स्कुलबाटै सुरु गरौं पठन संस्कृति

सानो उमेर अर्थात् पूर्वप्रावि तथा प्रावि तहमै विद्यालयहरूले विद्यार्थीमा अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गराउन सर्वप्रथम उनीहरूको उमेर र रुचिअनुसारका बाल पुस्तक उपलब्ध गराउन जरुरी छ ।

असार २३, २०८२

मधु राई

Let's start the culture of reading from school

‘अ आकार आ ज आज रङ क आकार का च आकार चा ड चाड आज रङका चाड ।’

यूकेजीमा अध्ययनरत सम्मानी अधिकारीले यसरी बाल पुस्तक पढ्न थालेको धेरै भएको छैन । त्यसो त सम्मानी मात्रै होइन, कक्षाका धेरैजसो विद्यार्थीले यसरी नै अक्षर र मात्रा खुट्याएर बाल पुस्तक पढ्ने गरेका छन् । सोही कक्षामा पढ्ने शशांक खड्का भने ठूलाले जस्तै मात्रा नखुट्याइ पढ्छन् । 

एलकेजी र यूकेजीका विद्यार्थीलाई ‘बुक फ्रि फ्राइडे’ अर्थात् शुक्रबारका दिन हामीले पठन संस्कृतिको विकास गर्न भनेर नेपाली भाषाको मात्राअनुसारको बाल चित्रकथाको पुस्तक पढाउन थालेको एक दशकभन्दा बढी भयो । त्यसो त नेपाली मात्र होइन, अंग्रेजी भाषाका बाल चित्रकथाका पुस्तक पनि विद्यालयले सहजै उपलब्ध गराउने गरेको छ ।

त्यति मात्र होइन, कक्षागत रूपमा वितरण गरिने यस्ता मात्राअनुसारका एउटै किसिमका बाल पुस्तक विद्यालयले घरमा लैजानसमेत दिन्छ । यस्तै हरेक शुक्रबार विद्यालयमा रंगीबिरंगी बाल चित्रकथाका पुस्तक हेर्न र कनिकुथी पुस्तक पढ्न सिकेका विद्यार्थीलाई शनिबारका दिन फुर्सदको समयमा अभिभावकलाई घरमा पनि सहजीकरण गरिदिनहुन विद्यालयले आग्रह गर्दै आएको छ । यस्तै पछिल्लो समय शुक्रबारका दिन सञ्चालन गरेको कक्षालाई प्रभावकारी बनाउन तथा साना विद्यार्थीमा पुस्तकप्रतिको रुचि जगाउन विद्यालयले यही शैक्षिक सत्रदेखि आमाहरूलाई पनि कान्तिपुर पब्लिकेशन्स्द्वारा नियमित रूपमा प्रकाशित ‘नारी’ मासिक पढ्न आग्रह गरेको छ ।

अझ रमाइलो कुरा त विद्यालयले बनाएको सामाजिक सञ्जालको समूहमा कतिपय अभिभावकले घरमा छोराछोरी पढिरहेका श्रव्यदृश्य राख्ने गरेका छन् भने कतिपय विद्यार्थीले यसरी साथीहरू पढिरहेका श्रव्यदृश्य देखेर पनि पढ्न सिकिरहेका छन् । खासमा ‘अभिभावकले पनि पढून्’ भन्ने ध्येयले विद्यालयले सञ्चालन गरेको अघोषित अभियानअन्तर्गत विद्यालय व्यवस्थापन समितिले पहिलो चरणमा ५० जना आमालाई नारी मासिकको नियमित पाठक बनाएको छ । 

घरमा छोराछोरी गृहकार्य गर्न बस्दा अभिभावक पनि छेउमा ‘नारी’ मासिक अथवा कुनै पुस्तक पढेर बस्दा छोराछोरीमा सकारात्मक प्रभाव पर्छ भनेर पनि हामी शिक्षकले अभिभावकलाई भन्दै आएका छौं । त्यसो त हामी सबै जना शिक्षकले व्यक्तिगत रूपमै नियमितजसो ‘शिक्षक’ मासिक, ‘नारी’ लगायत अन्य अतिरिक्त पुस्तक पढ्ने गरेका छौं ।

यसै पनि निजी विद्यालयमा पढ्ने बहुसंख्यक विद्यार्थी नेपाली विषयमा कमजोर हुन्छन् भनेर हामी शिक्षक तथा अभिभावकले सुन्दै आएको धेरै भयो । हुन पनि हो, कक्षागत रूपमा तयार पारिएका पाठ्यपुस्तकका पाठले मात्र विद्यार्थीमा पठन संस्कृतिको विकास हुन सक्दैन भन्ने ठहर शिक्षाविद्हरूको पनि रहँदै आएको छ । त्यसमाथि अधिकांश शिक्षकमा अतिरिक्त पत्रपत्रिका र पुस्तक नियमित पढ्ने बानी नभएकाले पनि शिक्षकको पुस्तक नपढ्ने बानी विद्यार्थीमा सरक्क सरेको देखिन्छ । यी र यस्ता कतिपय कारणले गर्दा पनि विद्यार्थीमा पठन संस्कृतिको राम्ररी विकास हुन सकेको छैन ।

स्कुले शिक्षामा समावेश गरिएका कतिपय विषयको निष्क्रिय शिक्षण सिकाइ विशेषगरी नेपाली र अंग्रेजी भाषाको जीवन्त सिकाइका लागि पनि अतिरिक्त पुस्तकले सेतुको काम गर्छ भन्ने कुराबारे बहुसंख्यक शिक्षक अनभिज्ञ जस्तै देखिन्छन् । त्यसो त पछिल्लो समय कतिपय स्थापित निजी विद्यालयले पूर्वप्रावि तहभन्दा पनि कक्षा ६/७ मा पुगेपछि मात्र पुस्तकालयको सुविधा दिने गरेका छन् भने त्यस्ता विद्यालयले विद्यार्थीको उमेर र रुचिअनुसारको पुस्तक राख्ने गरेको पाइँदैन । यसो हुँदा पनि विद्यार्थीमा पठन संस्कृति खस्कँदो अवस्थामा पुगेको छ ।

हुन पनि हो व्यवस्थित र जीवन्त पुस्तकालयले पनि विद्यार्थीको शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने आधारभूत ज्ञानको कमीले पनि हाम्रो शिक्षण सिकाइ जीवन्त र प्रभावकारी बन्न सकेको छैन । यी र यस्ता कुरालाई मध्यनजर गरी ‘शिक्षक’ मासिकले असारको अंकमा पुस्तकालयलाई जीवन्त र प्रभावकारी बनाउन के के गर्न सकिन्छ भन्ने सामग्री प्रकाशित गरेको छ । 

बाल साहित्यकार तथा लेखक अनन्त वाग्लेद्वारा लिखित उक्त सामग्रीमा उनले शिक्षाकर्मी तथा पुस्तकालय विज्ञानकी विद्यार्थी एवं सन् २००१ देखि २००९ सम्मकी अमेरिकी प्रथम महिला लाउरा बुसले पुस्तकालयबारे भनेको कुरा उद्धृत गरेका छन् । बुसका अनुसार, ‘पुस्तकालयले बालबालिकालाई संसारका बारेमा प्रश्न सोध्न र जवाफ खोज्नका लागि प्रोत्साहन गर्छ भने सिकारु बालबालिकाले एक पटक पुस्तकालयको प्रयोग जानेपछि उनीहरूका लागि सिकाइको ढोका सदाका लागि खुला रहन्छ ।’ 

के हुने खाने, के हुँदा खाने, के युवा, के प्रौढ– पछिल्लो समय सूचना प्रविधिमा सबैको सहज पहुँच बढ्न थालेपछि बेला–कुबेला सामाजिक सञ्जालमा भुलिने संस्कार झाँगिएको छ । यसले गर्दा पनि विद्यार्थीमा पठन संस्कृतिको विकास गराउने कुरा पिँधमा पुगेको छ ।

सानो उमेर अर्थात् पूर्वप्रावि तथा प्रावि तहमै विद्यालयहरूले विद्यार्थीमा अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गराउन सर्वप्रथम उनीहरूको उमेर र रुचिअनुसारका बाल पुस्तक उपलब्ध गराउन जरुरी छ । त्यसो त विद्यालयमा मात्र होइन, घरपरिवारका सदस्यले पनि छोराछोरीमा पठन संस्कृतिको विकास गर्न प्रोत्साहित गर्न जरुरी छ । 

उमेर र रुचिअनुसारको बाल पुस्तक सर्वसुलभ नहुँदा पनि विद्यार्थीमा पठन संस्कृतिको विकास गराउने कार्य झनै कठिन भएको छ । यस्तो समस्या म स्वयंले भोग्दै आएको धेरै भयो । समग्रमा विद्यार्थीमा पठन संस्कृतिको विकास गर्दा हुने चौतर्फी फाइदाबारे विद्यालय व्यवस्थापन तथा शिक्षकहरू बेलैमा संवेदनशील हुन जरुरी छ ।

मधु मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully