मधेशमा बदलिँदै छ लैंगिकतासम्बन्धी सोच

मधेशका महिलाले त घरभित्रै पनि विभिन्न शोषण, लाञ्छना र हिंसा खेपेर बस्नुपर्ने जटिलता छ

असार १७, २०८२

सुशीला शर्मा

The thinking about sexuality is changing in Madhesh

मधेशका महिलाहरू पनि समूहमा बस्ने, सानोतिनो बचत गर्ने, कुनै संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुने क्रम अहिले बढ्दो छ । मधेशका महिलासँग साक्षात्कार भइरहँदा पछिल्लो समय मैले अनुभव गरेको कुरा पनि यही हो ।

‘सुरक्षा र न्याय’ शीर्षकमा सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको एउटा संस्थाले मधेश प्रदेशका तीन जिल्लाका तीनवटा नगरपालिका छनोट गरेर लैंगिक हिंसा रोकथामसम्बन्धी कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रममा सहभागी भइसकेपछि केही महिलाले आफूमा आएको परिवर्तनबारे खुलेरै चर्चा गरे । 

दुई जना नाबालक सन्तानकी आमा एक महिलाले तीन महिनाका दौरान आफूले घुम्टो प्रथालाई छोड्दै गएको बताइन् । दलित परिवारबाट प्रतिनिधित्व गर्ने ती महिला आफ्नो परिवार र नातागोतामा आफूले नै अध्ययनलाई जारी राखेको र परिवारको सदस्यबाट पनि समाज परिवर्तनका लागि काम गरोस् भन्ने आस गरेको सुनाइन् । निकै मुखरित ती महिलामा आर्थिक रूपले आत्मनिर्भर हुँदै समाजका लागि पनि केही गरौं भन्ने जुनुन जबर्जस्त थियो । 

तराईमा प्रचलित घुम्टो प्रथा साँच्चै नै महिलाका लागि सकसको वस्त्र भइरहेको एक पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने पढेलेखेकै युवतीले सुनाइन् । उनले आफूले २० वर्षको उमेरमा विवाह गरेपछि सधैंभरि घुम्टोभित्र बस्नुपरेको तीतो सत्य पनि स्विकारिन् ।

तर अहिले विस्तारै परिवारका सदस्यलाई आफू पढेलेखेको पनि र बाहिर निस्केर केही गर्न चाहन्छु भनेर सम्झाएपछि आफ्ना सासू–ससुराले मनको भाव बुझेर समूहमा छलफल गर्न जान स्वीकृति दिएपछि आफूलाई ठूलो राहत मिलेको उनले सुनाइन् । घुम्टोलाई चटक्कै त्याग्न नसके पनि अहिले बाहिरफेर जाँदा र कार्यक्रममा सहभागी भइरहँदा भने घुम्टो फुकालेरै जाने गरेको पनि उनले बताइन् । 

समूहमा बसेर लैंगिकताको कुरा गरिरहँदा महिलाहरू आफूहरूले घरको सबै कामधन्दा गर्ने गरेको तर त्यसको खासै मूल्य नरहेको पनि बताउँछन् । उनीहरू भन्छन्, ‘पुरुषहरूको त हाजिर पाक्छ तर हाम्रो पाक्दैन ।’ जेहोस् मधेशका महिलालाई पनि अब आफ्ना छोरीलाई गाडी चलाउन सिकाउन मन छ, बाहिर पढ्न पठाउन मन छ । विदेश घुम्न जाउन भन्ने इच्छा छ । यस्तै रोमाञ्चकता पोख्छन् रमाइलो भेटघाटमा मधेशका महिलाहरूले । 

बारा जिल्लाको सिम्रौनगढमा पनि लैंगिक हिंसासम्बन्धी सेसन कार्यक्रममा सहभागी भएका महिला आफूमा केही न केही चेतना र ज्ञान पलाएको धारणा व्यक्त गर्छन् । एक महिला हप्ताको एक दिन लैंगिक हिंसासम्बन्धी कार्यक्रममा सहभागी हुन आउँथिन् तर उनको परिवारमा यो कहाँ गइरहेकी छे, के सिकिरहेकी छे भन्ने आशंका र असन्तुष्टि रहेछ । तर उनले आफूले सिकेका कुरा, महिला र पुरुष समानताका कुरा परिवारमा बताएपछि उनका श्रीमान् नै त्यस तालिम स्थलमा आएर तालिमका बारेमा बुझे ।

तालिमले कुनै हानि–नोक्सानी गर्ने कुरा सिकाएको नभई अहिलेको समय परिवेश अनुसार महिला र पुरुष बराबर हुन्, मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा नै सिकाउने रहेछ भनेर उनी आफ्नी श्रीमतीप्रति सशंकित हुनै छाडिदिए । अहिले उनी कार्यक्रम स्थलसम्मै श्रीमतीलाई छोड्न र लिन आउने गर्छन् रे !

‘लैंगिक रूपान्तरणकारी सामाजिक मूल्यमान्यता’ शीर्षक सेसनमा बसेपछि महिलाले केही न केही आफूमा परिवर्तन आएको अनुभव गरेका छन् । दलित समुदायकी एक प्रतिनिधि महिलाले आफू उक्त सेसनमा बसेपछि जातीयताका आधारमा आफूलाई हेप्न खोज्ने एक महिलालाई प्रतिरोध गरेको घटनाले पनि यसको पुष्टि गर्दछ । ती दलित महिला एउटा पोखरीमा नुहाउन गएकी थिइन् ।

त्यहाँ कथित उच्च जातकी महिला पनि नुहाउँदै रहेछिन् । ती कथित उच्च जातकी महिलाले ती दलित महिलालाई पानी नछुनका लागि भनिन् तर ती दलित महिलाले ‘ल ! तिम्रो र मेरो शरीर काटेर हेरौं, रगतको रंग बेग्लै भए बल्ल तिमीले भनेको मानौंला’ भनेपछि ती उच्च जातकी महिला नाजवाफ भएकी थिइन् रे !

उनले दलित महिलाकी सासूलाई ‘तिम्रो बुहारी त यसरी बोल्ने भइछ’ भन्दै गुनासो नै पोखेकी थिइन् रे ! यसरी नै आवश्यक परका बेलामा बोल्न सकेमा मात्रै पनि कतिपय हिंसा न्यूनीकरण हुने कुरा यस घटनाले पनि सिकाएको छ । ससाना नै किन नहोऊन्– समूह बनाएर महिलालाई लैंगिक हिंसासम्बन्धी यस्ता सेसन चलाउन सके चेतना प्रवाह गर्न नै मद्धत गर्ने रहेछन् । 

तर अझै पनि मधेशमा महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभेद, हेला, दुर्व्यवहारको चक्र भने घुमिरहेकै छ । शंकास्पद मृत्यु, बलात्कार, दाइजोजस्ता परम्परागत हानिकारक सामाजिक संस्कार लगायत विभेदित, अपहेलित र परनिर्भर हुनुपर्ने अवस्था मधेशी महिलाको छ । 

वास्तवमा मधेशका सामाजिक समस्यामा लैंगिक विभेद, बालविवाह, जातीय भेदभाव, दाइजो प्रथा, घुम्टो प्रथा, जातीय भेदभाव, बोक्सी प्रथाजस्ता जबरजस्त रूपमा जरा गाडेर बसेका छन् । अझ परिवारमै परनिर्भर रहनुपर्ने महिलाले त घरभित्रै पनि विभिन्न शोषण, लाञ्छना र हिंसा खेपेर बस्नुपर्ने जटिलता छ । अर्कोतर्फ आफूलाई लागेका कुरासमेत बोल्न नपाउने अवस्था पनि विद्यमान छ ।

कतिपय महिला अझै पनि अन्धविश्वासलाई संस्कृति मानेर हिँडिरहेका छन् । बोक्सीका नाममा अर्को निर्दोष महिलालाई अपमानजनक दुर्व्यवहार महिलाहरूले नै मिलेर गरिरहेका छन् । मधेशमा विवाहकै कुरा गरिरहँदा दाइजोको बार्गेनिङमा महिलाको गोरो या साँवला रंगका कारणले फरक भएका कुरा समुदायमा यसो अनौपचारिक कुराकानी गर्दा पनि भेउ पाउन सकिन्छ । 

घरेलु हिंसामा मुद्दाको तथ्यांक हेर्ने हो भने मधेशमै बढी देखिन्छ । हुन त मुद्दासम्म पुग्ने चेतनास्तर बढ्नुलाई पनि सकारात्मक नै मान्न सकिन्छ । कतिपय घटना त भित्रभित्रै दबाइएका पनि छन् । रोजगारी, व्यवसाय, सम्पत्तिमा अधिकारमा अझै पनि महिला विमुख नै रहेका पाइन्छन् । अझ दलित महिलाको त आफ्नो घर–जग्गा पनि नभएको अवस्थामा दोहोरो विभेद र चरम गरिबीको कुचक्रमा जीवन निर्वाह गरिरहनु परेको तीतो यथार्थ पनि छ । 

मधेशी समाजमा देशको कानुनभन्दा धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परारूपी कानुन हावी छ भन्दा फरक नपर्ला । ती सामाजिक परिधिलाई चिर्न मधेशी महिलाको लागि कठिन पनि छ । शिक्षा र चेतनाको अभाव महिलामा मात्र नभएर पुरुषमा पनि उत्तिकै छ । समाजका अगुवा नै विभिन्न पछौटे र हानिकारक सामाजिक मूल्य मान्यतालाई अँगाल्दै अगाडि बढिरहेका छन् ।

महिला बलात्कार, हिंसा र हत्याका घटना नियन्त्रण नहुनु, दोषीलाई गाउँठाउँकै मुखियाको मिलेमतोमा मिलाइनु र फरार बनाइनुजस्ता घटना यसकै केही उदाहरण हुन् । तसर्थ, मधेशमा बिस्तारै बदलिँदै गइरहेको लैंगिकतासम्बन्धी सोचलाई राज्यले अपनत्व लिई सोही अनुरूप नीति–नियम र कानुनी प्रावधान मजबुत बनाउन सके यस्ता घटना कम गर्न टेवा पुग्ने थियो कि !

सुशीला शर्मा शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully