डेंगी संक्रमण फैलिन नदिन तयारी

डेंगी संक्रमण केवल स्वास्थ्य संकट होइन, सामाजिक–आर्थिक चुनौती पनि हो । संक्रमितको हेरचाह गर्दा कार्यालय वा विद्यालय छुट्ने, परिवारको आय गुम्ने र आर्थिक तनाव सिर्जना हुने अवस्था आउँछ । ग्रामीण क्षेत्रका किसान, सहरका मजदुर तथा साना तथा मझौला व्यवसायीका लागि यो झनै कष्टकर हुन सक्छ

असार ११, २०८२

सम्पादकीय

Prepare to prevent the spread of dengue infection

बर्खा लाग्दा नलाग्दै डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा पाँच र पछिल्ला सात दिनमा ९१ जनामा संक्रमण देखिएको छ । ७३ जिल्लामा संक्रमण फैलिइसकेको अवस्था गम्भीर संकेत हो । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् । 

डेंगी भाइरस ‘एडिस’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सामान्यतया यो जातको लामखुट्टे सानो आकारको हुन्छ, विशेषगरी बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अघि बढी सक्रिय हुन्छ र मानिस वरपर नै रहन रुचाउँछ । मानिस काममा व्यस्त हुने समयमै सक्रिय हुने भएकाले टोकाइको सम्भावना बढी हुन्छ । त्यसैले राति लगाइने झुल मात्र पर्याप्त हुँदैन ।

यो लामखुट्टेले जमेको सफा पानीमा प्रजनन गर्छ । मनसुन सुरु भएसँगै पानी जम्ने जोखिम झनै बढ्छ । सार्वजनिक स्थलमा बनेका खाल्डाखुल्डी, फालिएका ड्रम, टायर, बोतल र टुटेका भाँडाकुँडामा पानी जम्दा लामखुट्टे बढ्न सक्ने सम्भावना हुन्छ । घरआँगनका गमला, बोतल, ढकनी र वैकल्पिक रूपमा राखिएको पानीसमेत प्रजननस्थल बन्न सक्छ । सफा पानी मात्र पाउँदा पनि यसले फुल पार्छ र आफ्नो संख्या बढाउँछ । 

डेंगी रोकथाम र नियन्त्रण गर्न व्यक्तिगत सतर्कता अत्यावश्यक हुन्छ । झ्यालढोकामा जाली लगाउने, साँझ–बिहान बाहुला भएको लुगा लगाउने र गुणस्तरीय मलम प्रयोग गर्ने उपाय तत्काल अपनाउनुपर्छ । विशेषगरी बालबालिका, वृद्ध, बिरामी वा गर्भवती महिलाको सुरक्षामा ध्यान दिनु अपरिहार्य छ । यस्ता उपायले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग गर्छ । तर, सबैभन्दा प्रभावकारी रणनीति भनेको यसको वृद्धि चक्रलाई रोक्नु हो ।

त्यसका लागि घरआँगन सफा राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी हटाउन, घोप्ट्याउन वा लामखुट्टे मार्ने औषधि छर्कनु आवश्यक छ । सरकारको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ । स्थानीय तहले विद्यालय, अस्पताल, पार्क र सार्वजनिक स्थानमा समय–समयमा औषधि छर्ने, लार्भा नष्ट गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्छ ।

सबै तहका सरकारबाट त्यसका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ, उपकरण र मानव संसाधनको व्यवस्थापन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले प्रभावकारी अनुगमन संयन्त्र खडा गरी स्थानीय तहको समन्वय र कार्यान्वयन क्षमतामा बल पुर्‍याउन सक्छ । 

परिवारका एक सदस्य संक्रमित भएमा अन्य सदस्यहरू पनि जोखिममा पर्न सक्छन् । डेंगी संक्रमितले उच्च ज्वरो, टाउको, आँखा र जीउ दुखाइको अत्यधिक अनुभव गर्छन् । कतिपय अवस्थामा रक्तस्रावसमेत भई अवस्था जटिल बन्न सक्छ । ‘प्लेटलेट’ घट्ने समस्या हुँदा चिन्ताजनक अवस्था आउन सक्छ । अझ, बालबालिका, गर्भवती, दीर्घरोगीमा संक्रमणको जोखिम अझ गम्भीर हुन सक्छ । यस्ता संवेदनशील समूहको रक्षा गर्न परिवार र समाजले विशेष सतर्कता अपनाउन जरुरी छ ।

‘प्लेटलेट’ बढाउन कुन खानेकुरा उपयुक्त हो भन्नेमा भ्रम व्याप्त छन् । चिकित्सकको सल्लाहबिना जथाभावी खानेकुरा सेवन गर्दा स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । त्यसैले, आधिकारिक सूचना, योग्य चिकित्सकको निर्देशन र वैज्ञानिक प्रमाणमा आधारित जानकारीलाई मात्र स्वीकार गरिनुपर्छ । सरकारले स्वास्थ्य शिक्षा सुदृढ पार्न रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोग गरेर स्पष्ट सन्देश सम्प्रेषण गर्नु आवश्यक छ । 

डेंगी संक्रमण केवल स्वास्थ्य संकट होइन, सामाजिक–आर्थिक चुनौती पनि हो । संक्रमितको हेरचाह गर्दा कार्यालय वा विद्यालय छुट्ने, परिवारको आय गुम्ने र आर्थिक तनाव सिर्जना हुने अवस्था आउँछ । ग्रामीण क्षेत्रका किसान, सहरका मजदुर तथा साना तथा मझौला व्यवसायीका लागि यो झनै कष्टकर हुन सक्छ ।

प्रभावकारी उपचारका लागि अस्पताल पुग्न टाढा हुने, आर्थिक अभावले उपचार गर्न असमर्थ हुने र उपचारपछि आर्थिक दायित्व बढ्ने सम्भावना हुन्छ । अझ, संक्रमण बढ्दा सिटामोलजस्ता सामान्य औषधिदेखि अस्पताल शय्यासम्मको अभाव हुने विगतको अनुभवले पनि पूर्वतयारीको आवश्यकता प्रस्ट पार्दछ ।

पूर्वतयारीका लागि नागरिकको सजगता, जनसमुदायको समन्वय र सरकारको जवाफदेहिता अनिवार्य छ । अब ढिलाइ नगरी अभियान थाल्ने बेला आएको छ, किनकि हामी सबै एक–अर्काको सुरक्षाका लागि जिम्मेवार छौं ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully