डेंगी संक्रमण केवल स्वास्थ्य संकट होइन, सामाजिक–आर्थिक चुनौती पनि हो । संक्रमितको हेरचाह गर्दा कार्यालय वा विद्यालय छुट्ने, परिवारको आय गुम्ने र आर्थिक तनाव सिर्जना हुने अवस्था आउँछ । ग्रामीण क्षेत्रका किसान, सहरका मजदुर तथा साना तथा मझौला व्यवसायीका लागि यो झनै कष्टकर हुन सक्छ
बर्खा लाग्दा नलाग्दै डेंगी संक्रमणको जोखिम फेरि बढेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को १ जनवरीदेखि २४ जुनसम्मको विवरणअनुसार देशभर १ हजार ५ सय ६१ जनामा डेंगी पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा पाँच र पछिल्ला सात दिनमा ९१ जनामा संक्रमण देखिएको छ । ७३ जिल्लामा संक्रमण फैलिइसकेको अवस्था गम्भीर संकेत हो । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ।
डेंगी भाइरस ‘एडिस’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सामान्यतया यो जातको लामखुट्टे सानो आकारको हुन्छ, विशेषगरी बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अघि बढी सक्रिय हुन्छ र मानिस वरपर नै रहन रुचाउँछ । मानिस काममा व्यस्त हुने समयमै सक्रिय हुने भएकाले टोकाइको सम्भावना बढी हुन्छ । त्यसैले राति लगाइने झुल मात्र पर्याप्त हुँदैन ।
यो लामखुट्टेले जमेको सफा पानीमा प्रजनन गर्छ । मनसुन सुरु भएसँगै पानी जम्ने जोखिम झनै बढ्छ । सार्वजनिक स्थलमा बनेका खाल्डाखुल्डी, फालिएका ड्रम, टायर, बोतल र टुटेका भाँडाकुँडामा पानी जम्दा लामखुट्टे बढ्न सक्ने सम्भावना हुन्छ । घरआँगनका गमला, बोतल, ढकनी र वैकल्पिक रूपमा राखिएको पानीसमेत प्रजननस्थल बन्न सक्छ । सफा पानी मात्र पाउँदा पनि यसले फुल पार्छ र आफ्नो संख्या बढाउँछ ।
डेंगी रोकथाम र नियन्त्रण गर्न व्यक्तिगत सतर्कता अत्यावश्यक हुन्छ । झ्यालढोकामा जाली लगाउने, साँझ–बिहान बाहुला भएको लुगा लगाउने र गुणस्तरीय मलम प्रयोग गर्ने उपाय तत्काल अपनाउनुपर्छ । विशेषगरी बालबालिका, वृद्ध, बिरामी वा गर्भवती महिलाको सुरक्षामा ध्यान दिनु अपरिहार्य छ । यस्ता उपायले लामखुट्टेको टोकाइबाट जोगिन सहयोग गर्छ । तर, सबैभन्दा प्रभावकारी रणनीति भनेको यसको वृद्धि चक्रलाई रोक्नु हो ।
त्यसका लागि घरआँगन सफा राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी हटाउन, घोप्ट्याउन वा लामखुट्टे मार्ने औषधि छर्कनु आवश्यक छ । सरकारको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ । स्थानीय तहले विद्यालय, अस्पताल, पार्क र सार्वजनिक स्थानमा समय–समयमा औषधि छर्ने, लार्भा नष्ट गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्छ ।
सबै तहका सरकारबाट त्यसका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ, उपकरण र मानव संसाधनको व्यवस्थापन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले प्रभावकारी अनुगमन संयन्त्र खडा गरी स्थानीय तहको समन्वय र कार्यान्वयन क्षमतामा बल पुर्याउन सक्छ ।
परिवारका एक सदस्य संक्रमित भएमा अन्य सदस्यहरू पनि जोखिममा पर्न सक्छन् । डेंगी संक्रमितले उच्च ज्वरो, टाउको, आँखा र जीउ दुखाइको अत्यधिक अनुभव गर्छन् । कतिपय अवस्थामा रक्तस्रावसमेत भई अवस्था जटिल बन्न सक्छ । ‘प्लेटलेट’ घट्ने समस्या हुँदा चिन्ताजनक अवस्था आउन सक्छ । अझ, बालबालिका, गर्भवती, दीर्घरोगीमा संक्रमणको जोखिम अझ गम्भीर हुन सक्छ । यस्ता संवेदनशील समूहको रक्षा गर्न परिवार र समाजले विशेष सतर्कता अपनाउन जरुरी छ ।
‘प्लेटलेट’ बढाउन कुन खानेकुरा उपयुक्त हो भन्नेमा भ्रम व्याप्त छन् । चिकित्सकको सल्लाहबिना जथाभावी खानेकुरा सेवन गर्दा स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । त्यसैले, आधिकारिक सूचना, योग्य चिकित्सकको निर्देशन र वैज्ञानिक प्रमाणमा आधारित जानकारीलाई मात्र स्वीकार गरिनुपर्छ । सरकारले स्वास्थ्य शिक्षा सुदृढ पार्न रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोग गरेर स्पष्ट सन्देश सम्प्रेषण गर्नु आवश्यक छ ।
डेंगी संक्रमण केवल स्वास्थ्य संकट होइन, सामाजिक–आर्थिक चुनौती पनि हो । संक्रमितको हेरचाह गर्दा कार्यालय वा विद्यालय छुट्ने, परिवारको आय गुम्ने र आर्थिक तनाव सिर्जना हुने अवस्था आउँछ । ग्रामीण क्षेत्रका किसान, सहरका मजदुर तथा साना तथा मझौला व्यवसायीका लागि यो झनै कष्टकर हुन सक्छ ।
प्रभावकारी उपचारका लागि अस्पताल पुग्न टाढा हुने, आर्थिक अभावले उपचार गर्न असमर्थ हुने र उपचारपछि आर्थिक दायित्व बढ्ने सम्भावना हुन्छ । अझ, संक्रमण बढ्दा सिटामोलजस्ता सामान्य औषधिदेखि अस्पताल शय्यासम्मको अभाव हुने विगतको अनुभवले पनि पूर्वतयारीको आवश्यकता प्रस्ट पार्दछ ।
पूर्वतयारीका लागि नागरिकको सजगता, जनसमुदायको समन्वय र सरकारको जवाफदेहिता अनिवार्य छ । अब ढिलाइ नगरी अभियान थाल्ने बेला आएको छ, किनकि हामी सबै एक–अर्काको सुरक्षाका लागि जिम्मेवार छौं ।
