उस्तै ट्रेडमार्कको जालो

यो नागरिकको स्वास्थ्य र वास्तविक लगानीकर्तालाई प्रोत्साहित गर्ने विषय मात्रै होइन, बौद्धिक सम्पत्तिको सवाल पनि हो । त्यसलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो । उजुरी परे पनि वा नपरे पनि नियामक निकायले निरन्तर रूपमै डिजाइन तथा ट्रेडमार्क चोरीको अनुगमन गरिरहनुपर्छ ।

असार १२, २०८२

सम्पादकीय

Similar trademarks

नियमित प्रयोग गरिरहेका वस्तुसँग मानिसको अपनत्व हुन्छ, गुणस्तरप्रति विश्वास हुन्छ, अभ्यस्तता हुन्छ । त्यसैले उपभोक्ताले नामै तोकेर विक्रेतासँग वस्तुको माग गर्छन् र मूल्य तिर्छन् । तर सधैं उपभोक्ताले खोजेकै वस्तु हातमा नपर्न सक्छ ।

किनकि प्रयोजन, नाम, नामको डिजाइन, प्याकेजिङका लागि प्रयोग गरिएका बोतलदेखि बट्टा, त्यसमा प्रयोग गरिएका चित्र, रङ उस्तै–उस्तै भएका धेरै वस्तु नेपाली बजारमा पाइन्छन् । खासगरी ट्रेडमार्कबारे कम साक्षर क्षेत्रमा यस्ता वस्तु तथा सेवाको फैलावट देखिन्छ । जसले गर्दा प्रायःजसो थाहा नपाईकनै र कतिपय अवस्थामा थाहा भएरै पनि उपभोक्ता झुक्किने गरेका छन् ।

यसले उपभोक्ताको स्वास्थ्य, गुणस्तरीय वस्तु उत्पादन गर्ने संस्थाको मनोबल र लगानीको वातावरणलाई एकसाथ हानि पुर्‍याइरहेका छन् । यस्तो प्रवृत्ति खाद्यवस्तुमा मात्रै नभई व्यक्तिगत, घरायसी वा सामुदायिक प्रयोजनका विविध वस्तुदेखि सेवा क्षेत्रसम्म फैलिएको छ । तसर्थ सरकारले सक्कली ट्रेडमार्कलाई रक्षा र ‘नक्कली’ ट्रेडमार्कलाई निरुत्साहित गर्न आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । त्यसका लागि कानुनी कारबाहीदेखि नागरिकमा ट्रेडमार्क सचेतना बढाउने नीति लिनुपर्छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत परिचित कोकाकोलाको बोतलसँग मिल्दोजुल्दो नामका क्लब कोला, चिसो कोला तथा चिल कोलाजस्ता करिब उस्तै स्वादका पेय पदार्थ बजारमा पाइन्छन् । त्यस्तै, माउन्टेन ड्युसँग मिल्दोजुल्दो मनसुन ड्यु र मेन्टेन ड्यु पनि बजारमा पाइन्छ । फेन्टासँग मिल्दोजुल्दो फेन्सी र फान्टु पनि पाइन्छ । रेडबुलसँग मिल्दोजुल्दो रेड ब्लु र रेड राइनो पनि बजारमा पाइन्छ ।

ट्रेडमार्क नक्कल र विवादलाई लिएर उद्योग विभागका महानिर्देशक नेतृत्वको इजलासमा पर्ने उजुरीको चाप र प्रकृतिले पनि ‘नक्कल’ गर्ने प्रवृत्तिको फैलावट थाहा हुन्छ । काल्सबर्ग बियरजस्तै देखिने टेन्सबर्गविरुद्ध, निम्बु पानी जस्तै देखिने मनकामना निम्बु फ्रेसविरुद्ध, नौ बजे चामलको उत्पादकले नौ बजेअ चामलका उत्पादनविरुद्ध उजुरी दिएका छन् ।

विभागका अनुसार, भदौ २०६८ यता मात्र १ हजार ८ सय ९३ उजुरी परेका छन् । तर तीमध्ये २ सय ९ को मात्र फैसला भएका छन् । पछिल्ला वर्षमा विवाद बढ्दै गएको र वार्षिक करिब ५ सय उजुरी पर्ने गरेको छ । परेका उजुरीलाई यथाशक्य छिटो निरूपण गर्नुपर्छ । नयाँ विवाद उत्पन्न हुन नदिनका लागि भने यससम्बन्धी कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ ।

प्रायःजसो खाद्यवस्तुको ट्रेडमार्कमा विवाद परेको पाइन्छ । त्यसैले यो प्रत्यक्ष रूपमै उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो । तोकिएको मूल्य तिरेपछि गुणस्तरीय सेवा पाउनु ग्राहकको अधिकार हो । परिचित ट्रेडमार्कका वस्तुले गुणस्तर सुनिश्चित गरेका हुन्छन्, त्यसमा तलमाथि भए उनीहरू जिम्मेवार पनि हुन्छन् । उपभोक्तालाई उत्पादनबारे जानकारी दिने उद्देश्यले गरिने विज्ञापनमा खर्च गरेका हुन्छन् ।

उपभोक्ताको रुचिमा आउने परिवर्तन थाहा पाउनदेखि नयाँ प्रविधिको विकास गर्नका लागि ‘रिसर्च’ मा खर्च गरेका हुन्छन् । यी सबै कारणले सम्बन्धित ट्रेडमार्कका वस्तुले उपभोक्ताको विश्वास जितेका हुन्छन् । समग्रमा कठोर मिहिनेतले त्यस्तो ट्रेडमार्क उपभोक्तामाझ परिचित भएको हुन्छ ।

अर्कोतर्फ, ‘नक्कली’ ट्रेडमार्कको मुख्य उद्देश्य नै सक्कलीको लोकप्रियतालाई प्रयोग गर्ने, उपभोक्ता झुक्याउने र कम मिहिनेतमार्फत नाफा आर्जन गर्नु हो । त्यसैले यस्ता उत्पादनको मूल उद्देश्य नै गलत जगमा आधारित हुन्छ । त्यसैले ट्रेडमार्क नक्कल गरिएका वस्तुको गुणस्तर सुनिश्चित हुँदैन । त्यस्ता वस्तुको लागत त्यसै पनि कम पर्छ । फैलावट पनि सजिलो हुन्छ । तर उपभोक्ताको स्वास्थ्यलाई भने हानि पुर्‍याउन सक्छ ।

तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि प्रतिक्षित नेपाली समाजले विश्वसनीय लगानीकर्तालाई आकर्षित गर्नु अनिवार्य छ । त्यसका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित ब्रान्डलाई नेपालमा लगानी बढाउनका लागि उत्प्रेरित गराउनु आवश्यक छ । यस्ता लगानीकर्ता भित्रिँदा अन्यलाई पनि भित्रिन सजिलो हुन्छ । साथसाथै नेपालका वास्तविक लगानीकर्तालाई पनि प्रोत्साहन पुग्छ । तर विश्वसनीय ब्रान्डसँग मिल्दाजुल्दा उत्पादन बजारमा छ्यापछ्याप्ती पाइँदा लगानीकर्ता निरुत्साहित बन्न सक्छन् ।

जसले नियमसंगत काम गर्छन् र आफ्नो उत्पादनको गुणस्तरप्रति सचेत रहन्छन्, नक्कली ट्रेडमार्कले उनीहरूलाई बिथोल्न सक्छ । आफ्नो उद्योगको विस्तार र लगानी वृद्धिका लागि सोच्नुपर्ने समय उनीहरू उजुरबाजुरतिर लाग्नुपर्ने हुन्छ । यस्तो वातावरणमा उद्यमशीलतासमेत फस्टाउन नसक्ने निश्चित छ । मुख्यतः लगानी र उत्पादनलाई नै गलत दिशातिर लैजान्छ । 

ट्रेडमार्क नक्कल गर्नु बौद्धिक चोरी हो तर नक्कली ट्रेडमार्कको नियन्त्रणका लागि पर्याप्त कानुनको अभाव छ । जसले गर्दा नक्कल गर्नेहरू तत्कालै कारबाहीको दायरामा आउँदैनन् । यद्यपि, नेपालमा ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ क्रियाशील छ । त्यसमा ट्रेडमार्क दर्तादेखि बदरसम्मको व्यवस्था छ । त्यसैले उद्यमीले यो ऐनअनुसारको सुविधा लिने प्रयत्न गर्नुपर्छ ।

नेपालमा नक्कली ट्रेडमार्कको विषय हेर्ने अधिकार उद्योग विभागलाई छ । तर विभागमा वर्षौंसम्म यो विषय टुंगिँदैन । जस्तो कि, कोकाकोला कम्पनीले चिलकोला उत्पादक मनकामना फुड एन्ड बेभरेजविरुद्ध ७ भदौ २०८० मा उद्योग विभागमा उजुरी दिए पनि अझै सुनुवाइ र फैसला भइसकेको छैन ।

त्यस्तै, निम्बु पानी उत्पादक सिंगापुर बेभरेज नेपालले निम्बु फ्रेस उत्पादक मनकामना फ्रुट एन्ड बेभरेज प्रालिविरुद्ध १ भदौ २०८० मा दिएको उजुरी पनि सुनुवाइ भएको छैन । भदौ २०६८ यता मात्र १ हजार ८ सय ९३ उजुरी परेका तर २ सय ९ को मात्र फैसला हुनुले पनि सुनुवाइ प्रक्रियामा हुने ढिलाइलाई प्रस्ट पार्छ । सुनुवाइ जति ढिला हुन्छ, गलत नियत राखेर काम गर्नेहरूले उति नै बढी प्रोत्साहन पाउँछन् ।

यो नागरिकको स्वास्थ्य र वास्तविक लगानीकर्तालाई प्रोत्साहित गर्ने विषय मात्रै होइन, बौद्धिक सम्पत्तिको सवाल पनि हो । त्यसलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो ।  उजुरी परे पनि वा नपरे पनि नियामक निकायले निरन्तर रूपमै डिजाइन तथा ट्रेडमार्क चोरीको अनुगमन गरिरहनुपर्छ ।

दोषीलाई दण्डित पनि गर्नुपर्छ । नागरिकले पनि गुणस्तरप्रति सचेत रहन किन आवश्यक छ, किन्न खोजेकै वस्तु प्राप्त भएको छ कि छैन भन्नेमा सचेत बन्नुपर्छ । तोकिएको वस्तु नदिई उस्तै ट्रेडमार्कका अन्य वस्तु दिने व्यवसायी/व्यापारी/खुद्रा पसलेलगायतलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ । यस सम्बन्धमा जनचेतना बढाउनुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully