जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिट माथि डेंगी गराउने लामखुट्टे सर्दैछ।न्युनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत रोग बढ्छ। तापक्रम बढ्दा वृद्धि विकास चाँडो, थप संक्रामक, जीवनचक्र छिटो हुने र लामो समय बाँच्ने मौका लामखुट्टेलाई मिलेको छ।
नेपालमा पहिलोपटक डेंगी संक्रमण सन् २००४ मा देखिएपनि संक्रमण फैलिएको र निरन्तर देखिएको २००६ पछि हो। फोहरमैलाको अव्यवस्था, बसोवास अव्यवस्थित, अविरल वर्षा र वातावरण विनाश आदि लामखुट्टे बढ्नुका सहायक कारक हुन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिट माथि डेंगी गराउने लामखुट्टे सर्दैछ।न्युनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत रोग बढ्छ। तापक्रम बढ्दा वृद्धि विकास चाँडो, थप संक्रामक, जीवनचक्र छिटो हुने र लामो समय बाँच्ने मौका लामखुट्टेलाई मिलेको छ।
विश्व स्वास्थ्य संगठनले डेंगीबाट १ सय २८ देशका करिब ३ अर्ब ९७ करोड जनसंख्या जोखिममा छन् । हरेक वर्ष ५ देखि १० करोड बढीमा संक्रमण हुने र ५ लाख बढीमा कडा प्रकृतिको भई २२ हजार बालवालिका तथा २४ हजार मानिसको मृत्यृ हुने गरेको बताएको छ । नेपालमा सन् २००४ मा १ जनामा देखिएको डेंगी सन २००५ मा देखिएन।
सन् २००६ देखि निरन्तर देखिँदै र मृत्यृ गराउँदै आएको छ । सन् २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको मृत्यृ भएको थियो । नेपालमा हरेक २/३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि डेंगी संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण मन्त्रालयको छ ।
हिमालमा पनि फैलिँदै डेंगी
गर्मी मौसम र तराईमा मात्र देखिने डेंगी बार्है महिना र उच्च हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । चिसो मौसममा शून्यमा झर्ने डेंगी विगतका वर्षहरूमा जाडोमा पनि देखा परेपछि स्वास्थ्य प्रणालीमा चुनौती थप्दै गएको देखिन्छ । पश्चिम नेपालका हिमाली जिल्लाहरूमा गाऊँ गाऊँमा गाडी पुगेपछि जताततै लामखुट्टेको बिगबिगी छ ।
दिन र रातीमा लामखुट्टेको टोकाईबाट दिक्क भएपछि मुगु,जुम्ला,कालिकोटमा डेंगीका बिरामीहरू थपिँदैछन् । पूर्वी पहाडी जिल्लाहरू पँचथर लगायतका जिल्लाहरूमा ज्वरो र डेंगीका बिरामीमा हरेक वर्ष बढोत्तरी भईरहेको देखिन्छ । काठमाडौं लगायतका सहरहरूको बढ्दो जनघनत्व र अब्यवस्थित सहरीकरण, बढ्दो तापक्रम, घरघरमा पानी जम्मा गर्नुपर्ने बाध्यता, वर्षा लामो समयसम्म र प्री—मनसुन, जलवायु परिवर्तन र बाटोको खाल्डाखुल्डी, टायर, कौसीमा पानी जम्मा हुँदा डेंगी बढ्दैछ ।
डेंगी के हो ?
फलेवी विषाणु समूहमा पर्ने डेंगी विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाईरसको तीब्र संक्रमणले डेंगी लाग्दछ । मांसपेशी र हड्डीमा निकै पिडा हुने भएकाले ब्रेकबोन वा लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिन्छ । डेंगी रोग तीन दिन मै नरम हुँदै जाने भएकोले यसलाई तीनदिने ज्वरो पनि भनिन्छ। चार प्रकारको डेंगी विषाणुको संक्रमण पश्चात लक्षण नदेखाउने वा छुट्टाउन नसकिने ज्वरो, डेंगी ज्वरो (डी एफ ), डेंगी हेमोरेजिक ज्वरो (डि एच एफ ) सँगै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक शक डेंगी शक सिन्ड्रोम (डिएसएस) प्रकारको हुन सक्छ ।
बाहक- लामखुट्टेको स्मार्ट आनीबानी
डेंगु विषाणुबाट संक्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट संक्रमण लाग्दछ । तर अल्वोपिक्टसले एक टोकाईमा पेट भर्ने भएकाले यस्को टोकाईबाट त्यति रोग सर्दैन । कालो रंगको लामखुट्टेमा सेतों थोप्ला वा छिर्केमिर्के रंगको वा बाघ जस्तै टाटेपाटे लामखुट्टेले सार्दछ । हुर्कन ५ मिलि जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ । दिऊसो सक्रिय र राती नआउने । आकार सानो,झट्ट नदेखिने र दिउँसोमा आउने भएकाले आवाज सुनिँदैन।
प्याट्ट मार्दा रगत आउँदैन, कालो, फुस्रो धुलोजस्तो देखिन्छ । टोकेपछि शरिरमा चिलाएजस्तो हुने, मसिना विविरा आउने, केहिसमय नराम्ररी चिलाउने तथा कहिलेकाहिँ विविरा बढेर ठूला फोका पर्छन । सफा पानीमा बढ्ने, फुल पार्ने गर्छ । छतमा राखेको टयांकीको पानीमा समेत लामखुट्टे पाईन्छ । लामखुट्टे ३ हप्ता बाँच्ने र ट्रान्सभाईरलबाट संक्रमित लामखट्टेले फुलमा पनि भाईरस सार्दछ । प्रायः बिहान ७ देखि १० र साँझ ३ देखि ५ बजे बढी सक्रिय हुन्छन् ।
दिउँसो मात्र टोक्ने यो लामखुट्टे अप्राकृतिक भाडा, घरभित्र जमेर बसेको पानी जस्तै एसी, कुलर, खानेपानीको ट्याङकी, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतल जस्ता अप्ठ्यारा ठाउँमा पाइने गर्दछ । सबैभन्दा खतरनाक त टायर हो जहाँ हरेक पत्र–पत्र वा तह तहमा पानी जम्छ । सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाईगर वा भिआईपी लामखुट्टे पनि भनिन्छ । संक्रमित लामखुट्टेले पारेका फुलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर संक्रमित रहन्छन् । तर लामखुट्टे बिना मानिसबाट मानिसमा डेंगी सर्दैन ।
लक्षण
झण्डै ८० प्रतिशतमा गम्भिर लक्षण नदेखिने भएकाले अधिकांशमा संक्रमण भईसकेको र एकपटक संक्रमण भईसकेपछि तुरुन्तै पुन संक्रमण नहुने संभावना रहन्छ । शरीरमा भाइरस पसेको ५ देखि ८ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षणहरू देखिन्छन् । ज्वरो, विमिरा र टाउको वा शरीर दुख्ने डेंगीका त्रिभुज हुन् ।
एक्कासी चिसोको अनुभूतिकासाथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी, हाड, ढाड र जोर्नीहरू दुख्न थाल्छ । मुख्य लक्षण नै अत्यधिक शारिरिक पीडा हो । अधिकांश संक्रमितहरू लक्षण लिएर घरघरमा र आफ्नो दैनिकीमा निरन्तर कार्यक्षेत्रमा खटिरहेका छन् ।
हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुनसक्ने र मृत्यृदर १ देखी २ प्रतिशत देखिन्छ । जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, साना बच्चाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउनसक्छ । डेंगी विषाणु संक्रमणको कडा रुपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तश्रावका लक्षण देखापर्दछन् जसलाई ‘डिएचएफ’ भनिन्छ ।
रक्तश्राव भइ रक्तश्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ ।
जीवन्त तन्तुमा असर परी डिएसएस–शक हुनसक्छ । डेंगीका करिब ५ प्रतिशतमा रगतमा प्लाज्माको मात्रा कम हुने, पानीको मात्रा कम हुने र हाईपोभोलेमिक सक हुने संभावना रहन्छ र यस्तालाई अस्पतालमा भर्ना गर्नुपर्छ । डेंगीले बोनमेरो सप्रेसन गरेपछि टोटल काउन्ट तथा प्लेटलेटहरू घटाउँदै जान्छ । प्लेटलेट धेरै घटे चढाउनपर्ने भएकाले प्लेटलेट काउन्ट २ देखि ३ दिनमा हेरिरहनुपर्छ ।
पहिलो भन्दा दोश्रा, तेश्रो पटक बढी जटिल
डेगी पहिलोपटक र दोहोरिँदाको संक्रमण गर्ने भाईरस फरक प्रकारको हुने भएकाले बढी जटिल हुनेगर्छ । पहिले बनेको एन्टिबडीले काम नगर्ने र एन्टिबडीलाई भर्याङ बनाएर सजिलैसँग ईम्युन सिस्टमका कोषहरू प्रयोग गरी फैलिन्छ, खोप विकास तथा प्रभावकारी हुन सकेको छैन । सामान्य मानिसलाई धेरै जटिलता नहोला तर दीर्घरोगी तथा स्वास्थ्य जटिलता भएकाहरूलाई धेरै असर गर्नसक्छ ।
खतराका चिन्ह तथा लक्षण
तारन्तार बान्ता हुने, अत्यधिक पेटको दुखाई, नाक, गिजा वा शरिरका अन्य ठाउँबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन, स्वासप्रस्वासमा तीब्रता वा कठिनाई उपरोक्त ५ लक्षण देखिए जटिलतातिर गईरहेको हनसक्ने भएकाले तुरुन्त अस्पताल जानुपर्दछ ।
चिकित्सकले परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको, कलेजोको आकार सामान्यभन्दा २ सेमी बढी बढेको र रगतमा प्लेटलेटको संख्यामा तीब्र गिरावट आएको देखिन्छ । डेंगी ज्वरो घटेको २ दिन गम्भिर रहन्छ । कोभिड–१९ को मोडेल जस्तै डेंगी संक्रमित धेरै र केहि मात्र गम्भिर हुने भएकाले घरमै बसेर उपचार लिने तर जटिलताका लक्षणहरू देखिए तुरुन्तै अस्पताल जाने ब्यवस्था गर्न जरुरी छ ।
पोष्ट डेंगी पनि त्यस्तै
नेपालमा पनि डेंगी निको भईसकेकाहरूमा निन्द्रा नलाग्ने, मुटुको चाल बढ्ने, स–साना कुरामा झिँझो लाग्ने, रिगंटा लाग्ने, आँखाको गेडि दुख्ने, मानसिक समस्या, चिन्ता, काममा मन नलाग्ने, आत्तिने, छालामा बिमिरा, चिलाउने, कमजोरी, हाडजोर्नी तथा माशंपेसी दुखाई, खाना नरुच्ने, कपाल झर्ने लगायतका समस्या ६ महिना वा त्यो भन्दा बढी समयसम्म देखिएका छन् ।
संक्रमणपछि एक डेढ महिनासम्म छाला सुख्खा हुने,चिलाउने, बिमिरा देखिने हुनसक्छ र कपाल झर्ने समस्या विशेषत महिलामा अस्थायी रुपमा देखिने गरेको छ । त्यसो त रोग प्रतिरोधात्मक क्षमता कम भएका वा दीर्घरोगीमा असर लामो समयसम्म रहन्छ । १५ देखि २५ प्रतिशतमा पोष्ट डेंगी देखिने गरेको छ । अस्पताल भर्ना भएर निको भएकामा पोष्ट डेंगी सिन्ड्रोम बढी छ ।
मेवाको पात खाएर बेहोस
मेवाको पात खाएर रोग छिटो निको हुन्छ, प्लेटलेट घटन नदिने तथा घटेको पनि छिटो सामान्य बनाउने भन्ने सल्लाहले मेवाको पात खोजी सिलौटामा थिचेर पानीमा हाल्दै खाने चलनले थप जटिल र वेहोश बनेका धेरै बिरामी पाइन्छन्। मेवाको पात प्रयोग गरे लगत्तै पेट बाऊडिने, बटारिने,वाकवाक लाग्ने, बान्ता हुने गर्ने गरेक्लो अस्पताल पुगी परामर्श लिने पनि प्रशस्तै छन् । दिर्घकालमा कलेजो लगायतका अगंमा नकारात्मक असर देखाउँछ ।
रोकथाम
डेंगी विषाणुको संक्रमणबाट हुने रोग भएकोले रामवाण औषधि हुँदैन । उपचार लक्षणको आधारमा गरिन्छ । क्लासिक डेंगु सामान्य प्रकारको हो र आँफै निको हुन्छ तथा मृत्यृको संभावना कमै हुन्छ । यदि डेंगी हेमोरेजिक ज्वरो वा डेंगी शक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यृ हुन्छ ।
एस्प्रिन र ब्रुफिन जस्ता औषधि सेवन गर्नुहुँदैन । प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान दिएर वास्तविक र छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई दश प्रतिशतभन्दा कम गर्न सकिन्छ । डेंगीको खोप विकसित देशमा उपलब्ध भएपनि हामीकहाँ छैन । खोपले डेंगीको जटिलता ९० प्रतिशतले कम,अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ ।
सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागु गरेको छ । ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाईसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण,लामखुट्टेको वृद्धि विकास कसरी रोक्ने, उपचार के–के गर्ने, स्थानीय तहको भूमिका, रेडक्रसको भूमिका,बढी जोखिम भएका ९२ स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर छ ।
रोकथाम तथा नियन्त्रण गर्न हरेक साता सबै सरकारी, नीजि तथा सार्वजनिक कार्यालयहरूले आफनो हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य सञ्चालन गर्नुपर्छ । जाली भएका ढोका झयाल, झुलको प्रयोग, पुरा बाहुला भएको लुगा अनिवार्य लगाउने, लामखुट्टेको वृद्धि विकास रोक्ने र टोकाईबाट जोगिन सबै उपाय अपनाउनुपर्छ ।
अन्त्यमा,आफूलाई नपरी नचेत्ने नागरिकको बानीले ठूलो समस्या निम्त्याईरहेको छ । सबैको प्रयासले मात्र डेंगी नियन्त्रण गर्न सकिने भएकाले सर्वसाधारण र सरोकारवालाहरू सबैको टायर रिसाईकल, साप्ताहिक सुख्खा दिन अभियान, सामाजिक सञ्जाल तथा मोबाईल एप्सको प्रयोग, लार्भानाशक जैविक औषधि तथा रसायनको प्रयोग र रोगको चरण थाहा पाउन रंग कोडको प्रयोग, समुदायमा निगरानीमा सहभागिता, सहजीकरण एवं समन्वयको जरुरत छ । डेंगी नष्ट घरबाटै भन्दै अभियान चलाउनपर्छ । डेंगी रोक्न स्थानीय सरकारको अहं भूमिका छ । राजनीतिक दल पनि कार्यकर्ता परिचालन गर्न क्रियाशिलता देखाउनुपर्छ ।
