मधेशका महिलाले त घरभित्रै पनि विभिन्न शोषण, लाञ्छना र हिंसा खेपेर बस्नुपर्ने जटिलता छ
मधेशका महिलाहरू पनि समूहमा बस्ने, सानोतिनो बचत गर्ने, कुनै संघसंस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुने क्रम अहिले बढ्दो छ । मधेशका महिलासँग साक्षात्कार भइरहँदा पछिल्लो समय मैले अनुभव गरेको कुरा पनि यही हो ।
‘सुरक्षा र न्याय’ शीर्षकमा सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको एउटा संस्थाले मधेश प्रदेशका तीन जिल्लाका तीनवटा नगरपालिका छनोट गरेर लैंगिक हिंसा रोकथामसम्बन्धी कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रममा सहभागी भइसकेपछि केही महिलाले आफूमा आएको परिवर्तनबारे खुलेरै चर्चा गरे ।
दुई जना नाबालक सन्तानकी आमा एक महिलाले तीन महिनाका दौरान आफूले घुम्टो प्रथालाई छोड्दै गएको बताइन् । दलित परिवारबाट प्रतिनिधित्व गर्ने ती महिला आफ्नो परिवार र नातागोतामा आफूले नै अध्ययनलाई जारी राखेको र परिवारको सदस्यबाट पनि समाज परिवर्तनका लागि काम गरोस् भन्ने आस गरेको सुनाइन् । निकै मुखरित ती महिलामा आर्थिक रूपले आत्मनिर्भर हुँदै समाजका लागि पनि केही गरौं भन्ने जुनुन जबर्जस्त थियो ।
तराईमा प्रचलित घुम्टो प्रथा साँच्चै नै महिलाका लागि सकसको वस्त्र भइरहेको एक पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने पढेलेखेकै युवतीले सुनाइन् । उनले आफूले २० वर्षको उमेरमा विवाह गरेपछि सधैंभरि घुम्टोभित्र बस्नुपरेको तीतो सत्य पनि स्विकारिन् ।
तर अहिले विस्तारै परिवारका सदस्यलाई आफू पढेलेखेको पनि र बाहिर निस्केर केही गर्न चाहन्छु भनेर सम्झाएपछि आफ्ना सासू–ससुराले मनको भाव बुझेर समूहमा छलफल गर्न जान स्वीकृति दिएपछि आफूलाई ठूलो राहत मिलेको उनले सुनाइन् । घुम्टोलाई चटक्कै त्याग्न नसके पनि अहिले बाहिरफेर जाँदा र कार्यक्रममा सहभागी भइरहँदा भने घुम्टो फुकालेरै जाने गरेको पनि उनले बताइन् ।
समूहमा बसेर लैंगिकताको कुरा गरिरहँदा महिलाहरू आफूहरूले घरको सबै कामधन्दा गर्ने गरेको तर त्यसको खासै मूल्य नरहेको पनि बताउँछन् । उनीहरू भन्छन्, ‘पुरुषहरूको त हाजिर पाक्छ तर हाम्रो पाक्दैन ।’ जेहोस् मधेशका महिलालाई पनि अब आफ्ना छोरीलाई गाडी चलाउन सिकाउन मन छ, बाहिर पढ्न पठाउन मन छ । विदेश घुम्न जाउन भन्ने इच्छा छ । यस्तै रोमाञ्चकता पोख्छन् रमाइलो भेटघाटमा मधेशका महिलाहरूले ।
बारा जिल्लाको सिम्रौनगढमा पनि लैंगिक हिंसासम्बन्धी सेसन कार्यक्रममा सहभागी भएका महिला आफूमा केही न केही चेतना र ज्ञान पलाएको धारणा व्यक्त गर्छन् । एक महिला हप्ताको एक दिन लैंगिक हिंसासम्बन्धी कार्यक्रममा सहभागी हुन आउँथिन् तर उनको परिवारमा यो कहाँ गइरहेकी छे, के सिकिरहेकी छे भन्ने आशंका र असन्तुष्टि रहेछ । तर उनले आफूले सिकेका कुरा, महिला र पुरुष समानताका कुरा परिवारमा बताएपछि उनका श्रीमान् नै त्यस तालिम स्थलमा आएर तालिमका बारेमा बुझे ।
तालिमले कुनै हानि–नोक्सानी गर्ने कुरा सिकाएको नभई अहिलेको समय परिवेश अनुसार महिला र पुरुष बराबर हुन्, मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा नै सिकाउने रहेछ भनेर उनी आफ्नी श्रीमतीप्रति सशंकित हुनै छाडिदिए । अहिले उनी कार्यक्रम स्थलसम्मै श्रीमतीलाई छोड्न र लिन आउने गर्छन् रे !
‘लैंगिक रूपान्तरणकारी सामाजिक मूल्यमान्यता’ शीर्षक सेसनमा बसेपछि महिलाले केही न केही आफूमा परिवर्तन आएको अनुभव गरेका छन् । दलित समुदायकी एक प्रतिनिधि महिलाले आफू उक्त सेसनमा बसेपछि जातीयताका आधारमा आफूलाई हेप्न खोज्ने एक महिलालाई प्रतिरोध गरेको घटनाले पनि यसको पुष्टि गर्दछ । ती दलित महिला एउटा पोखरीमा नुहाउन गएकी थिइन् ।
त्यहाँ कथित उच्च जातकी महिला पनि नुहाउँदै रहेछिन् । ती कथित उच्च जातकी महिलाले ती दलित महिलालाई पानी नछुनका लागि भनिन् तर ती दलित महिलाले ‘ल ! तिम्रो र मेरो शरीर काटेर हेरौं, रगतको रंग बेग्लै भए बल्ल तिमीले भनेको मानौंला’ भनेपछि ती उच्च जातकी महिला नाजवाफ भएकी थिइन् रे !
उनले दलित महिलाकी सासूलाई ‘तिम्रो बुहारी त यसरी बोल्ने भइछ’ भन्दै गुनासो नै पोखेकी थिइन् रे ! यसरी नै आवश्यक परका बेलामा बोल्न सकेमा मात्रै पनि कतिपय हिंसा न्यूनीकरण हुने कुरा यस घटनाले पनि सिकाएको छ । ससाना नै किन नहोऊन्– समूह बनाएर महिलालाई लैंगिक हिंसासम्बन्धी यस्ता सेसन चलाउन सके चेतना प्रवाह गर्न नै मद्धत गर्ने रहेछन् ।
तर अझै पनि मधेशमा महिला तथा सीमान्तकृत समुदायमाथि हुने विभेद, हेला, दुर्व्यवहारको चक्र भने घुमिरहेकै छ । शंकास्पद मृत्यु, बलात्कार, दाइजोजस्ता परम्परागत हानिकारक सामाजिक संस्कार लगायत विभेदित, अपहेलित र परनिर्भर हुनुपर्ने अवस्था मधेशी महिलाको छ ।
वास्तवमा मधेशका सामाजिक समस्यामा लैंगिक विभेद, बालविवाह, जातीय भेदभाव, दाइजो प्रथा, घुम्टो प्रथा, जातीय भेदभाव, बोक्सी प्रथाजस्ता जबरजस्त रूपमा जरा गाडेर बसेका छन् । अझ परिवारमै परनिर्भर रहनुपर्ने महिलाले त घरभित्रै पनि विभिन्न शोषण, लाञ्छना र हिंसा खेपेर बस्नुपर्ने जटिलता छ । अर्कोतर्फ आफूलाई लागेका कुरासमेत बोल्न नपाउने अवस्था पनि विद्यमान छ ।
कतिपय महिला अझै पनि अन्धविश्वासलाई संस्कृति मानेर हिँडिरहेका छन् । बोक्सीका नाममा अर्को निर्दोष महिलालाई अपमानजनक दुर्व्यवहार महिलाहरूले नै मिलेर गरिरहेका छन् । मधेशमा विवाहकै कुरा गरिरहँदा दाइजोको बार्गेनिङमा महिलाको गोरो या साँवला रंगका कारणले फरक भएका कुरा समुदायमा यसो अनौपचारिक कुराकानी गर्दा पनि भेउ पाउन सकिन्छ ।
घरेलु हिंसामा मुद्दाको तथ्यांक हेर्ने हो भने मधेशमै बढी देखिन्छ । हुन त मुद्दासम्म पुग्ने चेतनास्तर बढ्नुलाई पनि सकारात्मक नै मान्न सकिन्छ । कतिपय घटना त भित्रभित्रै दबाइएका पनि छन् । रोजगारी, व्यवसाय, सम्पत्तिमा अधिकारमा अझै पनि महिला विमुख नै रहेका पाइन्छन् । अझ दलित महिलाको त आफ्नो घर–जग्गा पनि नभएको अवस्थामा दोहोरो विभेद र चरम गरिबीको कुचक्रमा जीवन निर्वाह गरिरहनु परेको तीतो यथार्थ पनि छ ।
मधेशी समाजमा देशको कानुनभन्दा धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परारूपी कानुन हावी छ भन्दा फरक नपर्ला । ती सामाजिक परिधिलाई चिर्न मधेशी महिलाको लागि कठिन पनि छ । शिक्षा र चेतनाको अभाव महिलामा मात्र नभएर पुरुषमा पनि उत्तिकै छ । समाजका अगुवा नै विभिन्न पछौटे र हानिकारक सामाजिक मूल्य मान्यतालाई अँगाल्दै अगाडि बढिरहेका छन् ।
महिला बलात्कार, हिंसा र हत्याका घटना नियन्त्रण नहुनु, दोषीलाई गाउँठाउँकै मुखियाको मिलेमतोमा मिलाइनु र फरार बनाइनुजस्ता घटना यसकै केही उदाहरण हुन् । तसर्थ, मधेशमा बिस्तारै बदलिँदै गइरहेको लैंगिकतासम्बन्धी सोचलाई राज्यले अपनत्व लिई सोही अनुरूप नीति–नियम र कानुनी प्रावधान मजबुत बनाउन सके यस्ता घटना कम गर्न टेवा पुग्ने थियो कि !
