भान्सामा विष : कहिलेसम्म खाइरहने ?

विषादी धेरै छरे उच्च उत्पादन हुन्छ भन्ने सोचाइ किसानमा व्याप्त भइरहँदा विषादीको प्रयोग घट्नै सकेको छैन

असार १०, २०८२

भक्तराज पालिखे

Poison in the kitchen: How long will it last?

भनिन्छ– ‘खाना नै औषधि हो । भान्सा नै औषधालय हो । सबै रोगको निदान भान्सा हो ।’ तर, अहिले हाम्रो भान्सामा के पाकिरहेको छ– ‘तरकारी कि विष ?’ वास्तवमा अहिलेको गम्भीर प्रश्न यही हो । 

रोग, कीरा तथा झारपात रोकथाम गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नु स्वाभाविक हो । तर, अहिले त व्यावसायिक रूपमा तरकारी खेतीका नाममा विषादीको प्रयोग बढ्दो छ । त्यसमा पनि केही क्षेत्रमा त व्यापक नै छ । विशेष गरी पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका कृषकले विषादीको मात्रा उल्लेखनीय रूपले प्रयोग गर्दैनन् तर बजार नजिकका क्षेत्रमा विषादीको प्रयोग व्यापक रूपले भएको पाइन्छ । यसको जथाभावी प्रयोग, दुरुपयोग, अत्यधिक प्रयोग र प्राविधिक सिफारिस पालना नगर्दाका कारण कृषि उत्पादनमा विषादीको अवशेष हुन सक्ने सम्भावना अध्ययनहरूले देखाएका छन् । 

एउटा कथन नै छ– कुनै भान्सेले मान्छेको संख्या नहेरी खाना पकायो भने कि त त्यो कम हुन्छ कि बढी । थोरै भएको खण्डमा पुनः पकाउन सकिन्छ तर धेरै भयो भने त्यो खेर जान्छ । कुनै हिसाबै नगरी विषादी प्रयोगको प्रसंग पनि माथिको उदाहरणसँग ठ्याक्कै मिल्दोजुल्दो छ । 

नेपालमा औसत ३ सय ९६ ग्राम (खास विष) प्रतिहेक्टर प्रयोग भइरहेको छ, जुन १ सय ४२ ग्राम प्रतिहेक्टरको अघिल्लो रेकर्डभन्दा बढी हो । अन्य मुलुकको दाँजोमा नेपालमा प्रतिहेक्टरका आधारमा विषादीको प्रयोग कम छ । सरसर्ती हेर्दा विषादी प्रयोगसम्बन्धी समस्या गम्भीर नभएको प्रतीत हुन सक्छ तर प्रयोग हुने स्थल, प्रयोग हुने बाली, प्रयोग गरिने मात्रा, प्रयोग गरिने विधि, समय र भण्डारणको अवस्था तथा विषादी बजारको गहिरिएर विश्लेषण गर्ने हो भने समस्या गम्भीर भइसकेको छ । टड्कारो रूपमा भन्ने हो भने विषादीको विकल्पमा जैविक विषादीको अभाव हुनु, जैविक विषादीको उत्पादन, प्रयोग र बिक्री वितरणका बारेमा पर्याप्त ज्ञान नहुनु पनि समस्या छ । त्यसभन्दा बढी विषादी धेरै छरे धेरै कृषि उत्पादन हुन्छ भन्ने सोचाइ किसानमा व्याप्त भइरहँदा विषादीको प्रयोग घट्नै सकेको छैन ।

हाम्रा पुर्खाको खेती गर्ने तरिकाले मानवता र प्रकृतिबीचको मित्रवत् र समग्र सहअस्तित्वको सिद्धान्तलाई प्रतिपादन गरेको इतिहास साक्षी छ । हाम्रा पुर्खाको भान्सामा विषादीरहित स्वस्थकर खाना पाक्थ्यो र नेपालको सन्दर्भ भन्नुपर्दा वातावरणीय असन्तुलन पनि थिएन । त्यो अवधि भनेको जीवनको स्वर्ण युग थियो भन्दा अतिशयोक्ति नहोला । क्षणिक लाभका लागि जथाभावी विषादी प्रयोग गरेर तरकारीको उत्पादन बढाई छिटछिटो बजार पुर्‍याउने, बेच्न हतार हुने प्रवृत्तिका कारणले हाम्रो भान्सा विषादीको थलो बनेको छ भन्नु अनुपयुक्त नहोला । 

अहिले त भान्सा विषादीको डम्पिङ साइट नै बनिरहेको छ । दैनिक उपभोग गरिने स्थानीय र आयातित तरकारी एवं फलफूल कहाँबाट कसरी कसले कस्तो खालको विषादी कति मात्रामा प्रयोग गरी उत्पादन गर्छ भन्ने जानकारीको अभाव छ । त्यसको जाँचको प्रबन्ध पनि कतै देखिँदैन । त्यसको गुणस्तर के छ र भोज्य हो कि होइन केही थाहा नपाई उपभोक्ता परीक्षण नगरिएका तरकारी खान बाध्य छन् ।

बजारबाट खरिद गरेर ल्याएका तरकारी पकाउनुअघि केही मिनेट नुनपानीमा भिजाउँदा मात्रै पनि विषादीको अवशेषको मात्रा घट्ने कृषिविज्ञहरूको सल्लाह सुझाव बहुसंख्यक उपभोक्तासम्म पुग्नै सकेको छैन । सामान्यतया विषादीको घोलमा डुबाइएका तरकारी तथा फलफूल ताजा, चिल्लो र चम्किलो देखिन्छन् । बजारमा पाइने चम्किला तरकारी तथा फलफूल मन्दविष हुन् भन्ने कुरा हामीलाई जानकारी नै गराइएको छैन । तरकारी तथा फलफूलको प्रकृति र अवस्था हेरेर बजारबाट किनेर ल्याएको केही दिनपछि मात्रै उपभोग गर्दा विषादीबाट थोरै भए पनि बच्न सकिन्छ । विषादीको दुरुपयोगबाट उत्पन्न समस्याको निराकरणका लागि कम विषालु तर प्रभावकारी विषादीको छनोट गरी प्राविधिक सल्लाहअनुसार मात्र बाली शत्रु व्यवस्थापन गर्ने हो भने हाम्रो भान्सा विषको थलो बन्नबाट केही मात्रामा भए पनि रोकिने थियो कि ! 

स्थानीय उत्पादन वा आयातित तरकारी तथा फलफूलको गुणस्तरमा खेलाँची गर्नै हुँदैन । सुन्दा अस्वाभाविक लागे पनि तीतो यथार्थ के हो भने उपभोक्ता झुक्याउने छुट कसैलाई पनि हुनुहुँदैन । आखिरमा सबै किसिमका विषादी विष नै हुन्, ती औषधि होइनन् भन्ने कुरा हामीले बिर्सनै हुँदैन । तसर्थ स्वदेशी उत्पादन होस् वा आयातित, विषादी परीक्षणबिना कुनै पनि बाली बिक्री वितरणको इजाजत दिइनु हुँदैन । यसमा संघ, प्रदेश र स्थानीय सरकारबाट कडाइका साथ अनुगमन अभियान थालनी गर्नुपर्छ । सरकारले विषादी नियमन गर्ने कानुनी व्यवस्था नगरेको पनि होइन । तर कार्यान्वयन पाटो फितलो छ । 

सही तरिकाबाट विषादी प्रयोग गर्न नजान्दा, खेतबारीमा विषादी छर्कंदा अँगाल्नुपर्ने न्यूनतम सजगतामा समेत ध्यान नपुर्‍याउँदा आम उपभोक्ताको स्वास्थ्य खतरामा परेको छ । विषादीको मात्रा बढी भएको बाली लामो समयसम्म उपभोग गर्दा स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । विषादीको अवशेषले मानिसमा तुरुन्तै असर नपार्ने भए पनि निरन्तर मात्रामा शरीरभित्र प्रवेश गरेमा लामो समयको अन्तरालपछि विषको सामूहिक असर देखापर्ने गर्छ । परिणाममा तिनीहरूको विषाक्त प्रभाव जस्तै प्रजनन प्रणाली, भ्रूण विकास र नवजात शिशुको शारीरिक विकारहरू, मानिस एवं जनावरमा नपुंशकता, आनुवंशिक परिवर्तन आदि ल्याउँछ । विशेषगरी बच्चा र गर्भवती महिलाका लागि विषादीले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । अझै डरलाग्दो त जसका कारण मानव शरीरमा क्यान्सरजस्ता जटिल र घातक रोग लाग्ने सम्भावना बढ्दै गइरहेको छ । विषादीको गम्भीर प्रभावका कारण मानिसको मृत्युसमेत हुने गरेको छ । 

यसैले रासायनिक विषादीबाट उत्सर्जन हुने वातावरणीय समस्या र मानव स्वास्थ्यमा पर्ने प्रभावमा सतर्कता अपनाई गुणस्तरीय बाली उत्पादन र वातावरणीय स्वच्छता कायम गर्नु आजको गम्भीर चुनौती बनिरहेको छ ।

– नेपाल सरकारका पूर्वसहसचिव (प्राविधिक) पालिखे विषादीविज्ञ हुन्

भक्तराज नेपाल सरकारका पूर्वसहसचिव (प्राविधिक) पालिखे विषादीविज्ञ हुन् ।

Link copied successfully