गरेको छ ।

प्यानलको प्रस्तावित परिभाषाअनुसार, ‘पर्यावरणीय विनाश’ भनेको गैरकानुनी वा जथाभाबी थाहा पाउँदा पाउँदै गरेका कार्य हुन्, जसले वातावरणमा गम्भीर र व्यापक वा दीर्घकालीन क्षति हुने पर्याप्त सम्भावना हुन्छ । बागमती र विष्णुमती नदीहरूको सन्दर्भमा जे जस्तो पर्यावरणीय विनाश भएको छ, त्यो यही परिभाषासँग मिल्दोजुल्दो छ ।

यो परिभाषा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानमा अपराधका रूपमा समावेश गर्ने मापदण्ड पूरा गर्न डिजाइन गरिएको हो । कुनै पनि प्राकृतिक वा कानुनी व्यक्ति वा सरकारहरू पर्यावरणीय जोखिमका बारेमा सचेत हुनुपर्छ । पर्यावरणीय हत्याविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाइने प्रस्ताव गरिएको छ । तर अहिलेसम्म कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिएको छैन ।

विश्वका अग्रणी हरितगृह ग्यास प्रदूषकहरू संयुक्त राज्य अमेरिका, रुस, चीन र भारत अन्तर्राष्ट्रिय फौजदारी अदालतका सदस्य नभएका र यसको क्षेत्राधिकार बाहिर रहेका भए पनि विधिशास्त्रको विकासलाई कसैले रोक्न सक्दैन ।

अपराधको सजाय

यदि वातावरणीय परिवर्तनलाई सुधारात्मक क्षतिपूर्तिमार्फत पहिलेको अवस्थामा फर्काउन सकिँदैन भने यो एक अपरिवर्तनीय क्षति (सिग्निफिकेन्ट हार्म) हो । सुधारात्मक क्षतिपूर्तिमार्फत पहिलेको अवस्थामा फर्काउन सकिन्छ भने त्यो सहनलायक क्षति (एप्रिसेबल हार्म) हो । अपरिवर्तनीय क्षति (इकोलोजिकल हार्म) पर्यावरणीय विनाश हो । यसलाई कानुनले जारी राख्न अनुमति दिन सक्दैन । वातावरणीय क्षतिको मात्रा वैज्ञानिक वातावरणीय प्रभाव मूल्यांकनद्वारा निर्धारण गर्नुपर्छ ।

पर्यावरणीय क्षति अन्तर्राष्ट्रिय अपराधका रूपमा औपचारिक मान्यता भएमा सजायहरू अन्य अन्तर्राष्ट्रिय अपराधहरूको सजायहरूसँग मिल्दोजुल्दो हुन्छन् । जस्तै, पर्यावरणीय क्षतिका लागि उच्चस्तरीय कार्यकारीहरू, राज्य प्रमुखहरू वा जिम्मेवार पाइएका सैन्य नेताहरूले मानवताविरुद्धको अपराधको सजाय जस्तै कारावासको सामना गर्न सक्छन् ।

अवैध रूपमा कमाएको सम्पत्ति जफत वा वातावरणीय क्षतिको समानुपातिक जरिवाना हुन सक्छ । कम्पनीहरूलाई निश्चित क्षेत्राधिकारमा सञ्चालन गर्न प्रतिबन्ध लगाउन वा इजाजतपत्र रद्द गर्न सकिन्छ । क्षतिग्रस्त समुदायहरूलाई क्षतिपूर्ति गर्नुपर्ने हुन्छ । फ्रान्सले २०२१ मा, ‘इकोसाइड’ फौजदारी अपराध लागू गर्‍यो, जसमा यदि जानाजानी गम्भीर र स्थायी वातावरणीय क्षति गरेको छ भने त्यसबापत ४५ मिलियन युरोसम्म जरिवाना र/वा १० वर्ष जेल सजाय हुन सक्छ । 

नेपालले के गर्नुपर्छ ? 

माथि उल्लेखित स्वतन्त्र कानुनी विशेषज्ञहरूको प्रस्ताव स्वतः कडा कानुन बन्दैन । यो एक ‘नरम अन्तर्राष्ट्रिय कानऽन’ हो । यसलाई ‘कडा कानुन’ बनाउन या त राज्यहरूले छुट्टै सन्धिमार्फत स्वीकार गर्नुपर्छ वा राष्ट्रिय कानुनअन्तर्गत अपनाउनुपर्छ ।

भानुआटु, माल्दिभ्स र डेमोक्रेटिक रिपब्लिक कंगो देशहरू लगायत धेरै नागरिक समाज समूहहरूले अन्तर्राष्ट्रिय कानुनमा वातावरणीय विनाशलाई अपराधीकरण गर्न समर्थन गरेका छन् । फ्रान्सले आफ्नो वातावरणीय संहितामा पर्यावरण अपराध प्रस्तुत गरेको छ । बेल्जियम र नेदरल्यान्ड्सले पनि यस्तै गरिरहेका छन् ।

युरोपेली संघ संसदीय समितिहरूले वातावरणीय विनाशलाई नयाँ अपराधका रूपमा व्यवहार गर्न समर्थन गरेका छन् । ब्राजिल, मेक्सिको, पेरु, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स, जर्मनी, टर्की, डोमिनिकन गणराज्य, सार्डिनिया र स्कटल्यान्डमा विधेयकहरू विधायी चरणमा छन् ।

वातावरणीय विनाशलाई संसारको सबैभन्दा नैतिक रूपमा निन्दनीय अपराधहरूमध्ये एक मानिन्छ भन्ने विश्व जनमत सिर्जना भइरहेको छ । राष्ट्रिय कानुनमा वातावरणीय विनाशलाई समावेश गर्नु र सार्वजनिक शिक्षामा यसलाई बढावा दिनु सही कदम हुनेछ । नेपाल जस्ता मुलुकहरूले औद्योगिक देशहरूबाट जलवायु न्याय चाहन्छन् भने वातावरणीय विनाशसम्बन्धी मस्यौदालाई सकेसम्म चाँडो स्विकार्नुपर्छ ।

अदालतका न्यायाधीशहरूको विवेक अन्तिम निर्णयहरू हुने भएकाले भविष्यमा नयाँ व्याख्या हुन सक्छ । यदि नेपालको कार्यकारी र विधायिकी शक्तिले तुरुन्तै कदम चाल्न असफल भएमा वातावरणीय विनाशलाई अपराधीकरण गर्न अदालत सक्रिय हुनुपर्छ । आलोचनाको डरले अदालत हिच्किचाउनु हुँदैन । अदालतको सक्रियताविरुद्धको आलोचना अस्थायी हुन्छ ।

समयमा सही निर्णय गर्दा दीर्घकालीन रूपमा सर्वोच्च अदालत न्यायको ज्योति बन्न सक्छ । नेपालका नागरिकहरूले नेपालको सर्वोच्च अदालतमा वातावरणीय विनाशविरुद्धका मुद्दाहरू चलाउन सक्रिय रहने अपेक्षा गरिन्छ । र, सर्वोच्च अदालतले वातावरणीय विनाशलाई अपराध घोषित गर्ने कुनै पनि मौका छोड्नु हुँदैन ।

कटक मल्ल कटक मल्ल आफूलाई 'सार्वजनिक बौद्धिक' भनेर चिनाउन मन पराउँछन् ।

Link copied successfully