प्राविधिक तथा व्यावसायिक शिक्षामा उच्च शिक्षाको मार्ग

मुलुकमा राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी कानुन निर्माणमा ढिलाइ हुँदा बहुआयामिक मूल्यांकन, क्रेडिट ट्रान्सफर, स्तरगत उन्नति र श्रम बजारका लागि आवश्यक दक्षता विकासमा बाधा पुगेको छ 

असार १९, २०८२

दीपिका शर्मा, प्रकाशकुमार पौडेल

Pathway to Higher Education in Technical and Vocational Education

देशको आर्थिक विकासमा टेवा पुर्‍याउन दक्ष, अर्धदक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको व्यवस्था, समन्वय, नियमन र गुणस्तर सुनिश्चित गर्न प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन २०४५ जारी गरिएको हो ।

ऐनले सीटीईभीटीलाई आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न पूर्ण अधिकार प्रदान गरेको छ । यद्यपि, सीटीईभीटीलाई उच्चस्तरीय प्राविधिक जनशक्ति तयार गर्ने कानुनी अधिकार प्राप्त भए पनि हालसम्म सो अधिकार कार्यान्वयन भएको छैन ।

सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ६४ मा विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइनुका साथै प्राविधिक शिक्षाको धारलाई विश्वविद्यालय तहसम्म पुर्‍याइने उल्लेख छ । त्यस्तै बुँदा नम्बर ९० मा स्वास्थ्य क्षेत्रमा जनशक्ति आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भनिएको छ । सरकारका यी नीतिले प्राविधिक तथा व्यावसायिक शिक्षाको तह वृद्धि गर्ने स्पष्ट संकेत गर्दै पुनः प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ऐनले परिकल्पना गरेको प्राविधिक उच्च शिक्षाको मार्गलाई स्मरण गराएको छ । 

नीति तथा कार्यक्रमका यस्ता प्रावधानले प्राविधिक तथा व्यावसायिक शिक्षालाई यसै धारबाट उच्च शिक्षातर्फ विस्तार गर्ने उपयुक्त समय र अवसर दिएको छ । यस नीतिको कार्यान्वयन गर्न सके मुलुकमा आवश्यक उच्चस्तरीय प्राविधिक सीपयुक्त जनशक्ति उत्पादन गर्न सकिनेछ । साथै यसले २०७७ सालमा नै मन्त्रिपरिषद्बाट पास भएको राष्ट्रिय योग्यता प्रारुप अर्थात् नेसनल क्वालिफिकेसन फ्रेमवर्क (एनक्यूएफ) को कार्यान्वयनमा आवश्यक कानुन निर्माणमा समेत जोड दिएको छ । 

एनक्युएफले प्राविधिक तथा व्यावसायिक शिक्षा, सामान्य शिक्षा र जीवनपर्यन्त हुने सिकाइलाई समन्वयमा राख्दै दुवै धारबीच लचिलोपन र गतिशीलताको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउँछ । यसमा १ देखि ८ तहसम्मको संरचना छ, जसमा आधारभूत शिक्षा कक्षा ८ देखि विद्यावारिधिसम्मको यात्रा देखाइएको छ । साथै, पूर्वसिकाइको मान्यता (आरपीएल) का माध्यमबाट अनौपचारिक तथा जीवनपर्यन्त सिकाइलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीलाई सीपमा आधारित प्राविधिक तथा व्यावसायिक शिक्षामा आधारभूत तहदेखि उच्च प्राविधिक तहसम्म क्रमशः अगाडि बढ्ने मार्ग देखाउनुका साथै शिक्षाका धार परिवर्तनलाई संस्थागत रूप दिनेछ । 

प्राविधिक तथा व्यावसायिक शिक्षा अब केवल वैकल्पिक शिक्षाका रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै मुख्य धारको शिक्षाका रूपमा विकास हुँदै गएको छ । श्रम बजारको विविधता र प्रविधिको तीव्र गतिले दक्ष जनशक्तिको गुणस्तर, तह र क्षमतामा समेत रूपान्तरण आवश्यक परेको छ । यस सन्दर्भमा नेपालमा आधारभूत सीपमूलक तालिम कार्यक्रमलाई श्रम बजारसँग सुसंगत बनाउँदै सञ्चालन गर्न जरुरी भइसकेको छ । 

विगत तीन दशकदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनको अग्रणी संस्थाका रूपमा सीटीईभीटीले स्वास्थ्य, इन्जिनियरिङ, कृषि, होटल व्यवस्थापनलगायतका संकायअन्तर्गत आधारभूतदेखि डिप्लोमा तथा प्रमाणपत्र तहसम्मका कार्यक्रम सफल रूपमा सञ्चालन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारका लागि दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । त्यस्तै, परिषद्ले पूर्वसिकाइको मान्यता कार्यक्रममार्फत अनौपचारिक रूपमा प्राप्त सीप र अनुभवको परीक्षण गरी तह १ देखि ४ सम्म पूर्वसिकाइ भएका सीपयुक्त जनशक्तिको प्रमाणीकरणसमेत गर्दै आएको छ । यस्ता सफल अभ्यास र अनुभवका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाको धारमा स्नातक तह र सोभन्दा माथिका कार्यक्रम सञ्चालन गर्नु सान्दर्भिक र समयसापेक्ष देखिन्छ । 

सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको जनरल नर्सिङलगायत होटल म्यानेजमेन्ट, सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ र कृषि प्रविधिजस्ता विषय यस धारमा प्राविधिक स्नातक वा सो सरहका कार्यक्रम सञ्चालन गर्न अब राष्ट्रिय आवश्यकता मात्र नभई अस्पताल, उद्योग, व्यवसाय र सेवा क्षेत्रको सहभागितामा ‘सिक्दै पढ्दै, पढ्दै कमाउँदै’ अघि बढाउने रणनीतिक प्राथमिकता तय गर्नु जरुरी छ । नेपालका अधिकांश विश्वविद्यालयले हालसम्म साधारण शिक्षालाई केन्द्रमा राखी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यिनमा व्यावहारिकता र उद्योगसँगको प्रत्यक्ष सम्बन्ध अपेक्षाकृत कमजोर देखिन्छ । यद्यपि, श्रम बजारको तीव्र रूपान्तरण, प्रविधिको विकास तथा रोजगारीमा देखिएको सीपको असमानतालाई सम्बोधन गर्न विश्वविद्यालयले पनि आफ्नो शैक्षिक कार्यक्रमको प्रकृति र संरचना पुनः परिभाषित गर्नुपर्ने आवश्यकता बढ्दो छ । तसर्थ, विश्वविद्यालयले पनि श्रम बजारको बढ्दो माग, प्रविधिको विकास र उद्योग व्यवसायको आवश्यकताअनुसार व्यावहारिक शिक्षासँग सम्बन्धित प्राविधिक स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यस्ता कार्यक्रम कृषि, उद्योग, व्यवसाय, कलकारखाना, सेवा क्षेत्रको समन्वयमा सञ्चालन गरिएमा व्यावहारिक ज्ञान, सीप, नवप्रवर्तन, अनुसन्धानका साथ कार्य र उत्पादन क्षमताको विकास हुनेछ । यसले विश्वविद्यालय, उद्योग, व्यवसाय र रोजगारबीचको सम्बन्धलाई थप सुदृढ पार्नेछ ।

यस सन्दर्भमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपको भूमिका महत्त्वपूर्ण छ । यो एक संरचित प्रणाली हो, जसले साधारण, प्राविधिक र पूर्वसिकाइको मान्यताबीच समन्वय कायम गर्छ । एनक्यूएफले विभिन्न स्तरका सीप र योग्यताको स्पष्ट मार्गचित्र देखाउँछ । ग्रेडिङ प्रणालीले विद्यार्थीको स्थान निर्धारण सजिलो बनाउँछ भने क्रेडिट ट्रान्सफरले सिकेका विषयको मान्यता दिँदै धार वा तह परिवर्तन गर्न सहज बनाउँछ । यसले अध्ययनमा दोहोरोपना हटाएर समय बचत गर्छ र शिक्षा निरन्तरतामा टेवा पुर्‍याउँछ । पूर्वसिकाइको मान्यता प्रणालीले अनौपचारिक र जीवनपर्यन्त सिकाइलाई औपचारिक शिक्षासँग जोड्ने काम गर्छ । तर हाल मुलुकमा एनक्यूएफसम्बन्धी कानुन निर्माणमा ढिलाइ हुँदा बहुआयामिक मूल्यांकन, क्रेडिट ट्रान्सफर, स्तरगत उन्नति र श्रम बजारका लागि आवश्यक दक्षता विकासमा बाधा पुगेको छ । 

अब शिक्षा प्रणालीलाई रोजगार, स्वरोजगार र उद्यमशीलतामा रूपान्तरण गर्न नीति कार्यान्वयनमा निर्णायक अग्रसरता लिन जरुरी छ । एनक्यूएफ लागू गर्नका लागि कानुनी, प्राविधिक तथा प्रशासनिक रूपमा आवश्यक पक्ष निर्माण गरी शिक्षाका धार र तहमा गतिशीलता र सुसंगतता कायम गर्दै शिक्षा, सीप, रोजगारी र उद्यमशीलताबीचको तादात्म्यता कायम गर्न आवश्यक भएको छ ।

सरकारको नीति तथा कार्यक्रमले ‘सिक्दै पढ्ने, पढ्दै कमाउने’ अवधारणालाई प्रोत्साहन दिँदै प्राविधिक धारलाई मूलधारको शिक्षामा रूपान्तरण गर्ने वातावरण तयार पारेको भए पनि त्यसलाई प्रभावकारी कार्यान्वयनमा लैजान अझै स्पष्ट, व्यावहारिक र दिगो संरचनाको खाँचो छ । एनक्यूएफलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक कानुनी संरचना, नीति स्पष्टता, सम्बन्धित निकायबीच सहकार्य र उत्तरदायित्वको व्यवस्था समयमै सुनिश्चित गर्न अब ढिला गर्नु हुन्न । 

प्राविधिक धारको शिक्षा प्रणालीलाई १ देखि ८ तहसम्म लैजाने मार्गचित्रअनुसार त्यसलाई विधिसम्मत कार्यान्वयन गर्न सरकार, नीति निर्माता, शैक्षिक संस्था, निजी क्षेत्र र सबै सरोकारवाला मिलेर निर्णायक अग्रसरता लिनु अहिलेको आवश्यकता हो । यही माध्यमबाट मात्र प्राविधिक तथा व्यावसायिक शिक्षालाई सामाजिक मान्यता दिलाउँदै समावेशी, गुणस्तरीय र श्रम बजारोन्मुख शिक्षाको राष्ट्रिय प्रणाली निर्माण गर्दै समग्र राष्ट्र निर्माणमा आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र परिचालन गर्न सम्भव हुनेछ । 

–पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमा प्राध्यापनरत छन् भने शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्की उप–निर्देशक हुन् ।

दीपिका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्की उप–निर्देशक हुन्।

प्रकाशकुमार

Link copied successfully